Free songs
Home / व्यक्ति विशेष / कमलमणि देवकोटा

कमलमणि देवकोटा

साविकको खलंगा गाविस मुसिकोट नगरपालिकामा रुपान्तरित भएपछि कार्यकारी अधिकृतको रुपमा एकजना कर्मचारी आउँदै हुनुहुन्छ भन्ने समाचारले खास गरी रुकुमका स्थानीय साहित्यकारहरुमा खुशी छाएको थियो ।

उहाँको रुकुम प्रवेश र मेरो प्रस्थान एकै दिनमा परेकोले त्यतिबेला भेटघाट भएन । उहाँ रुकुम पुगिसकेपछि तत्कालीन राप्ती अञ्चलमा गतिशील भैरहेको रुकुमको साहित्यिक गतिविधि अझै बढेर गयो । उहाँकै पहलमा रेडियो सानीभेरीबाट हरेक शुक्रबार साहित्यमाला कार्यक्रम सञ्चालन हुन थाल्यो । विभिन्न बिचारधारामा खण्डित साहित्यकारहरुलाई उहाँले नै जोड्ने भूमिका निर्वाह गर्नुभयो ।

उहाँलाई साहित्यमाला कार्यक्रममा सुनिरहेको त थिएँ, तर प्रत्यक्ष भेटघाट जुरेको थिएन । खालि अनुमान गर्थेँ अग्ला अग्ला, सलक्क परेका, गजक्क फुलेका, टिमिक्क परेका होलान् ।म निर्वाचन आयोगमा कार्यरत थिएँ । निर्वाचन कार्यालय रुकुममा जिल्ला निर्वाचन अधिकारीको दरबन्दी रिक्त थियो । उहाँको उक्त दरबन्दीमा सरुवा गराएर रुकुमको बसाइ अझै लम्ब्याउने सोचमा हुनुहुँदोरहेछ ।

उहाँ काठमाण्डौ आइपुगेपछि एकदिनको एकाबिहानै मलाई भेट्नको लागि फोन गर्नुभयो । उहाँको र मेरो सहमतिअनुसार हनुमानथान अगाडिको सानो चियापसलमा हाम्रो भेटघाट हुने निधो गरियो । जब उहाँसँग चियापसलमा पहिलो प्रत्यक्ष भेट भयो, उहाँको व्यक्तित्व देखेर मैले जिल खाएँ । मैले अनुमान गरेअनुसार रेडियोका साहित्यमाला कार्यक्रमका प्रस्तोता र मेरो अगाडि उभिएका कमलमणि देवकोटाको व्यक्तित्वमा आकाशपत्तालको फरक थियो । सामान्य पहिरन । गाउँले बोलीभाषा । डल्लेडल्ले । पुड्के पुड्के । रुकुममा भैरहेको साहित्यिक गतिविधिको बारेमा जानकारी दिइसकेपछि उहाँले निर्वाचन कार्यालयमा सरुवा हुन सकिने नसकिने बारेमा जिज्ञासा राख्नुभयो । उहाँले यसको लागि सक्दो सहयोग गर्न अनुरोध समेत गर्नुभयो ।

निर्वाचन आयोगमा जतिसुकै कार्यविधि नियमकानुनका कुरा भएतापनि व्यवहारमा आयुक्तमुखी छ । सरुवा, वैदेशिक भ्रमण तथा महत्त्वपूर्ण शाखाको जिम्मेवारी तोक्दा आयुक्तको निर्णयले प्रभावित गरिहाल्थ्यो । भनसुन नपुग्नेहरु सुदुर पूर्वी जिल्लामा पुग्ने उद्देश्यले निर्वाचन आयोगमा सरुवा हुन्थे, तर पुग्थे सुदुर पश्चिम ।मैले सक्दो सहयोग गरौँला त भनेँ, तर मनमनै हार खाइसकेको थिएँ । आयोगको भुसुनातुल्य मेरो सोर्स प्रयोग गरेर यी बूढाले पनि अब कहाँ दुःख पाउने हुन् । मनमस्तिस्कमा चिन्ताले घरजम गर्‍यो । प्रकटमा भने उहाँलाई सक्दो सहयोग गर्ने वचन दिएँ ।

