कर्णाली घुमाउटो पड्यो

अर्थशास्त्रको विद्यार्थी छँदा बारम्बार घोकेको वाक्यांश थियोः भिसिअस साइकल अफ पभर्टी । अर्थात् गरिबीको दुष्चक्र । शहरमा विकासका बहसहरू चल्दा गुमनाम हुने ‘कर्णाली’ गरिबीको उदाहरण दिँदा भने सबैभन्दा पहिले आइपुग्थ्यो । गरिबी र कर्णाली पर्यायवाची शब्दजस्ता लाग्थे । कर्णालीको गरिबी विकासका अँध्यारा पानामा अभिलेखित मात्र थिएन कर्णाली क्षेत्रका मनमुटुबाट ओकलिने गीत पनि बनेको थियोः

काली र कर्णाली तर्‍याँ भेरी मुइँ तरुँ कि
घाटीउनो पासो लगाई  न्यै कतै मरुँ कि ।।
ओर्‍युँनो कर्णाली जाला पोर्‍यूँनो भेरी जा
जुन्म दिन्या भाविनीय आ दुख्ख हेरी जा ।।

उक्त गीत कर्णालीवासीले रहर वा लहडले गाएका कदापि होइनन् । गीतभित्र अत्यासलाग्दो कहर घोलिएको छ । कहरभित्र निस्सासलाग्दो जहर घोलिएको छ । कर्णालीको भौगोलिक विकटता आफैमा जहरजस्तै छ । यही जहरले अनेक कहर उत्पन्न गर्दछ । ती अनेकौँ कहरका दुष्चक्रमा कर्णालीवासीहरू फनफनी घुमिरहेका छन् । कर्णालीवासीहरू विशेषगरी महिला तथा बालबालिका रोग, भोक, अभाव, कुपोषण र अशिक्षाले आक्रान्त छन् । अशिक्षाले अज्ञानता जन्माउँछ । अज्ञानताकै कारण छाउपडी प्रथा, बालविवाह, बहुविवाहजस्ता कुप्रथाहरू जरो गाडेर बसेका छन् । कुप्रथाहरू गलपासो बनिदिँदा कर्णालीवासीले आफ्ना समस्याहरू बहस पैरवी गर्न बाहिर निस्कन सकेनन् । जसले गर्दा यहाँ समयमै बाटोघाटो पस्न अलमलियो । बाटो नै नपाएपछि कर्णालीमा पुग्नुपर्ने स्वस्थ खानेपानी, सुलभ शिक्षा, स्वास्थ्य सेवा, रोजगारी एवं खाद्य सुरक्षाजस्ता आधारभूत आवश्यकताका मुद्दाहरू नेपालगन्जतिरै अड्किएर बसे । विकासका पूर्वाधार नै नपुगेपछि मानव विकास सूचकाङ्कमा कर्णाली पछि पर्‍यो । वार्षिक आय न्यून रह्यो । परिणामतः रोग, भोक, अभाव, कुपोषण र अशिक्षा अरू थपियो । कर्णाली घुमाउरिएजस्तै कर्णालीमा गरिबी पनि घुमाउरियो । परिणामतः यहाँका जनताहरू गरिबीको रेखाभन्दा तलै रिङ्न बाध्य भए । चर्को मृत्युदरले तर्सिएर घाँटीमा पासो लगाई मर्न बाध्य भए । ‘कर्णाली घुमाउटो पडे’जस्तै यहाँका जनताहरू ‘लौरी नै नबग्ने’ गरी गरिबीको दुष्चक्रमा घुमाउटो पडिरहे ।

कर्नाली घुमाउटो पड्यो लौरी बगाउँदैन
जान्या जोबन बग्न्या पानी फर्केर आउँदैन ।।

यसरी कर्णालीवासीको ऊर्जाशील जोवन कर्णालीको पानीसँग बगिरह्यो । कहिल्यै फर्केर आएन । तल पुगेर बगिरहेको पानी यसरी ठप्प भयो कि झिनो लौरी समेत बगाउन सकेन । कर्णालीवासीहरू मुर्झाइरहे ।

