कर्मसही घर्ती मगर

रुकुम पूर्व मैकोट निवासी कर्मसही पछिल्लो समयका उदीयमान साहित्यकार हुन् । उनले कविता कथा निबन्धमा छरितो हात चलाउँछन् । सुन्दर छन्द कविता रच्नु उनको विशेषता हो । ‘चियालय’ ~नियात्राका नियात्राकार घर्ती मगर मईँनाम साँस्कृतिक परिषद् ‘मसाप’ र पुथा प्रकाशनसँग सम्बन्धित छन् ।

जतिखेर म कक्षा पाँच उतीर्ण गरेँ। त्यतिबेला मैकोट गाउँमा त्यो भन्दा माथिल्लो कक्षा थिएन । म रुकुमकोट भर्ना भएँ । कक्षा छ मा ।

कहिले पनि गाउँ नछोडेको मान्छे म । कहीँ कतै कसैले दखल नदिएको मान्छे म। घरको लाडे प्यारमा हुर्किएको म। घर छोड्नुको पीडा मनभरि बोकेर गएको थिएँ म रुकुमकोट । नितान्त एक्लो अनुभव भयो। कक्षा छ मा भर्ना हुँदाका मेरा मित्र थिए छायाँराज घर्ती मगर । हामी बिल्कुल नयाँ थियाैँ । हामी भन्दा माथिल्लो कक्षामा थिए हाम्रै गाउँका धनिमान पुन, तुल बहादुर गुरुङ र टेक बहादुर गुरुङ ।

उबेला मोबाइलको जमाना थिएन । मोबाइल त के, अन्य फोन सुविधा पनि थिएन । पत्रको जमाना थियो । बिल्कुल पत्राचारको युग थियो। केही नियास्रो लाग्यो कि चिठ्ठी लेखिन्थ्यो । घरको यादमा, साथीभाइको सम्झनामा दुई हरफ कोरिन्थ्यो । आफु सकुसल आएको, सकुसल रहेको र आफ्नो बारेमा भई परी आउने दु:ख दर्दहरूको नालीबेली लगाएर निकै मिहिनेतसाथ दुईचार पाना भरेर लेखिन्थ्यो ।

पत्र कोर्न हामी भन्दा ठूला र पाका भैसकेका धनिमान पुन र तुल बहादुर गुरुङ र टेक बहादुर गुरुङहरूको पत्र कोर्ने तरिका हेर्थ्याैँ । अरुहरूको पनि पत्र लेख्ने स्टायल हेर्थ्याैँ । शुरूको सम्बोधन र पत्रको बेलिविस्तार ।

उबेलाको निकै कण्ठष्ट एउटा थेगो थियो । यो थेगो आफ्ना जुनसुकै आफन्तलाई सम्बोधन गरे पछिको र आफ्नो बारेमा सबिस्तार लेख्नु भन्दा अगाडिको कुरा थियो । यसले निकै नै प्रभाव पारेको थियो मलाई अर्थात मेरो उबेलाको समयलाई । अथवा भनाैँ २०४८ को मलाई ।

मलाई प्रभावित पार्ने सुन्दर शब्दहरू थुप्रै थिए । पत्रको वाहकलाई सम्बोधन गरिसके पछि ‘हिमालभन्दा अग्लो, नदी भन्दा लामो, सागर भन्दा गहिरो सम्झना छ भनेर लेखिन्थ्यो । यस्तो लवज निकै मिठासपूर्ण लाग्थ्यो । यसले मलाई खुबै प्रभावित गर्‍यो ।

पत्र लेख्न सकिए पछि टुङ्ग्याउनीमा वाहकलाई प्रभावित पार्न एकाध मुक्तक लेखिन्थ्यो । जुन यस्तो थियो –

हिलो भनेर हेला नगर
हिलोमा फुल्छ कलम फूल ।
गरिब भनेर हेला नगर
गरिबमा हुन्छ चोखो दिल ।।

