Free songs
Home / प्रवचन संग्रह / ईश्वर प्राप्तिको अनुभव तथा अन्तिम समयको परीक्षा पेपर

ईश्वर प्राप्तिको अनुभव तथा अन्तिम समयको परीक्षा पेपर

  • ब्रह्माकुमार जगदीश चन्द्र

कसैले भन्छन्, ईश्वर प्राप्तिको अनुभव कोही कसैलाई सुनाउन सकिँदैन, किनकि यसलाई शब्दमा सुनाउन असम्भव छ । कसैले भन्छन्, त्यो अनुभव कसैलाई सुनाउनु हुँदैन, किनकि त्यो अनुभव त्यस्तै हुन्छ । कसैले भन्छन् आजसम्म कसैले यस्तो सुनेको पनि छैन र जसको यो अनुभव हुन्छ, उसले सुनाउन पनि सुनाउँदैन । यी कुराहरुलाई हेर्न हो भने यो भन्न सकिन्छ कि तिनीहरुलाई अनुभव नै छैन, त्यसैले यसो भन्दछन् । एकातर्फ तिनै मान्छेहरुले भन्छन् कि ईश्वरको कृपाबाट ‘लाटो पनि बोल्न थाल्छ, लङ्गडो पनि पहाड चढ्न थाल्छ’ – मुकं करोति वाचाल …. । तपाईँले देख्नुभएको होला कि केही मान्छेहरु यो ज्ञानमा आउनुभन्दा पहिले बोल्न लाज मान्दथे । अनपढ भएको कारणले कहीँ कसैको साथ केही पनि बोल्दैनथे । ज्ञानमा आउने बित्तिकै उनको मुखबाट ज्ञानको झरना झर-झर बग्न थाल्दछ र सुन्ने वाला पनि आश्चर्य मान्दछन् । यो के हो ? यो त उनकै कृपा हो । यो नै लाटो बोल्न थाल्नु हो । केही मान्छेहरु यो पनि भन्दछन् कि ईश्वरका साथ अनुभव नै यस्तो हुन्छ कि त्यसलाई नभनी रहनै सकिन्न । यस्ता व्यक्तिहरुले आफ्नो अनुभव यसरी सुनाउन थाल्छन् कि अरु मान्छेहरु उसलाई विक्षिप्त भन्न शुरु गर्छन्, पागल सम्झन शुरु गर्छन् । मान्छेहरु जति मजाक गरे पनि, जति व्यङ्ग्य गरे पनि, उसलाई नराम्रो लाग्दैन । ऊ आफ्नै अनुभवमा मस्त भएर अरुलाई सुनाइरहन्छ । मीराको कथा छ नि ! मान्छेहरु भन्थे मीरा पागल भइसकी, मीरा भन्थी तिनीहरु पागल भइसके । मनुष्य अथवा भोगीको जीवन आधा पागलको स्थिति हो । कुनै व्यक्ति काम विकारको पागल हुन्छ, कुनै क्रोधको, कुनै लोभको, कुनै मोहको, कुनै अहंकारको, कुनै ईर्ष्या, द्वेषको पागल । यी विकारहरुको वश भएर मानिसहरु के के मात्र गर्दैनन् । के यो पागलपना होइन ?

