कन्डक्टर्स अफ कन्साइन्स  (मधुवन यात्रा संस्मरण)

परिवार

छोरी अस्मिता अफिसमा विदा लिएर हाम्रो यात्राभोजन बनाउने काममा आफ्नी आमालाई सघाइरहेकी थिई । छोरा परिक्षित कलेजबाट अलि छिटो फर्किसकेको थियो । म अफिसको बाँकि काम सिध्याउने ध्याउन्नमा थिएँ । लामो यात्रामा निस्कने भनेपछि मनमा जुन प्रकारको कौतुहलता मच्चिनुपर्ने हो त्यस्तो केही भइरहेको थिएन । बुरुस मन्जन लगायत दुई जोर सफेद पोशाक र दुई जोर अरु लुगा एउटा सानो झोलामा खाँदखुँद पारिसकेको थिएँ । यात्रा लामो होस् कि छोटो होस् यति नै तयारी मेरो लागि पर्याप्त हुन्छ ।

पुगेर फर्किएकाहरुले ‘हामी जाँदै गरेको ठाउँ अत्यन्तै मनोहर भएकोले जिन्दगीमा एकपटक जानैपर्ने ठाउँ हो । राम्रो अवसर पाउनुभएछ जानुहोस् !’ भन्ने गर्दथे । ओमशान्तिका अनुयायीहरुले त त्यस ठाउँलाई स्वर्ग नै मान्छन् र मिलेसम्म हरेक वर्ष पुगिरहेका हुन्छन् । त्यो ठाउँ हो भारतको राजस्थानस्थित माउण्ट आबुमा रहेको मधुवन ।
यात्राको तयारी सम्बन्धमा सरसल्लाहको लागि अघिल्लो साँझ विष्णु भाइजीको घरमा पुगेका थियौँ । भगवती दिदीले झोलाभरि ज्ञान भरेर आउनू भन्ने शुभकामना दिनुभएको थियो । म अर्थ्याएँ, ज्ञानको झोला भनेकै विवेकयुक्त दिमाग हो । मनमा लागिरहेको थियो अब त दृश्य कैद गर्ने आँखा पनि कमजोर भइसकेका छन् । स्वाद लिने जिब्रो / श्रवण गर्ने कानहरु भुत्ते भइसकेका छन् । डाटा स्टोरेजको लागि दिमाग पनि निरन्तर खुम्चिरहेको छ । अनि कसरी सङ्कलन गर्न सकिएला झोलाभरिको अनुभूति ?

कोठाबाट निस्कनुपूर्व घरबाट यात्रामा निस्कँदाको याद आयो । त्यस हृदयविदारक वियोगात्मक क्षणले मन पिरोलिन्थ्यो । लाग्थ्यो, यस यात्रालाई यहीँनेरै अन्त गरुँ । मनले नमान्दा नमान्दै उनीहरुबाट छुट्टिनैपर्थ्यो । मैले चोरकाटेको डाँडो काटुन्जेल मलाई हेरेर त्यहीँ काप्रीवासको ढिकमै बसिरहेको हुन्थ्यो मलाई विदा गर्ने पारिवारिक समूह ।

त्योभन्दा भयानक अकल्पनीय विदाइ यात्रा बेहोर्नुपर्योु। आफ्नै सन्तानको अन्तिम विदाइ । त्यस विदाइको पीडाले जीवनका गराटाकुरामा उथपलपुथल ल्याइदियो । लागिरहन्छ, त्यो विदाइ अझै पुनर्मिलनमा पुगेर टुङ्गियोस् ! त्यो विदाइले बाँकी सबै विदाइका बुझाइ र भोगाइमा परिवर्तन ल्याइदियो । त्यसले लगाएको घाउ अझै बल्झिरहेको छ । धेरैको सुझावअनुसार माइन्ड मेडिटेशनको लागि हामी ओम् शान्तिको परिवारसँग आवद्ध छौँ । यसले धेरै हदसम्म मलहमपट्टिको काम पनि गरेको छ । यो परिवारले हामीलाई मुख्य प्रतिपादक ब्रह्माबाबाको तपस्थल मधुवनमा जाने अवसर जुटाइदिएको छ ।
छोरी अस्मितालाई असाध्यै मन परेको छ गीतः ‘कौन कहता है, भगवान खाते नहीँ, तुम् सबरीके जैसे खिलाता नहीँ……..’। यही गीत सुन्दै यात्रा भोजन बनाउन तल्लीन छे ऊ ।

भूपेन्द्र भाइ र शान्ति दिदी

“हेर्नुहोस्, यात्रामा कहिलेकाँही यस्तो पनि हुनसक्छ कि आफू मात्र हराइँदैन, तर बाँकी सबै समूह हराउन सक्छ !’ त्यसबेला पनि अविचलित भई यताउता नलागी त्यही ठाउँमा रहिरहनुहोला । अति आवश्यक परे यो नम्बरमा सम्पर्कमा रहनुहोला ।“
यात्री सबैलाई पन्ध्र दिनको कार्यक्रमको रुपरेखा, समयतालिका र विदेशमा पुगेपछि चाहिने सबै फोन नम्बर लिखित पेपरहरु सबैकोहात-हातमा थमाउँदै हुनुहुन्छ भूपेन्द्र भाइजी ।
हामीहरुलाई दिइएको पूर्व जानकारीअनुसार हामी २१ गते दिनको साढे बाह्रबजे नै भैरहवास्थित ओम् शान्ति रिट्रिट सेन्टरमा पुगिसकेका छौँ । भैरहवा सेन्टरबाट मात्रै ६० जना छानिएका छौँ ।१९ गते नै २० जनाको टोली हिँडिसकेको छ । पोखरातिरबाट आउने टोली पनि यतै बास बसेको छ । सबैको अनुहारमा चमक छ, उत्साह छ, कौतुहलता छ, यात्रा प्रारम्भको व्यग्रता देखिइरहेको छ । त्यसले पनि हाम्रो मनलाई रोमाञ्चित हुन मानिरहेको छैन ।
सामान्यतया रामलक्ष्मणको भूमिकामा देखिइरहने शान्ति दिदी र भूपेन्द्र भाइ अहिले सीताको वनसवारीको तयारीमा लागिरहनुभएको छ । यस सवारी चालक सिटमा हुनुहुन्छ शान्ति दिदी । भूपेन्द्रजीले यस सवारीको कन्डक्टरको भूमिका निभाइरहनुभएको छ । उहाँले हाम्रो यात्राको लागि लुगालत्त के के लाने, खानेकुरा के के लाने, कहाँ कसरी पुग्ने, साथमा को को रहने,यात्रा अवधिभर कोसँग कसरी व्यवहार गर्ने, के गर्ने, के नगर्ने, भन्ने सम्बन्धमा लक्ष्मणरेखा कोर्दै मसिना कुराहरुदेखि लिएर महत्त्वपूर्ण कुराहरु दोहोर्‍याइ-दोहोर्‍याइ सम्झाइरहनुभएको छ ।

यात्रामा कसैलाई पनि कुनै प्रकारको समस्या आउन नदिन सुनियोजित खाकाअनुसार हाम्रो यात्रा शुरु हुन्छ भैरहवादेखि । गोरखपुरसम्मको बस यात्रापछि ट्रेन यात्रा शुरु हुन्छ । हामी २० जना ५/५ जनाको दरले ४ समूहमा विभक्त छौँ । प्रत्येक समूहको नेतृत्वको लागि ब्रह्मकुमारी टिचर बहिनीहरु खटिनुभएको छ । यात्रामा अधिकांश वृद्धवृद्धाहरु हुनुहुन्छ । उहाँहरुलाई ट्रेनमा चढाउनेदेखि लिएर सिटमा बसाउनेसम्मको दौडधुपमा लाग्छन् ब्रह्मकुमारी बहिनीहरु । रेलमा बसाइसकेपछि हामीहरु प्रत्येकलाई कर गरीगरी साथमा ल्याएको खाना खुवाउन तल्लिन हुन्छन् । रेलमा शौच देखि लिएर सुत्ने र उठ्नेसम्मका नित्यकर्महरुमा उनीहरुले हामीहरुलाई निर्देशित गर्दैछन् । हाम्रो समूहमा ब्रह्मकुमारी बहिनीद्वय अनिशा र सुमित्रा खटिएका छन् ।
ट्रेनमा परदेशीहरुको सामान्य र स्वाभाविक खटपट बाहेक अरु कसैले पनि कुनै प्रकारको समस्या नखेपी झण्डै ३७ घण्टाको निरन्तर रेलयात्रापछि हामी आबुरोडमा उत्रने तयारीमा छौँ । रेल ७ घण्टा ढिला भइसकेको छ । रेलमा आफूमाथि भएको अलिकति अभद्र व्यवहारले मन कुँढिएको छ । अविरल यात्राले जीउ औधि थकित पनि भएको छ । तर पनि आफ्नो मानसिक बोझ अरुमाथि थोपर्न खोज्नु ओम् शान्तिको मूल्यमान्यताभित्र पर्दैन भनेर मनको कुँढाइ र थकाइलाई थामथुम र सामसुम पार्ने प्रयत्नमा छु । यसैले होला आबुरोड नजिकिँदै जाँदा पनि मन प्रफुल्ल हुन सकेको छैन ।

बहिनीहरु अब अघिल्लो स्टेशनमा झर्नको लागि तयार हुन र आफ्नो सामानहरु राम्रोसँग चेक गरेर आफूसँगै बोक्न निर्देशन दिन्छन् । हामीहरुलाई जसरी चढाएका थिए त्यसरी नै ओराल्न मद्दत गर्छन् । रेल आबुरोडमा हामीलाई छोडेर अघि बढ्छ । स्टेशनको उत्तरपट्टि रहेको ब्रह्मकुमारीको आफ्नै बसस्टेशनमा पुग्छौँ हामी । विभिन्न ठाउँबाट आइपुगेका ओम् शान्तिका अनुयायीहरु बस स्टेशनमा ओइरिरहेको र बसहरुले सफेद पोशाकधारीहरुलाई निरन्तर ओसारिरहेको दृश्य चित्ताकर्षक हुनुपर्ने हो त्यसो पनि हुनसकेको छैन । हाम्रो समूह पनि पालोको बस समातेर पुनः यात्रा शुरु गर्छौँ । अब हाम्रो गन्तव्य स्थल २/३ किलोमिटर मात्र बाँकी छ ।

