आमको आशा

खरका छाप्रा धेरै र थोरै पक्की घरहरुले मध्यपश्चिमतिरको रक्षाचौर नाउँको गाउँ सुशोभित छ । ती घरहरुमध्ये एउटा पक्की घर चुरामणि थापाको हो । चुरामणि त्यस गाउँका भू.पू. प्रधानपञ्च । उनलाई रैथानेहरुले माइलाकाजी भनेर बोलाउँछन् । सायद घरका माइला छोरा हुँदा हुन् । उनको बारीमा विभिन्न जातिका आँपका बोटहरु छन् । ती विभिन्न जातिका आँपहरुमध्ये चैत्रदेखि असोजसम्म विभिन्न मौसममा कुनै न कुनै जातिको आँप फलेकै हुन्छ, पाकेकै हुन्छ । आँप पाकेको मीठो बासना वरपरसम्म फैलिरहन्छ महिनौँसम्म । माइलाकाजीले आफ्नो राजनीतिक जीवनको साथसाथै आँपहरु विक्रि गरेर नाम र दाम दुवै मनग्गे कमाएका छन् । माइलाकाजीले आमै-आम कमाएको सोच्दछ पहारे कान्छोले ।

माइलाकाजीको घरको कम्पाउण्डको पश्चिमपट्टि अलिकति पर एउटा सानो झुपडी छ । त्यस झुपडीमा पहारे कान्छोको परिवार बस्छ । अर्काको काम गरे मात्र हातमुख जोड्न सफल हुने एक गरीब किसानको परिवार । ऊ र उसका आधा दर्जन छोराछोरी आँप भन्यो कि भुतुक्कै हुन्छन्, सायद माइलाकाजीको बारीबाट आँपको बासना चोरेर चलेको बतासले होला । त्यसो त माइलाकाजीको घरबाट मसलेदार तरकारीको बासना, तिलकी चामलको भातको बासना, कहिले देशी मदिराको बासना पनि चल्छ र पहारे कान्छालाई थोरबहुत प्रभावित नगरी छाड्दैन । पहारे कान्छाले मीठो आँपलाई आम भन्छ र अमिलो आँपलाई अमराई भन्छ ।
पहारे कान्छो एकाबिहानै कामको खोजीमा भौँतारिन्छ । देख्दा कान्छो होइन उसको मैलो धोतीको फेरको फुर्को भौँतारिइरहेको जस्तो लाग्छ । एकै ठाउँमा र एकै प्रकारले । एकथान च्यातिएको र मयलले कटकटिएको भोटो र कम्मरदेखि घुँडामाथिसम्म एक सरो वर्षौँ पुरानो धोती उसका आभुषण हुन् । धोतीलाई उसले धरो भन्छ । यही धरो उसको पहारे हुनुको पहिचान हो ।
ऊ बिहानै माइलाकाजीको मजबुत गेट ढकढक्याइहाल्छ । माइलाकाजीको घरको मीठो आम चाख्ने निहुँले केही काम छ कि भन्दै । त्यहीँ काम पाइहाल्यो भने दामको सट्टा आम नै थाप्छ धरोमा । यसको मतलब ऊ अछुत होइन । माइलाकाजीको घरमा काम पाएन भने अरु आठदश घर पनि चाहार्छ र कुनै न कुनै घरमा काम पाइछोड्छ । कुनै काम नपाए पनि भाँडा धुने काम सजिलै पाउँछ उसले । सो वापत उसले कम्तीमा एक घरको पाँच रुपैँया पाउँछ । पाँचवटा घरमा काम गरेमा पच्चीस रुपैँया आउँछ । पच्चीस रुपैँया मध्ये पन्ध्र रुपैँयाको माइलाकाजीको बारीमा फलेका दुईवटा आम किन्छ र बाँकी दश रुपैँया पाँचजनाको परिवारको लागि पुगअपुग हुन्छ । ती आम पहारे कान्छोको परिवारमा ठूलै भोजसरी बाँडचुँड हुन्छ । घरमा आम पुर्याएको दिनमा उसको परिवार औधी खुशी हुन्छ ।

उसले चाखेर आम किन्दैन । घरमा पुगेपछि मात्र थाहा पाउँछ उसले किनेको आम हो कि अमराई हो भनेर । कहिले आमको सट्टा अमराइ पर्यो भने गुनासो गरिहाल्छ, “मैले खोजेको अमराइ होइन साउजी आम हो । फेरि पनि अमराइ परेछ ।”
यो सुनेर काजीले उसलाई हप्काउँछन्, “के भनेको त्यो आम र अमराइ ? मेरो बारीमा आँपको बोट मात्र लगाएकोले आँप मात्र फल्छ । तैँले अमराइ भनेको नपाकेको आँप पर्यो होला नि त ।”
एक दिनको कुरा हो पहारे कान्छाले माइलाकाजीको घरमा काम पाउँदैन, तर साइँलाकाजीको घरमा काम पाउँछ । बारी जोत्ने काम । बारी जोत्ने काम पाएमा घटीमा १०० रुपैँया पाउँछ । बारीको काम सकेर घर फर्किँदा साइँलाकाजीको घरमा आँपको बासना उसको र्याल चुहाउने गरी हरहरि फैलिन्छ । उसले एक टुक्रा चाख्न बिन्ति टक्राउँछ साइँलाकाजीलाई । फलस्वरुप साइँलाकाजीबाट पाएको आँपको स्वाद बेहद मीठो लाग्छ उसलाई । अनि त्यस दिनको ज्यालाको सट्टा आम नै माग्छ र आधा दर्जन आम लिएर घर फर्किन्छ । उसका छोराछोरीलाई पनि त्यस दिनको आमले तहल्का मच्चाइदिन्छ । अनि त के चाहियो र ! अब उसका छोराछोरीहरुलाई पनि त्यही मीठोवाला आम नभइनहुने भयो ।