पागलपन केलाई भनिन्छ ? यो मनको उत्तेजित अवस्था हो । असहज अवस्था हो । त्यसै प्रकार ईश्वर अनुभूतिको जो अवस्था छ, त्यो अतीन्द्रिय सुखको अवस्था हो । यसलाई नारायणी नसा भनिन्छ, खुमारी भनिन्छ, मस्ती या इलाही भनिन्छ । यो त्यस्तो मस्ती वा नशा हो जो भगवानको नामबाट, भगवानको यादबाट प्रभूमिलनबाट प्राप्त हुन्छ । जसलाई यो अनुभूति हुन्छ, उनीहरुले दोस्रोलाई नभनी रहनै सक्तैन । यस संसारमा दुई प्रकार मान्छे छन् । एकथरी भन्छन् कि यो अनुभवको वर्णन नै गर्न सकिँदैन, अर्कोथरी भन्छन्, यस अनुभवको वर्णन नगरी रहनै सकिन्न । तर कुरा यी दुई बीचमा छ । जबसम्म व्यक्ति देहमा आउँदैन, तबसम्म उसले भन्न सक्दैन । तपाईँले देख्नुभएको होला सन्देश पुत्री जब बाबाकहाँ जान्छिन् र वापस आउँछिन्, उनलाई बोल्नमै दुईचार मिनेट लाग्छ । किनकि जबसम्म शरीरमा पूरा सेट भइँदैन, तबसम्म केही सुनाउन पाउँदिनन् । त्यसको अनुभव गर्नको लागि बाबा भन्नुहुन्छ, ‘पहिले निर्वाणमा जाऊ, अनि वाणिमा आऊ । यस कर्मक्षेत्रमा उत्रनुभन्दा पहिले कर्मातीत दुनियाँमा जाऊ त्यसपछि कर्मक्षेत्रमा आऊ ।’ जब हामी पहिले पहिले यस कर्मक्षेत्र अर्थात श्रृष्टिमा आयौँ भने कहाँबाट आयौँ ? परमधामबाट । ऊ हाम्रो सतोप्रधान गोल्डेन स्टेज थियो । बिस्तारै बिस्तारै हामीले परमधाम र निर्वाणधाम भुलिसक्यौँ र यस दुनियाँको रङ्गमञ्चमा रङ्गियौँ । बाबा भन्नुहुन्छ, ‘अब पहिले त्यो स्टेजबाट कर्मक्षेत्रमा आऊ र त्यसपछि जे बोल्नेछौ, त्यो गलत हुनेछैन, किनकि त्यो तिम्रो ओरिजिनल स्टेज हुनेछ । त्यो तिम्रो प्राथमिक अवस्था हुनेछ, जसमा सब ठीक नै हुन्छ ।’ त्यो अनुभव अहिले नै हुनसक्छ, नत्र कहिले पनि हुँदैन । संगमयुगको घडी एकदमै अनमोल घडी हो, यसको मूल्य कसैले लगाउन सक्दैन । त्यो यसरी नै बितेर गइरहेको छ । हामी अनुचित विलम्बमा सुतिरहेका छौँ । जब छोरा एक वर्षको हुन्छ आमाले सम्झिन्छिन्, मेरो छोरा एक वर्ष ठूलो भयो । तर यसको अर्को भाग पनि छ कि त्यसको उमेर एक वर्ष कम भयो । यसरी नै संगमयुगको एक एक वर्ष बितेर गइरहेको छ, तर हामी सम्झन्छौँ, हामी ज्ञानमा चलेको यति धेरै वर्ष भयो । हामी यो पनि सम्झँदैनौँ कि संगमयुगको एकएक वर्ष कम हुँदै गइरहेको छ । अनि यति वर्षसम्म शिथिलतामै रहेर, भगवानको साथको अनुभव नगरीकन बिताइदियौँ भने हामीले कति समय बर्बाद गरेका रहेछौँ ! भनिन्छ नि बितेको समय फर्किँदैन । आउँछ त अर्को कल्पमा मात्र । अर्को कल्पमा पनि यसरी नै बिताउनेछौ, जस्तो यो वर्षमा बितायौ । यसैले ध्यान दिऔँ कि समय बित्दै गइरहेको छ र हामीले अहिले अनुभव गरेनौँ भने कहिले अनुभव गर्न पाउने छैनौँ । एक हो समय बित्दै छ, अर्को समय बदलिँदै छ अर्थात परिस्थिति बदलिँदै छ । आज यस्तो समय छ, भोलि कस्तो समय होला ? बाबाले हामीलाई पहिल्यै सम्झाउनुभएको छ कि यस्तो कहिले नसोच कि अहिले गर्न सकिएन भने पछि कहिले त गरुँला । यस्तो स्थिति, यस्तो समय नै भएन भने पछि कसरी गरौला ? आफ्नो शरीरको स्थिति कस्तो होला ? त्यो पनि हरेकले आआफ्नो जान्दछन् । कसैको व्याधि होला, कसैको उपाधि होला र पुरुषार्थ गर्नेको समाधि होला । यस दुनियाँमा यिनै तीन चिज छन्, चाहे तपाईँले व्याधि पाउनोस्, चाहे उपाधि पाउनोस्, चाहे समाधि पाउनोस् । तर यो त जरुर हो कि संसारमा समय परिवर्तन हुँदै आएको छ । जब अब श्रृष्टिको नाटक अन्त्यमा पुग्यो भने कस्ता परिस्थितिहरु आउलान् ? बिना मौसम बर्सात आउला, चारैतर्फ पानीले घेर्ला, अनि मानिसहरुले के गर्लान् ? भन्नुको अर्थ यो हो कि यस्तो परिस्थिति आउला, मन पनि विचलित हुनेछ, तब योगको अनुभव गर्न नै सकिनेछैन । तब के गर्ने ? जो अनुभव गर्नुछ, अहिले नै गरिहालौँ । जो खजाना संग्रह गर्नुछ, अहिले नै गरौँ । अभि नहीँ तो कभि नहीँ । यो समय आउने वाला नै छैन । भनिन्छ समय कसैको लागि रोकिँदैन । के सम्झनुहुन्छ कि तपाईँको लागि समय रोकिएला ? अँहँ रोकिँदैन । यसैले सदा स्मृतिमा राखौँ कि जे सुकै भए पनि अचानक नै हुनेछ । यस्तो पनि नसोचौँ कि अझै २५-३० वर्ष बाँकी होला, एक दिनमा त सारा अचानक नहोला नि ? तर एकपछि अर्को यस्तो परिस्थिति आउनेछ कि तपाईँको मनमा जतिसुकै राम्रा संकल्प शुभकामनाहरु र शुभइच्छाहरु भए पनि तिनीहरुको अनुभव गर्ने समय नै नमिल्न सक्छ । अहिले नै निर्णय गर्नुहोस् । मम्माले कैयौँ पटक बताउनुहुन्थ्यो कि बाबाले निर्णय गरेर नै यी सबै बताइरहनुभएको छ । हाम्रो ज्ञान पनि निर्णय गरेरै बताइरहनुभएको छ, ड्रामा पनि निर्णय गरेरै बताउनुभएको छ । कल्पवृक्षमा गोलामा समयको अवधि निर्णय गरेर नै बताइएको हो । तपाईँलाई यस सम्बन्धमा निर्णय गर्नुपर्ने जरुरी नै छैन । तपाईँले त के गर्ने ? र के नगर्ने ? भन्ने मात्र निर्णय गर्ने हो । फैसला तपाईँले नै गर्ने हो । यदि तपाईँ कुनै व्यापार गर्न जाँदै हुनुहुन्छ भने तपाईँलाई कसैले बताउनेछ कि यसो गरेमा यसमा यति फाइदा हुन्छ, यसो नगरेमा यति नोक्सान होला । यति समयभित्र गरेमा यति फाइदा होला । फैसला तपाईँको हो, जे गर्न चाहनुहुन्छ, त्यो गर्नुहोस् । हामी त फैसला नै गरिरहेका छैनौँ, टालटुल पार्नमा सोच्नमा, सोधपुछ गर्नमा नै समय लगाइरहेका छौँ, समय बितिरहेको छ । ड्रामामा अगाडि कस्तो समय आउने वाला छ ? बाबाले सब बताउनुभएको छ । बाबाले भन्नुभएको छ, ‘मुसलधार वर्षा होला, अकाल पर्ला । त्यस समय के होला ? म तपाईँलाई बताउँछु । एकपटक दिल्लीमा बाढी आयो, पानी घरघरमा पस्न थाल्यो । घरको सामान सबै तैरिरहेको थियो, मान्छेहरु छतमा बसिरहेका थिए, बिजुली थिएन । माथिबाट वर्षा भैरहेको थियो । तीन दिनसम्म पानी रोकिएन । खानको लागि केही थिएन । तपाईँ सोच्नुहोस् मान्छेहरुको स्थिति के भयो होला ? मान्छेहरुलाई विभिन्न प्रकारको छालाको बिमारी आयो । वर्षाद रोकिएपछि पनि धेरै दिनसम्म पानी जमिरह्यो र त्यसमा मच्छर, कीराहरु, साँप निक्लन थाले, फलस्वरुप कैयौँ प्रकारका बीमारीहरु फैलिए । यो त एउटा सानो घटना थियो, अन्तिम समयको स्थिति कस्तो होला ? आफै सोच्नुहोस् ।

