क्याफेभित्रको बाग्चारी

काठमाण्डौतिर हुँदो हुँ त ‘बाघचाल’ खेल्दो हुँ कुनै क्याफेमा । अहिले म मुसीकोटमा छु । अविकासबाट बल्लबल्ल फुत्कन आँटेको भौगोलिक क्षेत्र हो यो । त्यस्तो चियासिया वा अत्याधुनिक फर्निचर लगायतका साधनस्रोतले सम्पन्न क्याफे उपलब्ध छैन यतातिर । ‘जुकरवर्ग’को ‘क्याफे’ पाइनु त झन् आकाशको फल । अहिले खुब काम आएको छ, अश्विनी कोइरालाको ‘जुकरवर्ग क्याफे’ नामको कथा संग्रह पुस्तक खल्तीमा हालेको थिएँ ।  त्यसैको गाता उल्ट्याएर भुइँमा बिछ्याएको छु । बाख्राहरु आफ्नो पोल्टोमा राखेर बाघ खेल्नको लागि अश्विनीलाई हाँक दिएको छु ।

रुकुमतिर विभिन्न प्रकारका ‘चारी’ हरु खेलिन्छ । ‘बाघ’ र ‘बाख्रा’ लाई लडाएर खेलिने यो खेल ‘चारी’ को एक प्रकार हो । यस खेललाई हामी ‘बाग्चारी’ भन्छौँ र यतिखेर त्यो खेल्न म हौसिएको छु ।

अश्विनीले उन्नीसवटा बाख्रा मेरो हात लगाएको दावी गर्दै भन्छन् : “म एउटै बाघले तिम्रा सबै बाख्राहरु चौपट पारिदिनसक्छु ।” तथापि उनले गातामा किरिङमिरिङ कोरिएको खेलमार्गका चारै कुनामा बाघहरु राखिसकेका छन् । मैले पोल्टोमा राखेका बाख्राहरुको नाम अश्विनीले नै एकएकको नामाकरण गरिदिएका छन् ।

हाम्रो खेल सन्सनीपूर्ण रुपमा अघि बढ्छ ।

म गर्वसाथ पहिलो बाख्रो ‘इला मिस’ लाई बाघबाट अलिकति पर थपक्क बसाल्छु । उनले ‘प्रेम’ नामको बाघ चाल्न शुरु गर्छन् । म अर्को बाख्रो ‘प्रेम अन्सन’ अर्को ठाउँमा राख्छु । उनी उही बाघलाई यताउति सारिरहन्छन् । म अर्को बाख्रो ‘जुकरवर्ग क्याफे’लाई अर्को ठाउँमा राख्छु । उनको चाल उस्तै रहन्छ खासै भिन्न लाग्दैन । लाग्छ उनको चाल निकै कमजोर छ । मैले उनका सबै बाघहरु हुलिदिएर खेल जित्ने सपना देखिसकेको छु ।

म बाख्रा चाल्दै जान्छु, उनी बाघ चाल्दै जान्छन् । उनी शुरुमै वाचा गरेअनुसार एउटै बाघ चालिरहेका हुन्छन् : प्रेम बाघ । मेरो ध्याउन्न त्यही बाघबाट बाख्राहरु बचाउनु रहेको हुन्छ । म कुनामा रहेको अर्को बाघको अगाडि बाख्रा लगेर राखेको पत्तो पाउँदिन । उनले कुनामा राखिराखेको ‘मनोविज्ञान’ नामको अर्को बाघले मेरो बाख्रो क्पाप्ल्वाक्कै खाइदिन्छन् ।

म चिच्याउँछुः “नियमापत्ति ! नियमापत्ति !! प्रेमको बाघ चालेर अर्को बाघ उठाउन पाइँदैन !!!”

उनी तर्क अघि सार्छन् : “मैले प्रेम बाहेक अर्को बाघले खाँदिन कहाँ भनेको छु र ? चाल्ने पो प्रेम बाघ हो त । खान त जुनसुकैले पनि खान पाइहालिन्छ नि !”

