आवरण-कुण्डबाहिरका एक मित्रलाई चिठ्ठी

 

श्री बाग्मतीज्यू
नमस्ते ।

आहा ! साह्रै खुशी लाग्यो । आफूसँग मित्रताको गाँठो कस्न चाहने अपरिचित व्यक्तिलाई योभन्दा बढी के सम्बोधन गर्नुपर्छ समझमा आएन । जम्काभेट हुनेबित्तिकै पृय, मित्र आदि सम्बोधन गर्नु उचित जचेन । फेक आइडिले निम्त्याउने जटिलताप्रति सचेत हुलमा आफूलाई पनि हुल्दै तपाईँको फेसबुक फ्रेन्ड रिक्वेष्ट देख्नेबित्तिकै रिमुभ गर्न खोजेको हुँ, रिमुभ ट्यागमा औँला जानुको साटो आइडि ट्यागमा क्लिक हुन पुग्दा तपाईँको प्रोफायल खुल्नपुग्यो र म तुरुन्तै तपाईँप्रति आकर्षित भैहालेँ । मेरो जिज्ञासा तपाईँको फेसबुक टाइमलाइनमा पोष्ट गर्नखोज्दा तपाईँको प्राइभेसी सेक्युरिटीले छेकिहाल्यो । फलस्वरुप तपाईँलाई सम्बोधन गर्दै यो परिचयपत्र मेरै टाइमलाइनमा पोष्ट गर्दै छु झिँजो नमानी सबै पढिदिनुहोला ।
मलाई यसरी प्रोपोजलको रुपमा आएको रिक्वेष्ट ‘फेक-आइडि’ हो कि भन्ने संशयलाई तपाईँको वेल म्यानेज्ड प्रोफायलले बढारिदियो । तपाईँका फेसबुक मित्रहरु चारहजारभन्दा बढी नाघ्नु, ती मित्रहरु केही लब्ध प्रतिष्ठित राजनीतिज्ञहरु, केही विशिष्ट तहका कर्मचारीहरु, केही प्रसिद्ध साहित्यकार, गीतकार र कलाकर्मीहरु हुनु र तपाईँका स्टाटसमा उनीहरुको पोजिटिभ कमेन्ट देखिनु फेक आइडि होइन भन्ने कुरामा म विश्वस्त हुने आधारहरु भएकोले तपाईँको प्रोफायल अरु खोतल्न मन लाग्यो । मैले तपाईँका टाइमलाईन फोटो र प्रोफाइल फोटो हेरेँ । तपाईँको ठेगाना हेरेँ । प्रोफायल फोटोमा बाग्मती नदीको फोटो राखी आफ्नो लिङ्ग खुल्ने अनुहार छिपाउँदै ‘बाग्मती’ नामको आइडि राख्नु सन्देहास्पद छ । तपाईँ अहिले अष्ट्रेलियाको कुनै निजी व्यवसायमा व्यस्त रहेको तपाईँका स्टाटसहरु र कमेन्टहरुले बोल्दछन् । नेपालमा हुने सामाजिक आर्थिक र खासगरी राजनीतिक घटनाक्रममा तपाईँको तात्तातो चासो रहेको देखिन्छ भने विदेशिएका नेपालीहरुप्रति चरम सहानुभूति देखिन्छ । तपाईँका दैनिकजसो निरन्तर पोष्ट भइरहेका इन्स्पाइरेशनल कोट्स पनि मन छुने खालका रहेछन् । यसर्थ तपाईँका पेज भिवर्सहरु पनि उल्लेखनीय नै हुनुपर्छ ।
उल्लिखित कुराहरुबाट के देखिन्छ भने तपाईँलाई मित्रता बढाउनुपर्ने कुनै खाँचो छैन । तपाईँको मेलबक्समा पनि तपाईँलाई क्वालिटीलेस लागेका थुप्रै फ्रेन्ड रिक्वेष्टहरु ‘कन्फर्म’ अर ‘रिमुभ’ को प्रतिक्षामा थन्किरहेका होलान् ।
यति हुँदाहुँदै पनि ज्ञातवश् वा अज्ञातवश् तपाईँले मलाई फ्रेन्ड रिक्वेष्ट पठाउनुभयो । मित्रताको कसीमा कसिनु (रिक्वेष्ट एसेप्ट) गर्नुपूर्व मैले केही उदाहरणसहित आफ्नो परिचयपत्र तपाईँलाई पठाउनै पर्नेभयो ।
यस पत्रको सार हुनेछः तपाईँले जे सोचिरहनुभएको छ त्यो म हुँदै होइन ।
परिचय आवरणबाट शुरु गरौँ कि गुँदीबाट ?