हाम्रा प्रसिद्ध मन्दिरहरुले शंखघण्ट र भजनहरुको कर्णभञ्जनीय चर्काचर्का स्वरहरुले आफू अवस्थित छनक कोशौँ टाढैबाट दिन्छन् । पूजाका सामानहरु बेच्ने र किन्नेको तँछाडमछाड धेरै परदेखि शुरु हुन्छ । रङ्गीबिरङ्गी भेषभुषामा सज्जित भक्तजनहरुको चहलपहल अझै परबाट शुरु हुन्छ ।
तर यहाँ ? अँहँ केही छैन । फाट्टफुट्ट बाहिर देखिने सफेद पोशाकधारीहरु त छन्, तर न त दौडधुप छ, न कुनै हल्लीखल्ली छ । सोचेको जस्तो कतै केही छैन । मनमा निराशाका बादलहरु मडारिन थाल्दै गर्दा एउटा गेटबाट बस भित्र छिर्छ र पार्किङ स्थलतिर पछि सर्दै यात्रा समाप्तिको छनक दिन्छ ।
‘यही हो हाम्रो यात्राको टुङ्गो !’ भन्छिन् बहिनीहरु । बसबाट ओर्लिसकेपछि चारैतिर हेर्छु पर परसम्म झ्याम्म परेका रुखहरु छन् । फाट्टफुट्ट स्वाभाविक साइजका बिल्डिङहरु छन् । सोचेभन्दा पृथकता कतै केही छैन । अघिल्तिर एकातिर श्रीकृष्णजी र अर्कोतिर ब्रह्माबाबाको तस्बिर टाँगिएको बिल्डिङमा लेखिएको छ:‘विश्व परिवर्तन भवन’ । हेर्दा त्यो बिल्डिङ पनि सफेद र सामान्य नै छ । बारम्बार यहाँ आइपुग्नेहरुबाट सुन्ने गर्थेँ,‘ओम् शान्तिका योगी तथा तपस्वीहरुको योगसाधनाबाट मधुवनको वरिपरि शितलता र शान्तिको भाइब्रेशनको अनुभूति हुन्छ ।‘ भने पनि त्यस्तो कुनै पनि महशुश हुन सकेको छैन किनकि बाह्य वातावरणको प्रभावले गिजोलिरहेको छु रेलयात्राको थकानले जीउ नै हल्लिरहेको छ ।
हामी अब महिला र पुरुषको टोलीमा विभक्त हुन्छौँ । हामीलाई त्यहाँ कार्ड दिँदै भनिन्छ:‘अब यहाँ खान, बस्न र घुम्नको लागि मुख्य आधार यही हो ।‘
हामी त्यहाँबाट अर्को बसमा चढाइन्छौँ र तोकिएका निवास स्थलसम्म पुर्‍‍याइन्छौँ । मेरो पत्नी मबाट छुट्टिसकेकी छिन् । एकडेढ किलोमिटरको बाटोको वरिपरि पनि चित्ताकर्षक कुराहरु केही पाउन सक्तैनन् मेरा तृषित नजरहरुले । अब हामीहरु ७ जना बाँकी छौँ र हामी ज्ञान सरिता लेखेको अग्लो भवनको आँगनमा झारिन्छौँ । रिसिप्सनको सजावट कलात्मक नै छ । ब्रह्माबाबाको दुई हात फैलाएर आगन्तुकलाई स्वागत गरिरहेका प्रतित हुन्छन्, तस्बिरको तलतिर लेखिएको छः‘आ जाओ, निराकारी, निर्विकारी, निरहंकारी। रिसिप्सनमा रहेका व्यक्तिले हामीलाई ४१० नम्बर कोठाको साँचो हस्तान्तरण गर्दछन् । हामी लिफ्टबाट आफ्नो कोठामा पुग्छौँ र सामान्य तर सफा र सफेद आ-आफ्ना बिछ्यौना भाग लगाएर थकाइ मार्न पुग्दछौँ । म ठीक बीचको खाटमा परेको छु । मेरो पूर्वपट्टि छमुरामजी, दीपकजी र गंगारामजी पर्नुभएको छ । पश्चिमपट्टि उज्ज्वल भाइ, विष्णुजी र डोलराजजी हुनुहुन्छ । मेरो शिरानको भित्तापट्टि ब्रह्माबाबाको तस्बिर छ ।
शरीरको सफाइको लागि बाथरुम छिर्छु । कोठाजस्तै बाथरुम पनि स्निग्ध छ । एउटै बाथरुममा चारपाँच वटा धाराहरु छन् । धाराहरु खोल्छु चीसो तातो लगायत वातानुकुलित पाउँछु । जब देह सफा गर्दै जान्छु देही पनि सफा हुँदै गइरहेको अनभूत हुन्छ ।

टेष्ट पेपर

मधुवनमा चार बजे ध्यान शुरु भइसक्ने भएकोले तीन बजे नै उठ्नुपर्छ भन्ने कुरा अरु साथीहरुले सुनाउनुहुन्थ्यो । घरमा ६ नबजी उठ्न नसक्नेले कसरी तीन बजे नै उठ्न सकिएला ? भनी मन अत्यासिन्थ्यो । भोलिपल्ट बिहानै एउटा सुमधुर ध्वनिले निद्रा भङ्ग भयो । आँखा खोलेर हेरेँ, त्यो ध्वनि हराएर गयो । अगाडिपट्टि रातो बत्ति चम्किरहेको थियो । मेरो शिरमाथि ब्रह्माबाबाको तस्बिर टल्किरहेको थियो । घडी हेरेँ बिहानको पौने तीन बज्दै रहेछ । मैले एक मिनेट ध्यानयोग गरेँ र नित्यकर्म सिध्याइहालेँ । डोलराजजी र छमुरामजी धेरै पहिलेका ओम शान्तिका अनुयायीहरु हुनुहुन्छ । उहाँहरुले पनि नित्यकर्म सकेपछि उहाँहरुकै पछि लागेँ । भुइँतल्लामा ‘बाबाको कमरा’ लेखिएको शान्त र सफा कोठामा पाँच मिनेटको ध्यान सकेर हामी पूर्वपट्टि लाग्यौँ । टुटे पहरको माथिपट्टि अर्को ध्यानस्थल रहेछ, त्यहाँ पनि पाँच मिनेट ध्यान गर्यौँ । तीन बजेदेखि नै हामी गेटभित्र प्रवेश गरेको ठाउँ शान्तिवनसम्म पुग्न बसहरु लाग्दा रहेछन् । बस चढेर डाइमण्ड हल पुग्यौँ । डाइमण्ड हल बाहिर पनि बाबाको कमरा रहेछ, त्यहाँ पनि पाँच मिनेटको ध्यान सकेर डाइमण्ड हलमा छिर्यौँ । हलको मञ्चमा ध्यान मुद्रामा प्रमुख ब्रह्माकुमार र ब्रह्मकुमारीहरु बसिसकेका रहेछन् । हामीले पछिल्तिरका खालि कुर्सीमा बसेर करिब एकघण्टा सबैसँग ध्यानयोग गर्यौँ ।

पाँच बजे चियापान गरेपछि प्रकाश स्तम्भमा ध्यान गर्न पस्यौँ । त्यहाँबाट तपस्याधाममा पुगेर ध्यान गर्यौँ । अरु ध्यानस्थलहरुभन्दा तपस्याधाम अलि कलापूर्ण रहेछ । ७ बजे पुनः डाइमण्ड हलमा पुगेर रत्नमोहिनी दादीसँगै ध्यानयोग गर्दै मुरली सुन्यौँ । मुरलीपछि खाजा शुरु भयो । खाजापछि दुईवटा प्रवचन क्लासहरु भए । क्लासपछि खानपिन भयो । खानापछि पुनः आफ्नो निवासस्थल पुगी करीब २ घण्टाजति आराम गर्यौँ ।
चार बजे भैरहवाको टोली कन्फ्रेन्स हल अगाडि जम्मा भयौँ । शान्ति दिदी र भूपेन्द्र भाइले प्रत्येकलाई सोध्नुभयो,‘कस्तो लागिरहेको छ ?’ सबैले ‘ राम्रो लागिरहेको’ जवाफ दियौँ । त्यसपछि भूपेन्द्र भाइजीले यात्राको बारेमा स्मरण सुनाउन भन्नुभयो । हाम्रो नमीठो अनुभूति सुनाउन चिमोट्दै बल गरिरहेकी थिइन् पत्नी देवकुमारीले । मैले आफ्नो नमीठो सुनाएर सबैलाई अमिल्याउन हुँदैन भन्ने भावनाले गर्दा सुनाउन चाहिरहेको थिएन । यात्राको क्षणिक नमीठोपनले मेरो मधुवनको पूरा यात्रास्मरणलाई भने झन्झनै अमिल्याइरहेको थियो ।
भूपेन्द्र भाइजीले मलाई अगाडि बोलाएरै सोध्नुभयोः ‘तपाईँले अलिकसमस्या नै बेहोर्नुपर्योै रे नि ? के भएको हो ? भन्नुहोस् ।‘
‘त्यस्तो समस्या नै त केही भएको होइन । बाहिर निस्किएपछि यस्ता सानातिना समस्या त जसले पनि भोग्नुपरिहाल्छ ।‘मैले मन थामथुम पार्न खोजेँ । अन्तरमनले भने भनिरहेको थियो:‘भन्, भन् । सोधिसकेपछि खुलस्त भन् । तेरो मनको मैलो सफा गर्ने सुअवसर पाएको छस् ।‘
शान्ति दिदीले सम्झाउँदै भन्नुभयोः ‘यो तपाईँको निम्ति बाबाले लिएको टेष्टपेपर हो, यो ड्रामा हो । मनमा पटक्कै केही कुरा पनि नराख्नुहोला ।‘

मैले उहाँहरुसँग मनको अमिलोपन ओकल्न थालेँ ।
………………..
हामी गोरखपुरबाट बहिनीजीहरुले सिट प्लानअनुसार आ-आफ्नो सिटमा बसाल्न मद्दत गर्नुभयो । मैत्रीपथ सेन्टरबाट सहभागी भएका पाँचजनामध्ये म र देवकुमारी रेल-यात्राको लागि नौला थियौँ । बसमा चढ्यो कि बान्ता भइहाल्ने देवकुमारीलाई रेलयात्रामा कुनै अप्ठ्यारो महशुश भएन अपितु अरु तीनजना वृद्ध माताजीहरु आआफ्नो स्लिपरमा आरामसँग लेट्नुभएको थियो भने हामीहरु सिटमा बसिरहेका थियौँ । हाम्रो बीचमा इण्डियातिरकै अर्का यात्री बसिरहेका थिए ।
यस्तै क्रममा लखनौ स्टेशन आइपुग्यो ।
एकजना सफेद पोशाकधारी आइपुगे । हामीले ती व्यक्ति प्रवेश गर्दा आफ्नै समूहका ठानी अपनत्व महशुस गर्‍यौँ । तर उनले आफूलाई सिट चाहियो भन्दै आफ्नो कडा मिजासको परिचय दिँदै गए । हामीसँग गोरखपुरदेखिसँगै बस्ने रिजर्भेशन टिकट थिएन भन्ने कुरा हामीलाई थाहा हुने कुरै भएन । बरु हामीले आफ्नै सिट छाडिदियौँ र दुवैजना बिचको स्लिपरमा गएर बस्यौँ । खाजा खाँदा किन आफूभन्दा माथिको स्लिपरमा बस्यौ भन्दै फेरि निहुँ खोज्न थाले । यसरी केही क्षण हामीले भाषा र मिजाससँग परिचित हुन नसक्दा केही असजिलो भए पनि हामी चुपचाप भइदिएकोले उनको निहुँ सेलाएर गयो । हामीले बाँकी यात्रा आरामसँग सम्पन्न गर्‍यौँ ।
…………….
मेरो भनाइ टुङ्गिएपछि त्यस घटनाप्रति बिचारविमर्श भयो । भूपेन्द्र भाइजीले,“केही मान्छेहरु ओम शान्ति अभियानलाई नै बदनाम गराउन लागिपरेका छन् । सफेद पोशाक लगाएर ओम शान्तिको जस्तो देखिई गलत हर्कतहरु प्रदर्शन गरी ओम् शान्तिप्रति जनताहरुलाई विकर्षित गर्न खोज्दछन् । अतः यस्ताहरुसँग बढी सतर्क हुनुपर्दछ ।“भनेर सान्त्वना दिनुभयो ।
त्यस विषम् परिस्थितिमा मैले अपनाएको धैर्यताको सबैतिरबाट प्रशंशा गरियो ।
शान्ति दिदीले पनि तपाईँहरु नयाँ भएकोले बाबाले टेष्ट लिनुभएको हो । तपाईँहरु अब सफल हुनुभयो अब यात्राको भरपुर आनन्द लिनुहोस् भनेर हाम्रो मन धोइदिनुभयो ।
मनमा गुम्सिएको अमिलोको भारी उकेलेपछि र भुपेन्द्र भाइजी तथा शान्ति दिदीको दिलधुलाई पछि आफू हल्का भएको महशुस पनि भयो । मनमा ह्वात्तै स्फूर्तिको सञ्चार भयो । जीउ नै चङ्गा बनेर उड्न थाल्यो । वरिपरिका सडकहरु अलि चौडा लाग्न थाले । भवनहरु उँचा लाग्न थाले र वातावरण अलि आकर्षक रमनीय र लोभलाग्लादो हुन थाल्यो ।

