उहिलेको बिहे

आज मेरो यौवनकालको कोरा सपना रङ्गिएको दिन । दुवैले जित्ने जित-जितको चुनावजस्तै । मैले चुनेँ, उसले जिती । उसले चुनी, मैले जितेँ । यो जितको लहरो समात्दै आजभन्दा ३२ वर्षपहिलेको त्यो धौबिर्सनु दिनसम्म पुग्छु ।
०००
२०४६ साल जेठ ११ गते बुधबार । उनलाई भित्र्याउनको लागि मेरो घरमा विधिवत् तयारीको धुमधाम छ । पूरै गाउँ रङ्गीचङ्गी भएर मेरो घरमा ओइरिएको छ । आँगनमा गोलबद्ध नाचिरहेका दमाहा र नरसिङ्गाहरूले वारिपारिका डाँडाहरू समेत थर्काइरहेका छन् । पञ्चेबाजाको सङ्गीतमा भर्खरै किनिएका दुईवटा अजङका खसीहरूले म्याँ म्याँको गीत गाउँदै छन् । तमासेहरूको भीडभाड र हल्लखल्ली पनि उत्तिकै छ ।म शरमले कोठाभित्रै कुक्रुक्क परेको छु । न त बाहिर ओइरिएका मान्छेहरूलाई ठाडो मुख लगाएर हेर्न सकेको छु, न त आँगनको छेउमा राखिएको रातो मखमली डोलीलाई । आँगनमा दुईवटा ठूलठूला हटारू डोकाहरू ठडिएर मलाई नै चियाइरहेका छन् । डोकाभित्र पातका पोकाहरू पुच्च पारी खाँदिदै छन् । पोकाभित्र महका कसार भरिएका छन् । हप्तादिन पहिल्यैदेखि गाउँघरका महिलाहरू मेरो घरमा खेरिएर पतरा (पात+रा) बुन्दै छन् । नजिकका दाजुभाइहरूले महका कसार पारिरहेका छन् ।
शरीर रोमाञ्चित र मन रक्तरञ्जित भएकोले नजिक हेर्न नसकेर टाढा हेरिरहेको छु । गाउँभन्दा तल साँखखोला र लहुँखोला मिसिएर मुग्लुखोला बनेको छ । मुग्लुखोला सानीभेरीसँग मिसिएको छ । सानीभेरी ठूलीभेरीसँग मिसिएको छ । ठूलीभेरी कर्णालीसँग र कर्णाली भारतीय नदीहरूसँग मिसिँदै अन्तमा अनन्त हिन्द महासागरमा मिसिएको छ ।
उनी पनि भोलि यो परिवारमा मिसिनेछिन् । उनका आकांक्षा तथा उद्देश्य मेरा झिनामसिना आकांक्षासँग मिसिएर विशाल आयतनका बन्नेछन् । भोलिदेखि यो कोठामा म मात्र हुनेछैन, यहाँ हामी हुनेछौँ । हाम्रा दुई मुख, चारआँखा, चारकान, चारहात हुनेछन् । मेरो खाटमा उनको सफाइ चल्नेछ । मेरो भान्छामा उनका चुरा बज्नेछन् । मेरो पालामा उनले थपेको तेलको दियो बल्नेछ । मेरो दैनिकीमा उनको चिन्ता र चासो थपिनेछ । बिहे छिनिएको दिनदेखि उनी बेहुली र म बेहुलामा परिवर्तित भएका छौँ । यो परिवर्तनको स्याङ्गे आजै हुनेछ । हामी आजैदेखि समायोजन भएर दम्पति बन्नेछौँ । यो समायोजन स्थल मेरै घर हुने भएकोले मलाई तात्विक असर पर्नेछैन । उनी भने आफ्ना आमाबाबु, नातागोता, आफ्नो घर, आफ्नो छोरीपन गुमाएर नयाँघरको नयाँ परिवेशमा समायोजन हुनुपर्नेछ । उनी गारापारेकी जेठी छोरीभन्दा कयनपानीकी माहिली बुहारीको भूमिका अधिक निभाउनुपर्नेछ । यो आकस्मिक समायोजन उनको लागि सजिलो किमार्थ हुनेछैन । उनले कहिल्यै नपढेको बुहार्तनको कठिन पाठ घोक्न थाल्नुपर्नेछ र पराइले लिएको जाँचमा उत्तीर्ण हुन भरमग्दुर प्रयास गर्नुपर्नेछ ।
