कथाः गलफन

“छिटो कयनपानी गैहाल्, गारापारेका डिङाबाछा ग्वालाबाट फर्किने बेला भो, बारीमा पसे भने माटोढुङ्गो केही बाँकी राख्तैनन् ।” आमाले मलाई हकार्नुभयो । कयनपानी खोल्साको छेउमै रहेको हाम्रो बारीमा गाईवस्तु पस्नबाट जोगाउने काम सधैँ ठूल्दाइको हुन्थ्यो, पहिलोपटक हुनुपर्छ, ती गाईवस्तु छेक्न आज म खटाइएँ । आमाको आज्ञा शिरोपर गर्दै म भीमलको घोचो समातेर कयनपानीतिर हस्याङफस्याङ गर्दै उक्लिएँ ।

कयनपानी लघु-वनकुञ्जजस्तै देखिन्छ । पिपल, उत्तिस, गोलाइँची र बाँसका झ्याम्म रुखहरुले ढाकिएको । ठीक बीचमा पानीको मुहान छ र त्यहाँबाट बग्दै किनारमा पुगेको पानी ढुङ्गे धाराबाट धरररर खसिरहेको छ । यही धाराले सोलाबाङबासीहरुको तिर्खा मेटाउँछ, आङ भिजाउँछ र मैला लुगालत्तलाई धोईपखाली गरिसकेर नजिकै रहेको हाम्रो बारीलाई पनि सिंचित गर्छ । कयनपानीभन्दा माथि अलिकति समथर पत्थरिलो जमिन छ । हिँड्दा दमदम आवाज निस्कने भएकोले दमदमे भनिन्छ त्यो ठाउँलाई । दमदमेभन्दा माथि घना सालघारी शुरु हुन्छ । घाँसदाउरा र चरिचरणको लागि गाउँको मुख्य आधार ।

दमदमेतिर हल्लाखल्लाको स्वर बढ्दै जान्छ र त्यो दमदम झन्झन् प्रष्टिँदै छ । म चनाखो हुँदै त्यतातिर हेर्छु, दमदमेबाट सातआठवटा गाईगोरु र पन्ध्रसोह्रवटा भेडाबाख्रा लाम लागेर ग्वार्ग्वार्ति यतैतिर झरिरहेका छन् । अघिअघि पाठाहरु बुर्लुक् बुर्लुक् सुन्दर नृत्य गरिरहेका छन् । गाईवस्तुको ग्वार्ग्वार् आवाजले मीठो संगीत भरिरहेको छ । हेर्दाहेर्दै भेडाबाख्राले आफ्नो गति तिब्र पार्दै गाईगोरुसँगको दुरी बढाउन थाल्छन् । अघिल्तिर कुद्न थालेका भेडाबाख्रालाई छेक्न आठनौ वर्षकी एउटी पातली केटी गाईगोरुको पछिल्तिरबाट अगाडि झुलुक्क झुल्किन्छे र पाठाहरुसँगै तलतिर कुद्न थाल्छे फिरफिरफिरफिर बुर्लुक्-बुर्लुक् । उसले निकालेको मसिनो स्वर कान चिरेर मेरो भित्रभित्रसम्म पुग्छ “छ्यो ! छ्यो ! पख् ! पख् ! हुर्र्‍या ! हुर्र्‍या !”

साँच्चिकै पुतलीभन्दा फरक छैन त्यो केटी । सिन्का जोडिएकाजस्ता खुट्टा । कटिभन्दा तलबाट घुँडासम्म बेरिएको दुई हाते छिटको गुन्यू । एकबित्ताको पातलो जिउमा टम्म कसिएको छिटकै बुलोज । काँधलाई छुँदै र हावामा नाच्दै गरेको छोटोपातलो खैरो कपाल । कपालमा बाँधिएको रातो रिबन । जमिनमा नाचिरहेका नाङ्गा पाइतालाहरु । उसको हिँडाइ र लच्काइ दुरुस्त पाठाझैँ चकचके प्रतित हुन्थ्यो ।

जतिजति भेडाबाख्रा मतिर नजिकिँदै गए उतिउति दमदमेको दमदम मेरो मुटुतिर सर्न थाल्यो । जिउभरि विद्युतीय झड्काजस्तै प्रवाहित हुनथाल्यो । हातगोडा लोलिएकोले हातको घोचो समेत भुइँमा खस्न पुग्यो ।

माथिबाट अरिङ्गालको गोलोझैँ ओइरिएका भेडाबाख्राहरु कयनपानीको बारलाई नाघेर बारीमा हुरुरुरुरु पसिहाले । म सम्हालिँदै बारीमा पसिसकेका भेडाबाख्रा धपाउन घोचो टिपेँ र खोल्साहुँदै दगुर्दै बारको डिलबाट बारीतिर हामफालेँ । भेडाबाख्रातिर प्रहार गर्ने उद्देश्यले घोचो के उठाएको थिएँ त्यसैबेला उसले पनि बारीमा उसरी नै मेरो अगाडि बुर्लुक्क हामफाली । ऊ र म अब आम्नेसाम्ने थियौँ । मेरा नजरहरु बारीमा चरिरहेका भेडाबाख्राबाट पछि हटे र त्यो केटीको अनुहारतिर डोरिए । उसले पनि आफ्ना नजरहरु मेरा नजरसम्म उठाई ।

जब दुवैका आँखा जुधे ऊ खङ्ग्रङ्गै तर्सिई र शरमले हुनुपर्छ खुम्चिई । यो उसको मलाई चिनेको प्रतिक्रिया हुनुपर्थ्यो । अनुहारमा रगत पोखिएसरि रातिई । म जिउमा आगो खन्याइएसरि रापिएँ । म आफ्नै रापमा बिलाउँदै गएँ र ऊ पनि मेरो नजरमा बिलाउँदै गई ।

