कुमाख वरिपरि

शिर्षकले नै दिग्भ्रमित तुल्याएकोले अनुमान गर्नुहुनेछः ‘यो हिजोआजको नभई पक्का पनि पच्चीस वर्षअघिको यात्रा वर्णन होला ।’

हुन पनि अहिले विकट डाँडापाखाका हरेक वस्तीहरु राष्ट्रिय सडक सन्जालमा बेरिइसकेका छन् । राष्ट्रिय सडकहरु अन्तर्राष्ट्रिय सञ्जालमा गाँसिन पुग्दै छन् । केही वर्षअघि दुरुह ठानिएका पहाडपर्वतहरु अहिले सुगम कहलिएका छन् र हिजोका पर्वतेहरु आज त्यही ठाउँमा शहरिया कहलिएका छन् । उनीहरुको रहनसहनमा अभूतपूर्व परिवर्तन आएको छ । हिजोको आधा हिमाली मानिएको जिल्ला रुकुम टुक्रिएर बनेको पूर्ण हिमाली जिल्ला रुकुम-पूर्व अहिले पश्चिमी रुकुमभन्दा केन्द्रिय राजधानी काठमाण्डौ र ठूलो शहर पोखराको सन्निकट भएको छ ।

सल्यान त भित्री मधेशको जिल्ला दाङको निकट छिमेकी भइहाल्यो । दाङमा चलेको विकासे हावा शुरुमा सल्यानमै आएर ठोक्किने हो । सल्यानको दक्षिणी सिमानामा सडक उक्लिएको झण्डै पैँतीस वर्ष पुगिसकेको छ । पैँतीस वर्षको अन्तरालमा यहाँ पैँतीस सयवटा सडकहरु बनिसके होलान् । अरु त अरु सल्यानको उच्चतम् लेक कुमाखको शिरोच्छेदन गर्ने हेतुले सडक घाँटीसम्मै उक्लिसकेको छ ।

केही महिना अघि लेखक अश्विनी कोइरालाले रुकुमको यात्रालाई ‘दुस्साहसपूर्ण यात्रा’ को संज्ञा दिएका थिए । त्यतिबेला मलाई लागेको थियो, ‘काठमाण्डौको रिङरोडभित्रै जीवन बिताइरहेका लेखकहरुलाई रुकुममा पुग्ने पक्की सडकको यात्रा दुस्साहसपूर्ण लाग्ने नै भयो !’

तर आजको यात्रा अनुभूतिले भने उक्त ठम्याईलाई संशोधन नगरी नहुने बाध्य तुल्याइदियो । कुरा यस्तै छ ।

मान्छे प्रकृतिको यति अद्भूत श्रृष्टि हो कि अरबौँ मान्छेहरुमा एउटाको अर्कोसँग ठ्याम्मै अनुहार मिल्दैन । आँखा मिल्दैन, नाक मिल्दैन, आकृति मिल्दैन । उनीहरुको सोचाइ तथा अनुभूति मिल्ने झन् कुरै भएन । भौतिक कुरामा पनि अनौठा दिनहुँ कैयौँ अभौतिक घटना घटिरहेका हुन्छन् ।
७२ सालको भुइँचालो जाँदा दुवाकोट चारदोबाटोभन्दा केही पश्चिमपट्टि भर्खरै बनाएको पक्की चारतले भवन भत्कियो, जबकि त्यसैको बगलमा रहेको पचासौँ वर्ष पुरानो तीनतले भवन भत्किएन, जसका चारैतर्फका भित्ताहरु भूकम्पपूर्व नै नराम्रैसँग चर्किसकेका थिए । यदि ती भवनहरुमा पनि अनुभूति हुने भैदिए भत्कनुपर्ने नभत्कने र नभत्कनुपर्ने भत्किँदा कस्तो अनुभूति संगाल्दा हुनन् ?

यात्राकै क्रममा पनि मसिना मसिना तिलजस्ता कुराहरु छेउ लागिदिएर बसेका हुन्छन् । जब कुनै घटना ती तिलजस्ता कुरामा ठोक्किन पुग्छन्, अनि ती तिलहरु अजङका पहाड बनेर ठाडिन्छन् । कुन तिलमा कुन घटना ठोक्किने हो, त्यो अनिश्चितप्रायः हुन्छ । घटनापश्चात् मात्र तिलको रौँचिरा विशलेषण हुन्छ र सयौँ कारणहरुको थुप्रो लाग्दछ । बाटोमा एकजना हिँड्दा आफू मुनिको सर्प देख्दैन र ऊ नाघेर अघि बढ्न सक्छ । ऊसँग पछिपछि हिँडिरहेको साथीले त्यो सर्प देखेर डराउँछ, उसलाई धपाउन खोज्दा वा भाग्न खोज्दा सर्पले उसैलाई डस्न पुग्दछ । अघिल्लो व्यक्तिलाई सर्पको अनुभूति नै भएन, पछिल्लो व्यक्तिलाई त्यही सर्पको अनुभूति पहाडसरि भयो ।

०००

सल्यानलाई छोएर जाने राप्ती लोकमार्ग र कर्णाली लोकमार्गका गौँडाहरुमा रहेका सातवटै स्थानीय तहका राजधानीहरुमा पुग्ने अवसर मैले यहाँ आउनु पहिले प्राप्त गरिसकेको थिएँ । मलाई बाँकी तीनवटा स्थानीय तहका राजधानीसम्म पुग्ने उत्कट अभिलाषा थियो जुन हाइवेभन्दा भित्रभित्रतिर अवस्थित छन् । ती थिए कालीमाटी, दार्मा र कुमाख ।