बाबाले यो पनि बताउनुभएको छ कि, ‘विश्वमा हाहाकार होला, रगत बगाउने खेल होला. रगतको नदी बग्ला । पछि जयजयकार होला, दूधको नदी बग्ला । जसले हिन्दूस्तान र पाकिस्तान विभाजन हुँदा देखे उनीहरुलाई थाहा छ, हाहाकार कस्तो हुन्छ भन्ने कुरा र मान्छे कति क्रुर हुँदारहेछन् भन्ने कुरा । कति हिंसक पशुहरु पनि हुन्छन्, तर ती हिंसक पशुभन्दा पनि मान्छे कति हिंसक हुँदो रहेछ भन्ने कुरा देखियो । मार्ने मात्र होइन इंच बाइ इंच मार्नेहरु देखिए । यति अत्याचार यसैले भयो कि यो हिन्दू हो र यो मुसलमान हो भनेर, यसैले कि योसंग पैँसा छ, मसँग छैन भनेर, यसैले कि योसंग मेरो दुश्मनी छ, दुश्मनीको बदला लिइहालौँ भनेर । यस्ता अपराधीहरुलाई यिनै आँखाले देख्नुपर्‍यो तपाईँलाई के बताउनू ? सिर्फ गोली मारेर या हत्या गरेर होइन, त्यसको एकएक अंग काटेर, छातीमा इन्च बाइ इन्च काटेर । पहिले उसको आँखा निकाले, त्यसपछि एक हात, त्यसपछि एक खुट्टा, त्यसपछि अर्को एक अंग निकालेर । यसै प्रकारले सताइ सताइ मारिरहे । यो सब धर्मको नाममा भैरहेको थियो । यसैले बाबाले भन्नुहुन्छ, ‘यो धर्म ग्लानी हो । त्यस समयको यस्तो स्थितिमा तपाईँ योग गर्न सक्नुहोला ? यस्तो प्राकृतिक प्रकोप हुनेछ, हामीलाई खानेपिने केही पनि मिल्ने छैन । यस्तो साम्प्रदायिक दंगा हुनेछ, हामीलाई एक गल्लीबाट अर्को गल्लीमा जान मुश्किल हुनेछ । त्यस्तो समयमा के तपाईँको मन टिक्न सक्ला ? परमधाम निवासी ती ज्योतिर्बिन्दु शिवको याद रहला ? तपाईँ घरभित्र झ्यालढोका थुनेर बस्नुपर्नेछ । बाहिर कसैले कसैलाई मारिरहेको सुन्नुपर्नेछ, ऊ चिच्याइ चिच्याइ भनिरहेको हुनेछ बचाऊ ! बचाऊ !! तपाईँले चिन्नु पनि हुनेछ यो कसको आवाज हो भनेर । त्यस समय तपाईँ के गर्न सक्नुहुन्छ ? बचाउन सक्नुहुन्छ ? योगमा बस्न सक्नुहोला ? साक्षी भएर बस्न सक्नुहोला ? यदि यो दृश्य आँखैले देखेको भए खाना खान सक्नुहोला ? चयनले सुत्न सक्नुहोला ? योग लगाउन सक्नुहोला ? बाबाले सब विषय चित्र बनाएर बताइदिनुभएको छ, ‘मीठे बच्चे, लाड्ले बच्चे, अघि यस्ता यस्ता परिस्थितिहरु आउनेछन् । अहिलेदेखि नै तयार होऊ ।’