सपना र विपनाबीचको मधुवन

भोलिपल्ट हाम्रो टोली मधुवन भ्रमणमा उक्लियो ।
हाम्रा कार्यक्रमहरु शान्तिवनमा हुन्थे । निवास आनन्द सागरमा थियो । शान्तिवनबाट मनमोहिनीसम्म पैदल रवाना भयौँ । मनमोहिनीमा पिटिभिको प्रसारणको लागि गड्ली स्टुडियो, विश्वविद्यालयका भवनहरु र निवास भवनहरु रहेछन् । कार्यक्रममा आएका पाँचहजार जना अनुयायीहरु यही मनमोहिनीमा बसिरहेका रहेछन् । यहाँबाट मधुवन २० किलोमिटर दुरीमा पर्दोरहेछ । दिनभरिको यात्राको लागि ईविविका सुविधासम्पन्न बसहरु छँदै थिए । खालि कार्यक्रमको जानकारी गराए पुग्यो ।
बसमा हामी दम्पत्तिको सिट सँगै पर्योम । साथीहरु हामी दुईजनालाई ‘लक्ष्मीनारायण’ भन्दथे । बस उकालो लाग्दै गर्दा बाहिरको भूगोल हेर्दै गएँ । मलाई यो भूगोल चीरपरिचित लाग्दै गयो । मैले देवकुमारीलाई कोट्याएर भनेँ,‘हेर न, यहाँ त म आइरहेजस्तो लाग्दछ !’
“तपाईँ यतातिर आउनुभएकै छैन । बालककालमा गएको बम्बै र गोवातिर हो । जो सिधै दक्षिणतिर पर्दछ । तालिमको क्रममा तपाईँ आएको दिल्लीमा हो जो यहाँबाट सिधै पश्चिममा पर्छ ।बरु यो ठाउँ तपाईँलाई आफ्नै ठाउँजस्तो लाग्योहोला !”
“होइन, म यहाँ पहिले धेरैपटक आइसकेको छु ।“
“ऊ हेर्नुहोस्, शिखरका बालीहरुआफ्नै गहुँबालीहरु जस्तै छन् । बुट्यानहरु, धाइराको बुटाहरु जस्ता छन् । रुखहरु खर्सूका बोटहरुजस्तै छन् । चट्टानहरु भिराइलो भूबनोट डिग्रे थर्पूसँग ठ्याक्कै मिल्दछ । तपाईँलाई त्यसैको भ्रम परेको हो ।“
मैले निधो गर्दै भनेँ “होइन, होइन । विपनामा नभएर सपनामा यहाँ म बारम्बार आउने गरेको छु । यो गराहरु भूबनोट सपनामा घुम्ने गरेको ठाउँसँग ठ्याक्कै मिल्छ । तर म जहाँ पुगेकै छैन त्यो ठाउँको सपना कसरी देखेँ ?’ जीउ पुरै रोमाञ्चित भइरहेको छ ।
हामी माथि पुगिसकेपछि ज्ञानसरोवरको गेटमा ओर्लियौँ । बसमा भूपेन्द्र भाइजीले कन्डक्टरको कुशल भूमिका निभाइरहनुभएको थियो । कसरी कुन ठाउँमा जाने ? के के हेर्ने ? चियाको व्यवस्था कता हुँदैछ ? खाजाको व्यवस्था कता हुँदैछ ? खानाको व्यवस्था कता भएको छ ? सबै पूर्वयोजना मुताविक नै छन् । दर्शनीय ठाउँहरुको लाग्ने समयको पूर्वजानकारी गराइरहनुभएको छ भूपेन्द्र भाइजीले । ज्ञान सरोवरमा हामीले बाबाका ध्यानस्थल, संग्रहालय, कन्फ्रेन्स हल, मनोरम बगैँचाहरु हेर्न पायौँ । हरेक भवनहरु सिँगामर्मरबाट सजिएकोले अत्यन्तै सफा र सुन्दर बनाउन ध्यान दिइएको छ । भोजनगृहमा गएर चिया र खाजाको व्यवस्था भयो । त्यहाँबाट पश्चिमपट्टि रहेको अस्पत्तालमा पुग्यौँ । विभिन्न ठाउँबाट आउने दर्शालुहरुको अर्को उद्देश्य उपचार गराउनु पनि हुँदोरहेछ । एकजना कुशल वक्ता भाइद्वारा अस्पत्तालको बारेमा संक्षिप्त जानकारी गराउनुको साथै ओम् शान्तिको आधारभूत ज्ञान रोचक ढङ्गबाट दिने व्यवस्था मिलाइएको रहेछ ।
त्यताबाट हामी नख्खी झिल हेर्न पुग्यौँ । सुख्खा शिखरको शिरमा रहेको ताल चित्ताकर्षक थियो । सपनासँग तादात्म्यता भएको यस ताललाई विपनामा अघाउन्जेल नेत्रपान गर्न पाइयो ।
त्यताबाट खास मधुवन भनिने द्वारबाट भित्र प्रवेश गर्यौँ । बगैँचाको सुन्दरता अवर्णनीय रहेछ । ब्रह्माबाबा ध्यानलिन भएको शान्ति स्तम्भ (Peace Tower) पनि आकर्षक र भव्य थियो । यसपछि हामीले पाण्डव भवनमा पुगेर पूर्व व्यवस्थित खाना खायौँ ।
गेटबाहिर उत्तरपट्टि विशाल युनिभर्सल पिस हल रहेछ । टोलीमा रहेका बाँकी साथीहरु छुट्टिएकोले हामी दुर्गामाता र विष्णुमायाँ मातासँगै पछि लागिरहेका थियौँ । उहाँहरुले ‘भित्रपट्टि हेर्ने केही छैन’ भनिदिएकोले हामीले खास हेर्नुपर्ने र प्रण गर्नुपर्ने ठाउँको पहुँचबाट वञ्चित हुनपुग्यौँ । पछि दिपेन्द्र भाइजीले त्यस हलको महत्ता दर्शाउँदा पश्चात्तापले जल्न थाल्यौँ ।
ब्रह्माबाबाका सन्तानहरु सबै धर्मप्रति उत्तिकै सहानुभूति राख्छन् भन्ने कुरा हाम्रा कन्डक्टर भूपेन्द्र भाइजीले जैन धर्मालम्बीको देवलवारा मन्दिर दर्शन गराइएपछि बोध भयो । सिँगमर्मरको अनुपम कला कुँदिएको उक्त मन्दिरको सौन्दर्यछटा पनि कम मनमोहक थिएन ।

फर्कँदा बाबाको अर्को बगैँचा पिस पार्कमा छिर्यौँ । सानो चुचुरोको वरिपरि छरिएको पत्थरिलो तथा जर्जर जग्गालाई सुन्दर बगैँचामा परिवर्तित गरिएको रहेछ । थरीथरीका फूलहरु, बुट्यान तथा रुखहरु, पिङहरु व्यवस्थित तरिकाले सजाइएका छन् । बगैँचामा पस्नुपूर्व सत्ययुगीन देवताहरुको अर्थपूर्ण मूर्तिको साथै कुम्भकर्णको रोचक कार्टुन चलचित्र देखाइयो । बगैँचाको गरागरा र फाँटफाँटमा सरासर घुम्न नै २ घण्टाभन्दा बढी समय लाग्यो । हाम्रो खाजा बगैँचाभित्र रहेकोब्रह्मकुमारीकै एक क्याफेमा भयो । फर्कने सुरसार गर्दासाँझको ६ बजिसकेको थियो ।
गाउँघरको सम्झना वा दिवंगत सन्तानको पुनःस्मरण गराइदिने वातावरणले होला देवकुमारी आँशुको भेलमा पौडिरहेकी थिइन् । मैले उनको घाउलाई कोट्याउन चाहिन । मोडैमोड रहेको उकालो ओरालो बसयात्राले उनी वान्तागर्ने अवस्थामा पुगेकी देखिरहेको छु । पोलिथिनको झोला बोक्नै बिर्सिएछ । धन्न मनमोहिनी नपुगेसम्म केही हुँदैन । मनमोहिनीमा विश्राम लिनैपर्ने यस बाध्यताले हामी दम्पत्तिअरु साथीहरुसँग छुट्टिन पुग्छौँ ।
उनले एउटा बाथरुममा पुगेर ह्वाल्ह्वाल्ती वान्ता गरिसकेपछि केही छिनको विश्राम गरेर हामी पैदल शान्तिवनतिर लाग्दछौँ । दुईपाइला नहिँड्दै हामीलाई बोलाएर एकजना भाइले गाडीमा चढाउनुहुन्छ । झमक्क साँझ परिसकेको छ । शान्ति वनको ८ नं द्वारमा पुगेपछि विशाल सेती नदी सललल निशब्द बगिरहेको दृश्यले मन रोमाञ्चित हुन्छ ।गाडीबाट झरेपछि थाहा हुन्छ, त्यो कुनै पानीको नदी नभएर ओम् शान्तिका अनुयायीहरुको सफेद थोपाथोपाले बनेको विशाल नदी पो रहेछ । जो बेलुकाको मनोरमता लुट्न पार्कतिर पोखिइरहेको छ । डाइमण्ड हल र प्रकाश स्तम्भको वातावरण भव्य देखिन्छ । मानवरुपी नदीको एउटा ठूलो हङ्गालो ब्रह्माभोजनको लागि डाइनिङ हलतिर सोझिएको छ । हामी पनि त्यही हङ्गालोमा मिसिन्छौँ । भोजनार्थी ओइरिइरहेका छन् सेवाधारीहरु खाना पस्कनमा व्यस्त छन् । कसैलाई कुनै कुराको अभाव छैन र रतिभर कुनै गुनासो पनि छैन । भाँडाहरुमा भोजन भरिइ नै रहेको छ । हजारौँ भोजनार्थीको पेट पनि सँगसँगै भरिइरहेको छ । खानाको गुणस्तरमा कमीकमजोरी देखिने अवस्था पनि छैन । न त हल खाली हुन्छ, न त कुनै भोजनार्थी ठाउँ नपाएर उभिने अवस्था छ । यो क्रम बिहान ४ बजेदेखि बेलुका ९ बजेसम्म चलि नै रहन्छ ।
भोजनपछि निवासको लागि हामी आनन्द सागरतिर रवाना हुन्छौँ । बाटाहरु पहिलेको भन्दा फराकिला लाग्न थालेका छन् । भवनहरु अग्ला अग्ला देखिन थालेका छन् । बगैँचाहरु थप सुरम्य देखिएका छन् ।

दिपेन्द्र भाइजी

आज चौथो दिनपनि दिपेन्द्र भाइजीसँग प्रकाश स्तम्भ अगाडि भेट भएको छ । उहाँसँग दिनहुँ भेट भइरहन्छ भन्दा यहाँ नपुग्नेलाई सामान्य लाग्ला तर बीसौँ हजारको मानव सागरमा एकजना मात्र बारम्बार भेटिनु सामान्य कदापि होइन । त्यसो त मसँग विनसित्ति विवाद गर्ने लखनौले भाइजी पनि दिनहुँ भेटिइरहेका छन्: कहिले डाइनिङ हलमा, कहिले प्रकाश स्तम्भको बगैँचामा त कहिले बाबाको कमरामा, कहिले मुरली क्लासमा,कहिले तपस्या धाममा त कहिले पोजिटिभ थिङ्किङका क्लासहरुमा । भेट मात्र होइन आक्कलझुक्कल आँखा पनि जुधिरहेका छन् ।
मैले सम्झन सजिलोको लागि जुत्ता छोड्ने ठाउँ डाइमण्ड हलको एकनम्बर प्रवेशद्वारको देब्रेकुना मात्र रोजेको छु । तर डाइनिङ, ध्यान र क्लासको समय र हलहरु भने बारम्बार फेरिरहेको छु । फेरिरहनुका दुई कारणहरु छन्:‘एक- नयाँ ठाउँ र नयाँ समयको अनुभूति पनि सङ्गाल्ने, अर्को- लखनौले भाइजी र दिपेन्द्रभाइजीलाई छल्ने । लखनौले भाइलाई छल्नुको अर्थ हो व्यर्थमा पुनः विकारको शिकार हुनु नपरोस् भन्ने हेतु, दिपेन्द्रजीलाई छल्नुको अर्थ हो, दर्शनीय स्थल वा लाभदायक क्लास छुटिहालेको भए पछुतो नलागोस् भन्ने । तर म दुवैलाई छल्न असफल भइरहेको छु । फलस्वरुप खाना खाँदा, ध्यान गर्दा र क्लासहरु लिँदा हरदम् अत्यन्तै सतर्क हुनुपरेको छ । एकजना मेरा कटुआलोचक छन्, अर्का मेरा शुभचिन्तक छन् । यिनीहरु दुवैलाई मैले देखाउनु छ-‘म पनि ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालयको एक अनुशासित र अब्बल दर्जाको स्टुडेन्ट हुँ ।‘ अतः म हरबखत अलर्ट हुनुपरेको छ ।दिपेन्द्रजीले मलाई देख्नेबित्तिकै सोधिहाल्नुहुन्छ:‘फलानो भाइजीको क्लास लिनुभयो कि लिनुभएन? एकदमै लाभदायक थियो ।‘
“मैले सबै क्लास नछुटाएर लिइनै रहेको छु ।“
“होइन, हिजो रातको ९ देखि १० को क्लास तपाईँले लिनुभए जस्तो लागेन । क्लास नछुटाउनुहोस् है ? आफैलाई घाटा हुन्छ ।“ उहाँ चोर ठाउँकोठाउँ पक्रिहाल्नुहुन्छ । बेलुकाको खानापछिको क्लासहरु अति थकानको कारणले कुनैकुनै छुटाउने पनि गरेको छु ।
अच्चम्भ लाग्छ, यी दुईजना मेरो पछि हात धोएर किन लागिरहेका छन् ? म प्रोब्याबिलिटि थ्योरीअनुसार प्रोब्याबिलिटि रेसियो निकाल्नखोज्छु । बीसौँ हजार मानिस छन्, संयुज्यताका बीसौँ हजार सेकेन्ड उपलब्ध छन् । त्यसमा बीसौँ हजार विकल्पहरु उपलब्ध छन् । यस हिसाबले भेट हुने सम्भावना ०.००००१ मात्र छ भने दुईपटक भेट हुने सम्भावना आधाले कम छ । ‘यहाँ भेट्ने है,’ भन्ने पूर्वजानकारी नभएसम्म यसै हिसाबले हरेक दिन भेट हुने सम्भावना अत्यन्तै न्यून हुँदै जान्छ, तैपनि हरबखत हरदिन भेट भइरहेको छ पटकपटक ।
मेरो जीउभरि काँडा उम्रिन्छन् । कहीँ यी दुवैजना ब्रह्माबाबाद्वारा मेरो सचेतार्थ खटाइएका देवदूत त होइनन् ? यो आशंकाले लखनौले भाइप्रतिको रोष घट्दै गइरहेको छ ।