०००
“ब्याउला कता लुकेका छौ ? चाँर भाइर निस्केऊ । जन्ती हिन्ने बेला भो । घाम बोरागाउँ उक्लिसके ।” मलाई ताकेर हानिएका शब्दहरु मेरो विचारलाई छताछुल्ल पार्न पर्याप्त हुन्छन् । बेहुला-बेहुलीका लुगा सिलाउनको लागि दमाइबाजेको रासबास अस्तिदेखि यतै छ । म हत्तपत्त उनले सिलाइदिएका सर्टपाइन्ट जिउमा छिराउँछु र नतमस्तक हुँदै बाहिर निस्किदिन्छु । सबैका आँखाहरू ममाथि खनिँदा थाम्न धौधौ पर्छ ।
आमाले छाता उघारेर दिनुहुन्छ । मन दिदीले मेरो अनुहारै ढाकिने गरी चश्मा लगाइदिनुहुन्छ ।मेरो नजर रातोले रङ्गाइएको दुईहात लामो लठ्ठीमा पर्छन् । यसको एकातिर दहीको सानो ठेकी झुन्ड्याइएको छ । अर्को टुप्पोमा सागको मुठो झुन्ड्याइएको छ । यो सुसाइत र सगुनको प्रतीक ‘दैसाग’ हो । दैसागेको जिम्मा सानो भाइ प्रकाशले पाएको छ । फुपू र दिदीहरू जन्तीहरूलाई रातो अक्षताको टीका लगाउन र कसार-चिउराको प्रसाद बाँड्न व्यस्त देखिन्छन् ।
“लौ, दमा बगाल अगि लाग ।” बाले जन्ती प्रस्थानको घोषणा गर्नुहुन्छ । दमा बगाल भन्नाले त्यहाँ छवटा ठूला दमाहा, दुई ट्याम्को. दुई नरसिङ्गा, दुई सहनाइ तथा एउटा झ्याली बजाउने दमै जातका व्यक्तिहरू छन् । तीमध्ये झ्याली र ट्याम्को बजाउने साना केटाहरू छन् । बाको निर्देशनमुताबिक दमाइहरू सुरताल फेर्दै गोलबद्ध नाचबाट लामवद्ध हुन्छन् । उनीहरूका पछाडि दैसागे बनेको प्रकाश लाग्छ । त्यसपछि डोली बोक्नेहरू लाग्छन् । डोलीको पछाडि म लाग्छु । मेरो पछाडि कसारको डोकेहरू लाग्छन् । डोकेको पछाडि दुईवटा खसी डोर्‍याउँदै छन् ठूलदाइले । त्यसपछि हल्लाखल्ला गर्दै एकएक गरी जन्तीहरू हिड्छन् ।
बेहुली घर मेरो घरदेखि धेरै टाढा छैन । हाम्रो घरमा गाई कराएको त्यहाँ प्रस्टै सुनिन्छ । त्यहाँ पुग्न उत्तर-पश्चिम हुँदै जाने छोटो बाटो पनि छ । तर बाटो लम्ब्याउनको लागि जन्तीको लस्कर तेर्छो सरबाटो हुँदै स्कूलतिर लाग्दछ । जन्तीको लाम मेरो घरदेखि आधा सोलाबाङसम्म पुगेको छ । जन्ती हेर्न घरघरको झ्यालढोकामा महिला तथा केटाकेटीहरू बुजो लागेका छन् । पाइलापाइलामा दमाइनाच चल्दा पाँच मिनेटमै पुगिने स्कूल पुग्न आधा घण्टा लाग्छ ।
