Free songs
Home / लेख/आलेख / मध्यपश्चिमेली ठाडी भाका / के ठाडी भाका गीत हो ?

के ठाडी भाका गीत हो ?

गाउन मिल्ने वा गाइएको भाषालाई गीत भनिन्छ । नेपाली वृहत शब्दकोषले गीतलाई गाउनको निम्ति रचिएको लयात्मक तथा सुललित पद्यरचना भनेर परिभाषित गरेको छ । गीतलाई गाना वा गान पनि भनिन्छ ।

‘गीत’ संस्कृतबाट आएको शब्द हो । ‘गै’ धातुमा ‘क्त’ प्रत्यय लागेर गीत बनेको हो । ‘गै’ धातुमा ‘अन्’ प्रत्यय लागेर बन्ने ‘गानम्’ बाट ‘गाना’ बनेको हो ।

गीत  बुझाउनको लागि अंग्रेजीमा सङ (Song)  तथा लिरिक (Lyric) प्रयोग हुन्छ । लिरिक ग्रिसेली भाषाको लुरिकोस (lurikos) बाट बनेको हो । वीणाजस्तै वाद्ययन्त्र लायर (lyre) बजाएर गाइने भएकोले Lurikos वा Lyric बनेको भन्ने भनाइ छ ।

गीत निश्चित आकार वा बनोटमा व्यवस्थित हुन्छ, जसलाई पद्यात्मक व्यवस्थापन भनिन्छ । पद, वर्ण, मात्रा, गणको नियमअनुसार सिर्जना हुने रचनालाई पद्य भनिन्छ । पद्यमा उच्चारण र ध्वनिको महत्त्व हुन्छ जबकि गद्यमा उच्चारण वा स्वरको महत्त्व गौण हुन्छ ।

गीत हुनको लागि निम्नानुसारका तत्वहरु आवश्यक हुने मानिन्छः

१) लय

२) अन्त्यानुप्रास

३) छन्द

४) संगीत

५) स्थायी भाव र अन्तरा

ठाडी भाकामा उल्लिखित तत्वहरु विद्यमान हुन्छन् कि हुँदैनन् भन्ने कुरा तलका उदाहरणहरुबाट हेरौँ ।

१) लयः

हिलो लाग्यो धुलो लाग्यो, काँसेको पैरीमा

ढल पर्छ कि कुढल पर्छ, बसिग्याँ मैरीमा । (सङ्कलकः अर्जुनकुमार रिजाल)

उल्लिखित ठाडीभाका सरसर्ति सस्वर पढ्दा नै स्वतःस्फूर्त रुपमा स्वरको एकप्रकारको आरोह अवरोह (विलम्वित वा मध्य वा लुप्त) निस्कन्छ । जसले हामीलाई एकाग्र तुल्याउँछ र भावको तन्मयतातिर आकर्षित गर्दछ । जसलाई हामी लय भन्दछौँ । ठाडी भाकाका लयहरु धेरै प्रकारका पाइएका छन् । कुनै कुनै ठाडी भाकामा भने लय नै हुँदैन । यस बारेमा सोदाहरण यसै लेखमा व्याख्या समेत गरिएको छ ।

२) अन्त्यानुप्रासः  सामान्यतया अन्य गीतहरुजस्तै ठाडी भाकाको अन्तिममा आउने अक्षरहरु वा शब्द वा स्वर वा लयको पुनरावृत्ति मिलाइएको हुन्छ जसलाई अन्त्यानुप्रास भनिन्छ ।जस्तैः

जुमलीको माल भेरीय नुन लाइगो चाटन 

मिरमिर भैगो उज्यालीय सङ लाइगो फाटन । (सङ्कलकः छविलाल खडका)

उल्लिखित ठाडी भाकाको गेरोको ठेलोमा आएको अन्तिम शब्द ‘चाटन’ सँग मिल्ने गरी टुप्पोको अन्तिम शब्द ‘फाटन’ को स्वरमा पुनरावृत्ति भएको छ ।

ठाडी भाकामा प्रयोग गरिएका अन्य अनुप्रासहरुको सम्बन्धमा यसै श्रृङ्खलाको अर्को भागमा बिस्तार गरिनेछ ।

