काले

“पखाला चलेको बखत पानी पिउँदा झन् पखाला चल्छ नि, बुद्धु ! पानी नखा बाबु, नखा !”

म आफ्नो मनमाफिकको सुझाव दिनेको अनुहार समेत फर्केर हेर्न नसक्ने अवस्थामा थिएँ । तारन्तारको पखालाले थलिएर ओछ्यानमै गुटमुटिएको थिएँ । तर स्वर चिनेचिनेजस्तै लाग्यो । टाउको घुमाएर हेर्न खोजेँ रिङ्टा लाग्यो, हेर्न सकिन । मेरो दिशापिसाब बिछ्यौनामै चुहिरहेको थियो ।

“ऐया नि ! फेरि पखाला लाग्यो !!” म पेट कटक्कै खाएकोले चित्कारेँ ।

आमाले मलाई उठाउन खोज्नुभयो ।

“यसलाई पाइखाना म लिएर जान्छु आमा । भो, तपाईँ सक्नुहुन्न ।” उही चीरपरिचित स्वरले आमालाई सम्झायो । ऊ आमाको नाजुक अवस्थाप्रति पनि टिठाइरहेको थियो ।

म बाँच्दिन जस्तो लागेर होला आमाका आँखा केही दिनदेखि ओभाना थिएनन् । मसँगसँगै उहाँले पनि खाना नखाइदिएर निक्कै कमजोर भैसक्नुभएको थियो । मलाई हेर्न आउनेहरुमध्ये आधीले त आमालाई नै सम्हालिरहेका थिए । तर उहाँले उसको सुझाव मान्नुभएन । मलाई आफै उठाएर पाइखाना पुर्‍याउनुभयो ।

फर्केपछि त्यो केटोसँग मेरा आँखा जुधे । ऊ मजस्तै आठदश जतिको थियो र मजस्तै सिकुटे थियो । चिनेचिने जस्तो लाग्यो तर यही हो भनी खुट्याउन सकिन ।

मलाई भेट्न आउनेहरुले नुनचिनीपानी बनाएर पिलाउन खोज्थे, मैले मुख टमक्कै चिम्लिदिन्थेँ । उनीहरुले मेरा ओठहरु जबर्जस्ति च्यातेर पानी पिलाउन खोज्थे । त्यो केटो यो दृश्य देखेर टिठाएर ओठ पिलपिल पारिरहन्थ्यो । मलाई पिलाइएको पानी केही घाँटीबाट तल झर्थ्यो र  धेरै पानी त प्याच्च थुकेर फालिदिन्थेँ । मैले पिई नसकेको कचौराको पानी उसैले स्वाट्ट पिइदिन्थ्यो ।

निरन्तरको ओखतिमुलोपछि म बिस्तारै सन्चो हुँदै थिएँ । केही बिसेक भएपछि मैले उसको अनुहार सम्झने प्रयत्न गरेँ । ऊ यस अघि पनि धेरै चोटी मेरो घरमा आइसकेको थियो । ऊ अक्सर गरी मलाई सारोगारो पर्दा मेरो नजिकमा झुल्किने गरेको थियो । ऊ मेरै घरको आसपासको हुनुपर्छ भन्ने अनुमान गरेँ । मलाई ताजुब लागिरहेको थियो कि “ऊ मेरो दुःखहरुमा यति बिघ्न किन टिठाउँछ ?”

म यी कुरा बुझ्दैनथेँ, किनकि बाल्यावस्थामै थिएँ ।

०००

एकदिन म बालाई चुरोट ल्याइदिन ठाँटीबजार गइरहेको थिएँ कसैले पछाडिबाट अकस्मात् मेरा हात च्याप्पै समात्यो । म झसङ्गै तर्सँदै ऊतिर फर्केर हेरेँ । त्यो केटो उही थियो ।

“मलाई चिनिनस्, गोरे ? म काले के !”

काले नामका मेरा कोही पनि साथीहरु थिएनन् । रङले ऊ काले भन्न लायक नै थियो । म पखालाले थलिँदा पनि यसैले मेरो शिरानतिर ढुकेर मलाई एकछिन छोड्दैनथ्यो । नाममा के छ र ? मेरो दुःखमा ऊ असाध्यै पिरोलिन्छ । सारोगारोमा मद्दत गर्न मरिहत्ते गर्छ ।

“तैँले चिन् वा नचिन्, म तेरो साथी मात्र होइन, निकटको भाइ पनि हुँ ।”

“आमा बाले त आजसम्म केही पनि भन्नुभएको छैन त तेरो बारेमा ?” मैले शंका व्यक्त गरेँ ।

“ऊहाँहरु भन्नसक्नु हुन्न ।”

“तँ मेरो साख्खै भाइ होस् भने उहाँहरुले आफ्नै भाइलाई मसँग चिनाइदिन के गाह्रो भयो र ?”

“किनकि म एउटै कोखबाट जन्मिएको तेरो जुम्ल्याहा भाइ हुँ ।”

“जुम्ल्याहा नै ?” म आँखा फट्टाएर उसलाई वाल्ल परेर हेरिरहेँ । उसले भनेको सही नै हो भने आजसम्म किन आमाबाले लुकाउनुभयो ? म झनै बिलखबन्दमा परेँ ।

“कहाँ जाँदै छस् ?”