फुच्चे भाइजीहरु

हाम्रो समूहमा एकजना तेह्र वर्ष टेक्दै गरेका उज्ज्वल नामका भाइजी पनि छन् । चलाख छन् र चञ्चल पनि छन् ।उनी यस अघि नै मधुवनमा आइसकेका छन् । अतः कहाँ के छ र के गर्नुपर्छ भन्ने कुरा यिनलाईथाहा छ । यी फुच्चे भाइको मूल्याङ्कन मैलेभन्दा उनको चारवर्षीय जुम्ल्याहा भाइहरुले गरेका छन् । उनीहरु भन्छन्:“ज्ञान त सप्पै उच्जल दादालाई आउँथ ।“
यस प्रष्टोक्तिले ‘हामी होइन, ज्ञानको हिसाबले तिमीहरु पो फुच्चे देखिन्छौ’ भन्न खोजेको अनुभूत हुन्छ ।
यी भाइजीको कारणले हाम्रो कोठा बढी मनोरञ्जनात्मक पनि भएको छ । अरु भाइजीहरुसँग पनि मनका गाँठाहरु कसिला हुँदै गइरहेका छन् । आत्मीयता घनीभूत हुँदै जाँदो छ ।
म कहिले छमुराम भाइजीसँग, कहिले डोलराज भाइजीसँग, कहिले विष्णु भाइजीसँग, कहिले गंगाराम भाइजीसँग त कहिले दीपक भाइजीसँगसाथीहरु अदलबदल गरीगरी क्लास लिन वा घुम्न निस्कन्छु । बढीजसो फुच्चे भाइजी नै मेरो साथी हुन्छ । जब म यी फुच्चे भाइजीसँग घुम्दा उनका बाबा ओमप्रकाश भाइजीसँग भेट हुन्छ त्यतिखेर बरालिएको जस्तो देख्दा उहाँ मलिन देखिनुहुन्छ र त्यो मलिनता रिसको रुपमा मेरो फुच्चे साथीमाथि पोखिन्छ । उहाँ आवेगात्मक स्वरमा मेरो फुच्चे भाइजीलाई केरकार गर्नहुन्छः क्लासमा किन बसिनस् ? मुरली क्लास किन लिइनस् ? बिहानै ३ बजे उठेर बाबाको ध्यानमा किन बसिनस् ? यही कारणले फुच्चे भाइ आफूलाई पैँसा खाँचो परेको बेला बाहेक अरु बेला आफ्ना लौकिक मातापितादेखि टाढै बस्न रुचाउँदा रहेछन् ।
यहाँ आएको दिनदेखि नै ओमप्रकाशजी भने सेवामा व्यस्त हुनुहुन्छ । यहाँ सेवा गर्न पाउनु पनि ठूलो कल्याणको रुपमा लिइन्छ । केही अनुयायीहरुमा यतिसम्म विश्वास छ कि यहाँ कम्तीमा ३ महिना सेवा नगरेमा स्वर्गमा नै पुगिन्न । अतः नयाँहरुलाई सेवा गर्ने अवसर सितिमिति उपलब्ध नहुँदो रहेछ । यहाँ स्वपाक्य भाइबहिनीहरु पनि ब्रह्माभोजन सबै अनुयायीहरुसँग सँगै बसेर खाइरहेका हुन्छन् । बाहिरतिर भने समर्पित भाइबहिनीले पकाएको बाहेक अरुले पकाएको छुँदैछुँदैनन् । खानाको प्रकार र पकाउने भाँडाहरु एवं पकाउनेहरुबाट पनि संस्कार सर्ने विश्वासले जरा गाडेको छ । काम, क्रोध, लोभ, मोह र अहंकारको त्यागबाट मात्र सुसंस्कार निर्माण हुने सिद्धान्त नै छ । प्रत्येक दिनको मुरलीमा सन्देश दिइन्छ,‘यी पाँचवटै विषयमा पूर्णाङ्कमा पूर्णाङ्क नै प्राप्त गर्नुपर्ने ।‘सेवा गर्नुको वास्तविक अर्थ काम, क्रोध, लोभ र मोहलाई घटाउनु नै हो भनेर क्लासहरुमा अर्थ्याइन्छ । यसप्रकारको प्रयत्नलाई पुरुषार्थ भनिन्छ । पुरुषार्थको शाब्दिक अर्थ भने पुरुष अर्थात् आत्माको ज्ञान हो ।
पुरुषार्थमा पूरा अङ्क प्राप्त गर्न नसक्नु फुच्चे भाइजीमा दरिनु हो ।

लाग्छ फुच्चे भाइजीका लौकिक पिताले सेवा विषयमा हन्ड्रेडमा हन्ड्रेड मार्क्स् बटुलिरहेका छन् । यो मार्क्सको लागि भरत, केशव, चन्द्रशेखर एलपि भाइजी लगायत लगायत दुईदर्जन जति बहिनीजी तथा भाइजीहरु कम्मर कसेर लागिरहनुभएको छ ।

सीमित केही कुरै नबुझी ओम शान्तिमा लागेका छौँ भन्ने व्यक्तिहरु पनि जो यी पाँच विकारहरुलाई तिलाञ्जली दिन होइन, पुनःनिर्मलीकरण गर्ने हेतुले वातावरणलाई धुमिल बनाइरहेका पनि हुनसक्छन् । मनरुपी बाइपंखे घोडामा शयर गर्न रुचाउनेहरुले श्रीमतलाई पनि मनमतअनुसार अर्थ्याउन थाल्दछन् । शान्तिवनमा राखिएको एउटा वाणीले भन्छः एकजना खराब व्यक्तिको कार्यव्यवहारले पनि पूरै विश्व प्रदुषित भइरहेको हुन्छ ।

प्रभुमिलनको दिन नजिकिँदै गर्दा अनुयायीहरुको भीडभाड पनि बढिरहेको छ । भीड बढेर पनि मानवीय समस्याहरु भने पटक्कै बढेका छैनन् । यही नै यहाँको कुशल व्यवस्थापनको परिचायक हो । ब्रह्मकुमारीजको मूल सिद्धान्त राजयोग हो । योगको अर्थ आत्माको परमात्मासँग सम्बन्ध स्थापित गर्नु हो भनेर बारम्बार सिकाइन्छ । तर केही मन र तनले वृद्ध हुनेहरु यसको अर्थ बुझ्दैनन् । तपस्यास्थलहरुमा पुगेर एकएक रुपैँयाकाखुद्रा मिलाएर ब्रह्माबाबाको तस्बिरमा चढाउनकै लागि पनि भीड बढाइरहेका देखिन्छन् ।
मानवीय कन्साइन्सको मुख्य चुरोलाई समातेर ब्रह्माबाबाले यस अभियान शुरु गरेको प्रष्ट बोध हुन्छ । कन्साइन्स भित्रैबाट आउने कुरा हो । सिकाएर भन्दा भोगेर बढी जानिन्छ । कन्साइन्सको लागि आफै तयार भइएन भने के अर्थ छ ओम् शान्तिको अनुयायी बन्नुको ?
सबैसँग मिल्ने बानीले म ‘नामले पनि पूर्ण, व्यवहारले पनि पूर्ण’ भनी प्रशंशाको पात्र बन्न पुगेको छु । यसले गर्दा म आत्मविभोरको अवस्थामा छु । मेरो शारीरिक संरचनालाई हाँसोको विषय बनाउने एकाध व्यक्तिहरु बाहेक अरु विदेशी अपरिचितहरुसमेत मलाई नै रोजेर कुरा गर्न चाहेको अनुभूति भइरहेको छ । यसैको सिलसिलामा लखनौकै केपि पाण्डे भाइजी र जम्मूका बिके नगर मल भाइजीसँग आत्मीय साइनो गाँसिइसकेको छ । यो श्रेय ब्रह्माबाबाको त होइन जसको काखमा म नै बस्न पुगेको छु ?

कोठामा धेरैजना सँगै बस्नुका अरु फाइदाहरु उजागर भइरहेका छन् । क्लास र कार्यक्रमको जानकारी नियमित एकअर्कालाई हुन्छ । क्लासको नबुझेका कुराहरुमा सहजतासाथ सोधपुछ गर्ने समय पाइएको छ । ज्ञानगुणको कुराहरु आदानप्रदान भइरहेका छन् । बिहान उठ्न र क्लासहरु नछाड्न प्रतिष्पर्धा नै चलेको छ हामीहरुबीच । नयाँ नयाँ अवलोकनीय स्थलहरुको पहिचान पनि हुँदै गइरहेकोले अवलोकनमा त्यस्ता स्थलहरु छुट्ने सम्भावना कम छ ।सबैभन्दा आफूभित्र रहेको फुच्चे ज्ञानको उचाइ बढाउन कमजोरीहरुको धुलाइ गर्न पारस्परिक बसाइको महत्त्व छ ।
केही दिनको आत्मीय बसाइपछि फुच्चे भाइजीलाई उनको लौकिक बाआमाले हामीबाट साथ छुटाइदिएर आफूसँगै साथमा राख्ने हेतुले लगिसक्नु भएको छ । डोलराज भाइजी दिल्ली गइसक्नुभएको छ । जसले गर्दा हामीलाई केही नियास्रोपन पनि अनुभूति भइरहेको छ ।
मुरली र क्लासका अर्थहरु नबुझेर अर्थात् उमेरले होइन कि अज्ञानताको हिसाबले फुच्चे भाइजीमा दरिनेको होड हास्यास्पद लाग्छ । मनमतलाई नै श्रीमत हो भनी अर्थ्याउने मानवीय स्वभावदेखि कसको के लाग्छ ?