बाबाले यो पनि भन्नुभएको छ कि ‘बच्चा, तिमी दाता हौ, रहमदिल हौ, के तिमीलाई दुखीहरुको पुकार सुनेका छैनौ ? मान्छेहरु रोइरहेका छन्, चिच्याइरहेका छन्, आफ्ना इष्टदेवतालाई पुकारिरहेका छन्, के तिमीले उनीहरुको आवाज सुनेका छैनौ ? तर हामीले के गरिरहेका छौँ ? मनोरञ्जनको लागि टिभी हेरेर बसेका छौँ, सामान्य मान्छे जस्तै बसेर व्यर्थ समय गुमाइरहेका छौँ । भनिन्छ, जब रोममा आगो लाग्यो, तब रोमका राजा नीरो पियानो बजाइरहेका थिए । यति भावविहिन र कर्तव्यच्यूत भएका थिए उनी । आज मान्छेहरुलाई न चैन छ, न निँद । निँदको गोली खाएर सुतेका छन् । बाबाले हामीलाई योग सिकाउनुभएको छ, त्रिकाल ज्ञान सिकाउनुभएको छ । के हामी उनी दुःखी तथा अशान्त व्यक्तिहरुलाई बाबाको योग र ज्ञान सिकाउन सक्दैनौँ ? वृद्धहरु वृद्धको साथमा जाऊँ । एकदमै वृद्ध मान्छेहरु पार्कमा बसिरहेका हुन्छन्, त्यहाँ जाऊँ र उनीहरुलाई योग सिकाऊँ । त्यहाँ मिलेन भने वृद्धाश्रममा जाऊँ, त्यहाँ सेवा गरौँ । युवाहरुले युवाहरुलाई सिकाऊँ । गर्नको लागि सेवा धेरै थरीका छन्, गर्ने मन हुनुपर्‍यो । तपाईँले त्यहाँ गएर कुनै भाषण गर्नुपर्दैन, म्यानेजमेन्ट कोर्स गराउनुपर्दैन । सिर्फ आफ्नो अनुभव सुनाउनुहोस्, आफ्नो सरल भाषामा बाबाको परिचय सुनाउनुहोस् । मान्छेहरु यही चाहन्छन् । म्यानेजमेन्ट कोर्स सिकाउने मान्छे बाहिर छँदैछन्, उनीहरुलाई विषय-वस्तु पनि बाहिर नै थुप्रै पाइन्छन् । तर ईश्वरीय ज्ञान राजयोग, हामी बच्चाहरु बाहेक अन्त कतै मिल्दैन । मान्छेहरुलाई यो बताउनुहोस् र यो सुनाउनुहोस्, तब उनीहरुले सुखी र पवित्र जीवन बिताउनेछन् ।  यसैले बाबा भन्नुहुन्छ, ‘बच्चा हो, सोच सम्झ ।’