“बाबालाई चुरोट ल्याइदिन ठाँटीबजार !”

“ठाँटी जाने छोटो बाटो त यता छ नि त, कहाँ लामो बाटो हिँडिरहेको ? आइज, आइज मेरो पछिपछि !” उसले मलाई तान्दै काप्रिवासको बाटोतिर लग्यो । कान्ला नाघिसकेपछि तलतिर त बाटोको नामनिशानै थिएन । छाङ्गो भीर मात्र थियो ।

“बाटो कहाँ छ र यहाँ ?”

“बाटो नभएको ठाउँमा हिड्न कति मज्जा हुन्छ ! वर्कँदैफर्कँदै, लर्कँदै, चिप्लेटी खेल्दै ! त्यतिविधि नडरा न, आइज, आइज ! केही हुँदैन क्या !” भन्दै फकाउँदै भीरतिर हामफाल्न तम्सियो । मैले उसको हात झड्कारेर खुरुरुरुरु आफ्नो बाटोतिर कुदिहालेँ ।

जब म चुरोट ल्याएर फर्किएँ, अझै पनि ऊ मलाई पर्खिबसेको रहेछ, “मलाई पनि चुरोट खाने तलतल लाग्यो यार् । दे न मलाई एक खिल्ली,” भन्दै मतिर आयो ।

“नाइँ बाले मार्नुहुन्छ ।”

“तेरो बाले चुरोट गनेर बस्छन् कतै ? एउटा मात्र नपुगेको थाहै हुन्न नि ! तैँले चाखेको छस् चुरोट ?”

“छैन, छैन । जिन्दगीभर चाख्दिन पनि । चुरोटले त ज्यान लिन्छ रे । स्कूलमा सरले भन्नुभाको ।”

“इस् लिन्छ ज्यान् !” उसले मलाई ल्वाप्पा ख्वाउँदै सोध्योः “भन्, हाम्रो गाउँमा चुरोटले मान्छे मर्‍यो रे भनेको सुनेको छस् कहिले ?”

मैले गाउँलेले कहिल्यै पनि त्यसो भनेको सम्झिन सकिन । डाक्टरले नै भन्नु त अर्कै कुरा हो ।

“मीठो कुरा आफूले मात्र खान खोज्नेहरुले चलाएको हल्ला हो बुझिस् ? यसले आयु झन् लामो बनाउँछ । खैं ल्या यता । दुवैजनाले खाऊँ ।”

मैले हात कँपाउँदै उसलाई चुरोटको प्याकेट हात लगाइदिएँ । उसले एउटा खिल्ली झिक्यो र सल्कायो । शुरुमा मलाई पिउन कर गर्‍यो । नकार्दानकार्दै पनि उसको जिद्दिले नपिईनहुने भयो । जब मैले चुरोटको धुवाँ पिएँ, पहिलो सर्कोमै घाँटी बेसरी कोक्यायो । फट्को लगायो । पेटका आन्द्राहरु बेसरी मडारिए । मैले मुख बिगारेँ ।

उसले विदाइ हुँदै गर्दा भन्योः “पहिलो दिन जे खाँदा पनि यस्तै हो । पहिलो गाँस भात खाँदा पनि यस्तै भएको थियो बुझिस् । अहिले त्यो तीतो बिर्सिसक्यौँ र मात्र अहिले भात मीठो लाग्छ । दिनदिनै खाँदै गएस् । अनि थाहा पाउलास् !”

मैले अब लुकाइलुकाई चुरोट तान्न थालेँ । बिस्तारै चुरोट मीठो हुँदै गयो । उसैको बहकाउमा लागेर पछि जाँडरक्सी पनि खानथालेँ । उसले जे जे गर्न हुन्छ भन्थ्यो, उसै गर्दै जान थालेँ जुन सामाजिक रुपले बर्जित थिए ।

म किशोरावस्थामा गुज्रिइरहेको थिएँ ।

०००

म अब घोर्ले तन्नेरी भैसकेको थिएँ । समाजले जे जेलाई कुलत भन्थ्यो त्यही कुराको सेवन गर्न तलतल हुन्थ्यो ।

एक दिन म जङ्गलतिर गइरहेको थिएँ । उसले मेरो पिछा गर्न थाल्यो । ऊसँग धेरै कुरा सोध्न बाँकी नै थियो तसर्थ मैले पनि उसलाई पर्खिएँ । ऊ आइपुग्नेबित्तिकै सोधिहालेँ

“अनि जुम्ल्याहा भाइ भनेको थिइस् नि ? तेरो खास घर पनि देखेको छैन मैले । तँलाई कसले पालिरहेको छ ?”

“उहिले कि अहिले ?”

“पहिलेदेखि अहिलेसम्म बता न !”

“मैले बताएको कुरा तैँले पत्याए पो बताउने !”

“कस्सम पत्याउँछु !” मैले उसले बकोस् भनेर किरिया पनि खाइदिएँ ।

“सुन् !”

