एकल यात्रा

 

बेलुकाको ७ बजिसकेको थियो । यो नै आज दाङबाट छुट्ने अन्तिम रात्रीबस थियो । बस छुट्नै लागेको संकेत एकनाशको कानै खाने तीखो प्याँप्याँ हर्नले दिइरहेको थियो । हातमा बोकेको झोलालाई छातिपट्टि भिरेर म हतारहतार गाडीभित्र छिरेँ । गाडी चढ्ने र ओर्लनेहरुको दोहोर भिडले गर्दा बस खचाखच भरिएको थियो, खुट्टा राख्ने समेत ठाउँ थिएन । बस र मान्छेहरुको पसिना मिश्रित अमिलो दुर्गन्धले उल्टी आउला जस्तो भैसकेको थियो । त्यसैमाथि आफन्तलाई छोड्न आउनेहरु र यात्रीहरुबीचका विदाइका वचनहरु पनि तीखा र कर्कश लागिरहेको थियो । बच्चाहरु ‘च्याँहाँ-च्याँहाँ’ गरी कराइरहेका थिए । गाडी छुट्ने डरले केही क्षण अगाडिको निवासस्थलदेखि बसपार्कसम्मको पैदल कुदाइले शरीर औधि थकित भएको थियो । केही गरी आफ्नो सिट भेट्टाएर झोला बिसाउन पाए हुन्थ्यो भन्ने औडाहाले व्यग्र तुल्याइरहेको थियो । ढोकाबाट अगाडि बढ्न नसकेकोले मान्छेहरुको ठेलाइसँग संघर्ष गरिरहनुपर्‍यो केही क्षणसम्म । गाडी बिस्तारै हिँड्नथालेपछि आफन्तलाई छोड्न आउनेहरु ओर्लिँदै जाँदा बिस्तारै बसको प्यासेज खाली भयो र म “बि- ९” नम्बर खोज्दै पछाडितिर सरेँ ।
मेरो सिटमा अरु कोही बसिसकेको देखेर म तर्सिँएँ । अलिकति ढिला हुँदा यस्तो लफडामा म धेरै परिसकेको थिएँ
मेरो सिट उछिन्ने मान्छेलाई कोट्याउँदै भनेँ: “ए दाइ, यो मेरो सिट हो । मेरो सिट छाडिदिनुस् ।”
मैले कोट्याएपछि ऊ मतिर फर्कियो । मैले त्यही कुरा दोहोर्‍याएँ । उसले चिल्ने आँखाले मलाई हान्दै भन्यो: “मेरो पनि ९ नम्बर सिट नै हो ।”
“तपाईँको ‘ए’ तिर होला नि त !”
“बि’ नै हो । बरु तपाईँको सिट ए को होला ।”
म झुक्किएँ कि त भन्दै आफ्नो टिकट चेक गरेँ ‘बि को ९’ नै थियो । मैले कन्डक्टरलाई गुहारेँ ।
“यो १० नं सिट पनि त खालि छ । यतै बस्दै गर्नुस् न त ।” त्यो मान्छे अलि व्यावहारिक बनेझैँ देखियो ।
“यो सिट पनि त अर्कैको हुन सक्छ नि । एकछिनमै आएर उठायो भने फेरि कहाँ जाने ?”
“अहिले तपाईँको लागि यही विकल्प उपलब्ध छ । उठाएपछिको कुरा पछि नै सोचे हुन्न ?”
म अवाक भएँ । झोला सिटमुनि कोचकाच पारेर उसको छेउको खालि सिटमा थचक्क बसेँ । अर्को आएर कतिखेर उठाउने हो भन्ने तर्सो भने फुल्दै गएको थियो ।
कन्डक्टर नजिक आएपछि फेरि उसलाई हकारेँ, “तिमीहरुको गल्ती वा जानाजानले अनावश्यक रुपमा अपरचित यात्रीहरुबीच झगडा पारिदिन्छौ । पैँसा तिरेर पनि सुखले यात्रा गर्न पाइँदैन । टिकटअनुसारको सिट छिटो मिलाइदेऊ ।”
मेरो अनुरोधलाई बेवास्ता गर्दै “एकछिन है दाइ !” भनेर ऊ अगाडितिर बढ्यो । मेरो अगाडि र पछाडितिर अझै पाँचछवटा सिटहरु खालि नै थिए । जतिजना म नजिक आउँथे उतिपटक अब यसैले उठाउनेभयो भनी म तर्सन पुग्थेँ ।
छेउको यात्रीले मलाई कोट्याउँदै भन्योः “कहाँसम्म हो दाइ ?”