पहिलो नजर आवरणमै पर्ने हुँदा आवरणबाटै शुरु गर्न उपयुक्त होला । फेसबुकको माध्यमबाट जति पनि जस्तोसुकै पेजहरु क्रियट गर्न सकिन्छ । साहित्यिक पेजको एक उदाहरण लिउँ । माथिपट्टि आलटाले मुक्तक राखेर तलपट्टि लिपिष्टिक पाउडरमा सज्जित षोडषा यौवनीको फोटो राखिएका पोष्टहरुमा 1.9 k Likes पुगेको जोसुकै फेसबुक युजरहरुले देखिरहेकै हुन्छन् । त्यो मुक्तकबाट फोटो हटाइदिने हो भने कति के लाइक पाउला ? “आवरण होइन गुँदी चिनौँ” भन्ने खालका सन्देश दिने जतिसुकै इन्स्पाइरेशनल कोट्स राखे पनि हामी फेसबुक युजरहरु फेसबुकमा यसकारणले लिप्त छौँ कि हाम्रा सकारात्मक दैनन्दिनीहरुलाई लत्याएर हामी आवरण (फेस) कै पछि आँखा चिम्लेर दिनरात नभनी डुबिरहेका छौँ । जुकरवर्गले यसको न्वारान गर्दाकै नाम त्यसैले Face Book राखेको हुनुपर्छ । जुकरवर्गले Books लाई नै सर्वाधिक डुबाउने कुरा ठान्थेहोलान् । हामीकहाँ सर्वाधिक डुबाउने कुरा भनेको कुवा हुन्छ । तसर्थ फेसबुकको नेपालीकरण “आवरण-कुण्ड” राख्नु यथोचित होला ।
बेसले होइन फेसले झुक्किने फेसबुक फ्रेन्सको बानी हुन्छ । यही बानीले तपाईँ राम्रोसँग झुक्किएको हुनुपर्छ । अलि जोड दिएर भन्ने हो भने तपाईँ नराम्ररी झुक्किनुभो ।
आवरण परिचयको हिसाबले म एक सरकारी कर्मचारी हुँ भनेर धक फुलाएर भन्न सक्ने अवस्था छैन । केही कर्मचारीहरुको बासी व्यवहारले गर्दा कर्मचारीतन्त्र नै दुर्गन्धित ठानिन्छ । दुर्गन्धित भयो भन्ने को को हुन् भन्ने कुरातिर पसियो भने परिचय दिने अवसरको फेरो समात्न मलाई गाह्रो पर्नेछ भनेर म त्यतातिर लागिन । सर्पको खुट्टा सर्पले नै देख्छ भनेझैँ केही बासी कर्मचारीहरु पदमुक्त भएपछि कर्मचारीतन्त्रमा भ्रष्टाचार व्याप्त छ भनी विभिन्न दैनिक अखबारहरुमार्फत घाँटी सुक्नेगरी कराउन थाल्छन् । त्यो चिच्याहट राजनैतिक नेतृत्वको कानमा पुग्यो भने भ्रष्टाचार नियन्त्रणको लागि च्याउजस्तै उम्रिएका कुनै न कुनै सरकारी वा गैरसरकारी संस्थामा रोजगारी भेट्टाइहाल्छन् । अनि के हुन्छ भनिरहनु आवश्यक नै छैन वर्षेनी प्रकाशित हुने सिपिआइ हेरे पुगिहाल्छ । यस्तै तर रोजगारी भेट्टाइनसकेका एकजना मित्र छन् मेरा । मैले जानेबुझेसम्म उनी कर्मचारीजीवनप्रति वितृष्णा पलाएर अवधि नसकिँदै राजिनामा ठोकेका आँटिला पूर्वकर्मचारी हुन् । सुनेअनुसार उनी एकदर्जन जति आकर्षक