एक कार्यक्रमको सिलसिलामा अघिल्लो दिन मात्र जिसस प्रमुख केशबहादुर विष्टसँग कालीमाटीसम्म पुग्ने अवसर जुटिहाल्यो । भ्रमण टोलीमा जिसअ निमबहादुर ओली, जिसस सुस्मिता सुनार र चालक टेकराज वली पनि थिए । त्यही कार्यक्रममा जाने अर्को पृथक टोली पनि थियो र उनीहरुको अनुभूति हाम्रो लागि दुरुह र पृथक नै रह्यो ।

यात्रा अवधिभर केशबहादुरका रसिक ठट्यौलीहरुले पट्यार लाग्दो बाटो कटाइदिए, त्यसमा सुस्मिताको चमत्कारिक हाँसो र निमबहादुरको शालिन समर्थनले पनि भूमिका खेलेको हुँदो हो । यात्राको लागि केशबहादुर जोसुकैका लागि अत्यूत्तम सहयात्री हुनसक्छन् भनी प्रमाणित गरेरै देखाइदिए उनले । पिपलनेटा, मार्के, सालचौर, सुकिदह हुँदै कालीमाटी पुग्ने कच्ची बाटो दुई घण्टाभन्दा केही बढीको भए पनि बाह्र घण्टे यात्राको क्रममा लाग्ने भोकप्यास, डर, थकान, पट्यार जस्ता सबै अनुभूतिहरु दिलाउने खालको बाटो रहेछ ।

हुन पनि दुवै टोलीका सदस्यहरुले कालीमाटीबाट फर्कन नसकेमा उतै बास बस्ने गरी आवश्यक सामलतुमल जुटाएर लिइसकेका रहेछन् भन्ने मलाई के थाहा । मलाई त लागेको थियो दुई घण्टा जान र दुई घण्टा आउन तथा अनुगमन कार्यक्रमको लागि अधिकतम् एक घण्टा छुट्याउँदा पाँच घण्टा मात्र लाग्ने भएकोले ठीक एघारबजे शुरु भएको यात्रा दिउँसो तीनबजे नै समाप्त भैसक्नेछ । अतः मैले बिहान दिउँसो र बेलुका नियमित सेवन गर्नैपर्ने औषधि बोक्ने झञ्झट गरिनँ ।

कालीमाटी समयमै पुगियो । सल्यानबाट पूर्वतिर हानिएकी शारदा फन्को मारेर सल्यानको दक्षिणी पश्चिमी सिमानामा पुगेकी रहिछन् । त्यहाँ उनलाई उस्तै भेषभुषामा भेट्न पाउँदा औधि खुशी लाग्यो । ताजुब त के थियो भने दाङको पहिलो विकासे झोक्का ठोक्किनुपर्ने सल्यानको गोर्‍यान कालीमाटी अद्यापि सल्यानीको लागि गोर्‍यानकै भूमिका निभाइ रहेको रहेछ । अर्थात् सल्यानको लागि दुर्गम र अनकन्टार ठाउँ । सुर्खेत-दाङ सडकले आफ्नो छाति चिरेर गएको अनुभूति अलिअलि संगाल्दै रहेछ कालीमाटीले ।

कार्यक्रम सिध्याउँदा पाँच बजिसकेको थियो । खाजा खानुपूर्व नै यात्रा दलका सदस्यहरु प्रत्येकले खलंगातिरको आकाश चिहाउँथे । आकाशमा पानी पोखिसकेका अधिकाँश सेता बादलका हल्का धब्बाहरु देखिन्थे । ती सेता धब्बाहरुले कालो रुप धारण नगरुन् भन्ने कामना गरिरहेका थिए यात्रीहरु । केही काला धब्बाहरु पनि झल्याकझुलुक गर्दा दुईचारजना यात्रुले त अब खलंगा फर्कन नहुने र बास यतै बस्नुपर्ने जिद्दि गर्न थालिसकेका थिए । कारण थियो, केही गरी आकाशबाट पानी ओइरियो भने पहिरो पनि ओइरिन सक्छ र गाडी फर्काउने वा बिचमा बास बस्ने ठाउँ कतै पनि नमिलेर हैरानी खेप्नुपर्ने हुनसक्छ भन्ने ।

मलाई त्यसको कुनै डर थिएन । पानी पर्नेबित्तिकै पहिरो खसिहाल्ने घटना पनि बिरलै हुनसक्ला । पहिरो नै झरेर बाटो अवरुद्ध गरे पनि एकदर्जन यात्रुले पहिरो पन्छाउने के भारी भयो र बाटोमा बास बस्ने बाध्यता आइपरी जङ्गलमै बसे पनि एक्लादुक्ला थिएनौँ ।

मैले औषधि नल्याई आएकोले निमबहादुर र टेकराजसँग कोठा फर्किने जिद्दि गरिरहेँ । मान्छेको जात नै अनौठो । एकातिर आकाशको बादलको संरचना हेरेर थरथरी काँपिरहेका छन्, अर्कोतिर दश मिनेटमा खाइसकिनुपर्ने खाजा खान नै अढाइ घण्टा लगाइदिन्छन् । यताउता गर्दागर्दै कालीमाटीमै झमक्कै रात परिहाल्यो । टेकराज र जिसस प्रमुखको आँटले गर्दा हाम्रो गाडीले कठिनतम् कच्चिबाटोको रात्रीकालीन यात्रा तय गरिहाल्यो । खुट्टा कँपाइरहेका बाँकी यात्री पछि नलाग्ने कुरै भएन ।