म झसक्क झस्किएँ । कहाँ जाँदैछु भन्ने समेत भुसुक्कै भुलिसकेको रहेछु । मलाई आफ्नो सिट हडप्नेको मुख समेत हेर्ने मन थिएन । सुन्दै नसुनेको जस्तो गरेँ ।
फेरि कोट्याउँदै भन्योः “यात्रा कहाँसम्मको हो भनेको ? सुन्नुभएन ?”
“बस जहाँसम्म जान्छ, त्यहीँसम्मको नि । कहाँसम्म भनौँ ?”
मेरो जवाफले ऊ नाजवाफ हुनुपर्ने हो तर ऊ त झनै विवाद गर्न मच्चियो: “बस त न थन्किउन्जेल कहाँसम्म पुग्छ कहाँसम्म नि, आज दाङ छ, भोलि काठमाण्डौ पुग्ला, पर्सि पोखरा पुग्ला, निपर्सी बीराटनगर पुग्ला नबिग्रेसम्म ठाउँठाउँ पुग्नु यसको कर्ममै लेखिएको छ ।”
“मैले आजैको कुरा गरेको हुँ ।”
“समयसँग कसरी सापेक्ष होला र तपाईँको गन्त्व्य ? आज भन्नाले कतिन्जेलसम्म ? खाना खानेबेलासम्मलाई भन्नुहुन्छ भने ९ बजे गोरुसिँगे पुग्नुहोला, सुत्ने समयलाई आज मान्नुहुन्छ भने १० बजे बुटवल पुग्नसक्छ । १२ बजेसम्मलाई आज मान्ने हो भने नारायणघाटसम्म पुग्नुहोला । १२ बजेलाई आज मानिसकेपछि लगत्तै बज्ने १२:३० लाई कसरी भोलि भन्नुहोला । १ बजे मुग्लिन पुग्नुहोला रे । उज्यालो नभएसम्मलाई आजैको भ्रममा पर्नुभएको छ भने मलेखूसम्म त होला नि त गन्तव्य । मेरो बिचारमा तपाईँको यात्रा नै भ्रमपूर्ण छ ।”
भ्रममा यात्रा गर्ने भनेर यसले मलाई ‘मूर्ख’ भन्न खोजेको हो भन्ने लख काट्न मलाई कुनै गाह्रो परेन । मेरा रिसले कन्सिरी तात्तिएकोले उप्रति खनिएँ: “चिन्नु न जान्नु के को मूर्ख बनाउँदै हुनुहुन्छ बिनसित्ति अर्कैलाई ? समय तपाईँको पेवा हो थोरै ? यो गाडी ९ बजेसम्म लमही मात्र पनि पुग्न सक्छ, वा भोलि बिहान बुटवलसम्म पनि त नपुग्नसक्ला ।”
“स्याबास् आफ्नो मूर्खतालाई आफैले पुष्टि गर्दै हुनुहुन्छ तपाईँ । अब भन्नुस् तपाईँको गन्तव्य खास कहाँसम्मको भयो त ?”
पटकपटकको मूर्ख सम्बोधनले म रिसले लगलगी काँप्न थालेँ । लाग्यो, समातेर २/४ झापट लगाइदिऊँ । तर हात हाल्दैमा रिस घट्ने होइन, झन् झगडाले उग्र रुप लिन सक्छ । उसलाई कर्के हेरेँ, ऊ जितुवा जस्तै मख्ख परेको थियो । उमेरले मात्र होइन रुपरङ्ग आकृति भेषभुषा आफूजस्तै थियो । फरक यति मात्र थियो कि म क्रोधाग्निले जलिरहेको बखत ऊ भने धैर्यजलले नुहाइरहेको थियो । मैले उसलाई धक्का मार्दै झ्यालबाहिर प्याच्च थुकेर उम्लिरहेको रिसलाई केही घटाएँ ।
ऊ अझै अगाडि बढ्यो: “मलाई लाग्छ, तपाईँ यही कारणले झ्यालमा बस्न खोज्नुभएको हो । झ्यालबाट हठात् छिर्ने हावाको झोँक्काले तनाव कम गर्न मद्दत गर्छ । बाहिरतिरको दृश्य मनलाग्दो हेर्न पाइन्छ । बसस्टपहरुमा ल्याइने खानेकुराहरु हेरीहेरी छानीछानी खान पाइन्छ । बस् यति हो । तर झ्यालतिर बस्दा दुर्घटनाको जोखिमबाट बन्ने शिकार धेरै बढी हुन्छ । चीसो र धुलो धुवाँले झ्यालमै बस्न खोज्नेलाई बढी आक्रमण गर्दछ । भन्नुस् तपाईँ कुन कारणले झ्यालतिर बस्न चाहनुहुन्छ ?”