“ओइ माइला ! काँ मरिस् ? ती रक्तबलले भर्खरको बाली सिध्याइसके केरै ।” आमा घरबाट ठूलठूलो स्वरले चिच्याउन थाल्नुभयो ।

आमाको हप्काइले म झस्किनुपूर्व नै ऊ झस्किई । अनि मेरो ढुकढुकीलाई बेपरवाह गर्दै आफ्ना भेडाबाख्रा पिट्दै र खेर्दै ऊ बारीबाट खोल्सोमा उक्लिई र फिरफिर गर्दै एकछिनमै अलप भइहाली । म हतप्रभ बारीमा केहीबेरसम्म अल्झिरहेँ ।

हो ऊ त्यही केटी थिई । गारापारेका डिङाबाछा चराउने जिम्मा उसैलाई छोडिएको थियो, किनकि ऊ पढ्न जाँदैनथी । हुन त मैले उसलाई यसभन्दा अघि देखेकै थिइन, तसर्थ ऊ अरु कोही हुने सम्भावना पनि उत्तिकै थियो । तर मेरो अन्तस्करणले ठम्याइसकेको थियो कि यो केटी त्यही नै हुनुपर्छ, अरु हुनै सक्तिन भनीकन ।

ऊ गुवालाबाट भर्खरै फर्किएकी थिई र म गाउँको प्राइमरी स्कूलबाट भर्खरै फर्किएको थिएँ । म स्कूलबाट फर्कनु र ऊ गुवालाबाट फर्कने समय एउटै पर्नुमा कहीँ केही सम्बन्ध थिएन । हामीबीच त सम्बन्धको एक गहिरो खाडल थियो । नाताले पनि म उसको नाति पर्थेँ । उमेरले पनि त ऊ आठनौ वर्षकी मात्र र म दशबाह्र जतिको थिएँ । अतः विपरीत लिङ्गी आकर्षणको अनुभूति हामी दुवैमा शून्यप्रायः नै थियो ।

तर हामीबीच केही गहिरो साइनो छ भनी मेरो परिवारका हरेक सदस्यले मलाई जिस्क्याइरहन्थे, घोकाइरहन्थे । मलाई त्यो जिस्क्याइले पटक्कै कतै छुँदैनथ्यो । शुद्ध मनोरञ्जन हुन्थ्यो मेरो निम्ति त्यो । कसैले पहिल्यै जानकारी गराइसकेको थियो कि त्यसको नाम ‘देवी’ हो र ऊ हाम्रो घरदेखि पश्चिमतिर अलि परको रातोघरमा बस्छे भनेर । मैले पनि जिस्किँदै भनिदिन्थेँ: “म त्यै राताघरकी देवीलाई ब्या गर्चु ।”

स्वतःस्फूर्त उच्चारित ‘ब्या’ शब्दले त्यो बाल्यपनको मेरो दिलज्यानमा कहीँ पनि छुँदैनथ्यो । मेरो स्वीकारोक्तिले भने आमाबाको अनुहारमा खुशीका थुप्रै रेखाहरु नाच्ने गरेको देख्दथेँ । उहाँहरुलाई खुशी तुल्याउन पनि भनिदिन्थेँ : “मलाई त्यै केटी चाहिन्छ ।”

मलाई जिस्क्याउँदा दाइ तथा दिदीहरु अक्सर भन्नुहुन्थ्यो, ” त्यो राताघरकी देवी जन्मँदा नै हाम्री आमाले ‘कान्छी बुहारी’ भन्दै धागो बाँधिदिनुभएको रे ! देवीको आमाले पनि तँलाई ‘मेरो जुवाइँ’ भन्दै धागो बाँधिदिएकी रे ! त्यो केटीसँग नै तेरो बिहे हुन्छ ।” म घरको कान्छो छोरा भएकोले पनि असाध्यै पुलपुलिएको थिएँ । अरुभन्दा बेशी नै म ठट्टाको तारो बन्थेँ । अहिले भने घरमा कान्छोभाइको आगमन भइसकेकोले म माइलो पदमा उक्लिसकेको छु ।

दाइ तथा दिदीहरुका बारम्बारको जिस्क्याहटले मलाई झिँजो लगाउँदैनथ्यो र म बेअसर हाँसिदिन्थेँ । मैले दाजुदिदीसँगै असुराका डाँठका बेहुलाबेहुली बनाएर बिवाह गरिदिएको खेल खेल्थेँ । सिन्काहरुका डिङाबाछा बनाउँथ्यौँ र सिङ भाँचिने गरी जुधाउँथ्यौँ । झिँजाहरुका घर बनाएर घरजमको खेल खेल्थ्यौँ । घर बनाउँथ्यौँ र भत्काउँथ्यौँ, भत्काइएको घर अझै राम्रो बनाउँथ्यौँ । यी खेलहरु खेल्दा हामी भरपुर रमाउँथ्यौँ । त्यो बाल्यकालमा घरजम भनेको सिर्फ एउटा मनोरञ्जनात्मक खेल हो भन्ने ठानेको हुँदो हुँ ।

मैले केही वर्षअघिसम्म ठान्ने गरेको थिएँ, गारापारे भन्ने असुराका एक झाङ हुन् र उनकी छोरी असुराकी डाँठकी एक खेलौना सिवाय अर्थोक केही होइन । बेहुलाबेहुली त असुराको डाँठको पनि बनाउन सकिन्छ वा धुल्सुको पातको पनि । जब म छिप्पिँदै जान थालेँ त्यसपछि भने त्यो केटी असुराकी खेलौना मात्र नभई आफूजस्तै तर विपरीतलिङ्गी मान्छे हुनुपर्छ भनी बुझ्न थालिसकेको थिएँ । त्यति मात्र होइन ऊ स्कूल जाँदिन र सिर्फ घँसेर्नी वा गुवालो बनेकी छ रे भन्ने बुझ्दै पनि जान थालेँ । तर ऊप्रतिको आकर्षणको लेष पनि थिएन ममा ।