“भन्, भन् म सुन्दै त छु ।”

“जब हामी जन्मनुपूर्व आमाको पेटमा थियौँ नि, तँ पूर्णरुपमा हुर्केर जन्मन लायकको भैसकेको थिइस्, म भने अझै भ्रुण अवस्थामा नै थिएँ । जन्मँदा कहिले तँ अगाडि हुन्थिस् कहिले म अघि हुन्थेँ । मैले तँलाई रोक्न सकिन । आखिर तँ यस धर्तिमा जन्मिइस् । जन्मिनेबित्तिकै तँ “चिहाँSSS चिहाँSSS” गर्न थालिस् म भने त्यही सालनालमा बेरिएर आमाकै गर्भाशयमा अड्किरहेको थिएँ । मलाई काँडो भने आमाबाले । केही घण्टापछि मसहित पूरै सालनाल झर्‍यो । त्यो सालनाल झर्नेबित्तिकै मलाई घरनजिकैको खौलामा गाडियो । जसरी आमाको पेटमा तँ हुर्किइस् त्यसरी नै म त्यही खाडलभित्र सालनालमा म हुर्किँदै गएँ ।”

“इस् हुन्छ त्यस्तो ! त्यो सालनाल त दुई दिनमै कुहिएर हप्तादिनमै माटो बन्यो होला नि !”

“तँ पत्याउदैनस् भने भन्दिन म !”

“भन् भन् । पत्याइदिउँला ।”

“जब तँ ठूलो हुँदै गइस्, म हुर्कँदै गएँ । तेरो अस्तित्वको सबैभन्दा ठूलो चिन्ता मलाई थियो, किनकि म मात्र तेरो जुम्ल्याहा भाइ थिएँ । तँसँगै आमाको दूध चुस्न म पनि आइपुग्थेँ कहिलेकाँही । अलि ठूलो भएपछि तँसँगै बाँकी रहेको जूठोपीरो खान थालेँ । मलाई देख्नेबित्तिकै आमाले तँलाई सम्हाल्थिन् किनकि तेरो भाग मैले खोसिदिन्छु भन्ने डर थियो आमालाई ।”

“म आज बेलुका यो कुरा नसोधी छाड्दिन मेरी आमालाई !”

“नसोध् कसले भनेको छ र तँलाई ? तर तेरो हितमा छैन आमाको जवाफ ।”

उसको कुरा सुनेर म बेसरी तर्सिएँ । के आमाबालाई पनि यो कुरा थाहा छ ? कि मलाईभन्दा यसैलाई बढी माया गर्छन् आमाबाले ?

हामी जङ्गलको जतिजति भित्रभित्र पसिरहेका थियौँ, उसको कुरा उतिउति मेरो मनमा भित्रभित्रै पसिरहेको थियो । ‘खाते लफङ्गोले वाहियात कुरा बोल्दैछ !’ भन्ने पनि लाग्दथ्यो । ‘साँच्चिकै हो कि त ?’ भन्ने पनि लाग्दथ्यो ।

मैले उसले जन्माएको आशंका निवारण खोजेँ, “उसोभए अरु जन्मँदा पनि त त्यस्तै सालनालमा भ्रुण बाँकि रहन्छ होला र तँजस्तै जुम्ल्याहाहरु तयार हुन्छन् होला नि त ।”

“हो त । गुड, गुड । हरेक मान्छे जन्मँदा एकएक भ्रुण फ्याँकिएको सालनालमा हुर्किरहेको हुन्छ । यो पनि प्रकृतिको कटुसत्य नियम हो । संसारका प्रत्येक जीवको एकएक छद्म जुम्ल्याहा भाइ वा बहिनी हुन्छ । जसरी पेटमा हजारौँ शुक्रकीटमध्येबाट तँ एउटा मात्र हुर्किइस् । त्यस्तै हुन्छ बाह्य वातावरणको सालनालमा पनि । खाडल वा सालनाल मिल्काइएको ठाउँहरुमा एउटा जीवको एउटै जुम्ल्याहा जोडी हुर्किन्छ, । त्यो जुम्ल्याहा जीव सधैँ सँगसँगै रहन्छ ।”

“इस् होला ! त्यसो हुँदो हो त दोब्बर जनसंख्या हुन्थ्यो यो गाउँमा । यो गाउँ तँजस्तै खातेहरुले नै आधा हिस्सा ओगटेका हुन्थे । त्यस्तो त देखिन्न ?”

“हो के । छन् नि । तैँले नचिनेर मेरो कुरा पत्याउन्नस् । मेरो अस्तित्व नै राम्रोसँग स्विकार गरेको छैनस् तैँले त । देखाइदिऊँ मजस्तै अरु जुम्ल्याहा मान्छेहरुलाई ? हेर्छस् ?”

“सक्छस् भने देखा त !”