जन्तीहरू स्कूलमा विश्राम गर्छन् । बेहुलापक्षबाट आएका जन्तीको संख्या र अवस्थाको खबर पुर्‍याउन भाते-कौवालाई बेहुलीघरमा पठाइन्छ । बेहुलाबेहुली एउटै टोलभित्रका भएको कारण जन्ती र दमाइहरू साझा छन् । तसर्थ केही जन्ती र तीनजना दमाइहरू उठेर बेहुलीघरतिर लाग्छन् । विश्राम गरिरहेका दमाइहरू नास्तपानीको बहाना बनाउँछन् र व्यवस्था गरिएपछि मात्तिएर उफ्रीउफ्री झाँप्रे नाच्छन् । हेरिदिने दर्शकको कमी छैन ।
केही बेरमा भातेकौवाहरू बेहुलीघरको समाचार ल्याएर आइपुग्छन् । बेहुलीघरमा बिहेको सबै तयारी पूरा भैसकेको खबर पाउनेबित्तिकै हाम्रोतिरका जन्ती उठ्छन् र लस्कर लागेर सोलाबाङको माथिल्लो बाटो हुँदै पूर्वतिर अघि बढ्छन् । केही बेरमा साउनेपानी खोल्साको छेउ आइपुग्छ । यतिखेर सम्साँझ परिसकेको छ ।
०००
बेहुलातर्फका जन्ती नजिकै आइसेकेको देखेर बेहुलीतर्फका जन्तीहरू उठ्छन् । अघि अघि कलश बोकेका युवतीहरू लाग्छन् । बिचमा दमाहाहरू र पछिपछि हात हातमा चिराक बोकेका जन्तीहरू माथिबाट हामीतिर आउँछन् । चिराकको उज्यालोले टोलभरि झिलिमिली उज्यालो गराउँछ । बेहुलीपक्षका जन्तीहरू नजिकै आइपुगेपछि केराका गिर्खा, रातो अक्षता र जलले बेहुला पक्षका जन्तीलाई हानेर जन्ती पर्छिन्छन् (स्वागत गर्ने काम ) । दुवैतिरका दमाहाहरू जोडजोडले ठोकिन्छन् । गाउँ नै उचाल्ने गरी सहनाइ र नरसिङ्गा फुकिन्छन् । बेहुला र बेहुली पक्षका दुई दुईजना फरौटेहरूले हातमा खुकुरी झिल्काउँदै रोमाञ्चक फरौटे नाच प्रस्तुत गर्छन् । ड्याम्म ड्याम्म बन्दुक पड्काइन्छ ।
हर्षबढाइँसाथ जन्ती पर्छिएपछि बेहुलीका जेठादाइले मलाई काँधमा बोक्नुहुन्छ । कलश अघि लाएर दुवैतर्फका जन्ती बेहुली घरतिर उक्लिन्छन् ।
बेहुलीघर बेहुलीजस्तै सजाइएको छ । घरको गलामा दुबोपाती र फूलले बनेको तोरणको माला छ । पालीमा रातो कपडाले बेरिएका खुकुरीहरू गाडिएका छन् । रातोमाटोले पोतिएको आँगनमा पराल ओछ्याइएको छ । बिहे हेर्ने तमासेहरू कोही परालमा बसेका छन्, कोही उभिएका छन् । आजको आकर्षणको केन्द्रबिन्दु मै हुँ । तथापि यो सब दृश्य निज्याउन घोसेमुन्टोबाटै कर्के नजर लगाउँछु । बेहुलीघरको झ्यालमा पनि युवतीहरू बुजो लागेर मैलाई हेरिरहेका छन् । त्योमध्ये एक युवती आफ्नै बेहुली होलिन् भन्ने अनुमान गर्छु ।
आँगनमा पुगेपछि काठको पिर्कामा मलाई उभ्याइन्छ र पाउदेखि शिरसम्म पर्दाजस्तै कपडाले छेकिन्छु । कपडा पछाडिबाट बेहुलीको बाबुले जुवाइँ पुज्न थाल्नुहुन्छ । पुजिएपछि घरकै भुङमुनि तयार गरिएको मारममा (बिहे-मण्डप) पुर्‍याइन्छु । तीन चारजना पुरोहितहरू हात हातमा पुरानका पुराना ठेली समातेर मन्त्रोच्चारण गरिरहेका छन् । चामल, धुप, नैवेद्य राखिएका पतराहरू मण्डपभरि फिँजिएका छन् । मैले स्थान ग्रहण गर्नेबित्तिकै पुरोहितहरूबाट बेहुलाले गर्नुपर्ने कर्मकाण्ड सुरू गराइन्छ ।