त्यही सम्भावित बेहुली हुनुपर्छ गुवालीको रुपमा मेरो अगाडि प्रकट भएकी थिई एकछिन अघि । यो अरु कोही हुनै सक्दैनथी । त्यही गुवाली मुटुमा दमदमदमदम गर्दै भर्खरै गई । उसले राम्रैसँग बुझाएर गई कि ऊ सिर्फ असुराकी खेलौना होइन । त्यति मात्र कहाँ हो र ? शरमले झुकेका राताराता नजरले भित्रैसम्म चिमोटेर गई । मीठो दुखाई बल्झाएर गई । मोहक आकर्षण छोडेर गई ।

०००

म खलंगा कलेज पढ्दै थिएँ, ऊ सेरिगाउँमा ऊनका सुइटर तथा गलबन्दी बुन्ने तालिम लिँदै थिई । हामीहरु किशोरवयको खुड्किला चढ्दै थियौँ । यस अवधिबिच धेरै पटक हाम्रो जम्काभेट भैसकेको थियो । जम्काभेटले एकप्रकारको विद्युतीय झड्का हान्न थालेको थियो शरीरका अङ्गप्रत्याङ्गमा । तर हामीबिच बोली भने अझै फुट्न सकेको थिएन । ऊ पनि मसँग बोल्न आतुर थिई, म पनि ऊसँग बोल्न आतुर थिएँ । यो आतुरी दुवैलाई बोध हुँदाहुँदै पनि सीमावद्ध थियौँ । म पनि कलेजका साथीभाइसँग हुन्थेँ र ऊ पनि तालिमे संगिनीहरुसँग हुन्थी । ती साथीसंगिनी नै हामीबीचको सीमा बन्न पर्याप्त थिए ।

एकाबिहानै जब म कलेजको लागि उक्लँदै थिएँ, ऊ मेरो अगाडि अकस्मात् झुल्किई । मलाई देख्नेबित्तिकै लजाउँदै उसरी नै भाग्न खोजी बुर्लुक् बुर्लुक् । उमेरसँगै शरीरमा मासु पनि भरिँदै गएकोले उसको भगाईमा पहिलेजस्तो फिरफिराहट थिएन । थियो त गह्रुँगो फत्र्याक्-फत्र्याक् मात्र ।

म खितितिति हाँस्न पुगेछु, ऊ फर्किएर मलाई कर्के चिहाई । मेरो मुटुको धड्कन झन् झन् बढ्न थाल्यो दमदमेजस्तै दमदम दमदम । ऊ जिस्काएको ठानी रिसाउली भन्ने डरले सासलाई थाम्दै तुरुन्तै भनिहालेँ, “सँगै गए हुँदैन ?”, मेरो पहिलो वाक्य फुत्क्यो उसको लागि ।

उसको पनि प्रश्नबोधक पहिलो वाक्य फुत्कियो मेरो लागि पनि, “किन र ?”

‘किन’ को जवाफ मसँग पनि कहाँ थियो र ? मर्दले मर्दानाको ‘किन’ को जवाफ नदिई पनि सुख्खै थिएन । म हतप्रभ उभिएँ र किशोर मानसपटलभरि खोजेँ जवाफ । किन ? किन ??….??…… मुटुतिर बढिरहेको दमदमले गर्दा ‘किन’ को जवाफ ओझेलमा पारेको थियो र सजिलै भेट्टाउन मुश्किल भैरहेको थियो ।

ऊ उभिएकी थिई, म उसको झण्डैझण्डै नजिक पुगिरहेको थिएँ ।
मेरा नजरहरु उसको हातमा पुगेर अड्किए । उसको काँधमा रातो, सेतो र निलो रङको ऊनका डल्लाहरु लड्किरहेका थिए । हातमा सुइटर बुन्ने दुई लामालामा सुइराहरु नाचिरहेका थिए । ऊनबाट सुइटर हुनुपर्छ, सुन्दर आकृति निर्मित हुँदै थियो ।

मैले उसको कठिन ‘किन’ को जवाफ दिनुको सट्टा स्वरलाई सक्दो नरम तुल्याउँदै सजिलो प्रश्न सोधेँ : “त्यो के हो ?”

उसले अझै नरम र मसिनो स्वर पार्दै जवाफ दिईः “गलफन !”
म मन्त्रमुग्ध हुँदै उसलाई हेरेको हेरेकै भएछु कि उसैले नसोधेको प्रश्नको अलिकति ठूलो स्वरमा जवाफ दिईः “यो मेरो ठूल्दाइको लागि हो ।”

“हो ?” मेरो मुखबाट बाँकी शब्द निस्कन सकेन ।

उसले सकारात्मक टाउको हल्लाई । टाउको मात्र के हल्लिन्थ्यो जिउ नै थरररर हल्लियो उसको । मेरो पनि मुटु हल्लाइदिई । उसको ठूल्दाइ मेरो बाल्यपनको सखा मात्र थिएनन्, कलेजका एकदमै नजिकका साथी पनि ।

ऊ मेरो गतिलाई उछिनेर अघिअघि बढ्दै गई । म पनि निश्चित दुरी कायम राखेर लुरुलुरु पछि लागेँ । गह्रुँगा पाइतालाहरु हलुका हलुका लाग्न थाले, जीउ चङ्गा झैँ हलुको अनुभूत भयो । म पछि लागेको आभाषको लज्जाले हुनुपर्छ मेरो भन्दा तेज गतिले पाइला उचाल्न थाली । हामीबीचको दुरी पुनः बढ्न थाल्यो ।

मैले हतारिँदै पुनः सोधेँ, “सँगै गए हुँदैन ?”

उसले उही कठीन प्रश्न मतिर फ्याँकीः “किन र ?” अनि बाटोमै एकैछिन अल्झिई । उसले बारम्बार आफ्नो प्रश्नको जवाफ मबाट खोजिरहेकी थिई । एउटी ठिटीको दुईदुईवटा प्रश्नको जवाफ दिन नसक्नु यस्तो पनि कतै हुन्छ ?