कर्णालीकै नाम लिएर यहाँका नेताहरू राजधानी पसे, उनीहरू राजा भए र धनी पनि भए । पछिल्लो समयमा जनप्रतिनिधि चुनिए तर उनीहरू पनि स्थानीय जनलाई निधि तुल्याउनुपर्नेमा आफू ‘जनप्रति’‘निधि’ मात्र बन्न पुगे । सरकारले अर्बौँ बजेटको थैली पठायो । थुप्रै सरकारी तथा गैरसरकारी संस्थाहरूले कर्णालीमा बजेटको खोलो बगाए । तर, कर्णालीको अवस्था बालुवामा पानी हाले बराबर भयो । कर्णालीको अवस्था जस्ताको तस्तै रह्यो । फेरिँदै फेरिएन ।

लौरी कहाँनेर अड्कियो भने सरकारी वा गैरसरकारी स्रोतसाधन बोकेकाहरूले गरिबीको दुष्चक्रको मारले मुर्झाइसकेका कर्णालीवासीको पात सुमसुम्याए, डाँठ सुमसुम्याए, फूल सुमसुम्याए । कर्णालीका झरिसकेका पात र फूलहरूमा बजेटले आफूखुशी सिँचित गर्न खोजे । तर जरामा पर्ने गरी पानी हाल्न समर्थ भएनन् । मुर्झाएको बीरूवालाई बजेटको समुन्द्रमा लगेर डुबाइदिए पनि त्यो कदापि उम्रन सक्दैन ।

कर्णालीवासीलाई पुनः पल्लवित तुल्याउने मूल कुरा यो हो कि कर्णालीवासीको दुखिरहेको जरा पत्ता लगाऊ । जरामा पर्ने गरी पानी हाल । तर जरा पत्ता लगाउने निहुँले जरानै उधिनेर पानी नहाल । उनीहरूको मुटुको चाल छामेर सुन, अनि बुझ के भन्छन् उनीहरू ?

कर्णाली कर्णालीतिर भेरी भेरीतिर
मु एग्लो डाँडाको मिर्ग क्वै नाइ मेरीतिर ।।
पाउँखेत लस्कर्‍या हिँडाई राजा दर्नालीको
भेट् भया अच्चम्मै होला कोशी कर्णालीको ।।

माथिको गीतले भन्छ कि इतिहासको एक कालखण्डमा समृद्ध ठानिएको, खस साम्राज्य, नेपाली भाषाको उदगम भूमि, विराटताको विरासत बोकेको कर्णालीले यतिखेर एक्लो महसुस गरिरहेको छ । यसलाई एक्लो नपार । विकासका हरेक मुद्दामा यिनीहरूलाई पनि सहभागी बनाऊ । हरेक प्रगतिका शिखर चुम्दा यिनीहरूलाई पनि  साथमै लिएर हिँड ।

केही वर्ष अगाडि पाँच जिल्ला (डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालीकोट) मात्र रहेको कर्णाली अञ्चल अहिले अरू पाँच जिल्ला (रुकुम (पश्चिम भाग), सल्यान, जाजरकोट, दैलेख, सुर्खेत) थपिएर  कर्णाली प्रदेश कहलिएको छ । कर्णालीका जरा पहिचान गर्नमा यो पनि सानो प्रयास हो । नेपाल जति पश्चिमतिर गयो उति पिछडिनुको कारण राज्यले सुरूदेखि बराबरी हिसाबले नहेरी कसैलाई काखी च्याप्नु र कसैलाई बाहिर फ्याँक्नु पनि हो । त्यसैले त कर्णालीवासी गाउँछन् :

डोल्पा राम्रो सेफोक्सुन्डोले हुम्ला सिमिकोट
सेती, काली, कर्नालीका बराबरी चोट ।।
सुदूरपश्चिम नवै जिल्ला कर्नालीका दश
मुलुकको ढुकुटीमा छैन रजगज ।।