मैले उसको विश्लेषणतिर ओठ लेब्र्याइदिएँ । प्रकटमा केही नसुनेजस्तो गरेँ ।
बस घोराही छोडेर जङ्गलै जङ्गलको घुम्ती हुँदै उधोँ लाग्न थाल्यो । वनपाखा र अर्जुन नदीले एकछिन उसलाई भुलायो । मैले अलिकति सजिलो महशुस गरेँ ।
लमहीमा बस एकछिन थामियो । उसले कोट्याउँदै भन्योः “के खानुहुन्छ ? तात्तातो अण्डा छ । सेकुवाहरु ल्याएका छन् । खानुहुन्छ ?”
“म शाकाहारी हुँ । म माछामासु केही खाँदैन ।” जवाफ दिन करै लाग्यो मलाई ।
“तात्तातो चाट पनि रहेछ । बदाम पनि छ । पोलेको मकै पनि छ । के ल्याऊँ ?”
“पर्दैन, पर्दैन । म टन्नै नास्ता गरेर आएको छु । म केही पनि खाँदिन । जे मन लाग्छ । तपाईँ आफैँ खानुस् ।”
“एउटै सिटमा बसेका छौँ । तपाईँले नखाने मैले खाने कसरी हुन्छ त्यस्तो ? तपाईँले नखाने भए म पनि केही खाँदिन के ।”
“उसको जिद्दि सुनेर मैले उसलाई कर गरेँ: “केही खानू न खानू तपाईँ । तपाईँलाई भोक लागेको होला मलाई छैन । भोकले पो आवश्यकता सिर्जना गर्ने हो त ।”
“होइन, आवश्यकताले भोक सिर्जना गर्छ ।”
मैले सुन्दै नसुनेझैँ अर्कोतिर फर्किएँ ।
“भोक र आवश्यकता फरक चिज होइनन् कि ?” फेरि उसले कोट्याएर सोध्यो ।
“तर खानेकुरा ती दुवैभन्दा फरक कुरा हो नि ।”
“होइन भोक र आवश्यकताको परिणाम नै खानेकुरा भएकोले त्यो पनि भिन्नै होइन ।”
म तर्क गर्न खोज्दै थिएँ । ऊ कुतर्क गर्दै थियो । म केही बोलिन ।
हाम्रो तर्कवितर्कसँग बेसरोकार बस अगाडि बढिहाल्यो ।
ऊसँग पालैपालो झ्यालतिरको सिटमा बस्ने सहमति भएपछि म झ्यालपट्टि बसेँ ।
“अनि शाकाहारी किन हुनुभयो तपाईँ ?” उसले पुनः सोध्यो ।
मैले अनायासै जवाफ दिएँ, “मलाई काटमार मन पर्दैन । एउटा जीवले अर्को जीवको मासु खानु ठीक हुँदै होइन ।”
“ठीकको अर्थ के हो ? बाघभालु चराचुरुङ्गीहरु पनि त जीव हुन् ।”
“उनीहरुलाई नेचुरल्ली मासु खानु आवश्यक होला हामीलाई छैन । मान्छे नेचुरल्ली शाकाहारी प्राणी हो । उसको दाँत बाघका जस्ता तिखा छैनन् । नङ्ग्राहरु छैनन् । पाचनप्रणाली पनि माँसभोजन योग्य छैन ।”
“तपाईँले खाने सागपात, अन्न, अनाजलाई तपाईँ जीवन मान्नुहुन्न ?”
“जीवन त हुन् तर हाम्रोजस्तो रगत छैन । चेतना छैन । आयु लामो हुँदैन ।” मैले पनि तर्क दिन खोजेँ ।
“कसले भन्यो रगत छैन ? कसले भन्यो उनीहरुमा चेतना छैन ?”
“वैज्ञानिक प्रमाणहरुले”
“प्रमाण भनेको के हो । भर्खरै सुन्नुभएन वनस्पतिले पनि एकअर्काबीच जराबाट संवाद गर्न सक्छन् भनेर वैज्ञानिकले प्रमाणित गरिसके रे । काटेपछि मुर्झाउनु चेतना होइन ? घामपानीले ओइलाउनु चेतना होइन ? चेतना भनेको दुख्नु होइन ? के उनीहरुलाई निमोठ्दा वा कुट्दापिस्दा चेतना जागृत हुँदैन ?”