मैले आफूलाई सम्हाल्दै जवाफ दिएँ, “गलफन !”

उसले हत्तपत्त भनिहालीः “गलफन ? ऊन ल्याइदिनु, म बुनिदिउँला ।”

यति भन्दा नभन्दै ऊ खुरुरुरुरु भागी हाली । मैले ऊ भागिरहेको ध्यानमग्न हेर्दै थिएँ, पछिबाट कसैले ध्यान भङ्ग गरिहालेः “आज त तिमी नै अघि आएछौ !”

जो पछि आयो उसैले भन्न मिल्थ्यो यो वाक्य । तर यो वचनले मलाई अभूतपूर्व घोचिदियो, ‘म अघि लाग्न नपाइने कुन विधानमा लेखिएको छ र ? मलाई पछि परेको हेर्न चाहन्छौ तिमी ?’ तर भन्न सकिन, किनकि उनी मेरा निकटतम साथी थिए । साथी मात्र कहाँ थिए र ? उनी त त्यही भागिरहेकी केटीका ठूल्दाइ पो थिए !

अबचाँहि घरबाट सधैँ सबेरै निस्कन थालेँ, आफ्नो साथीलाई पछि पार्ने हेतुले । खोइ ? त्यही केटीलाई भेट्टाउन पो हो कि ? दुवै पनि हुनसक्थ्यो ! साथीले बिहे पनि गरिसकेका थिए । मनमा खेल्थ्यो, विवाहित र अविवाहितबिच पनि काँहि मित्रता भैरहन्छ र ? अनि मेरो मन उनीदेखि तर्कन खोज्थ्यो । उनी अझै मसँगै नजिकिन खोज्थे ।

फलस्वरुप कलेजको निहुँ बनाई म अझै बिहान घरबाट निस्कन थालेँ । यसले के फाइदा भयो भने अब त्यो केटीको हातमा मेरै लागि बुनिइरहेको गलफन (गलबन्दी) बिहानबिहानै देखिन थाल्यो । त्यो गलबन्दीमा निला र सेता पाटा थपिँदै थिए र झन् झन् लामो हुँदै थियो । झन् झन् सुन्दर पनि ।

करिब एक हप्तामा गलबन्दी तयार भएर मैले हात पारिसकेको थिएँ, तैपनि राम्रोसँग नखाई नचुठी बिहानै निस्कने क्रम भङ्ग हुन सकेन ।

उता आफू एक्लिने भयले केटीका ठूल्दाइ पनि झन् झन् बिहान निस्कन थाले । उनको गलामा पनि त्यही केटीले बुनेको गलबन्दी बेरिएको थियो र मेरो गलामा पनि दुरुस्तै उस्तै गलबन्दी बेरिएको हुन्थ्यो । फरक त थियो त उनको गलबन्दीमा रातो रङको पाटा पनि थियो, मेरो गलबन्दीमा सेतो र निलो रङ मात्र थियो । उसको हातमा ऊन थमाइदिँदा उसैले सोधेकी थिईः “रातो ऊन खोइ त ?’

मैले भनेको थिएँ, “मलाई रातो मन पर्दैन !”

उसले उही कठीन प्रश्न सोधेकी थिईः “किन र ?”

०००

कलेज पढ्दा पढ्दै मैले रातामाटा स्कूलमा शिक्षकको जागिरी भेट्टाएँ । रातामाटाबाट सोलाबाङको स्कूलमा पढाउन थालेँ । स्थायी भएपछि कैलदेऊ पुगेँ, जहाँ त्यही केटीको माइलादाइले पढाउँदै थिएँ । पढाइको कारण उसको ठूल्दाइ मेरा निकट साथी छँदै थिएँ, जागिरीको कारणले अब म उसको माइलादाइको पनि निकटको साथी बन्नपुगेँ । सम्भावित जीवनसाथीका दाइसँग हुने साथको अनुभूति अरु साथीभाइसँग हुने साथजस्तो हुँदैनथ्यो । अलि भिन्न, अलि जोखिम, अलि सतर्क र अलि रोमाञ्चक !

कलेज तथा स्कूलको विदाको समयमा म पनि गुवाला जान थालेँ । मेरो गुवालाको कार्यक्षेत्र स्याँलातिर हुन्थ्यो जुन मेरो गाउँको पश्चिमतिर पर्थ्यो । उसको कार्यक्षेत्र कागमारेतिर थियो, जुन गाउँको पूर्वतिर थियो । यो कार्यक्षेत्रको दुरी यति धेरै थियो कि दुवै मनहरुलाई अत्याइरहन्थ्यो, बिझाइरहन्थ्यो । मेरो औपचारिक माग नहुँदानहुँदै पनि यो कठिनाइलाई बुझेर उसले आफ्नो कार्यक्षेत्र अभूतपूर्व परिवर्तन गरिदिई र स्याँलातिरै स्थानान्तरित भइदिई । यसले मजस्तो लाजपात्रेलाई हुनुसम्म सुगम भइदियो । परेका वा लिइएका विदाका दिनहरुमा दुवैजना स्याँलाको जङ्गलभित्र गाईवस्तु चराउँदै बारम्बार भेटिन थाल्यौँ । तर हामीबीच निश्चित दुरी कायम नै थियो, शारीरिक, सामाजिक, साँस्कृतिक, आदि, भनौँ न ।

त्यतिबेला स्कूल वा कलेजका पाठ्यपुस्तकहरु सितिमिति नपाइने मुसिकोटमा प्रकाश कोवित र युधिर थापाका प्रेमिल उपन्यासहरु सजिलै पाइन्थे । लालहिरा, मधुमालती, मुकुन्दइन्दिरा आदि पहिल्यै पढिभ्याइसकेको थिएँ । म उपन्यास पठनमा यति ध्यानमग्न हुन्थेँ कि गाईबाख्रा भागेर कसैको बारीमा पसिसकेको सुइँपत्तो पाउँदैनथेँ । ऊ म पढिरहेको ठाउँसम्म आइपुग्थी र मभन्दा अलिकति पर टुक्रुक्क बसेर लोभिँदै मैले पढेको हेरिरहन्थी । चाहना थियो होला, ‘म पनि यस्तै उपन्यासहरु खुरुरुरु पढ्नसक्ने भैदिए !’ वा त्योभन्दा अघि बढेर सोच्थी होली, ‘आफूसँग पनि त्यो क्षमता भैदिए माया साट्ने यो खेलमा कति सुगमता आउँदो हो !’