बाबा र परि जन्मदिवस

भोलि दिवंगत परिशीलनको जन्मतिथि र निधन भएको दिन पनि हो । यसै दिन ब्रह्माबाबाको जन्मदिवस पनि परेको छ । यसै दिन प्रभूमिलनको कार्यक्रम पनि राखिएको छ । वर्तमानमा यहाँ आउने अनुयायीहरुको मुख्य कार्यक्रम नै प्रभूमिलन कार्यक्रम हो ।
ओमशान्तिको देहहिन स्वरुप परिमा परिवर्तन हुनु हो । हामी खासमा परिकै लागि यहाँ आइपुगेका छौँ । यी अनेक संयोगहरु सांयोगिक हुन् कि होइनन् खुट्ट्याउन गाह्रो भइरहेको छ ।
हो, हामी दम्पत्तिलेपरिशीलनको जयन्ति मनाउने मूल अभिप्राय राखी यो ठाउँको यात्रा रोजेका हौँ । दिवंगत सन्तानको जन्मदिवस मनाउने अभागी आमाबाबु यो संसारमा बिरलै होलान् ।
शान्ति दिदीसँग कसरी जन्मदिवस मनाउने भन्ने कुरा राखिसकेको छु मैले । बीसौँहजारको ब्रह्माभोगमा भोग मिसाएरजन्मदिवस मनाउन सल्लाह दिनुभएको छ उहाँले । यो सम्बन्धमा देवकुमारीसँग प्रारम्भमा कुरा भए पनि अहिले हुन पाएको छैन । कुरा राख्दा उनलाई सम्हाल्न गाह्रो पर्ने अवस्था पनि हुनसक्छ भनेर यतिका दिनसम्म उनलाई साथीहरुसँगै भुलून् भनेर व्यक्त गर्न सकेको छैन । भोलि नै हाम्रो नितान्त व्यक्तिगत कार्यक्रम गर्नुपर्ने भएकोले आज त जसरी पनि यो कुरा राख्नैपर्छ उनीसँग । मैले उनलाई भेट्न फोन लगाउँछु । फोनमा ब्यालेन्स सकिएको रहेछ । खल्ती छाम्छु, खल्ती रित्तो भइसकेको छ ।आफ्नो अलि बहकिएर खर्च गरिहाल्ने स्वभाव भएकोले बाँकी पैँसा देवकुमारीलाई नै राख्न दिएको छु । अरु साथीहरुबाट पैँसा माग्न मनले मानेको छैन । कक्षा छोडेर उनको निवासस्थलमा पुग्छु, त्यहाँ पनि भेट हुँदैन । डाइनिङ हल अगाडिको पुलमा दुई घण्टा कुर्छु, तर पनि भेट हुँदैन । रातको नौ बजिसकेपछि महिलाको निवासमा पुग्न पनि हुँदैन ।
भोलिपल्ट बिहानै टुटेपहर नजिकको ध्यानस्थलमा उनलाई ध्यानमग्न अवस्थामा भेट्टाउँछु । मनको अशान्ति स्वाट्टै बढारिन पुग्छ । म ध्यानकेन्द्र बाहिर उनलाई एकछिन कुर्छु । उनी बाहिर निस्कने बित्तिकै मैले साउती मार्छु,“तिमीलाई हिजैदेखि कति खोजिरहेको थिएँ ।“
उनले मुखमा चोर औँला राख्दै चुप रहन संकेत गर्छिन् । बिहानका ध्यानहरु सकेर मुरली सुन्ने बेलासम्म चुपचाप बस्नुपर्ने नियमजस्तो छ यहाँ । यहाँ आउनेबित्तिकै कसैले नभने पनि सबै अनुयायीले यो कुरा सिकिसक्छन् । बाबाको ध्यान-संगीत बज्दा जुनसुकै काम गरिरहेकाहरु जहाँको तहीँ अडिने अनुशासन पनि छ । मैले त्यो नियम जानीजानी भंग गरेकोमा पश्चात्ताप हुन्छ । उनको निर्देशनअनुसार म चुपचाप उनको पछिपछि लाग्छु ।
चुपचाप हिड्नुमा पनि शक्ति छ, शान्ति छ र सबथोक छ । त्यसैले त ओम शान्तिको अभियानमा अलौकिकताको महशुश हुन्छ । आज विशेष दिन भएकोले मानवसागर बेसरी उर्लिएको छ,तर त्यो उर्लाई करिबकरिब आवाजविहिन छ । यस्तै शिवरात्रीमा पशुपतितिर कति खैलाबैला हुन्छ !पेल्लमपेल हुन्छ ! मन्दिरको द्वारसम्म पुग्न हानथाप हुन्छ । भीड व्यवस्थापनकै लागि हज्जारौँ सुरक्षाकर्मी र कर्मचारीहरु परिचालित हुन्छन् । हज्जारौँ थरी बजार लाग्छ । भीड व्यवस्थापनकै लागि राज्यकोषबाट करौडौँ खर्च हुन्छ । अघि बढ्न निकै श्रम र पसिना खर्चनुपर्छ । आफूसँग साथमा रहेको कुनै न कुनै चिज गुमिसक्छ ।
तर यहाँ ?
भीडव्यवस्थापनको लागि सुक्का पनि खर्च गर्नु आवश्यक छैन । माथिका विशेषताहरु कुनै पनि मिल्दैनन्,यहाँ त्यस्तो केही पनि छैन । स्वतः व्यवस्थित छ, यो मानवसागर । यो पनि ‘शिवरात्री उत्सव’ नै होतर ठीक विपरीत शैलीको । पेलपाल त के, विपरीतलिङ्गीहरु शारीरिक अङ्गले मात्र होइन, सोच, वृत्ति र नजरले समेत एकअर्कामा छोइन महापाप ठान्दछन् । स्वस्थानीमा ऋषिपत्नीहरुलाई पछि लगाएर नाङ्गै हिड्ने शंकरलगायतका इन्द्रियहरुलाई वशमा राख्न नसक्ने देहधारी देवताहरु यहाँ पूर्णतः बर्जित छन् । न अक्षता, न भेटीको आवश्यक छ । न ठग्नेदेखि डराउनुपर्छ, न माग्नेदेखि तर्सनुपर्छ । धर्म उही हो, तर पालनामा कति अन्तर ! गीता उही हो तर अर्थबोधमा कति फरक !
म यस्तै चिन्तनमा डुबिरहेको बखत देवकुमारी मेरो नजरबाट हराइसकेकी हुन्छिन् । म खोज्ने प्रयत्न गर्छु, तर असफल हुन्छु । शान्ति दिदीले भेट गर्न दिएको समय निकटमा आइरहेको छ, तर उनी सितिमिति भेट नै हुँदिनन् ।
जब प्रकाश स्तम्भमा पुग्छु पुनः उनीसँग भेट हुन्छ । उनी फेरि आफ्नै साथीसँग चुपचाप अर्कोतिर लाग्छिन् । डाइमण्ड हलस्थित बाबाको कमरामा पुनः भेट हुन पुग्छ, फेरि हराउँछिन् । फेरि तपस्याधाममा भेट हुन्छ, फेरि हराउँछिन् ।
शान्ति दिदीको फोन आउँछ:“ल, अब दुवैजना इन्द्रप्रस्थमा आइहाल्नुस् । मैले तपाईँहरुको इच्छाअनुसार सुरेन्द्र दिदीसँग भेट्ने व्यवस्था मिलाइदिएको छु । तुरुन्तै आइहाल्नुहोस् !”
सुरेन्द्र दिदीसँग भेट्न पाउने अवसर प्राप्त भएको खबरले म बुर्लुक्क उफ्रिन्छु । सुरेन्द्र दिदीको ओम शान्तिमा छुट्टै विशिष्ट स्थान छ । उहाँ ‘योगबलको माध्यमबाट सुक्ष्मलोकमा विचरण गर्ने तपस्विनी हुनुहुन्छ’ भनेको सुनेको थिएँ । उहाँ बारम्बार योगबलबाट ब्रह्माबाबाकहाँ पुगेर यस लोकका कुरा उहाँसम्म र उहाँका कुरा यहाँसम्म ल्याउन सन्देशिकाको भूमिकामा हुनुहुन्छ रे । हामीहरुले विगत दुईवर्षदेखिनै उहाँसँग भेट गर्ने इच्छा राखिरहेका थियौँ । उहाँ वनारस निवासी भएकोले वनारसमै पुग्ने योजना पटकपटक गराएका पनि थियौँ, तर योजना सफल भइरहेको थिएन ।
त्यो अवसर प्राप्त त हुनेभयो तर कसरी तुरुन्त शान्तिदिदीकहाँ पुग्नु ? देवकुमारीसँग बिहानैदेखि लुकामारी भइरहेको छ र पुनः अहिले हराएकी छिन् । म एक्लै जानुको कुनै अर्थ छैन त्यहाँ, केटा मान्छे एक्लै सिनियर दिदीहरुको निवास ‘इन्द्रप्रस्थ’ मा प्रवेश निषेध छ भन्ने सुनेको थिएँ ।कहीँ यो अवसर गुम्ने त होइन भनी पश्चात्तापलेकेहीबेर छट्पटिँदै गर्दा देवकुमारी मेरो अगाडि अकस्मात खडा भइहालिन् ।
मैले परिशीलन जन्मोत्सवको कार्यक्रम सम्बन्धमा छोटकरीमा उनलाई बताएँ र “तिमी पनि कता कता हराइरहन्छ्यौ ? ल ल छिटो जाउँ, शान्तिदिदीले बोलाउनुभएको छ !” भन्दै तान्दै उनलाई इन्द्रप्रस्थतिर डोर्याउन थालेँ ।
यो संयोग पनि मलाई ताजुब लागिरहेको छ । प्रोब्याबिलिटीको हिसाबले आज उनीसँग भेट हुनु शुन्यप्रायः नै थियो । किनकि न फोन थियो न यो समयमा यो ठाउँमा भेटिने भन्ने पूर्वयोजना नै थियो । तर एकपटक होइन चारपाँच पटक घरिघरि भेट भइरहेको छ । यसलाई सामान्य संयोग मानूँ कि कुनै चमत्कार ?

इन्द्रप्रस्थ पुग्ने बित्तिकै शान्तिदिदीले भेटघाटका केही औपचारिक नियमहरु बताउनुहुँदै हामी दुवैजनालाई सुरेन्द्र दिदीको कोठामै पुर्याीइदिनुभयो । उहाँलाई भेट्न पाउँदा हामी हर्षले विभोर भयौँ ।
देवकुमारी फुटिहालिन्:“मेरो छोरा परिशीलनको आत्मा कहाँ छ ? दिदी बताइदिनुहोस् न !” भन्दै ।
‘एक आत्मादेखि अर्को आत्मासम्मको विचरणजस्तो कुरा बोल्नेबित्तिकै सम्भव नहुने,लामो योगअवधि र गहनयोगबलको आवश्यक पर्ने’ भन्दै अरु दिदीहरुले उनलाई सम्झाए । मलाई परिशीलन वा शिव बाबा स्वयम् हाम्रै साथमा रहेर यी संयोगहरु जुटाइरहेको अनुभूति भइरहेको थियो ।
हामीले सुरेन्द्र दिदीसँग सँगै बसेर फोटो पनि खिचायौँ र उहाँबाट प्रसाद पनि ग्रहण गर्यौँल । हाम्रो चाहना धेरै हदसम्म तृप्त भएको थियो ।
‘अब सुरेन्द्र दिदीलाई बनारसमै भेट्न सहज हुने’ भन्दै मैले पनि देवकुमारीलाई सान्त्वना दिनथालेँ ।
सुरेन्द्र दिदीसँगको यो भेट यस भ्रमणको अर्को अनौठो संयोग बनेको छ । टाढैबाट दर्शन गर्न पनि कठिन हुने विशिष्ट व्यक्तित्वसँग यति निकटस्थ भेट हुने अवसर पाउनु हामीजस्ता साधारण सिकारुहरुको लागि चानचुने संयोग होइन । यो अवसर शान्ति दिदीले जुटाइदिनुभएकोमा हामी उहाँप्रति हार्दिक कृतज्ञता प्रकट गर्दछौँ ।