३) छन्दः

प्रस्तुतिको छाँटकाँटलाई छन्द भनिन्छ । संस्कृतको ‘छद्’ धातुबाट आएको छन्दको अर्थ आनन्दित पार्नु फकाउनु बाँध्नु आदि हुन्छ । गीत मिठो हुनु यसको गेयता र सूत्रबद्धता हो । जुन छन्दको विशेषता हो ।

छन्दका मात्रिक, वार्णिक र आक्षरिक गरी तीन प्रकार हुन्छन् । मात्रिक छन्द मात्राको आधारमा गणना हुन्छ, वार्णिक छन्द वर्णवृत्तको आधारमा गणना हुने भएकोले अभ्यास नभई रचना गर्न पनि कठिन हुन्छ । जसमा लघु, गुरु, गण, गणसंकेतका नियमहरु बुझ्नुपर्ने हुन्छ । आक्षरिक छन्द भने अक्षरहरुलाई गणना गरे पुग्दछ । लोकलयहरु आक्षरिक छन्दमा रचिएका हुन्छन् भनेर भाषाविद् एवम् साहित्यकारहरुले झारा टारिदिए तापनि गहन अध्ययन अनुसन्धान गर्ने हो भने लोकलयहरुमा पनि मात्रिक वा वार्णिक छन्दका गुणहरु नभेटिने होइनन् । यस लेखमा भने ठाडी भाकालाई आक्षरिक छन्दकै दर्जामा राखेर यसको संरचना पक्षको व्याख्या गरिँदै छ । यो प्रचलित ‘सवाइ’ जस्तो पनि देखिन्छ ।

सामान्यतया ठाडी भाकाको संरचना निम्नानुसार भएको देखिन्छः

जम्मा अक्षर संख्याः १४ (एक पाउ)

विश्रामः चार, चार र छ अक्षरमा

उदाहरणः

हाङ्ङा नाम्रा सिमलुका, पात नाम्रा बुकीका,

मैना लामा बैरागीका, दिन लामा दु:खीका ! (संकलकः गणेश सिर्पाली)

माथिको गेरोका ठेलो र टुप्पाको संरचना एउटै हुन्छ । जस्तो किः

हाङ् ङा ला मा          सि म लु का    पात् ना म्रा  बु की का

१   २  ३  ४            ५  ६  ७  ८        ९  १०  ११  १२  १३  १४

मै ना ला मा           बै रा गी  का       दिन् ला मा दु: खी का !

१  २  ३  ४              ५  ६  ७  ८        ९  १०  ११  १२  १३  १४

ठाडी भाकाकै संरचनासँग मिल्ने प्रचलित ‘सवाइ’ छन्द यस्तो प्रकारको हुन्छः

रात पनि निदाउँछ मेरो नयनमा

नयाँ दिन उदाउँछ मेरो वदनमा

बतासमा हराउँदै गए पनि पर

स्वर्गजस्तो नेपाल हो मेरो माइती घर ।

(किरण खरेल)

अक्षर संख्यालाई मात्र हेर्ने हो भने त यो वार्णिक छन्दको वसन्ततिलका छन्दसँग पनि मिल्दोजुल्दो देखिन्छ । तर विश्रामको कारणले गर्दा स्पष्ट लयभेद देखिन्छः

वसन्ततिलका छन्दः

आमा म यो जगतको शिर झुक्न दिन्न

नेपालको जमिन यो अब लुट्न दिन्न

मान्दैन भो डर यहाँ झिकि फाल्छु लाज

यो देशको सहिद भै अघि बढ्छु आज । (गिरिप्रसाद बुढा)

सुदूर पश्चिमको देउडा गीतको संरचना पनि ठ्याक्कै यही नै हो । अर्थात् यसमा पनि १४ अक्षरको एक पङ्ति हुन्छ र पहिलो चार चार र अन्तिम छ अक्षरमा विश्राम हुन्छ ।

देउडा गीतः

बालो राम्रो फुल्यालीको जमरा दशैँको

जुग् जमाना कस्ता आया भर् छैन कसैको । (संकलकः अनिपाल कार्की आँशु)

यस्तै गरी हुम्लातिर गाइने ठाडी भाका पनि हेरौः

कै ठौरदै बिदा भयौ कै ठौर जाने हौ 
मेरै जन काँ माने हौ मान्दा त माने हौ । (संकलकः मोहनसिँ कार्की)