अड्डामा र एकदर्जन जति अनाकर्षक अड्डामा अनुभव संगालेका व्यक्ति हुन् रे । कस्तो आकर्षक अड्डा भनी मसँग नसोध्नुहोला कुनै अड्डाको सरुवा मापदण्ड हेरे पुग्छ । केन्द्रीय सरकारी अड्डाले नै भ्रष्टाचार हुने अड्डाहरुको वर्गीकरण गरेर भ्रष्टाचारलाई संस्थागत गर्न अपूर्व भूमिका खेलिरहेका छन् । अहिले त आकर्षकको सट्टा सरुवाको चाप बढी हुने अड्डा भनिन्छ क्यारे । कुरा उही हो । सरुवाको चाप बढी हुने भनिदिएपछि कुरा नबुझ्नेहरुलाई स्पष्ट बुझाइदिएको छ र तिनै अड्डामा सरुवाको अरु चाप बढाइदिएको छ । यी मेरा मित्र पनि त्यस्तै कुनै एक केन्द्रीय अड्डामा काम गरे होलान् । मापदण्डरुपी हावागफ यी लगायतका केही सीमित कर्मचारीहरुले बुझेहोलान् । कसैलाई एकदर्जन वर्षहरुमा पनि प्राप्त नभएको यस्तो पुण्य कमाउन पाइने अवसर यिनीहरुको लागि एकदर्जन दिनहरुमै घुमिफिरी आइपुग्योहोला । अनि घरि अनाकर्षक घरि आकर्षक अड्डामा चक्कर मारे होलान् । आकर्षक अड्डा भन्नेबित्तिकै सार्वजनिक स्थलमा उम्रिएको हात्ती फल्ने रुख हुन्छहोला भनी नठान्नुहोला । आकर्षक अड्डामा विधि पुर्‍याएर देशै डुबाए हुन्छ तर विधि नाघेर देश बचाउनु जोखिमपूर्ण कुरा हो भन्ने मन्त्र घोक्नुपर्‍यो होला । त्यो मन्त्र घोक्न पनि मिनिमम् क्वालिफिकेशन चाहियोहोला । नयाँले हत्तपत्त त्यो क्वालिफिकेशन हासिल गर्ने कुरै भएन । क्वालिफेकेशनधारीहरुको पनि सेटिङ हुन्छ रे । सेटिङभित्र अर्को सर्कल हुन्छ रे । सर्कलभित्र पस्न पनि कडा मिहेनत गर्नुपर्‍योहोला । दर्जनौँ अड्डाहरुमध्ये कुनै अड्डामा काकतालीले सर्कलभित्रै छिरिसकेपछि त्यहाँ निर्माण हुने थप मापदण्ड बारे परिचित भयो होला र चित्त नबुझेको भए झोक चल्योहोला र राजिनामा ठोक्योहोला मेरो आँटिलो मित्रले । कर्मचारी छउन्जेल उसलाई कोचलगाँडो (जहाँगए पनि किचलो मात्र उठाउने कर्मचारीतन्त्रको घाँडो अर्थात किचलघाँडो ?) भन्थे रे । अहिले ऊ भ्रष्टाचार नियन्त्रणका हरेक आन्दोलनमा अग्रपङ्तिमा रहेको देखिन्छ । उसका अखबारमा छापिने भ्रष्टाचारविरोधी सन्सनीपूर्ण लेखहरु बजारमा खुब जोडतोडकासाथ महंगो मोलमा बिकिरहेका छन् । उसले सकभर भ्रष्टाचार निरोधक गतिलो जागिरी भेट्टाउने त्यो नभए राजनीति गर्ने इच्छा व्यक्त गरेको छ रे ।
त्यो मित्रभन्दा म अलि भिन्न प्रकारको हुँ भनेँ भने के तपाईँले मलाई विश्वास गर्नुहोला ?