प्रभू मिलन

प्रभू मिलनको लागि बेलुका पाँच बजे समय निर्धारित गरिएको छ । कार्यक्रम हुने स्थल डायमण्ड हललाई विशेष रुपमा सिँगारिएको छ । पहेँला रङका ओम् शान्तिका झण्डा तथा ध्वजापताकाहरु सुनकै प्रतित भइरहेका छन् । पूरै हल सुनौलो रङमा परिवर्तित भएकोले कतै हामी स्वर्गमा नै त पुगेका छैनौँ भन्ने भान दिलाउन पर्याप्त छ । यस हलमा मात्रै बाइस हजार मान्छेहरु अटाउन सक्छन्,उभिएर होइन, कुर्सीमा वा पलेटी मारेर बसे पनि । यो कुरा जाँच्न फुर्सदको बखत, हल खाली भएको मौका पारी दुई दिन अगाडि मैले डायमण्ड हलमा लहरै मिलाएर राखिएका कुर्सीहरु एकएक गरी गन्न भ्याएको थिएँ । चौडाइपट्टिबाट १०० भन्दा बढी र लम्बाइपट्टिबाट २२५ भन्दा बढी कुर्सीहरुमज्जाले अटाउँदारहेछन् ।आजको दिन अघिपछिभन्दा बेसी मान्छेहरुको उपस्थिति हुने भएकोले डायमण्ड हलको पछाडिपट्टि रहेको ठूलो आँगनमा समेत कुर्सी टम्म मिलाएर राखिएको छ । यस हिसाबले उक्त कार्यक्रममा चालीस हजार मान्छेहरु आरामले बस्न सक्छन् ।
उक्त कार्यक्रममा अव्यक्त बाबाको रुपमा दादी गुलजार आउने कार्यक्रम छ । तर उहाँलाई सन्चो नभएकोले एकीन भइसकेको छैन । दादी जानकी भने १०२ वर्षको उमेरमा पनि आफ्ना अनुयायीहरुको हौसला बढाउन दिनदिनै कार्यक्रमस्थलमा धाइरहनुभएको छ । ८० वर्षमाथिकी दादी रत्नमोहिनी मुरली वाचनमा र त्यसपछिको सार्वजनिक भेटघाटमा १६ वर्षे जवानीको जोश प्रदर्शन गरिरहनुभएको छ ।
अव्यक्त बाबासँग पुनःमिलनले सबैलाई रोमाञ्चित तुल्याएको छ । अघिपछि २/३ बजेसम्म खानामा ढिलाई गर्नेहरु आज दिनको बाह्रबज्नु अघि नै खानपिनको काम सकिसकेका छन् । छमुराम भाइजीले,‘आज अलिकति छिटो गर्न सकियो भने अव्यक्त बाबाको समिपमा बसेर मिलनको कार्यक्रममा सहभागी हुने अमूल्य अवसर प्राप्त हुने’ सल्लाह दिइरहनुभएको छ ।
हरेक स्थलमा र हरेक क्षणमा भेट भइरहने दिपेन्द्र भाइजीले पनि,“आज ढिला नगर्नुहोला,भित्र प्रवेश गर्न समस्या परे मलाई ६ नं गेटमा भेट गर्नुहोला !” भनेर ढाढस दिनुभएको छ । फलस्वरुप १२ बजे नै खानपिनको कार्यक्रम सिध्याई हामीहरु ६ नं गेटमा पुग्दछौँ । १ देखि ७ नं प्रवेशद्वारहरु बन्द भइसकेका छन् । ८ नं गेटमा मान्छेहरु हलप्रवेशको लागि लामवद्ध भइसकेका छन् ।विशिष्ट व्यक्तित्वहरु प्रवेश गर्ने अगाडिपट्टिका प्रवेशद्वारहरु बाहेक पुरुषहरुको लागि २३ वटा प्रवेशद्वार र महिलाको लागि २३ वटा प्रवेशद्वारहरु रहेका छन् । मसँग महिलालाई (देवकुमारी) देखेपछि महिलाहरु महिलाकै प्रवेशद्वारमा लाइन लाग्न सुझाव दिन्छन् लाइन लागेकाहरु पुरुष भाइहरु । लाइन लाग्न ढिला भइसकेको देखी हतारहतार उनी महिला प्रवेशद्वारतिर कुद्छिन् । लामो लाइनको पछाडितिर परेकोले म दिपेन्द्रजीलाई फोन लगाउने प्रयत्न गर्छु । छमुरामजी र दिपेन्द्रजीले स्वयमसेवक ब्याच प्राप्त गरेर हलभित्र प्रवेश गरिसक्नुभएको रहेछ । मेरो मिस्डकल देखेपछि ६ नं झ्यालबाट उहाँहरु मलाई इशारा गर्नुहुन्छ । म झ्यालतिर जान्छु। उहाँहरु मलाई भित्र प्रवेश गराउने उपाय सोचिरहनुभएको छ । ढोका खोलिदिँदा सयौँ मान्छेहरु ओइरिने सम्भावना छ । अतः उहाँहरु पास लिने उपाय बताउनुहुन्छ । यसैबेला अर्को स्वयमसेवकले झ्याल पनि बन्द गरिदिन्छन् । म अनिशा बहिनीलाई फोन लगाउँछु । अनिशा बहिनीले शान्ति दिदीलाई तुरुन्त फोन गरिहाल्न सल्लाह दिनुहुन्छ । म शान्ति दिदीलाई फोन लगाउँछु, उहाँले,“तपाईँहरु दुईजनाको लागि मैले भिआइपि पास सुरक्षित राखेकी छु । देवकुमारी बहिनीलाई ल्याएर पास लैजानुहोस् !” भन्नुहुन्छ ।
आफ्नो लागि भिआइपि पास सुरक्षित रहेको खबरले म हर्षले आल्हादित हुन्छु । हजारौँहजार मान्छेहरुको बीचबाट अग्र स्थानमा बस्नको लागि आफू नै कसरी छनौटमा परियो भन्ने कुराले म आश्चर्यचकित छु ।र यसको श्रेय पनि शिव बाबालाई दिँदै बाबालाई लाखलाख धन्यवाद दिन्छु ।
अब पास लिनको लागि देवकुमारीलाई खोज्नुपरेको छ । फोन गर्छु, फोन लाग्दैन । महिलाको लाइनमा पुग्छु । महिलाहरु पुरुष महिलाको लाइनमा नआउन सल्लाह दिन्छन् । तैपनि खोज्छु, भेट्टाउँदिन । अब प्रवेशद्वार खुला भइसकेको छ । सबै महिला पुरुषहरु हुरुरुरु हलभित्र प्रवेश गर्छन् । अब झन् उनलाई भेट्टाउने आशा मरिसकेकोले म पनि हलभित्र पस्छु । जुत्ता बाहिर छराउनै बिर्सिएछ । हत्तपत्त जुत्ता खोलेर झोलामा हाल्छु । भाग्यले हलको बीचभागभन्दा केही अघिल्तिरको कुर्सी भेट्टाउँछु र आफ्नो सिट सुरक्षित गर्छु ।
अनि आफूलाई सान्त्वना दिन्छु । ओम शान्तिका अनुयायीहरुले गरेको पुरुषार्थअनुरुप प्रत्येकको आआफ्नै सिलसिलेवार रोलक्रम छ । त्यसअनुसार अहिल्यै आफूलेअघिल्लो लहरको भिआइपि सिट ग्रहण गर्न कदापि सुहाउँदैन । अरु हजारौँजना भुइँमा बसिरहेका छन् । मैले त कम्तीमा कुर्सी नै भेट्टाएको छु । केही छिनपछि मलाई खोज्दै दिपेन्द्र भाइजी आउनुहुन्छ । मैले उहाँलाई भन्छुः “हाम्रो लागि सुरक्षित पास अरुलाई नै उपलब्ध गराइदिनुहोला । हामीहरु दुवैजनाले आफूसुहाउँदो सिट पाइसकेका छौँ ।“

जम्मूका नगर मल भाइजी र मेरो सिट सँगै परेको छ । उमेरले उहाँ पनि झण्डै असीको वरिपरिको हुनुहुन्छ । ज्ञानमा चलेको नै तीन दशक पुगिसकेको छ । उहाँले कसरी ओम शान्तिसँग प्रभावित भइयो ? यता लागेपछिका अनुभूतिहरु के कस्ता रहे ? भन्ने सम्बन्धमा सरस भाषामा एकएक रमाइला घटनाहरु सुनाउनुहुन्छ, जसले गर्दा पाँच घण्टा बितेको पत्तै हुँदैन ।
कार्यक्रम शुरु भइसकेको छ । दादी जानकीको प्रस्तुति शिक्षाप्रद छ । दादी गुलजार बिरामीको कारण आउन नसक्नुभएकोले उहाँको भिडियो मात्र प्रदर्शित गरिएको छ । भिडियो प्रदर्शनले मात्र पनि दर्शनाभिलाषीहरुलाई प्रत्यक्ष बाबामिलन भएको अनुभूति दिलाउन सक्षम भएको छ ।कार्यक्रमपछि प्रत्येकलाई पुग्ने गरी एक एक पोका मिठाइ वितरण गरेर कार्यक्रम सम्पन्न हुन्छ ।
यसरी फरक ढङ्गबाट शिवरात्री मनाउने शैलीको पहिलोपटक प्रत्यक्षदर्शी हुँदा गौरवान्वित भएको महशुस भइरहेको छ ।