ठाडी भाकाका अन्य संरचना र लयको सम्बन्धमा आगामी लेखहरुमा बिस्तार गरिनेछ ।

४) सङ्गीत

गानाबजाना नै सङ्गीत हो । यो लय, ताल र वाद्यवादनको सम्मिश्रण हो । ताल र वाद्यवादनले लयलाई सुमधुर बनाउनुको साथै अरु गीतका भाकाहरुबाट पृथक गरिदिन्छ । यही सङ्गीतको मिश्रणले नै ठाडी भाकाहरु एकअर्को भाकाबाट छुट्टिएका हुन् । सङ्गीतको भेदको आधारमा नै सुदुरपश्चिमको देउडा मध्यपश्चिमको ठाडीभाकाबाट छुट्टिन्छ । ठाडी भाका अन्तर्गत पनि विभिन्न भेदहरु छुट्टिन्छन् जस्तै :-

(क) ठाडी भाका :- झ्याली, मादल, डौँरी जस्ता वाद्यवादनका सामग्री सहित पनि गीत गाउन सकिन्छ । वनपाखा गएको बेला बिना वाद्यवादन पनि गाउन सकिन्छ यस भाकामा सामान्यतया  माया, प्रेम, हर्ष, विस्मात विरह आदि भावका गीतहरु गाइन्छ । जस्तैः

गुवालाले ठोक्न लाइगो फलाटैका किला

बैँसैमा बैरागि हुन्या कर्मा है कि लिला । (कमप्रसाद देवकोटा)

सादुनसित लरे मालु, पिपलसित वर

दुखारीलाई जाँहोइ उस्तै, सुख्ख काँ पो छ र । (भद्र नकाल)

कक्करैले दम दिएन सुल्पा फुटाल्लेल्चु

लाइजान्चु हजुरकै सात जुनी सुदारेल्चु ! (सिर्जना शर्मा)

जुमला बाबैका मीत औली मेरा हित।

जोबनले बयालै खेल्छ किला दाउलासित । (चिताराम खडका)

(ख) उखानको रुपमा ठाडी भाका : बूढापाकाहरुले अर्ति उपदेश दिँदा वा गुनासो पोख्दा लय बिना नै उखान, टुक्का आदि जस्तै यसको पनि प्रयोग गर्दछन् ।

जस्तैः

“अऽऽऽ भाराबैरागौ मर्नु, क्यार्दान् र बलै ! गीत गाउनेले भन्चन् ‘हाटजाने भिरबाटिमा बास बस्यो नुन्या, न फिरि जोवनै आउन्या न मनैको हुन्या !’ भन्दाइनी ता भैयो नि ! यो जोवन त्यत्तिकै गैयो बालौ, अब पछुताई क्यार्दान् र !”

उल्लिखित उदाहरणबाट थाहा हुन्छ कि लय र संगीतबिना पनि ठाडी भाकाको बहु प्रयोग हुने हुँदा ठाडी भाका सिर्फ गीत मात्र होइन । यसले गीतभन्दा पनि व्यापक क्षेत्र ओगटेको छ ।

(ग)  बाजा लाग्ने (दोहोरी) : सामान्यतया धार्मिक तथा साँस्कृतिक चाडपर्वको रातभरि युवक (छोट्ट्या) तथा युवतीहरु (छोट्टी) जम्मा भएर मादलको तालमा बाजा लाग्ने गरिन्छ । यसमा नृत्यको प्रयोग कमै हुन्छ । बाजा लाग्दा सामान्यतया माया-प्रेमको भाव प्रदर्शित हुन्छ । कहिले काँही बाजा लाग्दा गीतको टुङ्ग्याउनी निश्कर्षको फलस्वरुप छोट्ट्याले युवतीलाई रक्छिन्छन् (भगाउने चलन) र  नयाँ घरबार जोड्दछन् ।

जस्तैः

छोट्टीः  आज बैनी काँ गै भन्त्याँ गाई ग्वाला गै छ र।

खुटुक्क बारुली लाग्त्यो भेट हुने रैछ र ।१।

छोट्ट्याः बर्खा लाग्यो म धुदैन कबाले टालीलाई !