त्यसो त हामीबीचको सम्बन्धमा पढाइको अन्तरले कुनै भाँजो हालिसकेको थिएन । पढाइको अन्तर खासै के थियो र ? ‘लाल’ बन्दै गएको म र ‘हिरा’ बन्दै गएकी उसमा के नै तात्विक अन्तर थियो र ?

०००

हाम्रो उमेर पनि दिनदिनै चढ्दै गएकोले हामीलाई ताकेर विवाहका प्रस्तावहरु नआउने कुरै थिएन । मकहाँ आएको प्रस्तावको चियोचर्चा गर्थी ऊ । ओठ पिलपिल पार्दै स्पष्टीकरण सोधिहाल्थीः “हिजो तपाईँको घरमा पाहुना आएका थिए रे नि ? के भन्नुभो बाआमाले ?”

“पढ्दैछ छोराले भन्नुभो नि, अरु के भन्नु ?” मेरो स्पष्टीकरणले ऊ ढुक्क हुन्थी ।

ऊकहाँ आएका प्रस्तावहरु पनि सहजै थाहा पाउँथेँ मैले । मैले पनि स्पष्टीकरण सोधिहाल्थेँ, उसले भन्थी, “हुन्न भनिदिएँ नि । अरु के भन्नु ?” उसले पनि मलाई विश्वस्त तुल्याउँथी ।

हामीहरुको घरको दुरी कति नै थियो र ? त्यस्तै सय गज पनि त थिएन । म शिक्षित कहलिएकोले मकहाँ आउने प्रस्ताव शिक्षित केटीकै हुन्थे, ऊकहाँ आउने प्रस्ताव उस्तै प्रकारका हुन्थे । तर समस्या के थियो भने उसको गलफन मेरो गलामा लड्किरहेको हुन्थ्यो । त्यस्ता प्रस्तावहरु त्यही गलफनमै बिनाविभेद बिनाअनुमोदन अड्किरहेका हुन्थे ।

०००

मैले आइए सकेपछि बिए पढ्न काठमाण्डौतिर हानिएँ । मसँगै उसले बुनिदिएको ‘गलफन’ पनि काठमाण्डौ आइपुगेको थियो । काठमाण्डौको कलेजको शुरुको दिन त्यही गलफन गलामा बेरेर कक्षामा पुगेँ । अलि बढी नै पाखे देखिएछु कि ? सहपाठीहरु मलाई देखेर गलललल हाँसिदिए । त्यसदिनदेखि त्यो गलफन डेराको ह्याङ्गरमै झुण्डिइराख्यो ।

आमाले बेलाबेला दूर संचार पुगेर फोन गर्नुहुन्थ्यो । उहाँले मेरो सन्चोबिसन्चो सोधिसकेपछि सोध्न बिर्सन हुन्नथ्यो, “के भनिदिने हो गारापारेका परललाई ? छिटो बाटो देऊ भन्छन् ।” बदलामा मैले केही जवाफ दिन सक्दिनथेँ । धेरै झिज्याएपछि भने भनिदिन्थे, “राम्रो केटो आए दिए भैहाल्यो त ! मैले रोकेर राखेको छुइन क्यारे !”

त्यसबेलाको जमानामा गाउँका तेह्रचौध उमेरका सबैजसो केटीको घरजम भैसक्थ्यो । उसले त सोह्र वर्ष पार गरिसकेकी थिई, जुन विवाह गर्ने उमेरभन्दा धेरै ढिला भैसकेको ठानिन्थ्यो । सायद, ‘कुर्दा कुर्दा पोई नपाएरै यो बूढिने भई !’ भनेर उसकी साथीसंगिनीले हैरान पारिरहेका थिए होलान् उसलाई ।

काठमाण्डौका सहपाठीहरुले पनि ‘गलफन’ शब्द प्रयोग गर्दा म झुक्किएको थिएँ । पछि थाहा पाएँ, गर्लफ्रेन्डलाई ‘गलफन’ भन्दा रहेछन् । प्रायः विद्यार्थीहरुका एकएक ‘गलफन’ हुन्थे । नभएकाले ‘गलफन’ छनोट गर्न कम्मर कसेका भेटिन्थे । त्यति नगरे पनि बाँकीको गफमा ‘गलफन’ले नै प्राथमिकता पाउने उमेर थियो त्यो । मैलेचाँहि त्यही गलफनलाई नै गर्लफ्रेन्डको प्रतिकको रुपमा लिएँ । आफैसँग गलामा झुण्डिएर आएको गलफनसँग निशब्द वार्तालाप गर्न थालेँ । गलफनको निलो र सेतो रङबिचमा लाल रङ पनि भइदिए हुन्थ्यो जस्तो लाग्थ्यो । अनुहार लाललाल तुल्याउँदै बोलिदिए हुन्थ्यो जस्तो लाग्थ्यो त्यो गलफन् । रातो रङको चाहना बढ्दै गएको थियो ममा ।