गुड कन्डक्टर भर्सेस् ब्याड कन्डक्टर

दादी जानकीमा आएको स्वास्थ्य समस्याको कारणले शुरुका केही दिनहरुमा उहाँलाई भेट्ने अभिलाषा पुरा भएको थिएन । सबैको मनमादादी जानकीसँग भेट नै हुँदैन कि भन्ने आशंका उठेको थियो । तीन चार दिनपछि उहाँ कार्यक्रममा देखिएपछि अनुयायीहरु खुशीले आल्हादित भए । उहाँलाई ह्विलचेयरमा राखेर उहाँका सहयोगीहरुको मद्दतले कार्यक्रमस्थलमा पुर्याइएको थियो । १०२ वर्षको उमेरसम्म पनि योगमा सक्रिय रहनु सामान्य जीवनको असामान्य अवस्था हो ।
जब उहाँ बोल्न खोज्नुभयो, सितिमिति बोल्न नै सक्नुभएन । उहाँकोजिब्रो बाहिर झुण्डिरहन्थ्यो । बल्लतल्ल केही कुरा बोल्न सक्नुभयो तर जे बोल्नुभएको थियो त्यो क्रमबद्ध थिएन । पटकपटक आफ्ना सहयोगीलाई आफूले के बोलेँ भनेर सोधिरहनुहुन्थ्यो । उहाँ आफैले बोलेका कुराहरु सम्झाइएपछि मात्र कुरा अगाडि बढाउन सक्नुहुन्थ्यो । यसले उहाँका सच्चा अनुयायीहरुको दिल दुहिरहेको थियो ।
दादीत्रय गुल्जार,रत्नमोहिनी र जानकी नै ब्रह्माबाबाको प्रत्यक्षदर्शीहरु हुनुहुन्छ । वर्तमानमा दादी गुल्जार र दादी जानकी थलिइसक्नुभएको छ ।
मेरो मन एउटा प्रश्नले उथलपुथल भइरहेको छ । जुनसुकै दर्शनशास्त्रले पनि आत्मा र देहलाई फरकफरक कुरा मान्छ । आत्मालाई चेतनापुञ्ज मान्छ भने दैहिक इन्द्रियहरुलाई त्यसको सहयोगी मात्र । त्यसो हो भने वृद्धावस्थाले किन चेतनालाई कमजोर बनाउँदै लग्दछ ? किन कुनै कारणले मान्छे बेहोशीको अवस्थामा पुग्दा चेतना पनि बेहोश हुन पुग्दछ ? शरीर बिरामी नपर्दै किन चेतना बिरामी पर्छ? होला, यसको सही जवाफ । म दर्शनशास्त्रको विज्ञ होइन । मैले नबुझेको र बुझ्न बाँकी कुरा हो यो ।
अर्को दिन मुरली क्लासमै उपस्थित हुनुभयो दादी जानकी । सबैलाई आश्चर्यचकित तुल्याउँदै मुरली पढ्न थाल्नुभयो ।
ओम् शान्तिइतर मित्रहरुलाई लाग्न सक्छ यहाँ ‘मुरली’ शब्द बारम्बार कुन प्रयोजनमा आइरहेको छ ?‘मुरली’शब्द ब्रह्माबाबाका सन्देशहरुको संग्रहको लागि प्रयुक्त शब्द हो । अर्थात‘क्वेस्चन ब्याङ्क’ जस्तै ‘सन्देश ब्याङ्क’ बाट र्याोन्डम्ली छनौट गरिएका सन्देशहरु हो । जो व्यावहारिक जीवनमा आइपर्ने विभिन्न अवसर र चुनौतिको सम्बन्धमा विम्वात्मक र उपमायुक्त ढङ्गले करिब २ हजार शब्दमा संरचित हुन्छ । प्रत्येक मुरली सारखण्ड, प्रश्नखण्ड, उत्तरखण्ड, गीतखण्ड, विस्तारखण्ड,अभिवादनखण्ड, धारणाखण्ड, वरदानखण्ड र स्लोगनखण्डमा विभाजित हुन्छ । हरेक दिन बिहान ब्रह्मकुमारी बहिनीहरुबाट यसको पठन र व्याख्या गरिन्छ । यो पढ्न छिटोमा आधा घण्टा र बढीमा एकघण्टा समय लाग्दछ ।अमृतबेला, योग र मुरली श्रवण ओम् शान्तिका अनिवार्य अवयवहरु हुन् ।
जब जानकी दादीले पढ्न थाल्नुभयो, सबैलाई लागिरहको थियो:‘उहाँले सारखण्ड मात्र वाचन गर्नसक्नुहुनेछ’ । उहाँ सारखण्ड सकेर अघि बढ्नुभयो । अब सबैलाई लाग्यो,‘प्रश्नोत्तर खण्डसम्म भ्याउनुहोला ।‘ त्यसपछि विस्तारखण्ड पनि पढ्न भ्याउनुभयो र सबैलाई आश्चर्यचकित तुल्याउँदै निर्धारित समय एकघण्टामै मुरलीका सबै खण्ड स्पष्ट र ठूलोठूलो स्वरमा वाचनगर्न समर्थ हुनुभयो ।
यसले मलाई के निश्कर्षमा पुर्याायो भने प्रकृति र अध्यात्म रेलका दुई लिकजस्तै जीवनलाई अघि बढाउने पृथक तर पारस्परिक माध्यमहरु हुन् । एउटा लिक कमजोर हुँदा पनि अर्को लिकले जीवन अड्याउन केही मद्दत गर्न सक्छ । तर एउटा पूर्णतः काम नलाग्ने भयो भने अर्कोले जीवनलाई साथ दिइरहन समर्थ हुँदैन । प्रकृति नियमवद्ध छिन् । अध्यात्मले यसको गुणमा तलमाथि पार्न सक्दैन, तर प्रकृतिबाट पर्ने प्रभावलाई भने अध्यात्मले तलमाथि पारिदिन सक्दछ । अध्यात्म अदृश्य र असिमित शक्ति हो । प्रकृतिले यस शक्तिको पक्षपोषण गरिरहेकी हुन्छिन् ।
मेरो यस ठाउँमा पुग्नुको अर्को तात्पर्य बारम्बार सुनाउने गरिएको योगबलको भाइब्रेशनको अलौकिक अनुभूति सङ्गाल्नु थियो । धेरै दिन बित्दा समेत यसको महशुस हुन नसकेकोले कपोलकल्पित एकादेशको कथा नै होला भन्ने बुझाइप्रबल हुँदै जाँदो थियो ।
तर दिनहुँ घटित केही अनौठा संयोगहरुले भने दिलदिमाग तरङ्गित हुन थालिसकेको थियो । जब ध्यानस्थलमा पुग्थेँ, ब्रह्माबाबा सजीव भएर कुरा गर्न तम्सिएझैँ लाग्थ्यो । शुरुका दिनका भन्दा सडकहरुको फराकपन धेरै परसम्म फैलिएझैँ अनुभूति हुन्थ्यो । निवास तथा कार्यक्रमस्थलका विशालता नजरले नपुग्ने गरी आकासिएका थिए । जे हेर्योा भगवानकै उत्कृष्ट सुन्दरकृति अनुभूत हुन्थ्यो । बजारतिर जाँदा त्यताको वातावरणले अलिकति मन खुम्चन्थ्यो, तर जब शान्ति वनको प्रवेशद्वारमा खुट्टा राख्नपुग्थेँ बिजुलीको करेन्टजस्तै केही शक्तिले मुटु छुन्थ्यो र सर्वाङ्ग कम्पित हुन्थ्यो । त्यो कम्पनमा अलौकिकता झङ्कृत हुन थाल्थ्यो । ध्यानमा बस्दा आफूमा प्रकाशपुञ्ज खनिएजस्तै लाग्थ्यो र असीम शान्ति अनुभूत हुन्थ्यो । म कुनै चुम्बकीय शक्तिले खिचिइरहेको थिएँ । यस मानेमा म गुड कन्डक्टरमा परिवर्तित भइसकेको थिएँ ।
यहाँ दिनहुँ भ्रमणहेतु आउने र यहाँबाट फर्किने अनुयायीहरुले मधुवन साँच्चिकै स्वर्ग नै हो, यो संसारको घुम्न लायक सर्वोत्तम ठाउँ हो भनी बखान गरिदिन्छन् । त्यही कुरा पत्याएर थप दर्शनाभिलाषीहरु ओइरिन्छन् । यदि तपाईँलाई अध्यात्मवादप्रति वितृष्णा छ भने यस ठाउँमा नपुगे पनि हुन्छ । किनभने अध्यात्ममा विकर्षित व्यक्तिहरु ब्याड कन्डक्टरहरु हुन् । बिजुली तामाको तारमा राम्रोसँग प्रवाहित हुन्छ, प्लाष्टिकको सुतलीमा कुनै हालतमा प्रवाहित हुँदैन । संसारका उत्कृष्ट रमणीयस्थलहरु घुमिसकेका कुनै भौतिकवादी व्यक्तिहरु यहाँको बाहिरी स्वरुप मात्र हेर्न आउँछन् भने तुलनायोग्य केही कुरा पनि नपाएर निराश पनि हुन सक्छन् ।
तर बीसौँ हजारलाई भोजनबाट तृप्त तुल्याएर मानवका आधारभूत सुविधाहरुलाई मुफतमा उपलब्ध गराउने तुलनायोग्य स्थल अर्को नहुन सक्छ । तातो पानी, चीसो पानी, मिनरल वाटर, शौच र विश्रामको लागि हरेक पचास मिटरको अन्तरमा उत्कृष्ट सुविधा छ । घरमा पाँचजना मात्र पाहुना थपिए भने ट्वाइलेट गन्हाइहाल्छ, पानी सकिइहाल्छ, खानाको कुनै न कुनै परिकार अधकल्चो भइहाल्छ, कुनै न कुनैसँग ठाकठुक परिहाल्छ । तर यहाँ यति व्यवस्थित छ कि बीसौँ हजारले शौच गर्दा दिनमै दर्जनौँ टन मलमुत्र तयार हुनसक्छ, तर अँहँ कतै दुर्गन्ध र फोहोरको लेष पनि बाँकी छैन । भान्छामा खोज्नुहोस् कि बाटोमा खोज्नुहोस्, कतै फोहोर छैन, कतै फाल्तु कुरा छैन । भान्छामा ब्रह्माबाबाको उद्गार छ,“बच्चाहरु हो, यो ब्रह्माभोजन हो, अन्नको एक सिता पनि बाँकी छोड्यौ भने अन्नको श्राप लाग्नेछ ।“ मान्छेहरुले यो भावनालाई समात्नसक्नुपर्छ । समात्नको लागि प्रत्येक व्यक्तिमा अन्तर्चेतना (कन्साइन्स) रहेको हुन्छ । केही काम गर्न खोज्दा यसलेपूर्वसतर्क गराइहाल्छ:‘ए, ए, के गर्न लागेको ? यो गर्नु ठीक होइन है !’ तर चञ्चल र सुविधाभोगी मनले कहाँ मान्छ र ? तुरुन्त जवाफ फर्काइहाल्छः “छोड्दे यार, सबैले गरिरहेकै कुरा मैले गर्दा के नै हानी हुन्छ र ? यो गर्न अलिकति सजिलो पनि त छ ।“
यस कन्साइन्सको सदुपयोग गर्नेहरु नै अध्यात्मवादका गुड कन्डक्टरहरु हुन् ।
त्यस साँझ हामी दुईजना सँगसँगै खाना खाएर निस्कियौँ । रातिको नौदेखि दशबजेसम्म क्लास थियो । मैले उनलाई सोधेँ,“क्लासमा बस्छ्यौ कि बस्दिनौ ?” उनले नकारात्मक मण्टो हल्लाइन्, किनकि उनी फोनमा व्यस्त थिइन् । घरबाट फोन आएको थियो । मैले उनलाई डिष्टर्ब नगरी बगैँचामा रहेका हजारौँ मान्छेको बीचमै छाडेर क्लासमा हिडिदिएँ । निवासस्थल डेढ किलोमिटर टाढा नै थियो । म यतिसम्म विश्वस्त थिएँ कि उनले यसरी अकस्मात् रातिमा एक्लै छोड्दा पनि कुनै दुःखमनाउ गर्नेछैनिन् । उनले गरिनन् पनि । एउटा कुनै जात्रामा रातको पहिलो प्रहरमा एउटी महिलालाई अपरिचितको बीचमा एक्लै छोडिदिँदा छुट्ने र छुटाउनेबिच कस्तो मनोभावना पैदा होला ? वा घरमा पुगेपछि समाजले कसरी हेर्छ होला ?तपाईँको जवाफ बनावटी पनि हुनसक्छ, यथार्थ पनि हुनसक्छ । तर के कुरा सत्य हो भने आजसम्म संसारका ठूलाठूला युद्धहरु लालसायुक्त प्रेमका कारणले भएका छन् ।समाजमा आधाजसो परिवार लैङ्गिक आशंकाकै कारणले टुटेका छन् । नारीमुक्तिको दुहाइ दिनेहरुबाट नै नारीहरु प्रताडित भएका असंख्य कुराहरु समाजकै गर्तमा छिपिरहेका हुन्छन् । यही आशंकाले गर्दा आधाजसोको पारिवारिक सम्बन्ध तिक्तापूर्ण रुपमा व्यतित हुन्छ ।
मैले सिम्ली पढाउँदाको घटनाको स्मरण हुन्छ । एकजना शिक्षक मित्र दिनभर हाँसखेलमा व्यस्त भए पनि जब रात पर्थ्यो, उहाँ क्वाँक्वाँ रुन थाल्नुहुन्थ्यो । सल्लाह माग्नुहुन्थ्यो, म आत्महत्या गर्न चाहन्छु । किन ? भन्ने प्रश्नको उहाँको जवाफ हुन्थ्योः “मेरो पारिवारिक सम्बन्ध राम्रो छैन । मैले पनि मेरो पत्नीलाई अविश्वासको रुपमा हेर्छु र उनले पनि मलाई त्यही दृष्टिले हेर्छिन् । हामी दुवैजना एकअर्काको मानसिक तथा शारीरिक इच्छा पूर्ति गर्न पूर्णतः असक्षम छौँ ।“ पछि उहाँ स्कूल छोडेर विदेशतिर लाग्नुभयो ।
यो एउटा प्रतिनिधि उदाहरण मात्र हो ।
विश्वमा आएको नयाँ शासन प्रणालीले समाजका सबै प्रकारका विभेदहरु अन्त्य गर्ने लक्ष्य राखेको हुन्छ । सामाजिक समावेशीकरणका नयाँ नयाँ मूल्य मान्यताहरु विकास भइरहेका छन् । यसैको लागि राज्यकोषबाट खर्बौँ रकम खेर गइरहेको छ । तर समाजमा गएर हेर्नुहोस्, समाप्त भएको पाउनुहुन्छ कतै वर्गीय विभेद ? यस्तै निहुँले नयाँ नेपाल भन्नुहोस् वा पुनःनिर्माण अभियान भन्नुहोस्, यसका अभियन्ताहरुका आधा दर्जन महलहरु ठडिइसक्दा वा सो बराबरको पूँजी लुप्त रुपमा सञ्चित भइसक्दा पनि लक्षितवर्गको सानो सामाजिक सुसम्बन्ध वा एउटा सानो झुप्रो पनिनिर्माण हुन गाह्रो पर्छ ।
ओम् शान्तिका अभियन्ताहरुले एक शताब्दी पहिले नै ‘आत्माआत्मा भाइभाइ हुन् ।‘‘त्यो बाहेक यस सृष्टिमा अर्को कुनै सम्बन्ध छैन ।‘ भनेर त्यसै अनुसार व्यवहारमा उतार्न भगिरथ प्रयत्न गरिरहेका छन् ।गहिरिएर सोच्नुहोस्, सबै प्रकारको वर्गको समूल अन्त्य गरेन र यस सिद्धान्तले ? जरानै नरहे कतै गुञ्जायस रह्यो विभेदको ? योभन्दा असल समावेशीकरण अर्को कुनै हुन सक्छ यस संसारमा ?अनि आवश्यक पर्छ कुनै समूह, समुदाय र वर्गलाई सूचीकृत गरिरहन ?आवश्यक खट्किन्छ समानता र समताका नाराहरु उराल्न ? यसको अर्को सकारात्मक कुरा के हो भने हरेक दिनको मुरली क्लास र योगबाट यो भावनालाई व्यवहारमा उतार्न प्रशिक्षित गरिन्छ । रुखोसुखा खाएर लोभमोह त्याग्दै आत्मिक कल्याणको लागि मात्र ओम शान्तिका अभियन्ताहरु निस्वार्थ अहोरात्र खटिरहन्छन् ।
मैले शुरुमा ओम् शान्तिको क्लासमा सहभागी भइरहेको छु भन्दा केही साथीहरु भन्ने गर्नुहुन्थ्योः ‘राम्रो कुरा हो, बुझ्नुस् र माइन्ड मेडिटेशन पनि गर्नुहोस्, तर समर्पित भएर नलाग्नुहोला । यसले तपाईँको पारिवारिक सम्बन्धमा तिक्तता ल्याइदिनेछ !’
मैले जब बुझ्दै गएँ, के थाहा भयो भने यसले सम्बन्धमा तिक्तता ल्याउने हैन कि बरु प्रेममा सुमधुरता र सुगन्ध कायम गर्दोरहेछ । यसैको एउटा सानो उदाहरण हो- मैले रातमा एक्ली महिलालाई अपरिचित स्थानमा छोड्नु । यो मेरो र उनको आत्मविश्वासको परिणाम हो । अहिले हामीमा रहेका सम्बन्धका आशंकाहरु मेटिँदै गइरहेका छन् । बरु प्रेमको गुणस्तरमा उल्लेखनीय प्रगति भइरहेको छ ।
यसको अर्को विशेषता हो सबै धर्मप्रति मैत्रीभाव कायम राख्नु । कसैसँग वैमनष्यता नराख्नु । यदि राज्यले यसको महत्ता बुझ्ने हो भने यसको हर अभियानमा हरकोणबाट सहयोग गर्नुपर्ने हो । यसले तयार गरिरहेका निस्वार्थ स्वयमसेवकहरुको सदुपयोग गर्नुपर्ने हो । अर्थात् यस अभियानको ब्याड कन्डक्टरको भूमिका नखेली गुड कन्डक्टरको भूमिका खेल्नुपर्ने हो ।