छेउमै आइजौ के भनुँ र घरबारे सालीलाई ।२।

छोट्टीः हात काटे बिसाउने रैछ चोया नरमैले

गाउने गली केइ आउँदैन साईका सरमैले ।३।

छोट्ट्याः शिकारीले बन्दुक हान्यो जमिन थर्काइ थर्काइ

भेट भया म्वाइ खाने थियाँ गाली वर्काइ फर्काइ ।४।

छोट्टीः  लेखैको चुरेनी सर्प सिउतो छै कि बिउतो

एख्लै आउने बाली साईलाई के परानी दिउँतो ।५।

छोट्ट्याः टोपी लाउन छोडेलेछन पकरी बान्नेले।

यस्ता कुरा के सिगाउँ र साइ आफै जान्नेले ।६।

छोट्टीः  राजा खान्छ पानसुपारी जोगी खान्छ गाजा

गाई घुमी बगालै जाला माया घुमी काँ जा ।७।

छोट्ट्याः किल्टिकिल्टि घाँरी लाईदेउ बाखरी मिज्यालाई

भोग लाईगो क्यारी भनौँ अर्कैकी जिज्यालाई ।८।

छोट्टीः  पारी वन गाई चराउने जुनकीरीको मामा

माया लाउनु जोभान काट्नु सिति हुन्न धामा ।९।

छोट्ट्याः टोबी लाउन छोर्रेलेछ पगरी बान्नेले ।

घरबार भन्नू जन्जालै हो छोर्देल जान्नेले ।१०।

छोट्टीः  यो घरै हो त्यो घरै हो घरपनि घरै हो

घरबारे सितैको माया डर पनि डरै हो ।११।

छोट्ट्याः रोल्पाली बाम्नैकी छोरी आधी गैरा गाउँचे

जो नाना कर्मैमा छैने उइले खाती लाउँचे ।१२।

छोट्टीः  काँ पाउँचौ र खान्चौ ढिरो कोले पकाउँच र

घरबारे सितैको माया कोले लगाउँच र ।१३।

छोट्ट्याः बाखरिको दाम्लो छिन्यो आज मै बाटौला।

घरबारे घरबारे मिलि हाँसी दिन काटौला ।१४।

छोट्टीः  बाखरीको रोजी घाँस भिर गौँराको पाती,

माया भन्नु सित्ती हुन्न तिम्रा बाउको छाती ।१५।

छोट्ट्याः कोठे घटट मैदा पिठो सुनचाल्नी चालुला।

हिर् बालासाइ जोगी होइजाऊँ भिखमागी पालुँला ।१६।

छोट्टीः  एकाबारी गुरे उखु आदी बारी केरा

साइ खाउला के ? म के खाउँला ? भीख मागेका गेरा ।१७।

छोट्ट्याः पानी पर्यो लोतामारे, घाम लाग्यो तारिख्या !

बल्ल ल्याउनु सोईला भाँच्ने, जोई ल्याउनु जारीख्या ।१८।

छोट्टीः  सोलाबाङको ढिग घारी झप्की फुल्यो रिठो,

साइले जुटाऊ गाडीभाडा म लैजाउँला पिठो ।१९।

छोट्ट्याः उकालीको चिसो पानी उँजेलीले खाउँला

बोक् साइले उब्लासे कुम्ली जता गया जाउँला ।२०।

छोट्टीः  गया गया केलाई भन्चन् भारतैको गया,

सत्तुर हटाइ माइती बुजाइ लैजा मर्द भया ।२१।

छोट्ट्याः बनै राम्रो सल्लेरीले जिउली राम्रो धान्ले

जुगै जाने मायाँ लाम्तो आँटेपछि ज्यान्ले ।२२।

(छोट्टीको जवाफ सहन गर्न नसकी छोट्ट्याःले युवतीलाई रक्छिन्छ र नयाँ घरबारको थालनी हुन्छ ।)

(उल्लिखित गेराको क्रमसंख्या र सोका संकलकहरुः १, ६, १६ :- ओपेन्द्र शर्मा । २, ४, ७, १०, १४, १८, २० :- गणेश खडका । ३, ५, ११, १३ :- गीता ओली पुन । ८, १२, २१:- हर्कसिँ केसी । ९ :- प्रबीर ददेल । १५ :- दिपकसंगम थापा । १७ :- पूर्ण ओली । १९ :- सरला खडका २२:- बालकृष्ण ओली)