यात्रा तय भएपछि केशबहादुरजीले बच्चैदेखिका रोमाञ्चक घटनाहरुको लयपूर्ण वर्णन थाले । ताली पिट्ने तीन ओलीबन्धु छँदैथियौँ, हाँसोको सुमधुर संगीत भरिदिने सुस्मिता थिइन् । यो विधिले घना जङ्गलभित्रको पहाडीबाटोको अँध्यारो लगायत तपशिलका भयहरुलाई त दूर गरिदियो, तर सडकको पट्यार लाग्दो दूरीलाई भने दूर गर्न सकेन । फलतः केशबहादुरजीले बच्चादेखि वृद्धावस्थासम्मको वर्णन गरिभ्याउँदा पनि बाटो कट्न अल्छी गरिरह्यो । बल्लतल्ल दशबजेतिर हामी सकुशल खलंगा हाजिर भयौँ । धन्न न त झरी झर्‍यो, न त रात्रीकालीन सम्भाव्य घटनाले कसैको रौँ नै हल्लाइदियो । बरु यात्रा समाप्त भैसकेपछि थाहा भयो कि थकान कति विधि लागिसकेछ ।
मैले अब यस्तो प्रकारको यात्रा कहिले पनि गर्नेछैन भनेर देवकुमारीको अगाडि दशचोटी कान समातेर उठबस गरेपछि मात्र उनको मुहार उज्यालियो ।

०००

अरुहरु ‘मान्छेजति बुद्धिमान प्राणी कुनै पनि छैन’ भनी दुहाइ दिन्छन्, म त भन्छु, ‘मान्छेजति मूर्ख प्राणी कुनै पनि छैन ।’ प्रमाण खोज्न अलिकति टाढा पुग्ने हो भने बहत्तर सालको भूकम्पको आतंकसम्म पुग्न सकिन्छ । उता दिनहुँ भूकम्पले धक्का दिइरहेको छ, भूइँको बास हुनपुगेका महलका मान्छेहरु दुई हप्तापछि पिलरबिहिन तलाहरु थप्न प्रतिष्पर्धा गर्न थालिहाले ।

टाढा नजाऊँ । मैले भनिहालेँ, हिजो बेलुका मात्र देवकुमारीको अगाडि कान समातेर उठबस गरेको थिएँ, आज बिहान आकाशको बादलको अनुमान गर्न थालेँ । खलंगाको माथिमाथि सेता बादलका धब्बाहरु शयल गरिरहेका थिए भने टाढाका डाँडाहरुमा काला बादलहरु धुम्धुम्ति बसिरहेका थिए । मैले लख काटेँ अब वर्षाद शुरु भैसक्नेछ । प्राकृतिक झरीले पनि प्रशासनिक वर्षादले पनि पुग्ने अभिलाषा राखिएका दार्मा र कुमाख पुग्नलाई अवरोध सिर्जना हुनसक्छ । अतः आजै त्यहाँ नपुगी नछाड्ने । सूत्र अनुगमनको निहुँ पनि छँदै थियो ।

मैले यो प्रस्ताव देवकुमारीको अगाडि प्रस्तुत गरेँ । उनले अघिल्लो रातको उठबसको स्मरण गराउँदै संशय पोखिन् । मैले अनुमानित निश्कर्ष सुनाएँ, ‘जान दुई घण्टा आउन दुई घण्टा चार घण्टा । यात्राका सम्भाव्य वैकल्पिक अलमलको लागि एक घण्टा थपिदिँदा पनि पाँच घण्टामा त सखारै जसरी पनि फर्किसकिन्छ यहाँ ।’

“हिजो पनि त्यही भन्नुहुन्थ्यो रातको दश बजाउनुभयो । आज त्यही घटना दोहोरिँदैन भन्ने के ग्यारेन्टी छ ?”

“म ग्यारेन्टी त दिन सक्दिन, तर वारेन्टीचाँहि दिनसक्छु । हिजो रसिक यात्रीहरुले खाजा खानै दुई घण्टा लगाइदिएका थिए भने आज त्यस्ता रसिक यात्री सम्मिलित नहुने भएकोले दुई घण्टा त हामीलाई सरासर नाफा नै भयो ।” मैले उता जान मनाउनको लागि सक्दो बल गरेँ ।

“मलाई बोल्ने साथी पनि चाहिन्छन् ।” मलाई उनले नबोल्ने सहयात्रीको रुपमा स्वीकारेकी छिन् । हाम्रो कोठाभित्र उनको यो अभावको पूर्ति शेरबहादुरले गरिदिएका छन् । मैले त्यही अड्कल गरेँ ।

“कसलाई लैजाऊँ त उसोभए ?”

“अनुसन्धान म्याडमलाई लैजाऊँ कि ?” उनको भनाइले मेरो गेसलाई फेल खुवायो ।

“ठीक कुरा गर्‍यौ । तर अनुसन्धान म्याडम आफ्नो लोग्नेको साथबिना तलको बजारसम्म त एक्लै हिड्दिनन्, कुमाखसम्म त के साथ देलिन् र ? ….. पर्ख है त… अनुसन्धान डिएसपिसाबलाई सोधिहेरौँ ?” मैले अशोक कार्की सरलाई फोन लगाएर आफ्नो योजना बताएँ ।

उनले एकछिनमै आफ्नो दम्पतिले नै यो यात्रामा हामीलाई साथ दिने सहमति जनाए । फलतः हामी दुईहजार छहत्तर साल असार अठाह्र गतेको बिहान एघारबजे आआफ्नो कोठाबाट निस्कियौँ । शेरबहादुर हाम्रो पछि लागे ।