यहाँ हाम्रा दुई गल्ती भैरहेका छन् । एक त दुःखीहरुको पुकार सुन्नमा आएका छैनन्, अर्को अन्तमा के के हुनेवाला छ ? त्यसको बारेमा सोच्दैनौँ । बाबाले यो पनि भन्नुभएको छ कि ‘हाहाकारको समयमा मन विचलित होला, इन्द्रियहरु चञ्चल हुनेछन् । त्यो आखिरी परीक्षा हुनेछ । छिपेका दबेका पुराना संस्कारहरु प्रकट हुनेछन् ।’ तपाईँलाई पत्ता हुनेछैन र आश्चर्य मान्नुहुनेछ कि यी संस्कार मभित्रै रहेछन् भनेर । यदि पहिल्यैदेखि जरादेखि नउखेलेका, समाप्त नगरिएका पुराना संस्कार अन्तिम समयमा बाहिर निस्कनेछन् । जसको दृष्टि-वृत्ति खराब छ र भड्किरहेको छ ती अशुद्ध आत्माको के हाल होला ? तिनीहरु पनि अरुको भित्र घुसेर आफ्ना विकारहरु प्रकट गर्नेछन्, आफ्नो मनोमानी गर्नेछन् । बाबाले भन्नुभएको छ, ‘त्यस समयमा पाँच विकारहरु र पाँच तत्वहरु चरम सीमामा हुनेछन् ।’ तब तपाईँले के गर्न सक्नुहोला ? त्यस समय तपाईँको स्थिति यस्तो हुनुपर्‍यो कि तपाईँको शरीर ती अशुद्ध आत्माहरुलाई देखा नै नपरोस् र बदलामा तपाईँमा प्रकाश नै प्रकाश, रत्न नै रत्न देखियोस् र तिनीहरुले तपाईँलाई देवदूत सरह देखून । यदि यस्तो अवस्था उनीहरुले नदेख्ने हो भने तपाईँ स्वयम् भड्किनुहुनेछ । ती आत्माहरुको आफ्नो शक्तिबाट शान्त र मुक्त गर्नु त परै जाओस्, तपाईँ स्वयम् नै उनको प्रभावमा आउनुहुनेछ । त हामीले यति वर्षसम्म बाबाको बच्चा बनेर बाबाको अमूल्य ज्ञान सुनेर के गर्‍यौँ ? के सार्थक भयो ? यसैले बाबाले भन्नुहुन्छ, ‘हे बच्चा, समय अझै बाँकी छ, अझै पुरुषार्थ गर । बच्चा हो, तिमी मेरो घरका चिराग हौ, तिमी मेरा लाडे बच्चा हौ, तिमीमाथि मेरो धेरै विश्वास छ । म तिम्रो शिरमा ताज देखिरहेको छु, तिमी नयाँ दुनियाँका फाउन्डेशन हौ । तिमी नै अनादिमूर्त र आदिमूर्त हौ, तिमी यस मानव वंशवृक्षको पूर्वज र पूज्य हौ । बाबा भन्नुहुन्छ, ‘अहिल्यैबाट अभ्यास गर एकनामी र एकानामी बन्नको लागि, किनकि अघि गएर खाने, पिने, लगाउने कुनै चिज मिल्ने छैन । अहिल्यैदेखि एकानामी बन्ने अभ्यास गर । बीच-बीचमा केही नमिले पनि संकल्प नडगमगाऊ ।’ धेरै त होइन यदि दिनमा तपाईँ तीन चार पटक खानुहुन्छ भने एक पटक वा दुई पटक मात्र खाने अभ्यास गर्नुहोस् । कहिलेकाहीँ कत्ति पनि नखाने अभ्यास गर । जब अन्तमा केही पनि नपाइने अवस्था आउला, त्यसबेला काम लाग्ला । भोकप्यास सहन गर्ने, हिम्मत आउनेछ । बाबा भन्नुहुन्छ, ‘अन्तिम परीक्षामा तीन पेपर हुनेछन् । अहिल्यैदेखि देहबाट टाढा रहने अभ्यास गर्ने होइन भने अन्तमा यस परीक्षामा फेल हुनेछौ ।’