ऊ आकाशतिर फर्कियो । मैले पनि त्यतै हेरेँ । हामी अडेस लागेर उभिएको एउटा बडेमानको रुखको हाँगामा अरिङ्गालको भयंकर गोला थियो । अरिङ्गालहरु भुनभुनाउँदै घरिघरि हाम्रो टाउकोमा आइपुग्थे । उसले अकस्मात हत्केलाभरिको ढुङ्गा टिप्यो । मैले “ए, ए, के गरेको त्यो ?” भन्दानभन्दै उसले अरिङ्गालको गोलालाई हिर्काइहाल्यो । हजारौँ कालाकाला अरिङ्गालहरु गोलाबाट भन्किँदै सिधै हामीलाई घेर्न आइपुगे । म उसलाई त्यहीँ छोडेर यताउता हातखुट्टा छिन्किँदै र चिच्याउँदै कुद्न थालेँ । ती अरिङ्गालले मेरो टाउको हातखुट्टा केही बाँकी नराखी जिउभरि टोक्न थाले । लगाएको लुगाभित्र पसिपसि टोक्न थाले । त्यो टोकाइको दुःखाइ यति पीडादायक थियो कि मेरा आँखाबाट झ्वाँला छुटिरहेका थिए । दुखाइ असह्य हुँदै गयो । केही क्षणमै त्यो टोकाइले म अचेत हुँदै भुइँमा पछारिएँ । बिस्तारै ती अरिङ्गालहरुले त्यही कालेजस्तै रुप धारण गरे । अनि सबै मिलेर मलाई मुक्कैमुक्काले हिर्काउन थाले । त्यसपछि मैले केही पनि चाल पाइन ।

०००

“जङ्गलमा गएर किन अरिङ्गालको गोलो चलाइस् बाबु तैँले ? लाठे तन्नेरी भैसकिस् तैपनि  कति उपद्रो गर्छस् तँ ? कति सताउँछस् हामीलाई ?” अस्पत्तालको बेडमा आमाले मलाई सोधिरहनुभएको थियो । दुखाइले जीउ अझै झमझमाइरहेको थियो । मेरा दुवै हातमा सलाइनपानी चढाइँदै रहेछ । हातमा सुइहरु पनि लगाइएको थियो । सुइको दुःखाइभन्दा अरिङ्गालकै दुखाइ बेशी थियो ।

“मैले होइन आमा । मेरो भाइले गर्दा हो !”

“को भाइ भन्छस् तँ ? तेरो कान्छोमामाले तँलाई बचाउन खोजेर जङ्गलबाट अस्पत्तालसम्म पुर्‍याएछ । त्यसबखत उसलाई पनि अरिङ्गालले बेसरी टोकेछन् । उसलाई केही गरी बचाउन सकिएन ।” आमा हिक्की हिक्की रुन थाल्नुभयो ।

“त्यो त भाइ थियो ।”

“होइन, होइन ऊ तेरो भाइ थिएन । ऊ त तेरो मामा थियो । तँलाई बेहोस अवस्थामा देख्दा तेरो वरिपरि कोही पनि थिएन रे !”

आमाले जे भने पनि मैले त्यो मर्ने मान्छे काले नै होला भन्ठानेँ । मलाई पूरा सन्चो हुन दुई हप्ता जति लाग्यो । अरिङ्गालको टोकाइले मेरो जीउभरि खत बसेका थिए । ती खतहरुले मलाई कुरुप तुल्याएका थिए । मेरो अनुहारको कुरुपता देखेर मान्छेहरु हाँस्न थालेका थिए ।

मैले त्यो भाइले मलाई बताएको गुह्य कुरा आमालाई थप पीडा नहोस् भनी कहिल्यै बताउन सकिन ।

म मामाघर पुगेँ र मलाई असाध्यै माया गर्न मान्छेको सोधखोज गरेँ । उहाँ त मलाई बचाउँने क्रममा बितेको धेरै भइसकेको बल्ल थाहा पाएँ । ती मामा त दिनदहाडै देखिने मामा थिए । लुकीचोरी देखिने काले थिएन ।

“उसोभए काले कहाँ होला ? के गर्दै होला ?”

मैले सम्झने बित्तिकै ऊ मेरो अगाडि उपस्थित भैहाल्यो ।

“मैले त तँ मरिस् भन्ने ठानेको । तँलाई अरिङ्गालले टोकेनन् ?” मैले उसलाई हत्तपत्त सोधेँ ।

“म यसै कहाँ मर्छु र ? तँ बाँचुन्जेल म पनि बाँचिरहन्छु । बाह्य गर्भाशयमा हुर्किएकोले मेरो शरीर दुखाइ प्रतिरोधी भैसकेको छ । मलाई कुनै चिजको पनि विष लाग्दैन ।”

“इस् होला !”

“देखिरहेकै छस् नि । गत महिना अरिङ्गालले टोक्दा तँ झण्डै परमधाम भइनस् । म तेरोजस्तो जिउभरि खत नबोकेर बाँचेकै छु ।” उसले भनेको कुरा सही नै थियो । नपत्याई करै लाग्यो ।

मैले झोक्किँदै भनेँ “उसोभए त्यस दिन मलाई मात्र मार्न खोजेको होस् तैँले ? भन् किन मार्न खोजिस् ? मलाई मारेर के पाउँछस् तैँले ? मेरो भागको श्रीसम्पति लुट्न चाहन्छस् ? आफ्नो अधिकार फर्काउन चाहन्छस् ? मेरो घरमा हिँड्, म तिम्रो कोखको सन्तान हुँ भनी बुझाइस् भने तेरो स्वागत गर्लान् आमाबाले बरु । तँलाई मेरो जस्तै सुविधामा पालनपोषण गर्लान् । मलाई मात्रै बिनसित्ति किन सताइरहेको छस् तैँले ?”