“चारसिटे डबल क्याब गाडीमा अटिदैन, कसरी जानुहुन्छ ? फर्कनुहोस् तपाईँ ।”

“लैजाऊँ, लैजाऊँ !” देवकुमारीले जिद्दि गरिन् । तर गाडीमा नअट्ने देखेपछि शेरबहादुर फर्किए ।

हामी चारजना कुमाखको लागि रवाना भयौँ । श्रीनगरबाट रुकुमको सडक समातेर केही मात्र अगाडि के बढेका थियौँ, अशोक सरलाई सिडियोसाबको फोन आयो । फोनबाट जरुरी मिटिङ राख्नुपरेको कुरा बुझेँ मैले । अशोक सरले आफू धेरै टाढा नगएको प्रष्टीकरण दिइरहेका थिए । यसैगरी उनलाई बारम्बार अनुपस्थितिको कारण जनाउनुपर्ने फोन आइ नै रहे । उनले छिट्टै फर्किने वाचा गरिनै रहे ।

मेरो मनमा भने केही चिसो पस्यो । मैले जिल्लाको अनुसन्धानमा खटिनुपर्ने व्यक्तिलाई लामो यात्रामा पछि लगाएर गल्ति त गरिन ? प्रकटमा भने केही चासो नदिएझैँ प्रस्तुत भैरहेँ । आधा बाटो आइसकेका थियौँ आफू फर्किन पनि मिलेन र उनलाई फर्काउन पनि मिलेन ।

डेढ घण्टाजतिमा हामी थारमारे पुग्यौँ । कुमाख हुँदै चौरजहारी जाने बाटो यहीँबाट फाट्थ्यो । बढी आधिकारिक सूचना पाइने हेतुले एकजना ट्राफिक भाइलाई बोलाएर बाटोको अवस्थाबारे जानकारी माग्यौँ । उनले कुनै पनि जानकारी नभएको जवाफ फर्काए ।

“सिठ्ठी फुक्ने जिम्मेवारी पाएका हाम्रा मान्छेको ताल यस्तो छ ।” अशोकले असन्तुष्टि पोखे । मैले दार्माका सम्पर्क व्यक्ति दिपक कुँवरलाई फोन लगाए पनि फोन लाग्दै लागेन । हाम्रो चालक दिपेश खडकाले रागेचौर हुँदै जाँदा छोटो र सजिलो हुने सुझाए र उनकै स्टेरिङको विश्वासमा हामी खरीबोटतिर हानियौँ । खरीबोट पुगेपछि कालो बादलले हाम्रो यात्रामा प्रथम झरी पानी वर्साएर स्वागत गर्‍यो । बल्ल दिपकको फोन आयोः “सर, रारेचौरपट्टिबाट नआउनुहोला त्यताबाट बाटो अप्ठ्यारो छ, थारमारेबाटै उक्लनुहोला ।”

मैले यही कुरा चालक दिपेशलाई सुनाएँ उनले केही महिनाअघि मात्र त्यताबाट दार्मा गएको र बाटो त्यति विधि अप्ठ्यारो नभएको विश्वास दिलाए । सायद अलिकति पनि ब्याक नगर्नु भनेको चालकको मर्दपन हो । हामीलाई विश्वास दिलाउनुको कारण यो एउटा पनि हुनसक्छ ।

अब हामी रुकुमतिर जाने बाटोलाई छोडेर रारेचौरदेखि पश्चिमतिर कच्ची सडकमा तेर्सो उकालो चढ्न थाल्यौँ । राप्ती लोकमार्गको बिग्रिँदै गएको सडकमा प्रतिघण्टा तीस किलोमिटरको दरले हुँइकिएको गाडी अब प्रतिघण्टा पन्ध्र किलोमिटरमा ओर्लनपुग्यो । वर्षाको घनत्व भने अरु थपिन पुग्यो । गाडीको गति आधी आधी गर्दै झर्दै थियो । केही पर नपुग्दै निर्झर पानीका कुलेसाहरु सडकभरि बग्न थाले । हाम्रा यात्रा दलका सदस्यहरु तलमाथि हेर्दै आत्तिन थाले । सडकको तलमाथि दुवैतिर ठाडो भित्तो थियो । मैले कामना गरिरहेको थिएँ कि कम्तीमा अशोक सरको दम्पतिलाई यात्राको कुनै पनि कठिनाइ अनुभूति हुनुहुँदैन । कहिले पनि पहाडी बाटो नदेखेकी मधेशवासी म्याडमलाई हामीले पहाडी बाटो देखाउन रहर गरे फलस्वरुप उनले हामीलाई साथ दिएकी थिइन् ।

निरन्तरको पानी वर्षाइले बाटो हिलाम्य भैसकेको थियो र गाडी घरिघरि चिप्लन थालिसकेको थियो । हामीहरुले आफैलाई ढाढस दिइरहेका थियौँ कि पहिरो आउने खालको जमिन छैन । केही पर पुगेपछि बाटो ओरालो लाग्यो र पहिलो खोला भेटियो । हामीले त्यो तरेर पारिपट्टिको केही चौरिलो सडकमा पुग्यौँ । वर्षाले पनि अलिकति कम भएको छनक देखायो । हामीले सन्तोषको सास फेर्‍यौः “अब हामी सुरक्षित सडकमा आइपुगेका छौँ केही पनि हुँदैन ।”

अलिकति पर पुगेपछि सडक ठाडै उकालो लाग्यो । उकालो ठूलै पत्थरले निर्मित थियो र त्यसको सतहको भाग त्यत्तिकै चिप्लो थियो । भर्खरै वर्षिएको पानीले बाटो हिलाम्मे भएकोले केही हिलो त्यही पत्थरमा टाँसिन पुग्दा अरु चिप्लो हुन पुगेको थियो । हाम्रो गाडीले उक्लने प्रयास गर्‍यो सकेन । केही ब्याक गरेर फोर ह्विल लगाई दुईतीनपटक उक्लने प्रयास गर्‍यो फेरि पनि सकेन ।

“भयो भाइ, हामी झर्छौँ भाइ !”