वैज्ञानिकहरु भन्छन् कि ग्रीन हाउस इफेक्ट हुने वाला छ । ग्रीन हाउस इफेक्ट के हो ? पृथ्वीमा सारा वातावरण निस्सासिँदो बन्नेछ । हावा सारा खराब हुनेछ र राम्रो हावा चल्नेछैन । हावामा माइस्चर, कार्बन डाइअक्साइड एकत्रित हुनेछ । त्यस हावामा अक्सिजन हुनेछैन । यस्तो हावाले के हुन्छ ? चक्कर लाग्नेछ, शक्तिहिनताको महसुस हुनेछ, उल्टी हुन लाग्नेछ । यस्तो अनुभव हुन लाग्नेछ कि दम अड्किरहेको छ र हामी मरिरहेका छौँ । यो कसरी हुनेछ ? वैज्ञानिकहरु भन्छन् कि ओजोन पर्दामा प्वाल परिरहेको छ र ग्लोबल वार्मिङ भइरहेको छ ।  कारखानाहरुबाट बस, जीप, कार, ट्रकबाट कार्बन डाइअक्साइड निक्लिरहेको छ, जसबाट ग्रिन हाउस इफेक्ट हुनेछ । ग्रिन हाउस इफेक्ट भयो भने हामीहरु छटपटाइ-छटपटाइ सामूहिक रुपमा मर्नेछौँ । लाखौँ मान्छेहरु मर्नेछन् । वातावरण यसरी खचाखच भरिएको हुनेछ कि कसैलाई श्वास फेर्न पनि मुश्किल होओस् । यस्तो हुनेछ कि कसैले हाम्रो गला दबाइरहेको छ । यो भयो प्रकृतिबाट तनको परीक्षा ।