बेलाबेलामा फोन सम्पर्क भयो कि आमाबाले दोहोर्‍याइतेहर्‍याइ त्यही प्रश्न सोध्नुहुन्थ्योः ‘के भनिदिने हो तिनीहरुलाई ?” पढाइ एकातिर थियो, अर्कोतिर त्यही प्रश्नले मनमा झुत्ति खेल्दथ्यो । घरि ‘पर्खन नसक्ने भए पोइल गए भैहाल्यो त !’ भन्थ्यो, घरि, ‘एक वर्ष पनि पर्खन नसक्ने के भाको होला ?’ भन्थ्यो ।

दिनमा खेल्ने मनले भन्थ्यो, ‘मैले आफ्नो भविष्य उज्ज्वल तुल्याउन शिक्षित केटी नै खोज्नुपर्छ । यसले मेरो जीवन पनि सहज हुनेछ र बच्चाको भविष्यमा पनि सकारात्मक प्रभाव पर्नेछ ।’ जब साँझ पर्थ्यो, ह्याङ्गरमा झुण्डिरहेको गलफन सर्दैसर्दै आँखामै झुण्डिन आइपुग्थ्यो । आफ्ना इतिहासका पानाहरु फरररर पल्टाएर मलाई हैरान पार्थ्यो, त्यो रोमाञ्चक विगत झलझली सम्झाइदिन्थ्यो, ताजा पारिरहन्थ्यो । आफ्नै मनलाई ढाढस दिँदै भन्थेँ, ‘उसले सपनाको राजकुमार मलाई नै छानिसकेकी होली । उसलाई नअपनाउनु उसको मनमा ठेस लाउनु हो, धोखा दिनु सरह हो । उसले पढिन भन्ने आधारमा मात्र उसलाई छोडिदिनु न्यायसँगत होइन । उसले त आजसम्म पर्खिरहेकी नै छ नि !’

०००

जब म काठमाण्डौको अध्ययन सकी घर फर्किएँ ऊप्रति अरु युवकहरु पनि आकर्षित रहेको आभाष पाएँ । हुँदी हो ऊ पनि उनीहरुप्रति नै आकर्षित । उमेर नै त्यस्तो थियो । मैले धेरै समयको अन्तरालमा उसको संगत छोडिदिएपछि मेरै जप, तप, ब्रतमा बस्ने पार्वती बन्नु कहाँ सम्भव थियो र उसलाई यो कलियुगमा ? सम्बन्ध पनि बारीको बीरुवा जस्तो न हो, मलजल दिइराखे पो हुर्कन्छ त ! त्यो जमाना न मोबाइलको थियो, न त हामीबिच पत्राचार हुनसक्थ्यो । हामीबिच प्रत्यक्ष बोलचाल बाहेक दिल फुकाउने कुनै माध्यम बाँकि रहेको थिएन । समयको दुरीले गर्दा हामीले एकसाथ दिलबारीमा पस्ने मौका नै पाएका थिएनौँ । हामीले हाम्रो दिलबारीमा हुर्किएको कलिलो बीरुवा बिना मलजल, बिना रेखदेख मुर्झाइरहेको थियो ।

घर फर्किएपछि पुराना डोबहरु खोज्दै मैले कैयौँचोटी कयनपानीतिर ओहोरदोहोर गरेँ । बाल्यकालमा घरबाट निस्कियो कि पाखापखेरामा देखिइहाल्ने ऊ यसपटक मेरो नजरमा कतै परिन । उसको अभाव मलाई खट्किए पनि मेरो अभाव उसलाई खट्किन छोडेछ । मैले के बुझेँ भने हाम्रो प्रेमिल सम्बन्धमा आकाशपातालको फरक परिसकेको रहेछ । लाग्यो, म गाउँमा फर्किएको थाहा पाउँदापाउँदै पनि उसले मलाई पटक्कै बालमतलब दिइन । न उसका बाआमा मलाई भेट्न आए, न त उसका दाजुहरु नै ।

काठमाण्डौमा छँदा फोनमा बारम्बार त्यही केटीको प्रसंग झिक्ने मेरा आमाबाले पनि घर फर्किइसकेपछि त्यो प्रसँग निकाल्दै निकाल्नुभएन । यसले गर्दा मनमा अरु उच्चाट बढ्यो, अरु छट्पटी बढ्यो । मेरो पालो मैले पनि गलाबाट निकालेर कोठाको घुगुतीमा टङ्गाइदिएँ गलफन्-सलफन् ।

दिलबारीमा हुर्किएको प्रेमिल बीरुवालाई निरन्तर मलजल पुर्‍याउन नसक्नु मेरै कमजोरी हो भनेर मनलाई तेह्रौँ गरेर सम्झाए पनि मनले मान्दै मानेन । बरु डाहा, क्षोभ र घृणाको ठूलै भारी भिराइदियो । त्यसैको भारीको मारवश् अकस्मात् आमाबालाई भनिदिएँ: “त्यस केटीलाई म बिहे गर्दिन ।”

“के भयो र ? उनीहरु तेरै लागि पर्खिरहेका छन् ।”

“जोसुकैलाई पर्खोस्, म मरिकाटे त्योसँग बिहे गर्दै गर्दिन ।”

“हामीलाई के घुर्क्याउँछस् त ? भन् गएर उसैलाई । भन् उसैका आमाबालाई । तेरो खुशी नै हाम्रो खुशी हो बाबै ।”

मैले त्यसको घरमा पनि जाँदै नजाने अड्डी कसेँ । आमाबाले पनि मेरो यो आकस्मिक निर्णय केटीका आमाबालाई कुनै हालतमा सुनाउन नसक्ने अड्डी कसे । आखिर अस्वीकृतिको निर्णय उनीहरुलाई सुनाइदिन म स्वयम् उसको घरमा नगई सुख्खै पाइनँ ।