“हैन, पर्दैन । झर्दा झन् गाडीको लोड पुग्दैन र चढ्न सक्दैन । केही हुँदैन नडराउनुहोस् ।” उसले हामीलाई झर्न पनि मनाही गरिदियो । उकालो चढ्दा अलिकति मात्रै चिप्लिए पनि दशपन्ध्र मिटर जति गहिरो खोल्सामा जाकिने प्रबल सम्भावना थियो । अतः उसले नमान्दा नमान्दै पनि हामी ढोका खोलेर झरिहाल्यौँ । अब आकाशबाट पुनः झरि वर्षन थालिसकेको थियो । हामी झरेपछि उसले ब्याक गर्दै तलै खोलामा पुर्‍यायो । हामीलाई शंका लाग्यो कतै यसले यतैबाट फर्कन खोजेको त होइन ?

पच्चीसतीस मिटर तल झरेको गाडी अकस्मात उकालोमा हिलैसँग बत्तिन थाल्यो सिधा नभई सर्पझैँ नागबेली पर्दै । त्यो देखेर हामी यति डरले हलकाम भयौँ कि कसैले, “राम ! राम !” भन्यौँ कसैले, “शिव ! शिव !” कसैले “हे, भगवान !” पुकार्न थाल्यौँ ।

त्यो गाडी त्यो चिप्लो उकालो पहरमा बतासियो र माथितिर बसेर टुलुटुलु हेरिरहेका हाम्रो अगाडि हाजिर भयो । हामीले उसको आँट र करामतको प्रशंसा नगरी के बस्न सक्थ्यौँ ? हामी अगाडि बढ्दै छौँ, सडक कतै पोखरी त कतै कुलोमा परिणत भइसकेको छ । खोलाहरुमा भेल उर्लन थाल्यो । खोल्साहरुमा खहरेहरु उर्लन थाले ।

कतै घरका छाप्रा देखिनेबित्तिकै भनिहाल्थ्यौँ, “भयो भाइ, केही बेर यतै पर्खौँ !”

“यहाँ पर्खेर के गर्ने अझै ठूलो झरी पर्नसक्छ । न यता न उता भइयो भने कति दिन बस्ने यता ? जाऊँ जाऊँ अगाडि नै ।” हामी त्यतै भिराइलो पाखोमा थिएनौँ । केही थुम्को परेको सतह भएकोले गाडी चिप्लिए पनि भीरमा जाकिने सम्भावना थिएन ।

हामी कच्चीबाटोमा लागेको एक घण्टा भैसकेको थियो तर पानी पर्न थामिएको थिएन । पानी मात्र भए त हो मुसलधारे वर्षा । लगातार एकै ठाउँमा यसरी वर्षा भैदिएको भए ठूलाठूला पहिरा र भेलहरुको आतंक नै मच्चिन्थ्यो । तर हामी जताजता गइरहेका थियौँ त्यतै त्यतै मात्र पानी वर्षिँदै थियो । हामीले पार गरिसकेको बाटो हेर्दा त्यतातिर पानी थामिइसकेको देखिन्थ्यो, तर जतातिर जाँदै थियौँ त्यतातिर उत्पात कालो बादल मडारिइरहेको थियो र हामीमाथि मात्र पर्ने गरी सकुन्जेल पानी ओइर्‍याइरहेको थियो । के यो अरुले पनि संगाल्ने खालको अनुभूति होला ?

जब हामी एउटा भन्ज्याङ काटेर अगाडि बढ्यौँ उतापट्टि त छाङ्गो भीर देखियो । भीरलाई कोपेर सडक बनाइएको रहेछ । भीरको बनावट कमजोर रातोमाटोले निर्मित देखिन्थ्यो । माथिबाट खहरेका खोल्सा उर्लेर सडकको छेउ भत्काइरहेका थिए । एक ठाउँमा चारपाङ्ग्रे छिर्न नसक्ने गरी सडक भत्किसकेछ । न त गाडी मोड्न सकिन्थ्यो न अगाडि जाने बाटो थियो ।

‘अगाडि बढ्नुभन्दा रोकिनु नै वेश’ भन्दाभन्दै पनि दिपेशले तीन पाङ्ग्राले मात्र बामे सर्दै त्यो सङ्कट पार गरिदियो । अलिकति अगाडि के बढेका थियौँ, धेरै माथिको भीरबाट ठूलै रेलो (मसिना ढुङ्गा र हिलोले मात्र बनेको खहरे) झरिरहेको थियो र त्यसले सडक पुरेर सडकलाई नै टेढो बनाएर तलतिरको भीरमा खसिरहेको थियो । पछाडिको सडकको डिल भत्किइसकेकोले अगाडि बढ्नुको कुनै विकल्प नै थिएन । हामीहरु सबै अव्यक्त भयले असिनपसिन थियौँ । तर दिपेश पटक्कै नआत्तिएको हाउभाउ देखाउँदै गाडीलाई त्यही रेलोमा जाकिदियो । गाडी पूरै तलतिर ढल्कियो । पाङ्ग्रा हिलोमा गाडिइसकेका थिए । गाडीको स्टार्ट नै बन्द भैसकेको थियो । माथिबाट झरेको रेलोले गाडीलाई तलको भीरमा धकेलिरहेको थियो । हामीले रामराम भन्न र चिच्याउन बाहेक अरु के नै पो गर्नसक्थ्यौँ र ?