म अवाक भएँ ।
“हरियो वनस्पतिमा जीवन हुन सक्ला, तर सुकिसकेका अनाजका बीजहरुमा त हुँदैन नि त । दाल तथा अन्न मात्र भोजन गरेर पनि शाकाहारी जीवनयापन गर्न सकिन्छ ।”
“बीजमा नै त जीवनको सम्भावना संग्रहित भएको हुन्छ ।”
म उसको तर्कमा असहमत हुन सकिन । उसले बाटो काट्ने मेलो झिकेको थियो । मलाई भने बसयात्रामा कसैसँग गफ गर्ने मन पर्दैन । म झर्किँदै बोलेँ, “के गर्ने त अब ? ढुङ्गोमाटो मात्रै खाने ?”
बाँचिरहनुभयो होला देख्नु सुन्नुहोला ढुङ्गोमाटोमा पनि प्राण हुँदोरहेछ भनी प्रमाणित गरिदिनेछन् वैज्ञानिकहरुले । चन्द्रमा, सूर्य, ग्रहगण, तारा पनि साँच्चिकै अधिचेतनायुक्त प्राणी हुन् भन्ने प्रमाणित हुनेछ ।”
मैले अर्कोतिर मन्टो भाँचेर विमति जनाएको छनक दिएँ ।
भालुबाङ पुगेपछि बस फेरि रोकियो । म झ्यालपट्टि भएकोले अब नास्ता सोध्ने कर्तव्य मेरो थियो । सोधेँ, “के खानुहुन्छ तपाईँ ?”
“तपाईँ जे खानुहुन्छ, म त्यही खान्छु । नखाने भए पनि केही नखाऊँ ।” मैले सोचेँ मैले नखाइदिँदा यो बिचरा भोकै पर्नेभयो । तसर्थ केही न केही खानैपर्छ । तसर्थ एकमानो भुटेको मकै मगाएँ ।
भालुबाङबाट गाडी अगाडि बढेपछि उसले मलाई आग्रह गर्‍योः “अब झ्यालतिर बस्ने पालो मेरो ।”
“होइन, मेरो पालो पुगेकै छैन । भीर छ, जङ्गल छ, त्यो दृश्यपानको फाइदा म लिन्छु ।”
“तर जङ्गलभीरमा हुने दुर्घटनाको जोखिम म लिन्छु । मलाई छाडिदिनुहोस् सिट ।”
“मेरो सिट पार्टनरको लागि मैले लिन्छु त्यो जोखिम !” मैले जिद्दि गरेँ ।
“होइन, तपाईँले निधारमा टीका लगाउनुभएको छ । तपाईँको आफन्तले शुभयात्राको कामना गरेका होलान् । तपाईँ सकुशल आफ्नो गन्तव्यमा पुग्नुपर्छ ।”
“तपाईँको अभिष्ट पनि त त्यही होला नि ।”
“होइन, विपरीत छ । मलाई सबैले मार्न खोज्छन् । वास्तवमा म उनीहरुबाट भागेर यो यात्रामा निस्केको हुँ । तर मर्नु र बाँच्नुबीच केही अन्तर देख्दिन म । हेर्नुस् मसँग केही पनि छैन । न लुगालत्त सामलतुमलको झोला छ, न पैँसा नै छ मसँग ।”
म उसको कुराले चकित परेँ, “अनि यात्राको टिकट किन्ने पैँसा मात्र थियो त साथमा ?”
“मैले कहाँ किनेँ र टिकट ?”
“अगाडि देखाएको टिकट के चोरेको हो त ?”
“त्यो पनि होइन । मैले तपाईँकै टिकट देखाएको हुँ । नपत्याए हेर्नुस् छाम्नुस् ।”
मैले सशंकित भएर उसलाई हेरेँ । ऊ दाँत ङिच्च पारेर हेरिरहेको थियो । मैले ठानेँ यो त मगन्ते पो रहेछ । अब ह्याँकुलाले उसलाई अँचेट्ने पालो मेरो आइसकेको थियो भनेँ, “तिम्रो नाम के हो भाइ ? कहाँ बस्छौ त ?”
“पहिले तिमी भन न तिम्रो नाम के हो ? तिमी कहाँ बस्छौ ? गन्तव्य सोध्दा जवाफै दिँदैनौ ?”
उसले आफूलाई ‘तिमी’ कारेको मन पटक्कै परेको त थिएन । म सम्पन्न थिएँ, ऊ मेरोलागि विपन्न थियो । तर सहनुको विकल्प पनि त थिएन ।
“घरपरिवार आमा बाबु छैनन् तिम्रा ? यत्रो उमेरसम्म के गरी जीवन बितायौ ?”
“नातागोता कोही छैनन् मेरा । अहिले तिमीसँग सँगै छु । तिमी नै आफ्नो भयौ ।”
“आफ्नो केही नभएपछि चोरेर त जीवन बितायौ होला होइन ?”
“चोर्छु ।”
“ठग्यौ होला ?”