बाहिर जन्तीहरूको भोज चलिरहेको छ । घरबाट ल्याइएका कसारका पोकाहरू माइती पक्षलाई बुझाइन्छ । भित्री भाइपट्टिको लागि दश धार्नी कसार र बाहिरी भाइपट्टिको लागि सोह्र धार्नी कसारको व्यवस्था छ । कसारमा आमापोका, बाबुपोका सँगिनी पोकाहरू पनि छन् । बेहुलीको माइती पक्षलाई एउटा खसी र मावलीहरूलाई अर्को खसी भाग लगाइन्छ । यसै गरी बेहुलीकी आमालाई काख छुटाउनी कसारपोका र लुगा छन् । यसै गरी अन्य नातेदारहरूलाई पनि लुगाको व्यवस्था छ । यी सबै कोसेली माइती पक्षका जिम्मेवार व्यक्तिलाई बुझाइन्छ ।
केही बेरपछि बेहुलीका ठूल्दाइले बेहुलीलाई पिठ्यूँमा बोकेर विवाहमण्डपमा आइपुग्नुहुन्छ र मेरो छेउमै बेहुली राखिदिनुहुन्छ । रातो चौबन्दी चोलो र रातै सारीले जीउ ढाकिएकी र रातै पछ्यौरीले टाउको ढाकिएकी युवतीको सामुन्ने परेपछि मेरो जीउमा करेन्ट प्रवाहित हुन्छ । मुटुको ढुकढुकी निकै बढ्न पुग्छ ।
बेहुला र बेहुलीले हातमा हात जोडेर सँगसँगै गर्नुपर्ने धार्मिक अनुष्ठानपछि गोडा धुने काम सुरू हुन्छ । बेहुलीका आफन्तहरूले तामाको ताउलीमा बेहुली र बेहुलाको गोडा राखी पाइताला धोएर पानी खाने चलन हो यो ।
त्यसपछि बेहुलीका आफन्तहरूले हातमा जल र कुश लिएर संकल्प गर्दै बेहुलीको हात बेहुलाको हातमा राखिदिएर “ददाति, ददाति, ददाति !” भन्दै कन्यादान गरिन्छ । कन्यादान पाएकोमा म जति खुशी हुनुपर्ने हो त्यति खुशी हुन सकिनँ । किनकि मैले मेरी बनाउन थालेकी कन्या दान गरिने कुनै वस्तु थिइनन् । उनी त जीवनसाथी पो हुँदैछिन् ।
त्यसपछि बेहुलाको तर्फबाट ल्याइएका लुगा र गरगहनाहरू फेर्नको लागि बेहुलीलाई दिइन्छ । घरपट्टिका लुगा तथा गहना पहिरेपछि बेहुलाबेहुलीले स्थान परिवर्तन गर्नुपर्ने हुन्छ । स्थान परिवर्तन गर्दा बेहुलाले बेहुलीलाई उचालेर आफ्नो ठाउँमा राख्नुपर्ने हुन्छ । उनी मभन्दा मोटीघाटी थिइन् । उचाल्न बल गर्दा नसकेपछि सार्वजनिक रूपमा बेइज्जत नगराउन उनी आफै सरिदिइन् ।
त्यसपछि लगन गाँठोको कर्म सुरू हुन्छ । लगनको सेतो कपडामा बेहुली पक्षले हालेको पैँसाको दोब्बर बेहुला पक्षले हाल्नुपर्छ । माइतीले लगनमा कति हाल्छन् भन्ने कुराको जन्तीमा सबैभन्दा ठूलो चासो रहन्छ । लगन सुरू भयो भन्नेबित्तिकै बेहुलीका आमाबाबुले लगनमा आफ्नो क्षमताभन्दा बढी पैँसा हालिदिए के गर्ने होला भनी बेहुलाका आफन्तको