चालकलाई के लागेको थियो कुन्नि ? हामी भने यो प्राकृतिक प्रलयबाट अब कुनै हालतमा बाँचिदैन भन्ने निश्कर्षतिर पुगिरहेका थियौँ । मलाई ठूलो चिन्ता थियो डिएसपि अशोकलाई बहकाएर आफूसँग ल्याएकोमा । आफू त मरिने नै भयो यिनको दम्पत्ति पनि यही घानमा परेमा मलाई मरेपछि पनि सुख दिने छैनन् । अनावश्यक रुपमा बहकाएर डिएसपिलाई नै भीरमा लगेर जाकिदियो भन्ने प्रशासनिक आरोप मेरो बाँकी परिवारलाई लाग्ने भयो भन्ने आतंक म काँपिरहेँ र मनमनै यो दम्पत्तिलाई केही नहोस् भनी प्रार्थना गरिरहेँ । जिल्लामा बसेर हरेक क्षण अनुसन्धान गर्नुपर्ने जिम्मेवार व्यक्तिलाई मैले उल्टै अनुसन्धान गरिनुपर्ने स्थलतिर डोर्‍याउँदै थिएँ । योभन्दा अर्को बिडम्बना के हुन सक्छ ?

साहसी दिपेशको धैर्यताले त्यो रेलोबाट पनि गाडीलाई बिस्तारै पारिपट्टि निकाल्यो । हिजोकै चालकहरु आकाशमा कालो बादल वा त्यताबाट झरेका एकदुई छिटा पानीका थोपा देख्दा पनि तर्सन्थे भने यो चालक सडकमै भेल उर्लँदा पनि निर्धक्क छ । यदि ऊ पनि हडबडाएको भए जे नहुनु थियो त्यो हुनबाट कसैले बचाउन सक्दैनथ्यो । हामीले त्यो संकट पनि पार गरेकोमा उसलाई यथेष्ट धन्यवाद दियौँ । तर खुशी भैहाल्नुपर्ने कुरा थिएन । हाम्रो लागि काल अर्को गौँडा कुरेर बसेको हुनसक्ने सम्भावना उत्तिकै थियो ।
अलिकति पर पुगेपछि भिरालो जमिन सकियो र केही समथर खेतहरु देखिन थाले । पानी पनि थामियो । हामी एउटा सानो खोला तरेर फारुलाचौरमा अवस्थित दार्मा गाउँपालिका कार्यालय परिसरमा पुग्यौँ ।
त्यहाँ दशपन्ध्र मिनेट बिताएपछि हामीले कुमाख पुग्न सकिने नसकिने बारेमा त्यहाँका कर्मचारीहरुलाई सोध्यौँ ।

उनीहरुले एकघण्टामै त्यो कार्यालयमा पुग्नसकिने बताए ।
अढाई बज्दै थियो । हामीले अनुमान गर्‍यौँ एक घण्टा लाग्यो भने साढेतीनबजे त्यहाँ पुग्नेछौँ । आधा घण्टा नै ढिला भएछ भने पनि त्यहाँबाट चारबजे फर्कियौँ भने सात नबज्दै खलंगा पुगिसक्नेछौँ ।

अब हामी ढुक्क भएर अगाडि बढ्यौँ । यता हल्का पानी मात्र परेको थियो । सडक डबल कटिङ गरिएकोले एकदमै फराकिलो थियो र दोब्बर तेजले गाडी सुलुलुलुलु बग्न थाल्यो । आधा घण्टाजतिमा मौलाहाले पुग्यौँ । मौलाहालेमा थारमारेबाट आएको ग्राभेल सडक भेटियो । अब गाडी फेरि दोब्बर गतिमा फिलिलिलिलि बग्न थाल्यो । चालक दिपेश थारमारेबाटै यो बाटो नउक्लिएकोमा चुकचुकाइरहेको थियो ।

हामी भनेकै समयमा एकघण्टा नपुग्दै बडागाउँस्थित गाउँपालिका कार्यालयको प्राङ्गणमा छिर्‍यौँ । त्यहाँ कर्मचारीलाई सोधपुछ गरेपछि थाहा भयो कि त्यो त वडा कार्यालय पो रहेछ ! गाउँपालिका कार्यालय त अझै आधा घण्टाको दुरीमा पो छ ! हामी निराश भैहाल्ने अवस्थामा थिएनौ । समय प्रशस्त बाँकी नै थियो, भर्खर त सवातीन बज्दै थियो । हामी अब ओरालो झर्न थाल्यौँ । सडकलाई ग्राभेल गरिँदैरहेछ । नमिलाएर पोखिएका ढुङ्गागिट्टीले गर्दा गाडीको गति पुनः खुम्चन पुग्यो । बिचबिचमा डोजरहरुले बाटो कटिङ गर्दै रहेछन् । आलो माटोमा घिस्रिन पनि गाडीले अरु कठिनाइ महशुस गर्‍यो । हामीले भने जति तल झर्छौँ, प्रत्येकलाई सोध्छौँ: अब रागेचौर कति टाढा छ ? सबैको एउटै जवाफ छ ‘अब आधा घण्टामा !’, ‘अब आधा घण्टामा ।’ मानौँ अन्तरिक्षमा झरिरहेको ताराझैँ । खसिरहेको छ, खसिरहेको छ, तर गन्तव्य कता हो ? थाहा छैन । दुरुस्तै उस्तै हामी पनि । अत्यासले चाउरिसकेका छौँ । समय घर्किरहेको छ । जति रागेचौर पुग्ने समय घर्किँदैछ, फर्कने समय दोब्बर गतिमा घर्किँदैछ । फर्कने हो, यतिसम्म आइपुगियो ! फर्किने होइन, पुगिँदै पुगिँदैन !