“त्यसो नभन् । मेरो मुटू नचुँडाल् । मैले तँलाई मात्र मार्न खोजेको होइन । म त तेरै आश्रयले बाँचेको छु । तैँले बचाइस् भने म बाँच्छु । तँ जति लामो आयु बाँच्छस्, त्यति लामो आयु म पनि बाँच्छु । तँ नै रहिनस् भने म पनि कहाँ रहन्छु र ? तँ र म एकैदिन यो संसारबाट विदा हुनेछौँ । यत्ति बुझ् ।”

मैले उसको कुरा इन्कार्दै भनेँ

“हामी संगै जन्मिए पनि कुनै हालतमा पनि संगै मर्न सम्भव छैन । कालको अगाडि कोही जेठो कान्छो हुँदैन । कि अगाडि तँ मर्छस् कि म मर्न सक्छु । दुवैले एकैचोटी आत्मदाह गरे अर्कै कुरा । म बेफ्वाँकमा तँसँग एकैचोटी आत्मदाह गर्न कहिल्यै तयार हुनेछैन ।” म च्याँठ्ठिएँ ।

“हेर्दै जा ! तँ बुझ्दैनस् । तँलै भ्रम पालिरहेको छस् । बरु साँचो म हुँ । म तँलाई यति माया गर्छु कि तेरो अस्तित्वबिना मेरो कुनै अस्तित्व देख्दिन ।”

०००

म प्रौढावस्थातिर लम्कँदै थिएँ र सबै प्रकारका कुलतहरुमा फसिसकेको थिएँ । अब भने मैले जे गरिरहेको छु त्यो ठीक होइन भन्दै बुझ्न थालेको थिएँ । ती कुलत छोड्न खोज्थेँ, तर मरे सक्दिनथेँ । अरुहरु मदेखि तर्केर नाकमुख छोप्दै हिँड्थे । मलाई देखेपछि खासखासखुसखुस गर्न थाल्थे । मलाई टाढैबाट औँल्याउँथे र असामाजिक प्राणीको उदाहरण दिन्थे । म जीवनदेखि नै वाक्कदिक्क हुन थालेको थिएँ ।

एकदिन मुसलधारे वर्षात् भइरहेकोले मुग्लु खोलामा ठूलै भेल आयो । ऊ अकस्मात् मेरो घरको आँगनमा टुपुल्कियो र भेलका माछा छोप्न जान कर गर्न थाल्यो । भेल आएको बखत माछा छोप्न मलाई पनि रहर नै थियो । म र ऊ कुरिल्लो बोकेर खोलातिर झर्‍यौँ । खोलामा पुग्नेबित्तिकै उसले झ्वाम्मै उर्लिँदो भेलमा हाम फालिहाल्यो । आफैँसँग आएको भाइलाई बचाउनु मेरो कर्तव्य थियो । मैले पनि उसलाई पाखा झिक्न त्यही भेलमा हामफालेँ । न मैले उसलाई पक्रन सकेँ, न त आफैलाई नै पाखा उतार्न सकेँ । मुढो आएर मेरो टाउकोमा बज्रियो म चोटले रन्थनिएँ र बेहोसीको अवस्थाबाट गुज्रन थालेँ । मैले बलगरी मुढोलाई समात्नुपर्छ भन्नेसम्म चेत थियो । त्यसपछि म भेलमा मिनोमा फसेछु । भेलले मुढासँगै पाखा फ्याँक्दा समेत मैले मूढो छाडेको रहेनछु । म फेरि पनि बाँचेँ ।

गाउँमा गोरेले आत्महत्या गर्न खोज्यो भन्ने हल्ला चल्यो । मैले कालेलाई बचाउन भेलमा हाम फालेको भनेर जति पुष्ट्याँइ दिए पनि कसैले पत्याएनन् ।

०००

म त कालेकै मोहजालमा फसिरहेको थिएँ । मलाई कुनै केटीले पनि नमानेकोले मैले जोवनभर बिहे पनि गरिन ।

म अब अधबैँसे भैसकेको थिएँ । यसबिच म धेरै रोगहरुको शिकार भैसकेको थिएँ र आफ्ना छाउँलीहरुभन्दा निकै बूढो देखिन्थेँ । मधुमेह, थाइराइड, दम, बाथ, यौनरोग, छाला, आँखा, कान, नाक, टाउको, ढाड आदितिर समस्यै समस्या थिए मसँग । मैले डाक्टरको सिफारिशअनुसार भ्याएसम्मको निशुल्क औषधि सेवन गरिरहेको थिएँ ।

कोही नभएको मौका पारी काले मेरो घरभित्र छिर्‍यो र मेरो अगाडि उभियो । म झण्डै औषधिको थुप्रोमा पुरिएको देखेर ऊ मरीमरी हाँस्न थाल्यो ।

“टिठाउलास् भनेको त हाँस्छस् पो अझ । यसमा हाँस्नुपर्ने कुरै के छ र ?”

“तैँले जति आफूलाई बचाउने कोशिस गरिरहेको छस्, त्यति नै मलाई बचाइरहेको छस् । मलाई पुलपुल्याएर पालिरहेको छस् तैँले । यो संसारका चर्तिकला अझै देख्ने र देखाउने भइस् भन्दै खुशीले हाँसेको नि ।”

“कसरी मैलै तँलाई पालेँ ?”