सातोपुत्लो उड्छ । यो बिहेमा लगनगाँठोमा पन्ध्र हजारसम्म हाल्नसक्छन् भन्ने अड्कल गरेर बा तम्तयार भै बस्नुभएको थियो । तर दुलहीपक्षबाट पाँच हजार मात्र हालेपछि बाले खुशी हुँदै दशहजार हाल्नुभयो । यो कर्म दाइजोको परिष्कृत रूप हो । तथापि माइती पक्षको भन्दा दोब्बर योगदान घरपक्षले गरेर बुहारीलाई आर्थिक सबलता प्रदान गर्नुलाई अन्यथा मान्न सकिँदैन ।
लगन कपडालाई गाँठो पारेर बेहुलीको कम्मरमा बाँधिन्छ । त्यसको छेउ बेहुलालाई समात्न लगाइन्छ । हामी बेहुला-बेहुली लगन गाँठोमा बाँधिएर विवाहमण्डपलाई सात फन्का लगाउँछौँ र यसरी नै प्रणयसूत्रमा बाँधिएर जीवन व्यतित गर्ने कसम खान्छौँ ।
त्यसपछि सुरू हुन्छ मनोरञ्जनात्मक मोलमोलाई विधि । बेहुलीले बेहुलाको खुट्टाको बूढी ओँला समातेर बेहुलासँग मोलमोलाई गर्छिन् । पाँच रुपैँयाबाट मनाउन सुरू गरेको पचास रुपैँया पुग्दासम्म औँला छोड्न मानेकी छैनन् । शरमले घोसेमुन्टो लगाएकी बेहुलीले बार्गेनिङ्ग गरिरहँदा वातावरण निकै रमाइलो हुन्छ । बिहे हेर्नेहरूले हाँस्ने, कराउने, उफ्रने र ताली बजाउने गरिरहन्छन् । बेहुलीको छेउमै बसेकी संगिनीहरूले बेहुलीलाई चिमोटेर उक्साइरहेकी छिन् । बेहुला पक्षकाले पनि मलाई उचालिरहेका छन् । मेरी बेहुलीले भने मेरो मनोभाव बुझेर पचास रुपैँयामै औँला छोडिदिन्छिन् ।

त्यसपछि सुरू हुन्छ बेहुलीलाई जुठो मह खुवाउने कर्म । उनलाई आफ्नो जुठो खुवाउनको लागि मोलमोलाई सुरू हुन्छ । जुठोको मोल पाँच, दश, बीस, पचास र सय रुपैँयासम्म पुग्छ । उनले जति दिन्छु भने पनि जुठो खान मान्दिनन् । मलाई पनि त्यही चाहिएको थियो । पैँसाजति सबै फिर्ता हुन्छ ।

साला बिनाराम र डम्बरको सहायताले धानका खाजा भुट्ने काम सजिलै चल्छ । यसपालि हाँसो चल्दैन । माइती पक्षबाट सम्धीहरू र जुवाइँ तथा जुवाइँका भाइहरूलाई सेता पगरीहरू गुथाइन्छ ।सिन्दुर हाल्ने काम सुरू हुँदा माइतीहरूले हेर्नुहुँदैन भन्दै उनाकुना पसे । सेतो मार्किनको कपडा हुँदै उनको सिउँदोमा सिन्दुर भरिदिएपछि उनी वैधानिकरूपमा मेरो नाममा दर्ता भएझैँ लाग्छ ।

सम्धी मेलोमा बेहुलीका बा र मेरो बाले एकअर्कालाई अबिर घसाघस गर्नुभयो । एकअर्कालाई अँगालो मार्दै उचाल्नुभयो । यसले एकअर्कामा सम्मानको भाव झल्कायो । सम्धी मेलोमा केही छिल्लिएका महिलाहरूले केराको बोक्रा, भाण्टा, खुर्सानी, गोलभेडाले बुनिएको माला मेरो बालाई लगाइदिएछन् । बा लाजले थचक्क बस्नुभयो । खाना खुवाउँदा खुर्सानी पानीले हात धुन लगाएपछि त बाको रिसको पारा चढिहाले । बिहे हेर्नेहरूलाई थप मनोरञ्जन भयो ।