धैर्यताको बाँध पूरै भरिइसकेको छ । साइफन जोड्नेहरुले ‘आधा घण्टा !’ भन्दै चिच्याइरहेछन् । विश्वासरुपी साइफनको सानो प्वालमा के अट्थ्यो हामीभित्रबाट छचल्किन थालेको धैर्यता ? धन्न सवाचार बजेतिर गाउँपालिकामा हाजिर भइयो । मैले सम्पर्क व्यक्ति सोधखोज गर्न थालेँ । एकजना रेशम ओली काठमाण्डौतिरै छन् । प्रशासकीय अधिकृत भेटिए पनि हुन्थ्यो, आइटि अफिसर भेटिए पनि भयो । योजना हेर्ने भेटिए पनि भयो, त्यही नभए कम्प्युटर चलाउन सक्ने जोसुकै भेटिए पनि यहाँसम्म आइपुग्नुको उद्देश्य त पूरा हुन्थ्यो !

गाउँपालिकाको प्राङ्गणमा रहेका केही व्यक्तिलाई कर्मचारीको बारेमा सोध्यौ, उनीहरुले, “हामी त सेवाग्राही हौँ !” भन्दै अर्कोतिर औँल्याए । उनीहरुतिर औँल्याएतिर पुग्यौँ, उनीहरुले, हामी त “गैसस संस्था आइडिएका कर्मचारी हौँ, उहाँलाई सोध्नुहोस् !” भने फेरि उतै पुग्यौँ, “हामी त कार्यालय सहयोगी हौँ, उहाँलाई सोध्नुहोस् ।” उतैतिर पुग्यौँ र सोध्दा थाहा भयो गाउँपालिकाका आधिकारिक व्यक्ति अर्थात उपाध्यक्ष रहेछन् । कर्मचारीहरुको बारेमा सोधपुछ गर्दा थाहा भयो बाँकी कर्मचारी सबै विदामा रहेछन् । कम्प्युटर खोल्न सक्ने एउटा व्यक्ति पनि त्यहाँ फेला परेन । हामी निराश भएर फर्कने कुरा गर्दा उनले एकैछिन बसिदिन आग्रह गर्न थाले ।

काम हुन्छ कि भन्ने झिनो आशा पलायो । उनले हामीलाई प्रशासकीय अधिकृतको कोठामा लगिपुर्‍याए र आफू प्रशासकीय अधिकृतको कुर्सीमा बिराजमान भए । त्यसपछि एउटा औपचारिक कार्यक्रम शुरु भएको आभाष पायौँ । तीनजना आइडिएका कर्मचारीहरुको विदाइ हुँदैरहेछ । मैले अशोक सरलाई कोट्याउँदै भनेँ, “जाऊँ, जाऊँ ।” उनले “चुप चुप !’ भन्ने संकेत गरे र पर्खिरहे ।

नभन्दै त्यहाँ त्यो औपचारिक कार्यक्रमको गणपूरक संख्या अर्थात साठी प्रतिशत त हामी अनुगमक टिम मात्रै थियो । हामी उठिदिएको भए रित्तो हुनेथियो विदाइ कार्यक्रम हल ।

विदाइ हुने कर्मचारीलाई अविर लगाइयो र मायाको चिनो दिइयो । फेरि मैले कोट्याएँ अशोक सरलाई, “जाऊँ, जाऊँ !” भन्दै । उनी अडिग नै रहे । अब विदाइ भएर जाने कर्मचारीलाई आफ्नो अनुभूति सहितको मन्तव्य राख्न लगाइयो । अझै ढिला हुने ठानी मैले अशोक सरलाई पुनः कोट्याइरहेँ उहाँले धैर्य राख्न संकेत गरिरहनुभयो । फेरि भाषण शुरु भयो उपाध्यक्षज्यूको । केही प्रशासनिक र केही राजनीतिक भाषण दिँदादिँदै समयले सवा ६ बजाइदिँदासम्म पनि उसको घण्टी हामीले सुन्न चाहेनौँ । सन्ध्या नै उठेर अँध्यारो अनुहार देखाउँदै ‘फर्कनेभए फर्क अब मेरो ड्युटी सकिएर रात्रिको ड्युटि शुरु हुनेबेला भयो !’ भनेर अनुनय विनय गरेपछि मात्र हाम्रा होश खुले र हामी फर्कने तर्खर गर्न थाल्यौँ । पूर्वतिर कालो बादल बाँकी नै थियो र पानी वर्षेर बिहानकै दूर्गति भोगाउन तम्तयार थियो । दिउँसोको उज्यालोका अनेक विकल्पले बाँच्न सफल भए पनि अँध्यारोमा त्यही अवस्था सिर्जना भए बाँच्न सकिएला के ?