दोस्रो हुनेछ तनको बिमारी । नयाँ नयाँ प्रकारका रोगहरु आएर शरीरलाई ग्रसित गर्नेछन् । यदि तपाईँ ब्रह्मचर्यको पालना गर्नुहुन्छ, अन्नदोषबाट मुक्त हुनुहुन्छ र योगयुक्त भएर भोजन गरिरहनुभएको छ भने तपाईँ यो परीक्षामा पास हुनुहुनेछ । बाबाका यी नियमहरुबाट शरीरको शुद्धिकरण हुन्छ, पवित्रीकरण हुन्छ । बाबाको श्रीमत अनुसरण गर्नाले धेरै फाइदा छ, धेरै मान्छेहरु यो जान्दैनन् । बाबाका जुन नियम छन् ती धेरै वैज्ञानिक र विकसित छन् । बाबाले हामीहरुलाई साधारण रुपबाट बताउनुभएको छ, यसैले यसको महत्त्व धेरै कम भाइबहिनीहरुले जान्दछन् । जति जति अनुसन्धानहरु हुँदै जानेछन्, मान्छेहरुले बुझ्दै जानेछन् कि शाकाहारबाट के फाइदा हुन्छ ? मध्यपान गर्नाले के के नोक्सान हुन्छ ? हामीले जुन नियमहरु पालना गर्दै आइरहेका छौँ ती माथि अनुसन्धान गरेर यसका फाइदाहरु मान्छेलाई बताइरहेका छन् । हामीले त कहिलेदेखि यी नियमहरु पालना गर्दै आइरहेका छौँ बाबाले भनेअनुसार । यस प्रकार बाबाले जे नियम बनाउनु भएको छ, ती धेरै फाइदाजनक छन् । बाबा भन्नुहुन्छ तनको परीक्षा र तनको व्याधिको परीक्षा आउनेछ यो पास गर्नुपर्नेछ । अहिले नै नआए पनि पछि आउनेछ । यदि हामीले शरीरबाट अलग हुने अभ्यास गरेका छैनौँ भने, आत्माभिमानी बन्ने अभ्यास गरेका छैनौँ भने, यो परीक्षाको समयमा धेरै कठिनाइ हुनेछ । यदि तपाईँले सारा जिन्दगीभर म आत्मा हुँ, म आत्मा हुँ – रटिरहनुभएको छ, तर अन्तिम समय शरीरको दुःख दर्दतिर ध्यान गयो भने तपाईँ अलग हुनुको साटो देहमा फस्नुहुनेछ । देहभान तथा देह-अभिमानमा आउने हो भने सारा जिन्दगीभर जे गरेका थियौँ, त्यो सबै स्वाहा हुनेछ ।

अशरीरीपनको अभ्यास, देहबाट टाढा हुने जो अनुभव छ, त्यसको पटक पटक गर्नुपर्छ र सो अभ्यास दिन परदिन बढाउँदै जानुपर्छ । लौकिकमा यस्तो कुनै परीक्षा नियन्त्रक हुँदैन, जो प्रश्नको पहिल्यै बताइदिन्छन् । तर बाबाले हामीलाई पहिल्यै बताइसक्नुभएको छ कि अन्तिम परीक्षा पेपर कुन कुन हुनेछ ? बाबा हाम्रा टिचर पनि हुनुहुन्छ, परीक्षक (Examiner) पनि र बाबु पनि । यसैले परीक्षाका प्रश्न के के होलान् ? यो पनि बताइदिनुहुन्छ र भन्नुहुन्छ परीक्षाको तयारी गर । यति मात्र होइन कसरी तयार गर्ने ? यो पनि बताइदिनुहुन्छ । तर पनि हामी तयारी गर्दैनौँ भने उहाँले के गर्ने ? बाबाले त शुरुदेखि लिएर अन्तसम्म यही बताउनुभयो कि, ‘बच्चा हो, आत्म अभिमान बन, किनकि यो अन्तिम पेपर हो ।’ यही नै अति अति अति प्रमुख परीक्षा प्रश्न हो । यसबाट कोही छुट्न सक्दैन । यसैले बाबाले बारबार भन्नुहुन्छ, ‘अशरीरी बन, शरीरबाट अलग बन ।’ तैपनि हामी बन्दैनौँ भने उहाँले के गर्ने ? यति धेरै जमिन हल्लिरहेको छ, तपाईँ हल्लिनुभएन । हामीले हल्लाउने कोशिस गर्‍यौँ, तैपनि तपाईँ हल्लिनुभएन भने हामीले के गर्ने ? तपाईँ त यो जमिनभन्दा पनि भारी भैहाल्नुभयो ।