“पहिलेदेखि नै भन्दै छु नि । तँ जे खान्छस्, त्यही म खान्छु । तँ जति दुख्छस्, त्यति म दुख्छु । तँ जति खुशी हुन्छस्, त्यति म पनि खुशी हुन्छु ।”

“न हौस्या मलाई । म थप चिन्ताले जलिरहेको छु र रोगले थलिएर मरिरहेको छु । तँ निरोगी छस् र निर्धक्क पनि छस् । तँ र म आकाश पात्तालकै फरक छौँ । समान त छँदैछैनौँ ।”

ऊ एकछिन बिचारमग्न भयो र मलाई भन्यो ।

“मजस्तै हुन चाहन्छस् भने यसो गर् । नखा यी औषधिहरु । फालिदे । मलाई औषधि देख्यो कि दिगमिग हुन्छ ।”

“म अझै बाँच्न चाहन्छु । तेरो कारणले मात्र म मेरो थप जीवनको सवाल बनेका औषधि किन त्यागूँ ?”

“यति धेरै रोग पालेर किन बाँच्न चाहन्छस् तँ ? बाँचेर के गर्न चाहन्छस् ? के हेर्न चाहन्छस् ?”

“त्यस्तो त केही होइन । मलाई सिर्फ मर्नदेखि डर छ । त्यसैले पनि बाँच्न चाहन्छु म ।”

“पख् है त उसोभए !”, ऊ फरक्क फर्कियो र एकैछिनमा एउटा सानो शिशी लिएर आइपुग्यो ।

“ला यो औषधि स्वाट्ट पिइदे ! यो थुप्रोका सबै औषधिले गर्ने काम यसैले गर्छ ।”

मैले उसको हातबाट त्यो सानो शिशी आफ्नो हातमा लिएँ र रिङाइरिङाइ हेर्न थालेँ । शिशीको लेवलमा खतराको चिन्ह थियो । कम्पोजिसन पनि हेरेँ । त्यो त कार्बनमोनोअक्साइड घुलित विष थियो ।

“यो त विष हो । यो खान्न म । आखिर मलाई किन मार्न चाहन्छस् तँ ?” मैले चिच्याउँदै त्यो शिशिलाई उसैतिर हुत्त्याइदिएँ ।

“नखाने भए नखा । मैले तँलाई तेरो इच्छाविरुद्ध कहिल्यै पनि कर गरिन र अब गर्दिन पनि । तर यत्ति बुझ्, यो ज्यानै जाने विष भने होइन ।”

“विष नभएर यो उन्नाइस हो त ? वा एक्काइस हो ?”

“त्यस्तो केही होइन, यो खाएपछि अरु कुनै औषधिहरु पनि लिइराख्नुपर्दैन । तँ मजस्तै निरोगी र निर्धक्क हुनेछस् ।

“होइन ढाँटिरहेको छस् तँ । मलाई झुक्क्याएर मार्न खोज्छस् तँ । मैले मरिगए खानेछैन यो ।”

“कठै तँलाई मारेर मैले के पाऊँला र ? विश्वास गर् न मेरो । यो विष होइन भन्दैछु । तँलाई मदेखि शंका नै छ भने म गइदिन्छु ।”

ऊ शिशी लिएर फटाफट बाहिर निस्किदियो । म वाल्ल परेर ऊ गएको हेरिरहेँ ।

०००

जब ऊ बाहिर निस्कियो अकस्मात नाटकीय तरीकाबाट मेरो अगाडि अर्को मान्छेको प्रतिरुप उत्पन्न भयो । नियालेर हेरेँ । त्यो त मेरै प्रतिरुप थियो ।

“को होस् तँ ? तँ पनि मलाई मार्न चाहन्छस् ?” मैले उसलाई केरकार गरेँ ।

“होइन गोरे, म तँलाई मार्न होइन, बचाउन आएको हुँ । तँ जन्मनुपूर्वदेखि अहिलेसम्म तँलाई अनेक जोखिमहरुबाट जोगाउन म नै अघि सरेँ । मैले आफै जोगाउन नसक्ने अवस्थामा तँलाई सयौँ विकल्पहरु दिएँ र तँ अहिलेसम्म बाँचिरहेको छस् ।”

“आखिर होस् तँ को ? भन् पहिले !”

“म तेरो चेतना हुँ । जैविक चेतना शक्तिले नै संसारको अस्तित्व रहेको छ । संसार बाँचेको छ । समस्त संसार फगत चेतनाको पुञ्ज हो । प्रेम, विश्वास, धर्म, अनुशासन सबै चेतनाका रुपहरु हुन् ।”

“होइन तँ ढाँट्छस् । कालेले पनि तैँले भनेकै कुरा हुबहु भन्थ्यो । आखिर उसले मलाई विष पिलाउनेसम्मको षडयन्त्र रच्यो । म कुनै हालतमा पनि पत्याउँदिन तेरा कुरा पनि ।”

“हाsss हाsss हाsss हाsss काले ? त्यो त तेरो भ्रम हो । यो भौतिक युगमा गाडिएको सालनालमा भ्रुण बाँच्छ भन्ने कुरा सजिलै पत्याइस् तैँले । मैले ती भ्रमहरु नपत्याएस् भनी अनेक चेतावनी दिँदादिँदै पनि मानिनस् । मूर्ख कहीँको ।”

“म तेरा कुरा पनि पत्याउन सक्दिन । तैँले कहिले कहिले कसरी बचाइस् मलाई ? भन् पहिले !”