“ठग्छु ।”
“अपराधहरु गर्‍यौहोला ?”
“निकै गरेँ ।”
“बलात्कार गर्‍यौ होला ?”
“पटकपटक गरेँ ।”
“तिमी त जेलमा कोचिनुपर्ने त्यसैले त भागिभागि हिँड्दारहेछौ ।”
“त्यो तर्क गलत हो ।”
“कसरी ?”
“किन भने म जेलमा परिन”
“कसरी ?”
“किनकि ती कामहरु म आफैले कहिल्यै गरिन । मलाई अरुले जे अह्राए त्यही गरेँ ।”
उसको कुरामा मलाई विश्वास लागेन । बसमा चढ्दा ऊ मेरो लागि ईर्ष्याको पात्र थियो । उसका केही तर्कहरुले सद्भावको पात्र हुँदै थियो मित्रको रुपमा हेर्दै थिएँ अकस्मात् विपरीत अवस्था सिर्जना भइदियो र ऊ पूर्णतः घृणाको पात्रमा परिवर्तित भइसकेको थियो । उसको शरीरबाट दुर्गन्ध निस्केजस्तो लाग्यो । श्वास गन्हाएजस्तो लाग्यो । उसका जीउभरि काँडैकाँडा उम्रिएर आफैलाई घोचिरहेजस्तो लाग्यो । एउटा नरभक्षी पशु आफैसँग काँध जोरेर नारिएझैँ लाग्यो ।
उसको मुखतिरै नहेरी भनिदिएँ, “स्साला, अपराधी ! थुक्क !! तँ मसँग नबस् ! उठ् गैहाल् !!
ऊ बेस्मारी हाँस्यो र ममाथि नै खनियो: “तँसँग बस्न म लायक छैन भने तँ नै उठ् न मूर्ख । खास अपराधी तँ होस् । म होइन बुझिस् ? अपराधै अपराधको गुहुलाई थाङ्नाहरुले बेरबार पारेर सुकिलोमुकिलो देखिएको छस् मात्र । तँ जहाँजहाँ जान्छस् एक न एक अपराध नगरी फर्कन्नस् । स्साला कुकुर !!”
आफूलाई अब ‘तँ’ र जथाभावी शब्दले अपमानित गरेपछि म शरमले खङ्ग्रङ्गै भएँ । कसैले सुने कि वा कोही चिनेजानेका छन् कि भनी वरिपरि हेरेँ । धन्न हाम्रो वादविवादमा कसैले ध्यान दिएको रहेनछ । रातको दश बजिसकेको थियो र हामी दाउन्नेभन्दा अगाडिको जङ्गलमा पुगिसकेका थियौँ ।
पछाडि फर्किएर हेरेँ । एउटा सिट खालि देखेर त्यहीँ गएर बसेँ । कानमा कपास कोचेँ । गलबन्दीले फनफनी आँखा कान सबै बेरेँ अनि अगाडिको सिटमा घोप्टो परेर सुत्ने चेष्ठा गरेँ । त्यसको बिझाएको बचनले छाति कताकता पोलिरहेको थियो । अनावश्यक रुपमा आइपरेको भाउँतोले ग्लानी भइरहेको थियो । कुन बेला भुसुक्कै निदाएछु ।
कसैले बिस्तारै झकझकाएकोले म ब्यूँझिएँ । बाहिर तिरिमिरी बत्ती बलिरहेका थिए । ठूलै शहर आइपुगेछ । घडी हेरेँ रातको बाह्र बजिसकेछ । भोकले आन्द्रा मडारिइरहेका थिए । मैले त्यस बजारलाई पहिचान्दै थिएँ, नजिकै बसेको यात्रीले भन्योः “नारायणघाट आइपुग्यो । खाना खान सबै झरिसके । भोक लागिसक्यो होला उठ !”
स्वर चिनेचिने जस्तै लागेकोले आँखा मिच्दै उसलाई हेरेँ । ऊ उही थियो । शुरुकै सहयात्री । ऊ फेरि मेरो छेउमा बस्न भ्याइसकेछ ।
म अकस्मात चिच्याएँ, “नछो मलाई छाड्दे मलाई । म केही खान्न । म भोकै बसूँ कि खाऊँ ? तँलाई के मतलब हँ ? खानाको पैँसा तिरिदेला भनेको होलास् । म तँलाई खुवाउन्न बुझिस् ?”