डाहा, घृणा र क्षोभको खिँचडी मनभरि भकभकी उमाल्दै म उसको घरसम्म पुगेँ । म असिनपसिन थिएँ । मेरो हालत देखेर उसका ठूल्दाइले एक गिलास चिसो मोही हातमा थमाइदिए, मैले एकै गासमा घटघटी पिइदिएँ । त्यो चीसो तथा मीठो मोहीमा घोलिएको सौहाद्रताले म केही चिसिएँ । मलाई आसनग्रहण गराउन दलिनमा थुप्रिएको कसेर बढारियो र भुइँमा बाक्लो सफा कम्बल ओछ्याइयो । चुलोचौको लिपियो । मेरो अगाडि थालीमा एक हातो केरा र एकबटुका दही राखियो । चुलोमा मिष्ठान्न भोजन तयारीको लागि परिवारका हरेक सदस्यको सराकसुरुक बढेर गयो । त्यो सबै मेरै सम्मानको लागि थियो भनी बुझ्न कुनै गाह्रो भएन मलाई ।

म अरु चिसिँदै गएँ र सम्हालिँदै गएँ । मैले ऊसँग विवाह नगर्ने बनीबनाऊ ताततातो निर्णय सुनाउन अबचाँहि हम्मेहम्मे पर्ने देखियो ।

भोजनग्रहण गराइसकेपछि उसको परिवारका सबै सदस्यहरु मलाई चौतर्फी घेरा हालेर बसे । प्रसंग निकालियो विवाह गर्न ढिला भैसकेको । मैले छिटो निर्णय दिनुपर्ने भाव थियो छलफलको । म केहीबेर मौन रहेँ । चौतर्फि प्रश्नका झटाराहरु ओइरिइरहेको बखत मौन बसिरहनु कहाँ सम्भव थियो र ? उनीहरुलाई टार्न मैले ‘तपाईँहरुकै छोरीबैनीसँग प्रत्यक्ष कुरा गर्छु !’ मात्र भन्नसकेँ ।

मेरो अड्डी सुनेकी हुनुपर्छ, ऊ पनि बुइँगलबाट फुत्त तल झरी । अठाह्रबीस महिनापछि हाम्रो देखादेख भयो । ऊ त एक झुसे झुसिलकिराबाट असाध्यै सुन्दरी पुतलीमा परिवर्तित भइसकिछ । मेरा नजरहरु आकर्षित गरी छाड्यो उसको रुपले ।

मेरा नजर उसको जीउभरि नाच्न थाले । पातलो जीउमा टम्मै मासु भरिइसकेछ । ख्याउटे अनुहार थेप्चे देखियो । सिकुटे थिई, डल्ली न डल्ली जवानीले भर्भराउँदो देखिई । एकबित्ते ब्लाउज उन्नत वक्षस्थल ढाक्ने चोलीमा परिवर्तन भैसकेछ । नलिखुट्टे तल्लो भागसँग बेपरवाह नाचिरहने छोटो गुन्यू, पुष्ट पिँडौला ढाकेर भुइँछुने गह्रुँगो छिटको धोतीमा परिवर्तन भैसकेछ । ऊ सेतोगुराँसबाट लालीगुराँसमा परिवर्तित भएर गह्रुँगा पाइला उचाल्दै मेरो अगाडि प्रकट भई । म रापिन थालेँ । मेरो होशहवास नै गुम भयो । मेरा ईर्ष्या, डाहा, अभिमानहरु त्यही रापमा भष्म हुन पुगे । म मुसुक्क मुस्कुराइदिएँ, उसले त्यही सरोवर मुस्कानले मलाई पैँचो तिरी ।
मैले सम्हालिँदै भनेँ: “के गर्ने ? तिम्रो घरपट्टि र मेरो घरपट्टिले मलाई बसिखान दिएनन् ! सक्छ्यौ मेरो घर गरी खान ?”

उसले मेरो जवाफको सट्टा ऊही पुरानो प्रश्न सोधीः “किन र ?”

म उसको ‘किन’ मा अल्झिनुपर्ने अवस्था थिएन, अतः मैले नै सोधेँ, “अब झ्याँइँकुटी पार्ने ढिला भैसक्यो रे ! सक्छ्यौ ? मेरो घर सम्हाल्न ?” मेरी कुशल जीवनसंगिनी बन्न उसले के के योग्यताहरु हासिल गरेकी छ भनी बुझ्न चाहेँ मैले ।

ऊ केहीबेर अलमलमा परी । अनि गम्भीर देखिई र निर्धक्क रुपमा जवाफ दिँदै गई “किन सक्दिन ? के कमजोरी छ ममा ? घाँस काट्न सक्छु, दाउरा चिर्न सक्छु, रुख चढ्न सक्छु, रोटी थेच्न सक्छु । बच्चा जन्माउन र हुर्काउन पनि सक्छु । अरु आईमाईले जसरी घर खाएका छन्, त्यसरी नै म पनि घर गरी खान सक्छु । सबैभन्दा ठूलो कुरा तपाईँलाई कसैले दिननसक्ने धेरैधेरै माया दिन सक्छु । अरु के चाहियो तपाईँलाई ?”

म छक्क परेँ, अरुलाई दिएर रित्त्याइसकेकी होली भनेको त आज पर्यन्त मेरै लागि एक डबका माया जोगाएर राखेकै रहिछ । माया शब्दले म द्रविभूत हुनथालेँ । भित्रभित्रै पग्लिएर गल्न थालेँ । प्रकटमा भने अझ कठोर बनेको नाटक गर्दै पुनः सोधेँ “आजको जमानामा घर सम्हाल्न त्यतिले मात्र पुग्छ र ?” मेरो सोधाइको तात्पर्य थियो, ‘पढाइ चाहिएन ?’

मेरो प्रश्नले ऊ बेसरी हडबडाई । लाललाल अनुहारभरि चिटचिट पसिना उम्रिएका प्रष्ट देखिए । लालीगुराँसबाट पहेँलोगुराँसमा परिवर्तित हुँदै गई । उसको तमाशा हेर्न लायक हुँदै गयो । उसको यो हडबडाहटले मलाई नै पछुतो भयो, नसोधेको भए हुन्थ्यो यो प्रश्न !