बाबाले भन्नुभएको छ कि जस प्रकार तनको परीक्षा हुनेछ, त्यसै प्रकार मनको पनि परीक्षा हुनेछ । मन चञ्चल हुनेछ । मनका जुन इन्द्रियहरु छन्, तिनीहरु पनि चञ्चल हुनेछन्, तिनीहरुको पनि परीक्षा हुनेछ । मनमा यस्ता संकल्पहरु आउनेछन् र उछालिनेछन् जो नसोचेकै हुनेछ, किनकि मनमा ती दबिरहेका थिए, तपाईँले अंशसहित तिनीहरुलाई समाप्त गर्न सक्नुभएको रहेनछ । बाबाले यो पनि बताउनुभएको छ कि आसुरी दुनियाले के के गर्लान् ? प्राकृतिक प्रकोप पनि के के होला ? अणु-शस्त्र (Hydrogen bomb) आदि जो तयार भएका छन्, त्योबाट के हुनेछ ? यो पनि बताउनुभएको छ । तपाईँले यज्ञको इतिहासमा सुन्नु वा पढ्नुभएको होला कि जब ब्रह्माबाबालाई साक्षात्कार भयो विनाशको, अनि उहाँको आँखामा आँशु आयो, ‘वश् भयो, वश् भयो, भगवान, अब हजुरको सुन्दर रुप देखाउनुहोस् । यो मैले हेर्न सक्दैन ।’ कुनै पनि बाबुले आफ्ना बच्चालाई तड्पी तड्पी मरिरहेको देख्न सक्दैनन् । जतिसुकै कठोर दिलवाला बाबु भए पनि अथवा जीवनभर त्यस छोराले आफ्ना बाबुको एउटा पनि कुरा नमानेको होस्, जतिसुकै अनाडी आवारा होस् तर जब बच्चामाथि यस्तो हुन्छ, बाबुले हेर्न सक्दैनन् । त परमपिता करुणाका सागर, प्रेमका सागर, उहाँले कसरी हेर्न सक्नु हुन्थ्यो ! यसैले बाबाले बारबार भन्नुहुन्छ कि बच्चाको मेहनत मैले नदेखे पनि मेरा बच्चाहरुलाई धर्मराजले सजाय दिएको म हेर्न सक्दिन । यसैले बच्चा हो, पूरा पुरुषार्थ गर, पासविद अनर बन, धर्मराजको सजायदेखि दूर होऊ । यति बताउँदा पनि हामी उहाँको कुरा सुन्दैनौँ, उहाँले भनेको बाटोमा चल्दैनौँ भने हामी जस्ता अभागी यस दुनियाँमा को होला ?

बाबा भन्नुहुन्छ, ‘यिनी सब परीक्षाहरुमा पास हुनको लागि लगावमुक्त, क्रोधमुक्त, नष्टोमोहा हुनु पर्दछ ।’ मुख्यतया अन्तिम पेपर दुईवटा हुनेछन् । एक पेपर आत्माभिमानीको आउनेछ र अर्को पेपर नष्टोमोहा स्मृतिलब्धाको आउनेछ । यी दुवै अति अति अति प्रमुख र सूक्ष्म पेपरहरु हुन् । यदि अझै पनि तपाईँको मन कुनै देहधारीतर्फ जान्छ, उनीहरुतिरै लगाव-झुकाव छ, उनकै पछाडि बुद्धि भड्किन्छ भने अन्तिम समयमा मन अझै भड्किने छ । त्यस समय सहन गर्न कठीन हुनेछ । कोहीसंग पनि संवेदनशिल हुने, उनको सेवा गर्ने, सहयोग गर्ने अर्कै कुरा हो । कसैको राम्रोको लागि योग गर्ने, सहयोग दिने, यी त दैवी गुण हुन् । यो गर्नु पनि पर्छ, तर लगाव, झुकाव, मोह, ममता छोड्नैपर्छ । नाम, मान, शानको इच्छा छोड । नाम-मान-शानको पछाडि धेरै सेनाहरु छन् । नामको नै एक इच्छाको पछाडि धेरै इच्छाहरु खडा रहन्छन् । नामको इच्छाको तपाईँले विश्लेषण गर्नुभयो भने पत्ता लगाउनुहुनेछ कि मेरो नाम हुनु पर्‍यो, नाम पछि मलाई सबैले प्रशंशा गर्नुपर्‍यो, त्यसपछि सबले मलाई इज्जत दिनुपर्‍यो, स्टेजमा मलाई बोलाएर सबको सामुन्ने मलाई सम्मान गर्नुपर्‍यो, आदि, आदि । यो त इच्छाहरुको धेरै लामो साङ्लो बन्छ, जसको कुनै अन्त नै छैन । एउटा पूरा भयो भने अरु कैयौँ इच्छाहरु तयार भैसक्छन् । यो नाम-मान-शानको एकदमै खतरनाक बिमारी हो । यसैले बाबा भन्नुहुन्छ, ‘बच्चा हो, नाम-मान-शानको इच्छा छोडेर देह र देहका सम्बन्धीहरुबाट टाढा र बाबाको प्यारा बन । नष्टोमोहा स्मृति स्वरुप बन ।’

(पूण्यात्मा पुत्र परिशीलन ओलीमा समर्पित)

 1,311 total views,  1 views today

About Purna Oli

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top