“सुन् । तँ सानैमा पखालाले मर्न थालेको बखतमा तेरी आमाको चेतनामा पसेँ र तँलाई पाइखाना मैले नै लिएँ । कालेले लिएर गएको भए तँलाई पाइखानामै मार्थ्यो ।

चुरोट किन्न जाँदा तेरो साथीको हात झड्कार्न लगाएँ र भीरमा पुगेको तँलाई आफ्नै बाटोतिर दौडाएर बचाएँ ।

जङ्गलमा अरिङ्गालको गोलो खनिँएर तँ बेहोस हुँदा पनि म बेहोस भइन र तेरो शरिरलाई चलमलाइरहेँ । तेरो मामा नजिक आएपछि उसैको चेतनामा पसेँ र तँ बचिस् ।

भेलमा पस्दा पनि मूढो समात्नुपर्छ भन्ने विकल्प दिएँ । तँ बेहोस भैसकेपछि पनि मूढो समातिराख्ने शक्ति मैले नै दिएँ ।

अहिले पनि कालेले दिएको चिज औषधि होइन विष हो भन्ने ज्ञान दिएँ र तँ बाँचिस् ।”

उसले भनेको साँच्चिकै हो कि होइन भन्ने कुरामा म द्विविधामा परेँ । म अलमलमा परेको देखी उसले आफ्ना कुरा अझै अगाडि बढायोः “तर म विवश छु । तेरै मूर्खताले म अबको केही क्षणमा मर्दैछु । म तँबाट सदाको लागि समाप्त हुँदैछु ।”

“मेरो कारणले तँ कसरी मर्छस् र ?”

“तैँले उसैको बहकाउमा लागेर तेरो शरिरले नपचाउने कुराहरु सेवन गर्न थालिस् । तेरो दिमाग नै मेरो आश्रय स्थल हो । भ्रमको पछि दौडेर आफ्नो दिमाग भ्रमहरुले भरिस् र सबैतिर भ्रम नै भ्रम देख्न थालिस् । भ्रम तेरोजस्तै मेरो पनि महाशत्रु हो । तेरै भ्रमले मलाई घाइते तुल्याउन सक्षम भयो । तँ अब दर्जनौँ रोग बोकेर बाँचेको छस् । दर्जनौ औषधिहरुको प्रभावले तँ त बाँचिरहेको छस्, तर मेरा लागि ती औषधिहरु पनि विषतुल्य हुन् । ती विषहरुले मलाई रुग्ण तुल्याएका छन् र त्यसको पराकाष्ठा नाघिसकेकोले म समाप्त हुँदैछु । तैँले यस पृथ्वीमा बाँच्नको लागि अमूल्य जीवन पाएको होस् । तेरो जीवन बेफ्वाँकमा समाप्त हुनुहुँदैन । तसर्थ मबिना पनि केही समय बाँचेस् भन्ने हेतुले तँलाई घचघच्याउन मेरो अन्तिमघडी पूर्व म उत्पन्न भएको हुँ । त्यो कालेले भनेका कुराहरु कुनै हालतमा नपत्याएस् बाबै । त्यो भ्रम हो । त्यो नै तेरो अन्त्य हो । त्योबाट सधैँ टाढै रहेस् । यति गरिस् भने केही वर्ष अझै बाँच्छस् तँ । म गएँ ।”

हेर्दा हेर्दै मेरो अगाडि ऊ बिलायो । ममा एकप्रकारको करेन्टको झड्का जस्तै लाग्यो । म चेतनाशून्य हुँदै गएँ । मेरो दिमागबाट सबै कुरा हराउन थाले ।

०००

विगतका सबै कुरा बिर्सिँदै गए पनि कालेलाई भने बिर्सन सकिन मैले । ऊ त मेरो जुम्ल्याहा भाइ थियो । वास्तवमा मेरो जीवनभर प्रत्यक्ष रुपमा सहयोग गर्ने उही त थियो । ऊसँग दुश्मनी पैदा गरिदिन अरुले ममाथि जाल रचेको हुन पनि सक्छन् ।

मेरो मनले मानेन । मैले बाहिर निस्किसकेको कालेलाई पुनः भित्र बोलाएँ । ऊ फर्केर आयो । मैले उसको हातबाट निलो झोलको शिशि लिँदै भनेँ:

“विष होइन भनेको होस् नि ? विष होइन हैन त यो ?”

“भन्दैछु त पक्कै होइन ।”

“पक्का ? म मरेँ भने ?”

“तँ मरिस् भने म पनि मर्छु । यति बुझ् मैले त तँलाई बचाउन आएको हुँ ।”

त्यो शिशि खोलेर मैले मेरो मुख नजिक पुर्याएँ ।

गन्ध नै यति टर्रो र नमीठो थियो कि मलाई वान्ता आउलासरि आन्द्राभुँडी बाउँडिन थाले ।

“के सुँघिबस्छस् त ? स्वाट्ट पिइदे अनि कति मीठो हुन्छ थाहा पाउलास् स्वाद् !”