बिहानै एघारबजे बाटो लागेर सातघण्टाको निरन्तर कुदाइले यहाँसम्म आइपुगेका थियौँ र अब पनि फर्कनलाई उति नै समय लाग्ने पक्का थियो । तर हामी फर्कन थाल्दा यतै बसौँ न त भनी दया देखाउने त्यहाँ कोही पनि थिएन ।

केही दशक अघि सुनेको थिएँ, “विकट हिमाली जिल्लामा एउटा मात्र स्कूल हुन्छ रे ! त्यहाँ एउटा मात्र विद्यार्थी हुन्छ रे ! ती विद्यार्थीलाई पढाउन नियुक्ति पाएका पाँचजना शिक्षकमध्ये पालैपालो एउटा एउटाले मात्र पढाउँछ रे ! सरकारी कार्यालयमा एकजना मात्र कर्मचारी हुन्छ रे ! सबै कर्मचारी विदामा तराइतिर झरेका हुन्छन् रे ! बाटो हुँदैन रे ! प्लेन पाइँदैन रे ! बास बस्न पाइँदैन रे ! बास पाइए पनि खान पाइँदैन रे !” आदि आदि । तर त्यो ‘रे’ मैले कहिले पनि सामना गर्नुपरेन ।

हिड्न थाल्दा व्यङ्ग्यात्मक पाराले उपाध्यक्षलाई सोधेँ, “कर्मचारीको बारेमा केही समस्या छन् कि ?”

उनले निर्धक्क भने, “त्यस्तो केही समस्या छैन । चलेकै छ ।”
असारको अन्त्यतिर त यसरी चलेको छ भने अघिपछि कसरी चल्यो होला ? भनी सोध्न खोजेथेँ दुई कुराको डरले हच्किएँ एउटा त स्थानीय सरकार प्रमुख हुन् उनको इच्छाविरुद्ध बोल्नु भनेको तातो खरानीमा हात हाल्नु सरह हो । अर्को मेरो चासोको विषय त्यो थिएन ।

हामी पुनः आएकै कठिनतम् बाटो फर्कन थाल्यौँ । पहाड अँध्यारो हुँदै जाँदो थियो भने नयाँ ग्राभेलले पहाडलाई हिमालयको झल्को दिइरहेको थियो । लाग्यो, हामी हिमाल आरोहीहरु नाङ्गो पैतालाले सकसपूर्ण हिमाल चढिरहेका छौँ ! यो हिमाललाई नाघेर चुचुरोसम्म पुग्नुछ र फर्कँदा उस्तै संघर्ष गरेर झर्नुछ ! बाँचियो भने हिमाल चढेको फूर्ति लगाइनेछ, मरे यत्रै सिद्धि !

यस्तै कल्पना गर्दागर्दै मौलाहाले आइपुग्यो । मौलाहालेबाट हामी सिधै थारमारेतिर लाग्यौँ । मौलाहाले नै लेकाली भन्ज्याङ हो, त्यताबाट अझै उकालो चढ्नुपर्दोरहेछ । फेरि मुसलधारे वर्षा वर्षिन थाल्यो । अँध्यारोको खास्टो ओढ्दै गरेको सडक कुहिरोमा गुटुमुटु भयो । पानी निरन्तर वर्षिरहेकै छ । हिलोमा गाडी चिप्लिन शुरु गरिहाल्यो, तर अगाडिको बाटो देखिँदैन । हामी अझै उकालो चढ्दैछौँ । केही बेरमा चोरपानीको बजार आइपुग्यो । त्यसपछि ओरालो बाटो शुरु भएको अनुमान लगायौँ । पुनः निरन्तर ओरालै, ओरालो । भगवान भरोसा आँखा चिम्लिरहेका छौँ । अब न अशोक सरलाई सिडियोसाबको चिन्ता छ न मलाई अशोक सरका दम्पतिको । केही तल पुगेपछि पानी पर्न थामियो । अझै तल पुगेपछि झिलिमिलि बत्तीहरु बलेको देखियो । लाग्यो हामी थारमारेको नजिक आइपुग्यौँ ।

र एउटा दुस्साहसपूर्णजस्तो र मनोरञ्जक यात्रा अनुभूति संगाल्दै रातको दश नबज्दै खलंगा आइपुग्न हामीहरु सफल भयौँ ।

खलंगा ! हाम्रो यो यात्राको उचाइको सर्वोच्च शिखर !! अझै अक्करे ओरालाहरु ओर्लन त बाँकी छँदै छ । ओरालाहरुको कमी कहाँ छ र ? प्रशासनिक भन्नुहोस् वा आर्थिक भन्नुहोस् वा राजनीतिक भन्नुहोस् वा अन्य क्षेत्रगत ।

हिजो असार सत्र गते बेलुका मैले मात्र एक्लै कान समातेर उठबस गरेको थिएँ । आज अठार गते भने देवकुमारीको समेत साथले पुनः यस्तो यात्रा अब कहिले पनि तय नगर्ने भन्दै बीसबीस चोटी कान समातेर उठबस गर्‍‍यौँ ।

तर तपाईँले यो अनुभूतिजन्य यात्रा संस्मरण सबै पढिभ्याउनुभएको छ भने कुमाख भन्नेबित्तिकै नतर्सनुहोस् है ? अहिले तपाईँ खलंगाबाट दुई घण्टामै कुमाखलाई फनक्कै फन्को मारी, चारघण्टामा त मजाले खलंगा नै फर्किन सक्नुहुन्छ । केही समयपछि यो कच्ची सडक स्तरोन्नति भई पक्की सडक भयो भने त तीनघण्टामै कुमाखको फिलिलिलिलि एक फन्को मार्न सक्नुहुनेछ ।

यो दुस्साहसपूर्ण यात्रा त सिर्फ मलाई यति कुरा लेखाउनको लागि प्रकृतिले बाध्यात्मक रुपमा भोगाएको अनुभूति मात्र पो त !

अग्ला लेख कुमाखैमा चिल घुम्यो फनन
यो यात्रा क्या लाग्यो साइलाई पचक्कै भनन ।।

117 total views, 2 views today

Leave a Reply

Your email address will not be published. Required fields are marked *