यस्तै परिचय दिने क्रममा कतै नछुट्ने खालको मेरो अर्को एउटा घटना । एकजना हाकिमसाबलाई स्वागत गर्न पाउँदा म यसकारण खुशी थिएँ कि उनी मेरा अल्पपरिचित आवरणकुण्ड मित्र थिए । जब उनको कार्यकक्षमै साक्षात्कार भयो उनले जिल खाँदै भनेः मैले त तपाईँ झापाली हुनुहोला भन्ठानेको रुकुमेली पो हो ? निम्नस्तरका विषमकक्षीदेखि उच्चस्तरका समकक्षी कर्मचारीहरुका स्टाटसमा दिलचस्पि देखाउने हाकिमसाबले त्यो परिचयपछि मेरा स्टाटसहरुप्रति कहिल्यै दिलचस्पि देखाएनन् । मैले भने आफूलाई आवरणकुण्ड प्रयोगकर्ताको हिसाबले एकदमै भाग्यमानी ठानेँ यस मानेमा कि यदि मैले ‘पुर्न वली’ नाम वा आइडि राखेको भए मैले ठूलाठूला महानुभावहरुलाई झुक्क्याउने सामर्थ्य किमार्थ राख्दैनथेँ ।
तसर्थ तपाईँले सोचेको ‘पूर्ण ओली’ होइन म । म त ‘पुर्न वली’ पो हुँ ।
यस्तै अर्को घटना छ । अक्सर साहित्यकारहरु शुरुवातलाई विश्वास गर्दैनन् निचोडलाई विश्वास गर्छन् । सीमा पुगिसकेका मित्रहरु बाहेक मेरा पनि सीमामा पुग्न थालेका केही साहित्यकार मित्रहरु थिए र छन् । केही समयअघि मैले परिचित राजनेताहरुको सम्बन्धमा श्रृङ्खलावद्धरुपमा लेख्छु भनेँ र दुईचार घटनाहरु लेखेर पोष्ट गरेँ पनि । एकदुई स्टाटस पढ्दैमा केहीले कमेन्टमा कुवाच्यसहित राजनीतिक बिल्ला भिराउन तम्तयार भैहाले भने केहीले “ए, यो त फलानो पार्टीको पो रहेछ !” भन्ने निचोड निकाल्दै परपर सर्दै पानी बार्ने साहित्यकार मित्रहरु पनि फेला परे । मेरा साहित्यकार मित्रहरु छन् भन्दैमा म साहित्यकार हुने र मेरा राजनीतिक मित्रहरु छन् भन्दैमा म राजनीतिज्ञ हुने कुरै हुँदैन । आफैले सिकाउँदा निचोडसम्मै पुग्नुपर्छ भन्ने तर आफूले पढ्दा शुरुमै निचोडमा पुगिहाल्ने साहित्यकारहरुभन्दा म अलि बेग्लै प्रकारको हुँ । मेरो कदअनुसार मसँग जुध्न आउने घटना पनि सानै हुन्छन् र ती साना घटनाहरुलाई ठूलो तुल्याएर ओकल्न खोज्छु वश् त्यति मात्र हो ।
तसर्थ यदि मलाई साहित्यकार सोच्नुभएको हो भने तपाईँले सोचेको जस्तो साहित्यकार म हुँदै होइन । म आफूलाई सहितकार (अर्थात् निश्चित समूहको मात्र हित चाहने व्यक्ति होइन कि सबैको हित चाहने) भनी चिनाउन चाहेँ भने के त्यस रुपमा मलाई चिन्नुहोला ?