उता म अन्तर्वार्ता लिँदै थिएँ, यता दिनदिनै मलजल नगरेको कारणले मात्र हामीभित्र मुर्झाएको सम्बन्धको कलिलो बेर्ना दुवैका नजरबाट पोखिएको मलजलले हलक्कै बढ्दै थियो । तै, त्यो बेर्ना मरिसकेको रहेनछ !

उसले जवाफ दिन खोजी, ‘मसँग पढाइको कमी भयो र त तिमीजस्ता पढेलेखेकालाई रोजेकी नि । म तिमीलाई पाएर पूर्ण हुन चाहन्छु ।’

उसको प्रत्यक्ष/परोक्ष प्रतिउत्तरले म यसरी मर्माहत भएँ कि मैले ऊसँग हारेँ । मेरो अभिमानले अग्लिएको शिर निहुरमुन्टी ‘न’ को अवस्थामा पुग्यो । मेरो बनीबनाउ निर्णयलाई त्यहीँ च्यातुचत पारिदिएँ ।

मेरो मौनताले उसको मात्र होइन समस्त परिवारको अनुहारमा शंका र चिन्ताको तुवाँलो लागिरहेको थियो । मैले मौनता तोड्नैपर्ने भयो । म फैसलाको लागि तत्पर न्यायधीश थिएँ, र वरिपरि मेरो फैसला सुन्न आतुर जनसमुहको एकप्रकारको उभार थियो ।

मैले फैसला सुनाइदिएँ: ‘उसले ‘मसँगसँगै जाने’ निधो गरेकीले बाँकी जीवनमार्गमा म पनि ‘ऊ सँगसँगै पाइला चाल्न तत्पर छु ।’

हाम्रो पहिलो बोलचालमा मैले सोधेको थिएँ: ‘सँगसँगै गए हुँदैन ? उसले उल्टै मलाई सोधेकी थिई, “किन र ?”

उसको पहिलो प्रश्न ‘किन र ?’ को मुखभरिको जवाफ पाई उसले आज । अब मैले ‘सँगसँगै जाउँ !’ पनि भन्नु परेन र उसले पनि ‘किन र ?’ भनी सोध्ने आवश्यकता बाँकी रहेन । उसले मलाई सम्पूर्ण रुपमा प्राप्त गर्ने भई । यसले ऊ औधि खुशी देखिई । उसको खुशीले उसको सपरिवार खुशी भयो, त्यो खुशीको माहोलमा म खुशी नहुन कहाँ सम्भव थियो र ?

म भोलिपल्ट कोशेली स्वरुप सुन्दर सपना बोकेर घर फर्किएँ । मनमा उम्लिएको घृणा र क्षोभ बिलाइसकेको थियो । मनको धुलोमैलो पखालिइसकेको थियो । मलाई देखेर हतार हतार आमाले सोध्नुभयोः “भनिस् त बिहे गर्दिन भनेर ? के भनिस् ?”

आमाको अघि पनि म निहुरमुन्टि ‘न’ नै भएँ । बिस्तारै नकारात्मक टाउको हल्लाउँदैँ भनेँ : “बिहे गर्छु भनिदिएँ ।” आमाले मेरो निर्णय सुनेर हत्तपत्त अँगालोमा बेर्दै भन्नुभयो, “मलाई पहिल्यै थाहा थियो कि तैँले यही निर्णय गर्नेछस् भनेर । आमा हुँ, छोराको दिल किन चिन्दिनथेँ !”

मैले घुगुतीमा झुण्ड्याएको गलफन् तानेर गलामा बेरेँ । न्यानो मात्र होइन रोमाञ्चक अनुभूति भयो । गलफनले भित्रभित्रै कतै काउकुति लगाइदियो । गलफनले मलाई तान्दै शुरुको भेटघाटको दिनसम्म लगिपुर्‍यायो । प्रारम्भिक इतिहास बक्न थाल्यो । म त्यतैकतै हराएँ ।

त्यही बेलुका दहीको ठेकी बोकेर बा लगायत केही आफन्तहरु उसको घरमा पुगे । मैले पहिल्यै मागिसकेकी केटीलाई परिवारको तर्फबाट मागेर औपचारिकता पूरा गरियो । भोलिपल्ट नै बिहेको लगन हेराइयो । लगन जुर्‍यो- जेठको एघार गते । त्यो जेठ एघार धेरै टाढा थिएन, एकहप्ता पर मात्र थियो ।

आखिर मेरी जन्मजात गर्लफ्रेन्ड (गलफन) सँगै मेरो बिहे धुमधामसाथ पञ्चेबाजा बजाउँदै सम्पन्न भयो । बिहेकै दिन मात्र थाहा पाएँ कि उसको नाम ‘देवी’ नभएर ‘देवकुमारी’ पो रहेछ !

त्यो निर्णायक दिनको मेरो प्रश्नले ऊभित्र चिथोरिएको घाउ पुरिएको थिएन । घाइते तुल्याइएको मेरी प्यारी ‘गलफन’ को दिलमा मलहम लगाइदिनु नै थियो मैले । बिहेको केही वर्षपछि उसलाई मैले स्कूल भर्ना गरिदिएँ । उसले प्राथमिक कक्षादेखि शुरु गरेर दश कक्षासम्म पढिसिध्याई । उसले एसइइ पनि ‘बि प्लस ग्रेड’ मा पास गरी । अहिले ऊ कलेज जाने तर्खरमा छे ।

उसले मेरै किशोरवय जस्तै कलेजी कल्पनामा भुलेर कलेज सिध्याओस् ! यो तीसौँ वैवाहिक वर्षगाँठको शुभकामना !

२०७६।०२।०९
सुर्खेत

136 total views, 1 views today

Leave a Reply

Your email address will not be published. Required fields are marked *