“त्यतिविधि नरिसाउ न । म तिमीसँग जाँदैन बरु । जाऊ एक्लै खाएर आऊ ।”
“जान्न म, जान्न, मरिगए ओर्लन्न । गएको बखत मेरो सामान चोरेर सुइँकुच्चा ठोक्ने बिचार होला । तँ पक्का चोर हुनुपर्छ । मैले चिनिसकेँ ।”
“म के हुँ, पछि भनुँला । एकछिन अघिसम्म त मेरै काँधमा शिर घोप्ट्याएर मस्तसँग सुतेका थियौँ । मैले तिम्रो शिर मुसारीमुसारी निद्रामा पारेँ । अहिले किन बिनसित्ति आवेगमा आउँछौ । म चोर भइदिएको भए तिमी निदाएकै बेला तिम्रो सामान लिएर सुइँकुच्चा ठोकिसक्थेँ । कसले रोक्थ्यो मलाई ?”
उसको अन्तिम प्रष्टीकरणले मलाई सोच्न बाध्य बनायो । त्यस्तो होइन भने आखिर के चाहन्छ त यसले मबाट ?
ऊप्रतिको शंका केही पखालिएपछि ऊ र म सँगै बसबाट ओर्लियौँ । होटेलमा पुगेपछि उसले दाल तरकारी सबै हेर्‍यो र मेरो लागि मात्र मलाई सोधीसोधी एक थाली खाना मगायो । भोकले मैले कपाकप खान थालेँ । उसले मैले खाएको हेरिरह्यो र आनन्द लिइरह्यो । उसले केही पनि खाएन । मैले पनि उसलाई “किन खाइनस् ?” भनी सोधिन । खाना असाध्यै मीठो थियो । उसले मागीमागी कर गरीगरी थपीथपी खुवायो मलाई ।
पैँसा तिरिसकेपछि दुवैजना संगै बसमा फर्कियौँ र एउटै सिटमा बस्यौँ । ऊ आफैँसँग बसेकोमा मैले कुनै आपत्ति जनाइन । उसले मेरो शीर बिस्तारै मुसार्न थाल्यो र मलाई सजिलो गरी आफ्नो काँधमा सुतायो । पहिले काँडा जस्तो लाग्ने शरीर अहिले मुलायम भुवाजस्तो लागिरहेको थियो । म उसको काँधमा पुनः मजासँग निदाउन पुगेँ ।
निदाएको केही क्षणपछि मान्छेहरुको ठूलो हल्लाखल्लाले मलाई ब्यूँझायो । वरिपरि चित्कारैचित्कार थियो । कोही ‘ऐया ! ऐया!” गर्दै विलाप गरिरहेका थिए । कोही “बचाउ ! बचाउ !!” भनिरहेको थिए । गाडी सडकबाट चिप्लिएर केही मिटर तल भिरमा सुतेको अवस्थामा थियो । सायद कोही च्यापिएका हुँदाहुन् । कसैले प्राण त्यागिसकेका थिए कि ? यो अवस्था देखेर म कहालिन पुगेँ । मेरो सहयात्री मेरो छेउमै थियो र भन्दै थियोः “तिमीलाई केही भएको छैन । छिटो उठ । गाडी अझै तल झर्न सक्छ ।”
उठ्नलाई मैले खुट्टा चलाउन खोजेँ चलेन । हात चलाउन खोजेँ चलेन । म चिच्याउन थालेँ ।
उसले भन्योः “हिम्मत नहार । तिमीलाई केही भएको छैन, उठ छिटो गर ।” मैले उसको हात समातेर उठेँ । हातखुट्टाबाट भल्भल्ति रगत बगिरहेको थियो ।
गाडीबाट बाहिर निस्केपछि सोधेँ “तिमीलाई केही भएन ?”
उसले उल्टै प्रतिप्रश्न गर्‍योः “मलाई केही भएको भए यस्तो अवस्थामा तिमीलाई जोगाउन को आउँथ्यो ?”
उसको जवाफ पूरा नहुँदै कोल्टो परेको गाडी खोलातिर सर्न थाल्यो र केही यात्रीहरु र यात्रीको सामान सहित गडगडाहट सहित ठूलो आवाज निकाल्दै बसले त्रिशुलीमा झ्वाम्मै हाम फाल्यो ।
सडकतिर आइपुगेका केही घाइतेहरु समेत मलाई एम्बुलेन्समा चढाइयो । म पुनः बेहोश हुन पुगेछु जब ब्यूँझिएँ आफूलाई एउटा अस्पत्तालमा लेटाइरहेको पाएँ । मेरो सेवा सुश्रुषामा उही सहयात्री खटिएको रहेछ । मैले आँखा खोल्ने बित्तिकै ऊ खुशीले बुर्लुक्कै उफ्रियो । मैले रुन्चे हाँसोले जवाफ फर्काएँ ।
दुई दिनपछि मेरो डिस्चार्ज भयो । ऊ कहाँ जान हिँडेको थियो, मैले सोध्ने मौका नै मिलेको छैन । सोधे पनि उल्टै मैलाई प्रतिप्रश्न गर्छ । उसको व्यवहारबाट म चकित र द्रवित भएको थिएँ ।
हामी पुनः काठमाण्डौको लागि अर्को गाडीमा चढ्यौँ । कुरा गर्न सहज होस् भन्ने हेतुले सबैभन्दा पछिल्लो सिटमा बस्यौँ ।
मैले कौतुहलता पोखिहालेँ: “यात्राभर तिमीले मेरो साथ छोडेनौ । अनुकुल अवस्थामा झगडा गरियो । प्रतिकूल अवस्थामा ज्यान नै जोगाइदियौ तर तिमीले आफ्नो खुलस्त परिचय दिएनौ । मैले सोध्न खोज्दा मेरो मात्रै मागिरह्यौ । भन, तिमी को हौ ? तिम्रो नाम के हो ?”