तपाईँलाई लाग्न सक्छ यस मानवजगतमा कदअनुसारका पनि घटना हुन्छन् कहीँ ? भोग्नेलाई नै यी कुरा थाहा हुन्छ । आवरणकुण्डमा कसैको कद कसैलाई हत्पत्ति थाहा हुँदैन । सबैले आफ्नो निच कद लुकाउँदै उच्च कद प्रदर्शित गर्न खोज्छन् । कसैले निच कद देखाइहाल्यो भने देख्नेहरु हाहाहाहाहाहा गर्दै पेट मिचिमिचि हाँस्छन् । सडकको खाल्डा, ढुङ्गा वा अरु कुनै भौतिक कारणले कुनै व्यक्ति लड्न पुग्यो भने तपाईँका साथीहरु गडडडडड हाँसेको देख्नुभएकै होला । अरुको कमजोरीमा हाँस्न सक्नु नै सबैभन्दा बुद्धिमतापूर्ण उचाइ प्रदर्शन हो भलै भोग्नेले निचता प्रदर्शन गरेको ठानोस् ।
यो भने आवरणकुण्डको नभई यथार्थ घटना हो । पछिल्लो समयमा म स्वतन्त्र र ठूलो मानिने एउटा अड्डामा कार्यरत थिएँ । म भक्तपुरबाट सरकारी कर्मचारी बोक्ने गाडीमा एक घण्टाभन्दा बढी समय लगाएर काठमाण्डौस्थित अड्डा पुग्थेँ । मलाई त्यस अड्डाका समकक्षी वा विषमकक्षी मित्रहरुले गाडीमा चढ्दा, ओर्लँदा सधैँ हाँसोको पात्र बनाइरहन्थे । त्यति मात्र होइन कसैसँग कुरा गर्दा, काम गर्दा या मैले जे गर्दा पनि उनीहरु गलललल हाँस्ने गर्दथे । मेरा पहाडिया शब्दहरु हाँसोका विषय बन्थे । मेरो लवज हाँसोको विषय बन्थ्यो । मेरो लवाइखवाइ हाँसोको विषय बन्थ्यो । अड्डामा झुण्ड्याइएका लैङ्गिक इकाइ बोर्ड, गुनासो सुनुवाइ बोर्डले पनि गिज्याएर हाँसेझैँ लाग्दथ्यो । कारण के हो भनी सोध्दा कसैले जवाफ नदिए पनि यो सबै कारण मेरो फरक कदले नै हो भन्ने बुझ्थेँ र चित्त बुझाउँथेँ । जसको मारवश् करिब दुई वर्षको अवधिभर म न त अड्डामा न त परिवारमा फ्रेस भएर बस्न पाएँ । परिवारमा सधैँ “जाँड धोकेर आउनुभो कि ?” भन्ने खोजिनितिको शिकार बनिरहेँ । नयाँ संविधानका सबै प्रकारका विभेदहरु वर्जित गर्ने उद्घोषहरु र दीर्घकालीन योजनाले न्यायपूर्ण समाजको स्थापना गर्ने सोचहरु त्यस अड्डाले पनि रणनीतिक योजना बनाई अवलम्बन गर्ने कसरत गरिरहेको थियो । सिद्धान्त र व्यवहारबीच कति गहिरो खाडल हुन्छ भन्ने यो एउटा तुच्छ उदाहरण मात्र हो ।
तपाईँको सानो एउटा गल्तीमा कोही हाँसिदिँदा तपाईँको मन कत्तिको जल्छ कहिले अनुभूति संगाल्नुभएको छ ? तर मैले यस्तो हाँसोको सामना लगातार ६०० दिनभन्दा बढी झेल्नुपर्‍यो । कदका कारणले गर्दा दिनहुँ सानातिना घटनाहरुसँग जुधिरहनुपर्ने मेरो अद्यापि भाग्य बनेको छ । तसर्थ सामाजिक हैसियतमा म एक हाँसोको पात्र मात्र हुँ ।