बाजा लाग्दा सामान्यतया माया प्रेम स्थायी भाव रहेको हुन्छ । उदाहरणको लागि मात्र माथि छोट्ट्याछोट्टी शब्द प्रयोग भए तापनि अन्य बूढापाकाहरु, आफन्तजन, दौँतरीहरु को उपस्थितिमा लोकजीवनको धर्म, संस्कृति, रहनसहन, भौगोलिक बनावट, गुनासा, हर्ष, विस्मात आदिको विषयवस्तु बनाएर पनि ठाडी भाकामा बाजा लाग्ने गर्दछन् । लोग्नेमान्छे लोग्नेमान्छे र स्वास्नीमान्छे स्वास्नीमान्छेको बिचमा पनि बाजा लाग्ने गरिन्छ ।

(घ) सिङारु :- झ्याली, मादल, डौँरी जस्ता वाद्यवादनका सामग्री सहित गाउने बजाउनेको समूह र एकजनादेखि लिएर चारपाँचजनासम्म नचारु समेत सँगसँगै नाच्ने मध्यपश्चिमको परम्परागत नाच सिङारु हो । यसमा लोग्ने मान्छेले स्वास्नी मान्छेले लगाउने गहना तथा चोलो साडी आदि लगाएर नाच्ने गर्दछन् । उदाहरणः

बाटो सरासरीऽऽऽऽऽऽऽऽऽऽऽ

जा बैनै जुमला पोइल बाटो सरासरी
कलेजीमा लाग्ने माया होइजा बराबरी

होइजा बराबरी नानै होइजा बराबरी ।

कल्ले लायो टाँटीऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ

यो घरभन्दा त्यो घर राम्रो कल्ले लायो टाँटी
थोरै लायौ साइले माया धेरै लायौ खाती

धेरै लायौ खाती नानै धेरै लायौ खाती ।

हाइ मिठी निदरी गाउन मुरलीले ब्यूँझायो । (सिङारु गिती एल्बमः निशा ओली/जय देवकोटा)

(ङ) झाप्रे :- उल्लिखित वाद्यवादन तथा गीतसँगै एकल, युगल वा समुहगतरुपमा केटा वा केटी उफ्री उफ्री नाच्ने एक परम्परागत नाच हो । ठाडीभाकाको लयको साथसाथै अन्य लयमा पनि यो नाच नाच्ने गरिन्छ । यसको लय र नाच दुवै छरितो हुन्छ ।

(च) टप्पा :- उल्लिखित वाद्यवादनको साथै सङ्गीतका आधुनिक माध्यमहरु समेत प्रयोग गरी केटाहरु वा केटीहरु ठाँटिएर नाचिने समूहगत नाच टप्पा हो । यो नाच पनि छरितो खालको हुन्छ । उदाहरणः

रातका उँदै दिनका उँदै काँ जान्चइ पानीय

काँ जान्चइ पानीय सुन मैना काँ जान्चइ पानीय ।

मेरा के चारैका छै र सुनका चवानीय

सुनका चवानीय सुन मैना सुनका चवानीय ।

हिउँ परी बिलाउनै लाइयो जिवाङ खारा रुङा

जिवाङ खारा रुङा सुन मैना जिवाङ खारा रुङा ।

समाउ साइले दाइने बाउली म तराउँचु डुङा

म तराउँचु डुङा सुन मैना म तराउँचु डुङा । (मुसी नाटक/पूर्ण ओली)

(छ) हिउँपाः मध्यपश्चिममा पहिले प्रचलित हिउँपा सिर्फ गीत मात्र होइन नाटकजस्तै अभिनय सहितको भावपरक हास्य नृत्य हो । यसमा सङ्गीतको प्रयोग भने हुँदैन । डोकोलाई हात खुट्टा जोडी मान्छेको लुगा लगाइदिएर स्वास्नीमान्छे जस्तै (हिउँपा) तुल्याइएपछि कलाकार डोकोभित्र पसी गीतको भावअनुसार अभिनय गर्दछन् । बिचबिचमा ठाडीभाकाका गीतहरु पनि गाइन्छन् । यसमा प्रायजसो गाउने र अभिनय गर्ने दुवैजना स्वास्नीमान्छे हुन्छन् ।

जस्तैः मेरी हिउँपाले ढिकी कुटलिन् (हिउँपाले ढिकी कुटेको अभिनय गर्छिन्)