निर्वाचन आयोगमा त्यतिखेर लेखा उपसचिव बाबुराम श्रेष्ठ हुनुहुन्थ्यो । उहाँले मलाई हरतरहले सहयोग गर्न खोज्नु हुन्थ्यो । मैले पनि उहाँलाई आफ्नै अभिभावकसरह ठान्थेँ र सानाठूला जस्तोसुकै समस्या परे पनि खुलस्त राख्थेँ । कमलमणिको सन्दर्भमा पनि मैले बाबुराम सरलाई नै भन्न उचित ठानेँ । कमलमणिजीलाई शुरुमा बाबुराम सरसँग परिचित गराइदिएँ । बाबुराम सरले सहसचिव बीरबहादुर राईसँग र सचिव मधुप्रसाद रेग्मीसँग भेटाइदिनुभयो । मेरो सोर्सले काम गरेको हो वा उहाँले नै अर्को माध्यमबाट अर्को सोर्स पनि प्रयोग गर्नुभएको थियो त्यो कुरा उहाँलाई नै सोध्नुपर्छ । जे भए पनि उहाँको सरुवा निर्वाचन कार्यालय रुकुममै भइदियो । यसले म उहाँको नजरदेखि तल खस्नबाट जोगिएँ । यही घटना नै हाम्रो असली मित्रताको शुरुवाती पुल बन्यो । जो आजपर्यन्त झन कसिलो हुँदै गइरहेको छ । हामीबिच बलियो एवम् खँदिलो पुल निर्माण हुनुमा उहाँको अनुकरणीय व्यवहार हो । राजनीतिक यो वा त्योलाई उहाँले प्राथमिकतामा राखेको थाहा छैन । सामाजिक उँचनिचबाट पर हुनुहुन्छ ।

तपाइँले हामी दुवैजनालाई नजिकबाट चिन्नुहुन्छ भने मेरा रचनाहरु उहाँले नबिराई निरन्तर पढिदिने र उपयुक्त सुझाव दिने कन्जुस्याँइ नगरेकै कारणले हाम्रो निकटताको बढ्दै गएको अनुमान गर्नसक्नुहुन्छ । जुन अनुमान पूर्ण सत्य होइन । बरु उहाँको म नियमित पाठक हुँ भन्ने बुझिदिनुभयो भने तपाईँको अनुमान र्‍याङको ठ्याङ मिल्न पुग्नेछ ।

उहाँ जागिर र व्यवहारको दृष्टिले सामान्य भए पनि साहित्यिक हिसाबले असामान्य व्यक्तित्व हुनुहुन्छ । उहाँ हाम्रो अग्रज साहित्यकार हुनुहुन्छ र देशकै वरिष्ठ साहित्यकारमा गनिनुहुन्छ । उहाँ हाल राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङको अध्यक्षजस्तो गरीमामय पदमा क्रियाशिल हुनुहुन्छ ।

उहाँ उपन्यासकार, कथाकार, गजलकार, कवि तथा गीतकारको रुपमा बेग्लै स्थान बनाउनुभएको छ । उहाँका प्रमुख कृतिहरुमा चाँदनी (उपन्यास), अवसरवाद (लघुकथा संग्रह), खिँचडी (विविध संग्रह) तथा विभिन्न गिती एल्वमहरु हुन् ।

सदा हँसमुख, मृदुभाषी, व्यवहारकुशल अग्रज व्यक्तित्व कमलमणि देवकोटाज्यूको आज पर्न गएको जन्म दिनको शुभ अवसरमा सुख, शान्ति, समृद्धि सु-स्वास्थ्य, दिर्घायूको कामनाको साथै उहाँको साहित्यिक महामार्ग अझै फराकिलो हुँदै जावस् हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु ।

 52 total views,  1 views today

About Purna Oli

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top