यो मुक्तकलाई सायरी भन्थ्याैँ । यो सायरीको रचयिता कसले गरेको थाहा छैन परन्तु यो हाम्रो बचपन र युवापनमा ओठ-ओठमा झुन्डिएको हुन्थ्यो ।

१३/१४ वर्षको त्यो उमेरमा यी सायरी खुबै राम्रो लाग्थ्यो । यस्ता थुप्रै थिए । जसका सर्जक मेरा लागि अज्ञात थिए । पत्रको समाप्तिपछि खामभित्र चिठ्ठी बन्द गरिन्थ्यो । खामको अगाडिपट्टि आफ्नो र पाउनेको नाम लेखे पछि पछाडिपट्टि गमले चपक्क पारेर त्यसमा लेखिन्थ्यो-

लैजा चरी हावा नै सरी
यो पत्रको जवाफ तुरुन्त आउने गरी।

यी यस्ता श्लोकले खुबै प्रभाव गर्‍यो मलाई । यस्ता सायरी कापीमा टिप्थेँ । यसकै प्रभावमा म पनि सायरी लेख्न खुबै दिमाग खियाउथेँ । अलि अलि गर्दै लेख्दै गर्दा र मन परेका जति टिप्दै जाँदा कापी भरिन्थ्यो । आफैले लेखेको र अरुका सारेर निकै जतनसाथ कभर राख्थेँ र यसको पाठक म आफै हुन्थेँ । घरतिर पत्र पठाउँदा यसै कापीमा लेखिएका भावनाका तरङ्ग सार्दै लेख्थेँ । इच्छा थियो, यी सायरीले आफ्नो मान्छेलाई प्रभाव पारून्।

सात आठ कक्षा तकसेराको महेन्द्र माविमा पढ्न गइयो । त्यहाँ पनि मैले सायरीहरू खुबै लेख्थेँ । कक्षा ९ मा पढ्न मेरो माइला दाइको मीत हाम्रै गाउँको स्कुलका प्र.अ. शिवहरी पन्थीको घर गुल्मी गएँ। भनभने गाबिस भिरकटेरी गाउँमा थियो उनको घर। शिवहरी दाइको घरबाट दुई घण्टा हिँडेर पुर्कोट दह अवस्थित हाईस्कुलमा पढ्ने भएँ । रातो माटोको बाटो चिल्लो थियो । अझ केटाकेटी खेलेर झन चिल्लै हुन्थ्यो । ती चिल्ला बाटामा यसरी लेखिएका हुन्थे-

नसोध मेरो घरको खबर
केबल ढुङ्गा, माटो र खरको छ ।
नसोध के छ हाल भनेर
केबल हाड र मासुले बनेको छ ।।

अरुले यसरी लेखेको हेरेपछि म पनि उपयुक्त ठाउँमा मन बहकाई लेख्थेँ । लेख्दै जाँदा लेख्ने लत नै बस्यो । शिवहरी दाइकी भाञ्जी तीजमा आमासँगै मावल आई । उनले मैले लेखेका सायरी पढिन् र आफ्नो कापीमा सार्दै गरिन्। तर यही भावुकताले मेरो पढाइ बिग्रिन लाग्यो । परीक्षा नजिकै आयो । यतिबेला म पास नहुने छाँट देखेँ । अनि म साल परीक्षा नदिने निर्णय गरेँ । दशैँ तिहार बिदामा आएका शिवहरी दाइसँगै घर फर्केँ ।

२०५२ साल फेरि बाग्लुङ जिल्लाको बुर्तिबाङ्गमा पुन: कक्षा ९ मा भर्ना भएँ । यो बेला पहिलेका लेखेका सायरी वाहियात लाग्न थाले मलाई । सबै कता हराए त्यो पनि याद भएन । यो समयमा भने म सायरी होइन, कविता लेख्न थालेको थिएँ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको यो श्लोकले निकै मन छोयो ।