आफ्नै हातमा राज्य हुँदा कर्णाली आत्मनिर्भर थियो । सुखी औ समृद्ध थियो । कर्णालीमा उत्पादित वस्तुहरूले तिब्बतदेखि भारतसम्मका बजारहरू ओगटेका थिए । कर्णालीवासीले अन्न र ऊनसँग भोटमा नुन साट्थे । तर अहिले पूर्ण रूपमा परनिर्भर हुनु यिनीहरूको हातबाट शक्ति र स्रोतसहितको राज्य फुत्कनुको कारण त होइन ? हुन त अहिले पनि प्रदेश तथा स्थानीय तहका राज्यहरू पुनर्हस्तान्तरित भएको फुइँ लगाइन्छ । तर सर्वाङ्ग नाङ्गो आङले शक्ति र स्रोतको उपयोग कसरी गर्छ ? त्यसैले त कर्णालीवासी गाउँछन् :

काचो छाम्नु, पाको छाम्नु, तिजु माजा फल 
देख्नु भै, पैरनु भैनै कर्णालीका जल ।।
कर्णालीका तीरैतीर फूल् फुल्यो प्याउली
एक् त मू आफै दुःखी झनै दुखी न्याउली ।।

त्यसो त कर्णालीको सम्भावना र भविष्य सधैँको लागि सकिएकोचाँहि होइन । यसलाई समृद्ध र आत्मनिर्भर तुल्याउन प्रचुर सम्भावनाहरू बाँकी नै छन् । सबैभन्दा ठूलो जिल्ला, सबैभन्दा लामो नदी, सबैभन्दा ठूलो र राम्रो ताल, ठूल्ठूला हिमश्रृङ्खलाहरू, वननिकुञ्जहरू, जडीबुटीहरू, विभिन्न खानीहरू, रैथाने फलफूलहरू, हिमाली अन्नबालीहरू, पर्यटकीय क्षेत्रहरू, ऐतिहासिक, पौराणिक र संस्कृतिका उद्गमस्थलहरू सबथोक यहीँ छन् । यिनीहरूलाई चिन्नुपर्छ, बुझ्नुपर्छ । पहाड नचढी पहाड बुझिँदैन । कर्णाली नतरी कर्णाली बुझिँदैन ।

सेतो राजा मुङलसैन्या चुकिलो दर्नाली
खाँदा क्या बाँकाको गानू पस्ता क्या कर्णाली ।।
हिउँ परी बिलाउनै लाइयो मुसिकोटको रुङा
कर्णाली तर्रेल्ने थियाँ पल्टिन्चै कि डुङा ।।
छड्के मेरो एक पाईनेए झुलो पाईन पाते
कर्णाली तरने थियाँ मनको पाईन साते ।।

युरोपको आल्प्स पर्वत कर्णालीका एकसयवटा पर्वतहरूभन्दा पनि धेरै स्यानो छ । तर त्यही आल्पस पर्वत हेर्न करोडौँ मान्छेहरू त्यहाँ ओइरिन्छन् । नेपालकै सिमानामा जोडिएको भारतको नैनी ताल हेर्न लाखौँको भिड लाग्छ । नैनी तालभन्दा रारा ताल सुन्दरता, स्वच्छता, विशालता र विविधता सबै हिसाबले धेरै अघि छ । तथापि नैनी तालमा लाखौँ पर्यटकहरू झुम्मिँदा रारामा एकसय पर्यटक पनि पुर्‍याउन नसक्नु कसको कमजोरी हो ? हाम्रो विकासको प्राथमिकता कतातिर सोझिएको छ ? यसैबाट आँकलन गर्न सकिन्छ ।

कालीमार्सी धान, चिनो धान, कागुनो धान, सेतो उवा, गहत, जिम्बु, रातो सिमी, कालो सिमी, फापर, जहु, गहुँलगायतका बालीनाली कर्णालीमै फल्छन् । हिमा तिला र जवा नदीहरूले बनाएका विशाल किनारी फाँटहरूमा मात्र होइन ६ महिनासम्म हिउँ परिरहने पहाडका तरेलीहरूमा पनि यी अन्नबालीहरू मज्जाले फस्टाउन सक्छन् । पहाडका भित्ताहरूमा स्याउका बोटहरू लगाएर स्याउको फारम नै सञ्चालन गर्न सकिन्छ । यी खाद्यान्न तथा फलफूलहरूलाई मुलुकका कुनाकुनामा पुर्‍याएर आयात प्रतिस्थापन मात्र होइन निर्यात गरेर शोधनान्तर स्थिति अनुकुल तुल्याउन सकिन्छ ।