“मेरो नाम ‘मनबीर’ हो । म चाहन्थेँ तिमी पहिले आफ्नो परिचय देउला ।”
उसको नाम कतै सुनेसुने जस्तो लाग्यो । नयाँ नाम थिएन तर पनि पृय लाग्यो । सम्झिएँ । मेरो बाजेको नाम मनबीर थियो । म जन्मिएकै साल उहाँ बित्नुभएको रे । उहाँ कस्तो हुनुहुन्थ्यो मलाई अहिले हेक्का हुने कुरै भएन ।
उसले पनि मलाई सोध्यो, “अब नाम भन्ने पालो तिम्रो ।”
उसको प्रश्नमा म केही क्षण अलमलिएँ । उसको नाम नै वास्तविक हो, होइन त्यो मैले जान्ने कुरो भएन । उसले आफ्नो नाम ढाँटेर पनि अर्कै भनिदिएको होइन भनेर कसरी विश्वस्त हुने ? मैले पनि मनोविनोदका लागि भए पनि जानीजानी ढाँटिदिएँ, “मेरो नाम धनबीर हो ।”
मेरो नाम सुन्नेबित्तिकै ऊ पेट मिचिमिचि हाँस्न थाल्यो, “के को धनबीर ? यात्रामा ल्याएको धन त्रिशुलीले खाइदिँदा पनि आफूलाई धनबीर नै ठान्छौ ?”
मैले भनेँ, “मेरो घरमा श्रीसम्पत्ति थुप्रै छ अझै ।”
“त्यो पनि कुन चोरले वा कुन ढाँटले कतिखेर खाइदिन्छ ! सधैँ तिम्रो हुने के ग्यारेन्टी छ र ?”
मैले जिद्दि गरेँ, “स्वास्थ्य त छ नि । अझै तकडा छु । खाइभरलाई त अझै कमाउन सक्छु ।”
“के को स्वास्थ्य ? भर्खर अस्तिको घटना आफ्नै आँखाले देखेका होइनौ ? तिम्रोभन्दा दशौँ गुणा बढी स्वास्थ्य राम्रो कति थिए थिए । सबैलाई एकैगासमा त्रिशुलीले निलिदियो । के काम लाग्यो उनीहरुको स्वास्थ्य ?”
म नाजवाफ हुन पुगेँ ।
उसका वितर्कहरु मलाई अब स्वाभाविक लाग्न थालिसकेका थिए । उसले परेको बेला मेरो लागि आफ्नो ज्यानको जोखिम मोलेर गरेको सहयोग आँखा वरिपरि नाचिरहेको थियो । उसले गर्ने वितर्कले मलाई छुन छोडेको थियो । उसले सोध्योः “को छ तिम्रो काठमाण्डौमा ?”
“कोही छैन । म एक्लै छु यता । म खासमा विदेशमा काम गर्न जान चाहन्थेँ । सोको लागि ऋण काढेर ल्याएको पैँसा त्रिशुलीको माछाले खाइदिइसक्यो । अब विकल्पशून्य अवस्थामा छु ।”
“यति हुँदाहुँदै पनि कसैले नदेख्ने गरी धन कमाउन चाहन्छौ होइन ?”
“उपाय भए त हो नि !”
“किन छैन उपाय ? दुवैजना मिलेर चोर्न जाऊँ आज राति । हुन्छ ?”
“नाइँ त्यो काम गर्न सक्दिन !”
“के गर्न सक्छौ त तिमी ? तिम्रा अतृप्त वासनाका चाहनाहरु होलान् । एकजना षोडषीलाई अपहरण गरौँ र रातरातभरि बलात्कार गरौँ, हुन्छ ?”
“हुँदैन, हुँदैन । कदापि हुँदैन । कानूनका कठघरामा फस्न चाहन्न म !”