भित्र वैवाहिक कर्मकाण्ड गरिरहँदा बाहिर रातभर पन्चेबाजा बजिरहेका थिए । घरपछाडिको गोठमा बेहुला पक्षका केटा र बेहुली पक्षका केटीहरू बाजा लागिरहेका (दोहोरी) थिए । अलि नजिकका आफन्तहरू तथा केटाकेटीहरू ननिदाएरै बिहेका विभिन्न कर्मकाण्ड हेरेर मनोरञ्जन लिइरहेका छन् ।यसरी पूरै रात कटेपछि मात्र हिन्दू सांस्कारिक कर्मकाण्ड समाप्त हुन्छ । त्यसपछि मात्र बेहुलाबेहुलीले खाना खान पाउँछौँ । सँगसँगै बसेर खाना खानुको असली स्वादको अनुभूति हुनजान्छ ।
भोलिपल्ट उज्यालो भएपछि बेहुलाबेहुलीलाई टीकाटालोका काम सुरु हुन्छ । बाहिर दमाहाको विभिन्न तालमा दमाइहरू नाचिरहेका छन् । नाच हेर्नेको भिडभाड बढ्दै गएको छ । कोसेली प्राप्त गर्नेहरूले हरियो पात बेरेर (पुरी र चामलको कोसेली फर्काउनु) इष्टपक्षलाई बुझाइरहेका छन् ।
०००
दिउँसोतिर आफ्नी भैसकेकी दुलहीसँग एक्लै परेको मौकामा भेट हुन्छ । रातभरको अनिदोले गर्दा उनको अनुहार हेर्नलायक देखिन्थ्यो । मैले मौका छोप्दै, “कस्तो लाग्यो ?” भनी सोधिहालेँ ।
“जुठो नखाएकोमा बरू हजुरलाई दुःख लाग्यो कि ?” उनले मुख रातो पार्दै जवाफ दिइन् ।
“होइन । होइन । मलाई पनि त तिमीलाई जुठो खुवाउनु थिएन । जे भयो ठीकै भयो । बिहेको यो कर्मकाण्ड परम्परा सिर्फ मनोरञ्जनको लागि अपनाइएको जस्तो लाग्यो । रातभर पण्डित पनि नसुतुन्, आफन्तहरू पनि नसुतुन् र बेहुलाबेहुली पनि नसुतेरै मनोरञ्जन लिँदै वैवाहिक अनुष्ठानको कार्य पूरा गरून् भन्ने ध्येयले यस्ता विधिहरू सुरू गरियो होला । तर तिमीचाँहि डराउनु पर्दैन । मैले तिमीलाई घरमा लिएपछि कहिल्यै गोडा धुवाउने र जुठो खुवाउनेछैन !” मैले उनको मन खुशी तुल्याउन प्रतिवद्धता व्यक्त गरेँ ।
“गोडा धुनु कन्यादान गर्नु र सिँदुर हाल्नु पनि मनोरञ्जनको लागि मात्र होला त ?” उनले सानो स्वर तुल्याएर जिज्ञासा राखिन् ।
“गोडा धुनु छोरीजुवाइँलाई दिइएको सम्मान हुनसक्छ । कन्यादान र सिन्दुरको प्रचलन वैवाहिक सम्बन्ध नभत्कियोस् भनेर खुवाइएको कसमजस्तो होला । सम्धी मेलो पनि नयाँ अभिभावकप्रतिको सौहाद्रता होला । धर्म, संस्कृति तथा परम्परा भन्दैमा समाजमा नकारात्मक सन्देश जाने कुरालाई स्वीकार्नैपर्छ भन्ने केही छैन ।“ मैले पनि आफूलाई जानकारी भएसम्मको कुरा शेयर गरेँ ।

संगिनीहरूले उनलाई बोलाएकोले उनी लजाउँदै भागिहालिन् । मैले बाँकी केही भन्नु थिएन । भोलिदेखि त दिनरात सँगसँगै रहेर सुखदुःखका कुरा गरिरहनु नै छ । आजै के हतारो छ र ?