हुम्लाको मानसरोबर; मुगुको राराताल, रारा राष्ट्रिय निकुञ्ज, छायाँनाथ मन्दिर, चङ्खेली हिमाल; जुम्लाको खस भाषाको उत्पत्ति भएको जुम्लाको सिञ्जा, तातोपानी, चन्दनाथ मन्दिर श्री कनकासुन्दरी मन्दिर पाण्डव गुफा; डोल्पामा से–फोक्सुन्डो ताल, से–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज र से–गुम्बा; कालिकोटको पञ्चाल झरना, पाचदेबल, बडीमालिका मन्दिर, चुलीमालिका मन्दिर, त्रिदेवी ताल, पानदह; दैलेखमा धुलेश्वर,  श्रीस्थान, पञ्चकोशी, नाभिस्थान, पादुका, तल्लो ढुंगेश्वर; सुर्खेतको देउती बजै, काँक्रे विहार, बुलबुले ताल; जाजरकोटको मालिका गुफा तथा भैरवनाथ मन्दिर; सल्यानको कपुरकोट, खैराबाङ मन्दिर, छायाँक्षेत्र मन्दिर, कुपिन्डे दह, रूकुमको स्यार्पू ताल, डिग्रे साईकुमारी मन्दिर, मुसिकोटलगायतका पर्यटकीय स्थलहरू भएकोले यी पर्यटन क्षेत्रहरूबाट मनग्गे आम्दानी गर्न सकिन्छ । यसै गरी कर्णाली, ठूली भेरी, सानीभेरीजस्ता ठूला नदीहरू र रुकुमगाड, नलसिंगाडलगायत अन्य सयौँ गाडहरूबाट सिँचाइ, जलयातायात र जलविद्युतको प्रचुर सम्भावना देखिन्छ । जडिबुटीहरूमा यार्सागुम्बा, सुगन्धवाल, पाँचऔँले, भुतकेस, कुरिलो, टिमुर, दाल्चिनी, गुर्जो, बोजो, कुट्की, पाङर , लोठसल्ला, बादलपाते, हर्रो, चुत्रो, अमला, पदमचाल, सतुवा, हलहले, कुमकुम, चिराइतो, जटामसी, वन लसुन, नीरमसी, बिखुमा भलायो आदि जडीबुटीबाट ठूलै स्तरको जडीबुटी उद्योग खोली औषधिमा आत्मनिर्भर हुन सकिन्छ भने कर्णाली प्रदेशका अधिकांश भूभागमा पाइने चिउरीबाट वनस्पति घ्यूमा आत्मनिर्भर हुने मात्र होइन निर्यात समेत गर्न सकिन्छ । 

ऐतिहासिक, प्राकृतिक तथा भौगोलिक अवयवहरूको तुलना अन्य प्रदेशसँग गर्दा यो भन्न सकिन्छ कि सभ्यता र स्रोतका हिसाबले सबैभन्दा समृद्ध प्रदेश नै कर्णाली हो । यति हुँदाहुँदै समृद्ध प्रदेशका बासिन्दा कसरी कङ्गाल बन्न पुगे ? सोचनीय कुरा यही छ । ‘माछा देखे खोला हात, सर्प देखे पाखा हात’ हाम्रा नीति निर्माता र कार्यान्वयनकर्ताहरूको कारणले कर्णाली केन्द्रबाट झन् झन् टाढिइरहेको छ । त्यसैले त गाउनेहरूले भन्छन्

शहर बाटी सरकारीको भीर बाटी जुम्लीको
पानी नखाई शिर नलाई कर्णाली धुम्लीगो ।।
कर्णालीका कर्ण छिटा भेरीका भभल्का
साइ टाडा मु पनि टाडा आउन्छन् झझल्का ।।