“उसोभए केही दलाली व्यवसाय गरौँ र ठग्दै हिडौँ । वा चौताराहरुमा हात हेराउने वा भविष्यवक्ताको भेषमा बसेर दुनियाँलाई ठगौँ । हराएको सम्पत्तिको छिट्टै क्षतिपूर्ति हुन्छ ।”
“नाइँ नाइँ, ती कुरा मेरा धार्मिक आचारबाहिरका कुराहरु हुन् ।”
“उसोभए धर्मप्रचारकको एजेन्ट बनौँ । पण्डित्याँइको बहानामा सर्वसाधारणलाई लुटौँ । फेकपुजारी बनौँ र अकुत सम्पत्ति कमाऔँ ।”
“त्यस्ता कुकृत्यहरु कुनै पनि गर्न सक्दिन म । आखिर तिमी मलाई किन उक्साइरहेका छौ नचाइने नचाइने कुकृत्य गर्न ? मलाई किन फसाउन खोजिरहेका छौ तिमी ? तिम्रो पुरानो पेशामा तिमी नै लाग । मेरो त्यतातिर गोरु बेचेको साइनो पनि छैन ।” मैले सफाइ दिन चाहेँ ।
“म भन्दैछु, मेरो पेशा होइन यो । म त सिर्फ मनबीर हुँ । कुनै कुकृत्य गर्न कि त तिनीहरुले मलाई घोडा तुल्याउँछन् कि आदर्शको नाममा तिनीहरु मलाई एउटा डोकोमा थुनेर अर्को कुकृत्य गर्ने प्रयास गर्छन् । ती सबै प्रयास र दुष्कृतिहरु तिनीहरुकै अतृप्त चाहनाका फलहरु हुन् । व्यर्थ चाहनाहरुलाई मलजल गर्दै जानेहरुले मेरो दुरुपयोग गर्छन् । प्राणीहरुलाई सहयोग गर्नु मेरो कर्तव्य हो । मैले गरेको सहयोगबाट राम्रो नराम्रो परिणामको फल उनीहरुले नै बेहोर्छन् । तसर्थ उनीहरु जेलनेलमा पर्छन् म भने सधैँ उन्मुक्त हुन्छु ।
अवांछनीय करतुतहरुलाई छेक्न थुप्रै कानूनी नैतिक तथा धार्मिक बन्धनहरु हुँदाहुँदै पनि अपराधमा तम्सिनेहरुको बाहुल्यता बढ्दै जानु मनको कारणले होइन बरु उनीहरुले त्यो काम गरे पनि उम्कन सक्ने सम्भावनाहरुको प्रचुरताले गर्दा हो । सामाजिक अफवाहहरुले चेतनाको स्तरलाई नराम्ररी गलाइदिनाले हो । अपराध गरे वापतको भोग्नुपर्ने सजायको अनभिज्ञताले हो । मन त चेतनाले जता डोर्‍यायो त्यतै डोरिने हो । बुद्धिविवेकको निर्बलताले मनलाई सही दिशा निर्देश गर्न सक्दैन । बुद्धिविवेकको स्तर समयसापेक्ष शिक्षा प्रणालीमा भर पर्दछ …………………… !”
मनबीरले प्रवचन दिइ नै रहेको थियो उता कन्डक्टरले काठमाण्डौ आइपुगेको जानकारी दियो । बसस्टपमा ओर्लन कुँजिएका हातखुट्टा तन्काउँदै उभिएँ र झ्यालतिर बसेको सहयात्री मित्र मनबीरसँग लामो सहयात्रा र सहयोगको लागि आभारी सहित विदाइको हात मिलाउन चाहेकोले दुवै हात ऊ बसिरहेको झ्यालपट्टि तन्काएँ ।
जब त्यता पुलुक्क हेरेँ म झसङ्गै झस्किएँ किनकि झ्यालपट्टिको सिट रित्तो थियो जहाँ मेरो सहयात्री बसेर भर्खरैसम्म मसँग गफ मारिरहेको थियो । ऊ मभन्दा पहिल्यै झर्न असम्भव हुँदाहुँदै पनि सम्भव भइदिएको थियो ।
म रणभुल्लमा पर्दै छिटोछिटो बाहिर निस्किएँ ।
जब कोही छुटेको छ कि भनी फर्केर बसका झ्यालभित्र नजर पुर्‍याएर घुमाउन थालेँँ मेरो मष्तिष्कको असिम गहिराइबाट कोही चिच्याइरहेको थियोः “म यहाँ छु, यहाँ ! ”

२०७५।०५।१५

173 total views, 2 views today

Leave a Reply

Your email address will not be published. Required fields are marked *