       मेरी हिउँपाले जाँतो पिसलिन् (हिउँपाले जाँतो पिसेको अभिनय गर्छिन्)

       मेरी हिउँपाले घाँस काटलिन् (हिउँपाले घाँस काटेको अभिनय गर्छिन्)

       मेरी हिउँपाले लुगा धुवलिन् (हिउँपाले लुगा धोएको अभिनय गर्छिन्)

अर्को खालको हिउँपा गीतमा भने बाडुल्की लगाएको जस्तै गरी ठाडी भाकाको गीत गाइन्छ । यसमा लोग्नेमान्छे र स्वास्नीमान्छेले बाजा लागेजस्तो दोहोरी खेल्छन् ।

छोट्टीः तिम्रो (बाडुल्की) भाइ त (बाडुल्की)  कानो (बाडुल्की) छ प (बाडुल्की)

छोट्ट्याः कान (बाडुल्की)  लाउने (बाडुल्की)  सुन (बाडुल्की) दिउँला (बाडुल्की)

       सारी (बाडुल्की) दिउँला (बाडुल्की) चोली (बाडुल्की) दिउँला

       मेरा (बाडुल्की) भाइका (बाडुल्की) आइजौ । (संकलकः योगमाया ओली)

(ज) चः लौरे चः ठाडीभाकाकै गीतको शुरुमा (कतै कतै बिचमा पनि) र अन्तिममा चः लौरे चः जोडेर लामो भाका हालिन्छ । कतै कतै चः चः लौरे (लारे- प्यारी) चः चः पनि भनिन्छ । जस्तैः

चः लौरे  गार घटट पिसेको मकै किम्ली फुले आटो चः लौरे चः

चः लौरे चाल पाया फर्काउनेइ थियाँ जोबन जानी बाटो । चः लौरे चः। (संकलकः चिताराम खडका)

(झ) रत्यौलीः विहेको लागि दुलाहा तथा लोग्ने मान्छेहरु दुलही ल्याउन दुलहीको घरमा गएको बखत विहेको अघिल्लो रात दुलाहाको घरमा स्वास्नीमान्छेहरु मात्र जम्मा भएर स्वतन्त्रतापूर्वक छाडा किसिमका गीत गाउँदै नाच्ने गर्दछन् । दुलाहाकी आमालाई लोग्ने मान्छेको भेषभुषामा बदलेर अरु स्वास्नीमान्छेहरुले दुलाहाकी आमालाई जिस्क्याउँछन् । पहिले पहिले रत्यौलीमा ठाडी भाकामा गीत गाउने गरिए तापनि अहिले भने आधुनिक गीतहरु गाउने गरिन्छ ।

(ञ) भोस्सोः साउने संक्रान्तिको रातमा लोग्नेमान्छेहरु जम्मा भएर स्वास्नीमान्छेहरुले रत्यौली खेलेजस्तै लोग्ने मान्छेहरुले भोस्सो खेल्ने चलन थियो । भोस्सोको मार्फत गाईजात्राको हास्यव्यङ्ग्यजस्तै शासकीय व्यवस्थालाई व्यङ्ग्य एवम् गाली बेइज्जती गर्ने चलन पनि थियो । उदाहरणः

मैने डोरी केलाई बाट्यौ घोरीलाई तर्साल । भोस्सोऽऽऽऽ

              दरुबारमै राम्च्याऊ राजै गाउँमा पस्यो काल ।१। भोस्सोऽऽऽऽ

              जुमला बाग पर्‍यो भन्चन् हाम्रा लागि चिल। भोस्सोऽऽऽऽ

              राजैले बन्नासी लाउँदा हामी पर्‍यौँ डिल ।२। भोस्सोऽऽऽऽ

              हिउँ तुसारो पर्न लाइयो छ कि छैन रजै । भोस्सोऽऽऽऽ

              झुलो छड्क्या बेग्लाबेग्लै के को लाउँछौ कजाइ ।३। भोस्सोऽऽऽऽ

              भोटी सिदेऊ खद्दरैले छानो छाइदेऊ खरले । भोस्सोऽऽऽऽ

              ढाडै सेक्यो निसाफैले गासै काट्यो करले ।४। भोस्सोऽऽऽऽ (मुसी नाटक/पूर्ण ओली)