एक समय यस्तो थियो म चरम पीडाले गलिरहेको थिएँ । मैले आँशु थाम्न जति कोशिस गरे पनि सक्दैनथेँ । त्यो पीडामा साथ दिने सयौँ मित्रहरुको बीचमा हाँसोमा उडाइदिने केही मित्र पनि भेटिए । विडम्बना मान्नुपर्छ त्यस्तै महानुभावहरुमा सम्मानको ठूलो अपेक्षा रहेको पाएँ ।
एकजनासँग ख्यालख्यालै मित्रता गाँसिन पुग्यो । यस मित्रतालाई घनिष्ठ तुल्याउन नजिकको नाता नै गाँसिएको नाटक गरे उनले । र त्यही नाताले हामी नजिकिँदै गयौँ । उनकोमा र मेरोमा हामी दुवैको आवतजावत बढ्दै गयो । यसै बीचमा कहाली लाग्दो विषम परिस्थिति सिर्जना भइदियो, मैले अन्याय अनुभूति गरिरहेको थिएँ । त्यस परिस्थितिमा मेरो उनीप्रति आडभरोसा हुनु स्वाभाविक थियो । मैले धेरैसँग सहानुभूति र सहयोगको अपेक्षा गरेको थिएँ । तर उनले नजिकको साइनोको फाइदा उठाउँदै यसरी प्रस्तुत भए कि त्यस परिस्थितिको विरोधमा बोल्नखोज्ने मेरो मुखमा बुजो हालिदिए । हेर्न खोज्ने आँखामा कसिँगर हालिदिए । हारगुहार गर्न खोज्ने मेरा हात काटिदिए र त्यस परिस्थितिको सत्यताको नजिक पुग्न खोज्ने खुट्टै भाँचिदिए । मित्रताको परिवर्तित रुप यतिसम्म भयंकर होला भन्ने कल्पना नै गरेको थिइन मैले । यसका प्रमाणहरु कुनै लेखनीमा जस्ताको तस्तै पस्कने प्रतिक्षा गरिरहेको छु मैले ।
अतः आफू रुँदा हाँस्ने र आफू हाँस्दा रुनेहरुदेखि टाढै रहन खोज्ने सामाजिक प्राणी हुँ म ।
उल्लिखित कुराहरु आवरणका कुरा हुन् । गुदीको कुरा अलि फरक छ ।
मैले मानवीय गुदी दुई प्रकारका देखेको छु ।
बूढापाकाले भन्ने गरेको कुरा एक हिसाबले ठीकै लाग्छ । उनीहरु भन्ने गर्दथे आङ धेरै खोस्रियो भने मल मात्र भेटिन्छ । यस हिसाबले म एकथैला मल बोक्ने भरिया हुँ । बाँकी अरुलाई पनि मल बोक्ने भरिया नै ठान्दछु । जसले जतिसुकै राम्रो भोटो लगाए पनि मच्छिन्द्रनाथको भोटो बाहेक अरुको भोटो संरक्षण गरेर प्रदर्शनी स्थलमा राखेको देखेसुनेको छैन । त्यस्तै पशुपन्छीको मल बाहेक मान्छेको मललाई पनि सर्वोत्कृष्ट, उत्कृष्ट, साधारण र निकृष्ट भनी वर्गीकरण गरेको र प्रदर्शनीमा राखेको सुनेको छैन । आवरणमा जो जसले म उच्च कोटीको हुँ भने पनि गुणस्तरीय मलका हिसाबले सबै मान्छे बराबर हौँ भन्ने ठान्दछु । प्रत्येकले बिसर्जनको गन्तव्यसम्मको लागि आफ्नो पेटको थैलीमा एक थुप्रो मल (गुहुमुत) बोकेकै हुन्छौँ । बरु उच्च कदवालाले उच्च परिमाणमा र निम्न कदवालाले थोरै परिमाणमा मल बोकेका हौँला वा थोरै आयु हुनेले थोरै समयसम्म र धेरै आयु हुनेले धेरै समयसम्म मलको भरिया बन्नु बाहेक अरु के पो गरेका छौँ र ?
ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालयमा पढाइ हुने एउटा मर्मश्पर्शी कथा छ । कुनै एक यात्रीका तीनजना मित्रहरु हुन्छन् । एकजना अत्यन्तै घनिष्ठ मित्र हुन्छ जसले जीवनभर एकछिन पनि साथ छोडेको हुँदैन । दोस्रो दिनदिनै भेट हुने र परिआउँदा काम लाग्ने मित्र हुन्छ । तेस्रोचाँहि कहिलेकाँहि भेट हुने तर तत्कालै महशुश नहुने र नदेखिने काममा सहयोग मात्र गर्ने मित्र हुन्छ । एकपटक त्यस यात्रीको लागि जीवनभरकै सबभन्दा ठूलो समस्या आइपर्छ । त्यस यात्रीले सबभन्दा पहिले घनिष्ठ मित्रलाई गुहार्छ । पहिलो मित्रले साथ दिन ठाडै अस्वीकार गरिदिन्छ । अनि त्यो यात्री दोस्रो मित्रकहाँ पुग्छ र साथ दिन आग्रह गर्छ । दोस्रो मित्रले ढोकासम्म जान साथ दिनसक्ने तर त्यसभन्दा पर साथ नदिने कुरा सुनाउँछ । दोस्रो साथीबाट पनि आफ्नो समस्या समाधान हुने नदेखेपछि त्यो यात्री मन नलागी नलागी तेस्रो साथीकहाँ पुग्छ र साथ दिन आग्रह गर्छ । तेस्रो मित्रले हरेक समस्यामा साथ दिन सहर्ष स्वीकार गर्दछ ।
तपाईँले बुझिसक्नुभयो होला । उल्लिखित यात्री भनेको ‘आत्मा’ हो । आत्माको कुनै रुप नहुनेभएकोले वर्गीकरण पनि सम्भव छैन । आत्माले यस संसारमा एक यात्रीको भूमिका निभाइरहेको हुन्छ । उसलाई अन्तिम समयमा संसारबाट विदा लिनुपर्ने हुन्छ । यो आत्मारुपी यात्रीमा आएको स्वाभाविक तर सर्वाधिक महत्त्वपूर्ण समस्या हो । आत्माको पहिलो मित्र भनेको उसको शरीर हो । तर यात्राको अन्तिम क्षणमा शरीरले साथ छोडिदिन्छ । दोस्रो मित्र भनेका नातागोता इष्टमित्र छरछिमेकी आदि हुन् । शरीर लम्पसार परिसकेपछि पनि उनीहरु घाटसम्म पुगेर साथ दिन्छन् । तेस्रो मित्र हाम्रो संस्कार हो । संस्कारले आत्मालाई अन्तिम समयपछि पनि साथ दिइरहन्छ ।
अतः आङ खोस्रिँदा मल होइन आत्मा भेटिनुपर्छ । दोस्रो प्रकारको गुँदी यही हो ।
हामीहरु फाट्टफुट्ट सानोतिनो यात्राको लागि अघिल्ला केही दिनहरुबाटै पूर्व तयारी गर्न थाल्दछौँ । के के सामान लाने ? कस्ता कपडाहरु लाने ? सामलतुमल के लाने ? आदिको चाँजोपाँजो मिलाउन थालिहाल्छौँ । तर जीवनयात्राको अवश्यम्भावी अन्तिम र नितान्त एक्लो यात्रामा के लाने भन्ने विषयतिर परवाह नै गर्दैनौँ । अन्तिम यात्रामा संस्कार बाहेक आफूसँग लान मिल्ने कुरा अरु के नै पो हुन्छ र ? उल्लिखित उदाहरणहरुमा वर्णित लोभ, अहंकार, बेइमानी, क्रोध, मोहलाई नै अन्तिम यात्राको क्रममा साथमा लैजानु कत्तिको फलदायक होला ?