कुशल व्यवस्थापनका सूत्रहरु

यी कुराहरु कसरी सम्भव भइरहेका छन् भन्ने सम्बन्धमा उनीहरु अदृश्य शक्तिको कमाल हो भन्दै अरुलाई झुक्क्याउँदैनन् । ब्रह्मकुमारीको आफ्नै श्रोतमा सञ्चालित पचासौँ एकडमा फैलिएको विश्वकै सबैभन्दा ठूलो सोलार पावर स्टेशन देखाइदिन्छन् । एकघण्टामै एकसाथ दाल, भात, तरकारी, रोटी पकाउने बडेमानका स्वचालित मेशिनहरु देखाइदिन्छन् । मिनरल वाटर,साबुन लगायत विभिन्न प्रकारका फ्याक्ट्रीहरु र प्रेसहरु देखाइदिन्छन् । गौशालामा पुर्याएर ठूलो गाई फार्म देखाइदिन्छन् जुन गाईहरुलाई जुठोपीरो समेत बिर्सेर पनि नखुवाइँदो रहेछ। तपोवनमा लगाइएको अन्न र विभिन्न प्रजातिका फलफूल र तरकारीबालीका फार्महरु देखाइदिन्छन् जुन पूर्ण रुपमा अर्गानिक रहेछन्र जहाँ कुनै पनि रसायनको कहिले पनि प्रयोग गरिएको रहेनछ ।डाइनिङ हलमा बाँकी रहेको खाना प्राङ्गारिक मल तुल्याई सोको मात्र प्रयोग भएको रहेछ । प्रकाशमणि पार्कमा पुर्या्एर सौन्दर्यताको अर्को घुट्को चुसाउन चुक्दैनन् ।

प्रवेशद्वारबाट भित्र पस्ने बित्तिकै दायाँ, बायाँ, अगाडि, पछाडि, जताततै अर्को देख्न पाइने कुरा हो पोजिटिभ थिङ्किङका मन छुने महावाणीहरु । यी वाणीहरु पढिसक्न मात्रै पनि पन्ध्र दिनभन्दा बढी नै लाग्ला । यी वाणीहरुले यहाँ पुग्ने यात्रुहरुको मनको धुलोमैलोलाई हरबखत धोइ नै रहन्छन् ।
अर्थशास्त्रको सिद्धान्तको आधारमा भन्ने हो भने ल अफ इकोनोमिज अफ स्केलको भरपूर उपयोग भएको छ । त्यसैले नै यति सुन्दर ठाउँ मुफतमा हेर्न र बस्न विश्व नै आकर्षित भइरहेको रहेछ ।
अतः भन्न करै लाग्छ यो अभियान अरु जस्तो अन्धधार्मिक र काल्पनिक नभई तथ्यमा आधारित छ ।
उल्लिखित स्थलहरुका बाबजुद आनन्द सरोवर र शान्तिवनका आधाजसो गार्डेन हेर्न भ्याइएकै छैन । मनमोहिनी कम्पाउण्डभित्र घुम्न पाइएकै छैन । मधुवनका तपःस्थलहरु धित मर्नेगरी हेर्न पाइएकै छैन । पन्ध्र पन्ध्र दिनको समय पनि हामीलाई अपुग भएको महशुश भइरहेको छ र अझै अर्को हप्ता बस्न पाए हुन्थ्यो भन्ने उद्गार सबैको यात्रीहरुको मुखारबिन्दबाट सुन्नपाइन्छ ।

फेरि पनि भूपेन्द्र भाइ र शान्ति दिदी

यस कार्यक्रममा पुग्नेहरु सबैलाई मूल्यवान सौगातहरु पनि रोजी रोजी बाँडिएको छ । फर्किने समय नजिकै आइपुगेको पत्तै भएको छैन । स्वदेश फर्कने कार्यक्रम ‘भोलिको दिन’ मासर्दै आइपुगेको छ । कार्यक्रमको अघिल्लो दिनमा यात्राभोजन विभागले प्रत्येक यात्रुको लागि यात्रा अवधिको लागि आवश्यक पर्ने सबै प्रकारको भोजनको व्यवस्था निशुल्क गरिदिएको छ । त्यो पोको २ दिने रेलयात्राको लागि पर्याप्त देखिन्छ ।
कोठामा पुगिसकेपछि पुनः ब्रह्माबाबाको मलिन अनुहारसँग मौन वार्तालाप गर्छु । उहाँ भन्नुहुन्छः ‘बच्चा, मेरो भावनाअनुसार तिमीहरुको पुरुषार्थ अझै पुगिरहेको छैन । यसमा म सन्तुष्ट छैन ।‘
म भन्छुः ‘धन्यवाद बाबा,मलाई तिम्रो काखमा खेलिरहन पाउँदा बाहिरी सन्ताप केहीले पनि छुन सकेको थिएन र चौधौँ दिन व्यतित भएको पत्तै भएन । म यस अनुभूतिलाई शब्दमा उतारेर मेरा साथीहरुसँग पुर्याँउने कोशिस गर्नेछु ।‘
भोलिपल्ट बिहानै हामी त्यहाँबाट निस्कन्छौँ । हामीसँगको क्षणिक वियोगले भवनहरु ध्यानस्थलहरु बगैँचाहरु र सडकहरु नियास्रो मानिरहेको जस्तो अनुभूत हुन्छ ।
विश्व परिवर्तन भवनको प्राङ्गणबाट हामी छुट्टिने तरखरमा छौँ । फर्कँदा यसभवनको सार्थकता बोध भइरहेको छ । पुरुषार्थीहरुको संख्या बढ्दै गयो भने कलियुग समाप्त भएर अवश्य विश्व परिवर्तन हुनेछ भन्ने पूर्णतः विश्वस्त भइसकेको छु म ।
शान्ति वनबाट बाहिर निस्कने बित्तिकै एकपल्ट मुटु पुनः झङ्कृत हुन्छ र एकाएक सेलाउँदछ । हामीलाई आन्तरिक बसले आबुरोडसम्म छोडिदिन्छ । मधुवनभित्रका अनुभूतिहरुलाई बाहिरी वातावरणले अब प्रत्यक्ष असर पार्न थालिसकेको छ ।
रेलको प्लेटफर्ममा यात्रुहरुको अत्यन्तै भीड छ । रेल अघिल्लो स्टेशनबाट खचाखच खाँदिएर आइपुगेको छ । शान्ति दिदी र भूपेन्द्र भाइले फेरि हाम्रो यात्रामा कुनै प्रकारको समस्या आउन नदिन कन्डक्टरको कुशल भूमिका निभाउन दौडधुप गरिरहनु भएको छ । उहाँको निर्देशनअनुसार टिचर्स तथा समर्पित भाइ भरत एलपि रोका, शेखर तथा चन्द्रशेखर लगायत ग्रुपग्रुपमा विभाजित भइसक्नुभएको छ । यात्रामा वृद्धहरुको संख्या अधिक भएकोले यिनीहरुलाई रेलको सिटसम्म पुर्याउने काममा स्वयमसेवक भाइ बहिनीहरुलाई अरु चुनौति थपिएको छ ।

रेल आफ्नै गतिमा चलिरहेको छ । हाम्रा सिटहरु ७ वटा डिब्बाहरुमा परेका छन् । शान्ति दिदी र भूपेन्द्रभाइजी पन्ध्रौँ डिब्बा अगाडि हुनुहुन्छ । रेल यात्रुले खचाखच भरिएर खुट्टा राख्ने ठाउँ छैन । यस्तो अवस्थामा पनि हामीहरुको प्रत्येकको अवस्था बुझ्न शान्ति दिदी र भूपेन्द्र भाइजी लगायत समर्पित भाइबहिनीहरु विश्राम नलिएर डिब्बाडिब्बामा ओहोरदोहोर गरिरहनुभएको छ ।

रेल नै श्वेतपोशाकधारीको सेतो रङले लतपतिएकोले त्यसको परावर्तनले रेलका अन्य यात्रीहरु पनि सेताम्य हुन थालेकाजस्ता देखिन्छन् । उनीहरु यी श्वेत यात्रीहरुप्रति अत्यन्तै प्रभावित छन्, लोभिएका छन् । सोधीखोजी गर्न थालेका छन् : “तपाईँहरुको खानपानको शुद्धता बोलीको शुद्धता र व्यवहारको समेत शुद्धताले गर्दा हामी औधी आकर्षित हुन पुगेका छौँ । बताइदिनुहोस् न उपाय हामी पनि तपाईँहरु जस्तै हुन चाहन्छौँ आजै. अहिल्यै ।”

मान्छेहरुलाई देवता तुल्याउने सिप बोकेका टिचर्स बहिनीहरु अघि सरिहाल्नुहुन्छ र बताइदिनुहुन्छः नजिकैको सेन्टरको नाम ।

यसरी विश्व परिवर्तन गर्ने शुभारम्भ गर्ने ब्रह्माबाबा हाँस्दै भन्नुहुन्छः बच्चा हो तिमीहरु निश्चिन्त अगाडि बढ । तिमीहरुको हरकदमको लागि म सधैँ साथमा रहनेछु ।
……………………………………….
यात्रामा निस्कनुपूर्वको दिनदेखि यात्रा समाप्त गरी फर्किने दिनसम्म कुन यात्रासमूहमा हुनसक्छ यति राम्रो प्लानिङ ?
अन्तिममा उहाँहरुको प्लानिङको मीठो फल चाख्न पाइएको छ । सानातिना एकदुई समस्याहरु बाहेक भैरहवाबाट यात्रा प्रस्थान गरेका ६० जनामध्ये पन्ध्रौँ दिनसम्म पनि कसैले कुनै प्रकारको दुःख नबेहोरी भैरहवा कुशलतासाथ आइपुगेका छौँ ।
यो भ्रमणले ठीक व्यक्ति,ठीक ठाउँमा र ठीक समयमा पुगेको अनुभूति दिलाइरहेको छ ।
बाबाका सम्बन्धित गुड कन्डक्टर्सहरुप्रति धेरै धेरै नै आभारी छौँ । ओम् शान्ति ।

२०७४।११।१०, भैरहवा ।

81 total views, 2 views today

Leave a comment

Your email address will not be published.

*