(ट) सुनको भमराः मध्यपश्चिमतिर प्रचलित ठाडी भाकाको अर्को मिठो लय सुनको भमरा हो । यो लयमा गीत मात्र पनि गाइन्छ वा गीतसँग सिँगारु नाच पनि नाचिन्छ । पैँसेरी नाचमा पनि यो गीतको प्रयोग गर्ने गरिन्छ ।

हेऽऽऽऽ माया खोज्नु हृदयमाऽऽऽ छाया खोज्नु वनमा हो छाया खोज्नु वनमा

हाऽऽऽऽ छोडी जाने जावस् तर सम्झना छ मनमा हो सम्झना छ मनमा

गलैमा लाउने गली ठुमारा, कानैमा लाउने सुनकै भमरा ।  (शब्दः लक्ष्मण ओली, स्वरः तिलक परियार/देवी घर्ती)

(ठ) साइँलोजीः ठाडी भाकाकै अर्को लय साइँलोजी हो । साइँलोजी कुनै संगीत बिना गाउने गरिन्छ । गुरुङहरुको घाटु नाचको लयसँग मिल्दोजुल्दो यो लयमा मुसी नाटकमा साइँलोजीसँग नृत्य पनि प्रदर्शन गरिएको छ ।

साइँलोजीऽऽऽऽ दाङको घारी दमारैमा हाऽऽऽ हाइऽऽऽऽ लम्की हिर्याे‌ स्याल नानै,

साइँलोजीऽऽऽऽ म‌ गर्चु सद्दरी कुरा हाऽऽऽ हाइऽऽऽऽ शाइले मान्चाै ख्याल नानै ।

साइँलोजीऽऽऽऽ ब्यूजा बनको लट्टे जोगी हाऽऽऽ हाइऽऽऽ खरानी घसेइको नानै,

साइँलोजीऽऽऽऽ मैना जानै साल फेरिनै हाऽऽऽ हाइऽऽऽऽ कर्म उइ बसेइको नानै । (संकलकः कमलमणि देवकोटा)

(ड) न्याम्नाः गाउँखाने कथालाई ठाडी भाकाको रुपमा ढालेर सवाल जवाफ गरिने खेललाई न्याम्ना भनिन्छ । यसमा पनि लय र संगीत मिलाएर वा नमिलाएर पनि खेलिन्छ । जस्तैः

सवालः  अग्ला लेख कैलाशैमा न्याहो चरी न्याहो

             ‘धर्ती मुनि गज्या बल्ल’ जान रङ्ङी क्या हो ।

जवाफः पारि वन पातालैमा ओप ढुङ्गी खोप

            धर्ती मुनि गज्या बल्ल सङ्गी ‘मुसो’ हो प ।

(ढ) पाइयो पाइयोः माघे सक्रान्तिको अघिल्लो दिन बेलुका नै फर्सी, तरुल, पिँडालु आदि उसिन्नुको साथै जुनेला, तिल आदिको खाजा भुटी मह चिनी वा उखुको रापमा मुछेर भोलिपल्टको पर्व मनाउनको लागि राखिएको हुन्छ र माघे सक्रान्तिको दिन बिहानैदेखि गाउँघरका बच्चाहरु घर घरमा गएर ‘पाइयो, पाइयो !’ भनेर रमाइलो गर्दै पर्वको लागि पकाइएका खानेकुराहरु मागेर खान्छन् । त्यसै दिन बच्चाहरु नजिकैको जङ्गलमा गएर पाटे भात पनि खाने चलन थियो । पाइयो पाइयो गीतलाई मुसी नाटकमा ठाडी भाकामा ढालेर गाइएको छ ।

(ण) देउडाः देउडा सुदुरपश्चिमको प्रसिद्ध संस्कृति हो । देउडाका विभिन्न भेदहरु छन् । जस्तैः ठाडी-भाका, बैरागी-भाका, हुड्क्यौली, जोड-देउडा, छैटे-देउडा चाङ्ची-देउडा आदि ।