हातको मैला सुनको थैला के गर्नु धनले
साग र सिस्नु खाएको बेश आनन्दी मनले।

म पनि अब झ्याउरेमा कविता लेख्न थालेँ । यतिबेला छन्दमा पनि कोसिस गरियो । तर सहज रूपमा लेख्न नसकिने । निकै मिहिनेत गर्नु पर्थ्यो । किताबमा दिइएको गण सूत्रको आधारमा लेखेँ । यति र गतिको नियम भने थाहा थिएन । तर संयोगबस मन्दाक्रान्ता, तोटक र भुजङ्गप्रयातमा लेखेका कतिपय कविताका पाण्डुलिपि अहिले हेर्दा ठिकै लागे। । दुई वटा कविताको उदाहरण-

१. सुख (तोटक)

गहमा रहमा कति आँशु बहे
बहमा पिरले कति मासु घटे
चुलिमा नपुगे पनि जीवन यो
रनमा वनमा मनमा खुशिथ्यो

सपना कहिले विपना नहुने
अलना फलना भनि है नहुने
भन को छ र खै ! जगमा नरुने ?
दुनिया भरमा सुख भै रहने!
-२४ चैत्र , २०५३

२. सुसम्बन्ध (भुजङ्गप्रयात्)

सुसम्बन्धको त्यो उदाएछ रश्मि
अवस्था हुने भो सदा झैँ तिलस्मी
विलाैना निराशा कटाएर डाँडा
म गाऔँ खुसीले मनैको इरादा

पलायो भने आज आशा सबेरै
मजा हुन्छ झन् भोलिको खास धेरै
सुसम्वन्धको प्रीति यो फुल्छ हेर
सदा बासना छर्छ झन् स्पर्श धेर

कहानी छ नाैलो जवानी छ नाैलो
लुकाएर गर्ने इशारा छ नाैलो
छकाए लुकाए नि देखिन्छ त्यस्तै
सधैं याद बन्ने जवानी छ उस्तै

छ उत्साह गाढा खुसाएर आज
छ आनन्द आहा ! मनैमा प्रगाढ
सबै त्यो तगारो हटाएर आज
भए हुन्छ लाै ढुक्क संसार माझ

दिगो हुन्छ माया पुरानो हुँदैन
सधैं साथ पाए विरानो हुँदैन
गरेमा भलाई कला हुन्छ सेवा
कला मै अडेको छ संसार सारा

२६ असाैज , २०५४

बुर्तिबाङ्गको उत्तरगंगा माविमा कक्षा १० मा पढ्ने बेला कविता प्रतियोगिता भयो । जसमा म प्रथम भएँ । त्यसपछि सबैले कवि भनेर बोलाउन थाले । जेहोस्, पत्र लेख्ने बेला ती सायरी नहेरेको भए, तिनले प्रभाव नपारेको भए र लेख्ने मनसाय नगरेको भए म कविता लेख्न लायक हुन्थेन होला ।

एसएलसी पछि पोखराको पिएन क्याम्पसमा भर्ना भएताका म खुबै कविता लेखेँ । केहि पत्रपत्रिकामा छापिए । गण्डकी साहित्य संगमले आयोजना गरेका कविता गोष्ठीमा भाग लिन्थेँ । वाचितमा हुन्थे। पुरस्कार पाइनँ तर समालोचक यदु गाैतम र कथाकार तथा समालोचक घनश्याम ढकालले कार्यक्रम सकिए पछि मलाई सामुन्ने बोलाएर कविता निकै राम्रो भएको भनेर तारिफ गरे । जसले अझ उर्जा थप्यो । अहिले पनि भाव फुरेको बेला लेख्ने बानी जो छ, यो सब हिजोका तिनै सायरीहरूको प्रभावको आधारभूमि टेकेर मात्र सम्भव भएको हो।

कर्मसही घर्ती मगरको चियालयबाट साभार

 402 total views,  2 views today

Leave a comment

Your email address will not be published.


*