मैले आँखा नाक बन्द गरेँ र शिशिको बिर्को खोलेर स्वाट्टै त्यो निलो तरल पदार्थ आफ्नो मुखभित्र हुलेँ ।

त्यसको झोल जिब्रोमा पर्ने बित्तिकै जिब्रोमै आगोको फिलिङ्गो राखेसरि भतभती पोल्नथाल्यो । शरीरभर हज्जार बिच्छिले चिलेसरि दर्द हुन शुरु भयो । हज्जार भोल्टको करेन्ट लागेझैँ जिउभरि झड्का दियो । भुइँ फनफनी घुम्न थाल्यो । हुलुलुलुलु बान्ता नै हुन थाल्यो । मेरो मुखभरि फिँज निस्कियो ।

“तैँले धोखा दिइस् मलाई ! तैँले मार्नखोजिस् मलाई । तँलाई पनि बाँकी छोड्दैन मैले” भन्दै मैले उसको कठालो समाउन खोजेँ ।

मेरो अगाडिको त्यो खाते भयंकर राक्षसमा परिवर्तन भैसकेको थियो । थ्रिलर मुभिमा हेरेजस्तै उसका आँखा राताराता थिए र जिब्रो लपलपाइरहेको थियो । साँच्चिकै दन्त्यकथामा देखाइएजस्तै यमदुतजस्तै द्खिन्थ्यो ऊ । ऊ भन्दै थियोः म काले होइन तेरो काल हुँ । म सिर्फ तेरै लागि जन्मेको हुँ । तँ जन्मेदेखि नै मैले तँलाई समाप्त गर्न अनेक जाल रचेँ । मेरो जालबाट हरेकचोटि तँ उम्किँदै गइस् । तर अर्कोतिरबाट फस्दै पनि गइस् । आखिर आजै तँलाई अन्तिम रुपमा फसाउन सकेँ । हाऽऽ हाऽऽ हाऽऽ हाऽऽ हाऽऽ हाऽऽ तँ अब पूर्ण रुपमा मेरो जालमा परिसकिस् । तँ अब मरिसकिस् ।

म चट्पटाउन खोजेँ सकिन ।

बिस्तारै पीडा कम हुँदै गयो । जति दुखाइ कम हुँदै गयो, मेरो अगाडिको साक्षात् कालको आकृति पनि घट्दै घट्दै गयो । आखिर म पनि सामान्य अवस्थामा आइपुगेँ र ऊ पनि साँच्चिकै साविककै जुम्ल्याहा भाइ कालेको रुपमा परिणत भयो ।

म ऊदेखि औधि खुशी भएँ । किनकि उसले मलाई सबैभन्दा ठूलो कालबाट जोगाएको थियो । सबैभन्दा ठूलो जोखिमबाट बचाएको थियो । उसलाई धन्यवाद दिँदै भनेँ, “साँच्चिकै तँ मलाई बचाउन आएको एउटै कोखको जुम्ल्याहा भाइ रहेछस् भनी पत्याएँ । आज बल्ल चिनेँ तँलाई । मैले जीवनभर तँलाई शंका मात्र गरिरहेँ । तैँले मलाई सधैँको लागि बचाइस् अब । यो गुणको अभिभारा कसरी तिरुँ म ?”

“तैँले पनि त मलाई आजसम्म बचाइरहिस् । यसको गुण मेले तिर्नैं पर्थ्यो । अतः यो जीवनबुटी पिलाइदिएँ । तँ अमर भैसकेको छस् । अब मोज गरेस् । म गएँ । तँदेखि सधैँको लागि टाढा भएँ म अब । बाइ ।”

“ल बाइ !”

ऊ मदेखि परपर हुँदै गयो । पर के जानु, बिलाउँदै गइरहेको थियो ऊ । हेर्दाहेर्दै आखिर मेरो नजरबाट पूर्ण रुपमा बिलायो ऊ ।

ऊ बिलाइसकेपछि ममा अमर भएर बाँच्नुको अहम् पलायो । मैले छाति फुलाउँदै उभिन खोजेँ, लुगा टकटकाउँदै उठ्न खोजेँ, जिउतिर हेरेँ त्यहाँ त एउटा पनि लुगा रहेनछ । आफ्नो जिउ नाङ्गो भयो कि भनी शर्माउँदै निहुरेर आफ्नो जिउ नियालेर हेरेँ ।

म छक्क परेँ । त्यहाँ त मेरो आफ्नो भौतिक जिउ पनि थिएन ।

ओहो म त ऊभन्दा पहिल्यै बिलाइसकेको रहेछु ।

उसले साँच्चिकै भनेको रहेछ । आखिर हामी दुईभाइ जसरी सँगसँगै जन्मिएका थियौँ, उसरी नै सँगसँगै बिलायौँ पनि । ऊ साँचो रहेछ, म पो भ्रम रहेछु ।

186 total views, 1 views today

Leave a Reply

Your email address will not be published. Required fields are marked *