५) स्थायी भाव र अन्तराः

(क) स्थायी भावः सामान्यतया गीतहरुमा एउटा निश्चित भाव प्रकट गर्ने गरी स्थायी भाव रहेको हुन्छ । त्यही स्थायी भावलाई विभिन्न अन्तराहरुले पुष्ट्याँइ गरिरहेका हुन्छन् । ठाडी भाकामा भने स्थायी भाव पङ्तिमा छुट्टिने गरी प्रत्यक्ष देखिँदैन । तसर्थ प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा  स्थायी भाव व्यक्त भएको हुनसक्छ । वनपाखामा गाइने गीत तथा बाजा लाग्दा रत्यौली तथा भोस्सो गीत आदिमा एउटै स्थायी भाव हुनसक्छ । तर झाप्रे, टप्पा, सिङारु आदि नाचका गेराहरुमा भने एउटै स्थायी भाव नहुन सक्छ ।

(ख) अन्तराः गीतमा स्थायी भावलाई पुष्ट्याँइ गर्नको लागि अन्तराको प्रयोग गरिन्छ ।  ठाडी भाकामा दुई पङ्तिको अन्तरा रहेका हुन्छन् जसको पहिलो पङ्तिलाई ठेलो र दोस्रो पङ्तिलाई टुप्पो भनिन्छ भनी पहिलो भाग नै प्रष्ट पारिसकिएको छ । यसको संरचना पक्षको बारेमा पनि यसै लेखको शुरुमै बताइ सकिएको छ । ठाडी भाकाका अन्तराहरुलाई तलको उदाहरणहरुबाट प्रष्ट हुनेछ ।

मासु मीठो कालिजैको, झोल मीठो तित्रैको ।

मेरो दर्द साईलाई के था कलेजी भित्रैको । (संकलकः भरत कुमार शर्मा)

सिप छैन कि छुरा छैन दारी फाल्दैनौं क्या,

माङीमाङी मोई खानेले भैसी पाल्दैनौ क्या ? (संकलकः मनलाल ओली)

वनै बस्ने न्याउली चरी बिरह गीत गाउंछे ।

निस्ठुरीलाई बिर्सु भन्छु सपनीमा आउँछे । (संकलकः हरिप्रसाद भण्डारी)

हात्ती बान्ने जोर साङ्ली घोरी बान्ने कैजा
मबाट छुटेको पिमा जाँ मन लाग्छ हुइँजा । (संकलकः मोहन ओली)

पटुकीमा भूतो खुक्रि हाल्देउ दाई पाइन ।

खरानीका दाम्ला बाटने पानीका बरिया

सङी साथी हास्ने खेल्ने दिन पनि हरिया । (संकलकः जय खत्री)

वारी पाखा बदाम लाए पारी पाखा गन्जी,

उड्ने चरी हातमा ल्याउँथे बईस जोबान छन्जी । (संकलकः लक्ष्मण ओली)

झन खानु झन मिठो हुन्छ लखन दाईको ढिरो,

रुकुमकोट आउँनु साई मेटाउँनलाई घिरो । (संकलकः उदय केसी)

जाउ जाउ भैंसी अल्गा लेक चर भैंसी बकान

काँ गयाइले क्या हुन्या र बस मन ठगान । (संकलकः लोकुजी पुन)

दाङैको मसिनो चामल बियाँ बिनिदैन

नपरेई कोईलीका रात माया चिनिदैन । (संकलकः कालीबहादुर ओली)

बाछिले धान खान लाईयो लेला बाछी लेला ।

जिउ गया जतिकै लाग्छ जोवन जाने वेला । (संकलकः बलबहादुर केसी)

झाल्या गाईको माल्या बाछो यसै उंदो गईगो ।

क्यार्न लात्यौ लौरु माया धौ बिर्सनु भईगो (संकलकः धनबीर दाहाल)

जाल खेल्न्या जलारी दाइले माछी मार्यो भुरा,

सुन्नु छ पत्याउनु छैन बाली साइका कुरा ।  (संकलकः हरि गौतम)

पर्बतैको देउनिगाली टुपैमा टंगाली ।

एउटै मुलको पानी खाम्ला नफाट्यै हंगाली । (संकलकः धनकुमार शाही)

उल्लिखित उदाहरणहरुबाट के देखिन्छ भने ठाडी भाका गीत मात्र नभई आख्यान, नाटक, गीत, सङ्गीत आदिको विशेषता बोकेको मध्यपश्चिमेलीहरुको कलात्मक अभिव्यक्तिको माध्यम हो ।

 36 total views,  2 views today

About Purna Oli

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top