जब मैले प्रेम र मनोविज्ञान नामको बाघबाट बाख्रा बचाउने हेतुले आफ्नो चाल शुरु गरेँ, उनले तर्क नामको बाघले झम्टिहाले । कतै मर्यादा नामको बाघले सोत्तर पारिदिए मेरा बाख्राहरु ।

कतै लखेटी-लखेटी खान्छन् । कतै छेकी-छेकी खान्छन् । कतै फकाइ-फकाइ खान्छन् । पाठकलाई सोच्नेसम्म मौका नदिएर जिल्ल्याउँदै झुक्क्याइ-झुक्क्याइ खाइदिन्छन् अनुमानरुपी बाख्राहरु । कतै एउटै बाघ उचाल्छन् त कतै एकै पटक सबै बाघ पनि उचालिदिन्छन् । यस्तो कथा शिल्प मैले अन्य कथाहरुमा देखेकै थिइन ।

मलाई ‘मनोविज्ञान’ नामको बाघ चालिदिएर आत्थुआत्थु ‘चिना हराएकी केटी’ र ‘सुन्दर थापा’ मा पारे । ‘अपूर्वा’ मा झुक्क्याएर खाइदिए । ‘अपूरो कथा’ मा मर्यादा बाघ उफारेरै झम्टिए । ‘घाउ’ पनि मर्यादाको पराकाष्ठा नै लाग्यो ।

‘प्रेम अन्सन’ र ‘मुद्दा’ मा ‘तर्क’ रुपी बाघले उछिट्याइदिए ।

‘साथीको चिनो’मा फकाउँदै खाइदिए । ‘अन्तिमा’ मा थर्काएरै खाए । ‘म्याक्सीवाली’ मा छेकीछेकी खाइदिए । अश्विनीका बाघ हुल्ने मेरो सपना खेलाई खेलाई तुहाइदिए ।

शब्दहरु सरल छन् र बोधगम्य छन् । घटनाहरुले मन त छुन्छन् नै उत्कर्ष र समापन झ्वाम्मै एकैपटक गरिदिन्छन् । कथा कता गएर टुङ्गिन्छ भन्ने अनुमान नै लाउन सकिँदैन । कथावस्तुले पाठकलाई एकातिर डोर्‍याइरहेको बखत एकैचोटी कतै भीरमा लगेर खसालिदिन्छन्, कतै पोखरीमा लगेर डुबाइदिन्छन्, कतै टाकुरामा लगेर उडाइदिन्छन् ।

मैले शुरुमा यस कथा संग्रहको एक कथा ‘जुकरबर्ग क्याफे’, इला मिसलाई चिठ्ठी र प्रेम अन्सन मात्र पढेको थिएँ । त्यति मात्र कथा पढेर अश्विनीलाई बुझ्न सकिँदो रहेनछ ।

सबैभन्दा मुख्य पात्र त अश्विनी स्वयम् हुन् । अधिकाँश कथा आत्मपरकतामा उनिएका छन् ।

पाठकले जुकरवर्ग कथा संग्रह पढेर अश्विनीको बारेमा एकप्रकारको विश्वास बनाउन सक्छन् । त्यो विश्वास आदर्शरुपी पनि हुनसक्छ र ढोँगी पनि हुनसक्छ ।

कथा पढिसकेपछि अश्विनी स्वयमलाई नभेट्ने हो भने कथाको सार्थकता बोध हुँदैन । अश्विनी जसरी कथा लेख्छन्, त्योभन्दा धेरै गुणा मानवीय सीमामा अडिग छन्, व्यावहारिक छन् र आफूले बनाएका नियमहरुको कुशल पालक पनि छन् भन्ने कुरा उनलाई नभेट्नेहरुलाई सुइँपत्तो नै हुँदैन ।

121 total views, 2 views today

Leave a Reply

Your email address will not be published. Required fields are marked *