अब बुझौँ भिसियअस सर्कल अफ पभर्टी र घुमाउटो कर्णालीको तादात्म्यता । उदाहरण खोज्न धेरै टाढा जानुपर्दैन । एकताका बिहार भारतको सबभन्दा गरीब राज्य कहलिन्थ्यो । अपराध, अराजकता र अविकासको पर्याय थियो त्यो । अहिले आएर यही राज्य  शान्ति, समृद्धि र सबलताका लागि अनुकरणीय बन्यो । नितिशकुमारले पहाडै ढाल्ने काम केही गरेका पनि थिएनन् । त्यहाँका जनतालाई सिर्फ कानुनी राज्यको प्रतिबद्धता दिलाइदिए । फलस्वरुप जनता ढुक्कसँग बाहिर निस्किएर काम गर्न थाले वस् त्यसपछि त्यहाँको गरिबीको दुष्चक्र आफै एकएक गरी चुँडिन थाल्यो । अर्को उदाहरण श्रीलङ्का बन्न पुगेको छ । केही वर्षअगाडि सार्क राष्ट्रमै समुन्नत कहलिएको श्रीलङ्का अहिले असफल राष्ट्र कसरी बन्न पुग्यो भनी सबक किन नलिने ?

ओर्‍यूँनो कर्णाली बग्छ पोर्‍युँनो काली छ
बाज तो कोलभरि होइजा कोल मेरो खाली छ ।।

बाहिर भनेको राज्य बाहिरचाँहि होइन । आफ्नै घरबाहिरको करेसामा मात्र । यताका हाम्रा सम्मानित नेताहरू चाँहि घर छोडेर राजधानी शहरतिरै दिन बिताए विकास हुन्छ भन्ठान्छन् । हामी हाम्रा बालबच्चाहरू शहर वा मुलुकबाहिरै पठाए विकास हुन्छ भन्ठान्छौँ । कर्णालीमा सबथोक छ तर जडथोकहरूलाई चलायमान तुल्याउने जनशक्ति नहुँदा विकासका पूर्वाधारहरू जड अवस्थामै रहिरहन्छन् । अनि कहाँ चुँडिन्छ गरिबीको दुष्चक्र ? अनि घुमाउरो कर्णालीले सानो लौरी पनि कसरी बगाउन सक्ला त ? जहाँनेर घाउ दुख्छ, त्यहीँ मलहम लगाउनुपर्छ । दुख्ने र मलहम लगाउने सँगसँगै भएमा मात्र उपचार सम्भव हुन्छ ।

कर्णालीए छाल नहाल् भेरीय फीन फटा
घरबारीय घर नजा दुखीका दिन कटा ।।
कि पानी पिँदै नपे कि कर्णाली सुका
कि त दैव जन्म नदे कि सोचेको पुगा ॥

अर्थशास्त्रको सिद्धान्तले भन्छ कि एक मुख्य इकोनोमिक फ्याक्टरलाई सक्रिय तुल्याउनेबित्तिकै अन्य फ्याक्टरहरू पनि चलायमान हुन थाल्दछन् ।  कहिलेकाँही त एउटै फ्याक्टरले पनि मल्टिप्लायर इफेक्ट सिर्जना गरिदिन्छ । कर्णालीले यही फ्याक्टर चिनेर चलायमान तुल्याउनसक्ने सक्षम नेतृत्वको पर्खाइमा छः

झुले-छड्के-सुल्पा-साबी थैलीभित्र पाल
माछी भै कर्णाली पस्नु म हानुला जाल ।।
काँदैमा बन्दुक बोकी काँ जान्चौ दर्नाली
आउँदा जाँदा पानी प्यूँला नसुकेई कर्णाली ।।
सर्क लाग्यो लिसे बादल कर्णाली तुरुक्क  
सम्झिगेँ बसेकी ठौर रोई गएँ धुरुक्क ॥

०००

 145 total views,  4 views today

Leave a comment

Your email address will not be published.


*