०००
केही बेरपछि दुलहीलाई विदा गर्ने सुरसार चल्छ । बेहुलीकी ५ वर्षे बहिनी निरा र ११ वर्षे बहिनी देवीले हिजैदेखि बेहुली दिदीको पुच्छर छोडेका छैनन् । विदा गर्ने बेला जति नजिकिँदै छ उनीहरूलाई दिदीको हात छोड्न झन् कठिन हुँदै छ । अब विदा गर्ने बेला भयो भनिदिनेबित्तिकै तीन बहिनी एउटै डल्लो परेर आँशु मिस्याउन थाल्छन् ।
कसारको कोसेली बाँडिएपछि रित्तिएका डोकाहरूमा हरियोपातको कोसेली भरिइसकेका छन् र अर्को डोकोमा गोडा धोएका ताउला गाग्रीहरू राखिएका छन् । यताउता लागेका जन्तीहरू फर्किएर आउँदै छन् । बेहुलीघरको आँगनमा मान्छेहरू अटाईनअटाई भएका छन् ।
बेहुलीका माइलादाइले बेहुलीलाई आँगनसम्म बोकेर ल्याई डोलीमा चढाउनुहुन्छ । बेहुलीको रुवाइको स्वर बढ्दै जान्छ जसले गर्दा माइतीहरूको रुवाबासी चल्छ । रोइरहेको माहोलले इष्टपक्षका आँखा समेत रसाउँछन् । मेरै आँखामा अश्रुधारा बगिसकेका रहेछन् । दमाइहरू दमाहा ठोक्दै नरसिँगा फुक्दै बाटा लाग्छन् । कन्याहरू कलश बोकेर अघि लाग्छन् र उनीहरूलाई डोली बोकेकाहरूले पछ्याउँछन् । डोलीको पछिपछि म लाग्छु र मेरो पछि जन्तीहरूको लस्कर लाग्छ ।

समीक्षा गर्न खोज्छुः मैले जितेँ कि हारेँ ? हारेँ भनु भने जीवनकै अमूल्य व्यक्ति कन्यादान पाएको छु । जितेँ भनुँ भने गुँडबाट खोसेर अबोध चरीलाई पिँजडामा हालेर ल्याएको छु । जसको पीडाले उनी रोइरहेकी छिन् र उनका सबै आफन्तजन रोइरहेका छन् ।

केही तल आइपुगेपछि मबाट संगिनीहरूले सँगिनी चार झार्छन् । अन्तरङ्गी साथीलाई आफ्नो हातबाट गुमाउनुपर्दाको क्षतिपूर्ति मात्र नभई रोइरहेको मनलाई मलहम लगाउने विधि पनि हुनसक्छ यो । यहीँबाट माइती पक्ष छोरीलाई विदाइ गरेर भक्कानिँदै फर्किन्छन् ।
बेहुली ल्याएर घरमा आइपुग्दा अँध्यारो भइसक्छ । आमाले बुहारीलाई डोलीबाट झार्दा मोलमोलाईको राम्रै तयारी गरेर बस्नुभएको छ । तर बुहारीले पाँच रुपैँयाले नै मानेर डोलीबाट ओर्लिहाल्छिन् ।जन्तीहरू भोज खाएर फर्कँदा झमक्क अँध्यारो भैसकेको थियो ।

उज्याली बुहारी भित्र्याउन पाउँदा हाम्रा मनहरू भने निकै उज्यालिन पुगेका थिए ।०००यसरी भित्र्याएकी मेरी उनीलाई वैवाहिक जीवनको ३२ औँ वर्षगाँठको हार्दिक शुभकामना छ ।
Happy Anniversary !!!

 161 total views,  3 views today

Leave a comment

Your email address will not be published.


*