उल्लिखित सम्बन्धमा धार्मिक वा वैज्ञानिक बहसको निचोड पृथक हुन सक्ला तर संस्कार सिक्नु मानवोचित आधारभूत आवश्यकता हो । मलाई यस्तै संस्कार सिक्ने र सिकाउने मित्रहरुको खाँचो छ ।
आवरणकुण्डमा डुब्न थालेपछि संस्कार सिकाउनेहरुको खाँचो हुँदैन । एकसे एक फेसबुक फ्रेन्डहरु छन् अरुलाई संस्कार सिकाउन दख्खल राख्नेहरु । तर जुकरवर्गको विशाल आवरणकुण्डमा सिक्नेहरु भने विरलै पाइएलान् । मानौँ संस्कारका अनगिन्ति डोरीहरु आवरणकुण्डमा झुण्डिरहेका हुन्छन्, कपि गर्‍यो, पेष्ट गर्‍यो वश्, संस्कार सिकाइहलिन्छ । संस्कार जस्तो नितान्त निजात्मक कुरा पनि कपि पेष्टमा सिमित तुल्याउन क्षमता राख्ने वाह आवरणकुण्डका मित्र ! मान्नैपर्छ तपाईँलाई ।
यदि तपाईँले आफूले सिकेर नै अरुलाई सिकाउन खोजिरहनुभएको हो भने तपाईँ धन्यवादका पात्र हुनुहुन्छ । त्यो संस्कारले तपाईँको अन्तिम यात्रामा तपाईँलाई नै साथ दिनेछ । साथसाथै अरुहरुको संस्कारमा पनि अभूतपूर्व परिवर्तन ल्याइदिनेछ ।
हामीले आफ्नो आवरण जतिसुकै सफेद राख्न खोजौँ त्यो कुरा अरु मित्रहरुबाट जाँचिइरहेको हुन्छ । हामीले एकपटक देखाएको कालो आवरणको छायाँ भोग्ने मित्रहरुका मनमष्तिष्कमा गढेर रहेको हुन्छ । हामीले खोजीखोजी सेल्फी खिँचेर भएपनि राम्रा आकर्षक फोटोहरु छान्छौँ र फेसबुक वालमा पोष्ट गर्न हतार गरिहाल्छौँ अनि भन्ठान्छौँ कस्तो राम्रो अनुहार देखायौँ र मख्ख पर्छौँ । अनि लाइक कुरेर घण्टौँ डुब्छौँ र डुब्दैजान्छौँ । तर देख्नेले त कालै देखिरहेको हुनसक्छ । तपाईँलाई गुणस्तरहिन मलको एक भरिया बाहेक बढी केही नदेखेको हुनसक्छ । संस्कार सफेद छ भने जतिसुकै रद्दी फोटो किन नराख्नुहोस् देख्नेले सफा र सफेद नै देख्नेछ ।
तसर्थ मेरो आग्रह छ, बाग्मतीजी, मेरो आवरण हेरेर मात्र फ्रेन्ड रिक्वेष्ट नपठाउनुहोस् । मेरा आवरणसँग मिल्ने थुप्रै आवरणहरु तपाईँको मेलबक्समा नै थन्किएर रहेका छन् । बरु मेरो आचरणसँग मिल्ने आचरण आवरणकुण्डमा खोजेर हेर्नुहोला । अतः यो मेरो परिचयपत्र पढिसकेपछि पुनः रिक्वेष्ट पठाउनुभयो भने मैले पनि मेरो परिचयलाई एसेप्ट गरेको ठान्नेछु र अनि मात्र तपाईँको रिक्वेष्ट एसेप्ट गर्नेछु भन्ने वाचा गर्दै अहिलेलाई तपाईँको पहिलो रिक्वेष्ट रिमुभ गर्दैछु नरिसाउनुहोला ल ?
पत्र पढिदिएकोमा धन्यवाद् ।

तपाईँको सम्भावित आवरणकुण्ड मित्र
– पुर्न वली

122 total views, 2 views today

Leave a comment

Your email address will not be published.

*