पहारे कान्छो अब हरेक दिन काममा जाँदा माइलाकाजीकै घरकै आँगनमा घण्टौँ टुक्रुक्क बसिरहन्छ । माइलाकाजीको परिवारले आज काम छैन अन्तै जा किन नभनून् । माइलाकाजीको मन पगाल्न अनेक उपाय रच्छ, जस्तैः “साउजी आज बरु कमै ज्याला लिन्छु । दिनभरि काम गरेको चार दाना मात्र आम दिनुहोला । मबाहेक मेरो घरमा चारजनाको मात्रै परिवार छ ।”
कुनै उपायले पनि काम नगरेपछि मात्र अन्त काम खोज्न जान्छ पहारे कान्छो । उसलाई गुलियो आमले मोहनी नै लगाएझैँ भएको छ । काम पाए कामको सट्टा आम र काम नपाए दामको सट्टा आम माग्छ धरोको फेरमा माइलाकाजीसंग । ऊ आम पाउनु पहिल्यै भन्न बिर्सँदैनः “अमराई होइन है साउजी, साइँलाकाजीलाई दिनुभएजस्तै आम चाहिन्छ मलाई । बरु दाम बढी नै तिर्छु ।”
उसको हरेक दिनको माग साइँलाकाजीको घरमा चाखेजस्तो आम । तर मरिगए उसले त्यही स्वादको आम चाख्न पाउँदैन धेरै दिनसम्मको पर्खाइमा पनि ।

साउनको अन्तिम अन्तिमतिरको एकदिन । स्थान माइलाकाजीको घर । प्रमुख पात्रः पहारे कान्छो । अन्य
पात्रहरुः माइलाकाजीका बच्चाहरु मात्र । यही मौका छोपी उनीहरुलाई फकाएर डायलग बोल्छः “बाबु, तिम्रो घरमा सबैभन्दा गुलियो आम फल्ने रुख कुनचाँहि हो ?”
बच्चाहरुले खुलस्त भनिदिए ‘बारीका सबभन्दा पछिल्ला ४ वटा बोटमा मात्र सबभन्दा गुलियो आँप फल्छन् । ती आँपहरु घरभित्रका परिवारको लागि नजिकका आफन्त र कहिलेकाँही बाबाभन्दा पनि ठूला मान्छेलाई कोशेली लाँदा मात्र टिपिन्छन् । त्योभन्दा अघिल्ला लहरका आँपहरु बेचबिखनको लागि प्रयोग हुन्छन् । अघिल्ला लहरका आँपहरु माग्न आउनेहरुको लागि मात्र हुन् । त्यस्ता मान्छेहरुलाई गुलियो आँपमा चोखे लाग्छ भनेर अमिलो आँप नै दिइने गरिन्छ ।’
उसले आजको नाटकबाट गुलिया आमका रुख पत्ता त लगायो । तर बच्चाहरुको जवाफले मन्थनियो भनौँ कि रन्थनियो भनौ, एक्लै डायलग फतफताउँछः ‘आफूले पैँसा हालेर किनेको आम पनि किन माग्न आउनेको लागि छुट्टयाइएका वर्गमा पर्छन् ? किन चोखे लाग्ने भनिएका आम दिइँदैन आफूलाई ? उसले मागेर त खाएको होइन नि । कि कामको ज्याला स्वरुप मागदावी गरेको हो कि त दाम तिरेवापतको मोल हो आम । किन ? किन ? आखिर किन ? हो त नि उसलाई हरेक दिन दिइने आम कि पहिलो लहरका कि दोस्रो लहरका हुन्थे । अन्तिम लहरसम्म माइलाकाजी पुग्दैपुग्दैनथे ।’

अर्को दिन माइलाकाजी कामको सिलसिलामा केही दिनको लागि बाहिर जानुपर्ने हुन्छ । यो सुइँको पहारे कान्छाले पनि पाइहाल्छ । उनी निस्किएपछि घरमा भएको खुद्राखाद्री खोजखाज गरी बीस रुपैँया पुर्याउँछ र जान्छ माइलाकाजीको घरमा आम किन्न । उसले पहिल्यै भन्छः “मलाई सबभन्दा पछाडिको रुखमा फलेकै आम चाहिन्छ ।”
“किन नि ? ए पत्ता लगाइस् पछिल्लो रुखमा के फल्छ भनेर पनि ? फटाहा कहिँको । ल, ल, भैगो पछिल्लै रुखको आम टिपिदिउँला ।” भन्दै जेठी कजिनीले उसले भनेकै रुखको आम टिपेर दिन्छिन् । ऊ रमाउँदै घर फर्किन्छ । घर पुगेर बाँडचुँड गरी “चियर्स !!” भन्दा पो थाहा पाउँछ कि ती आम त कुहिएर बिग्रनै आँटेका पो रहेछन् । अनि सब आम फ्याँकिइन्छन् ।
फेरि अर्को दिन जेठी कजिनी पनि नभएको मौका पारी माइली कजिनीबाट सोही रुखको आम किन्छ । पाउँछ पनि । घरमा पुगेपछि पत्तो लाग्छ कि ती आम अलि काँचा नै परेछन् अमराइभन्दा पनि अमिला ।
अर्को दिन कान्छी कजिनी मात्र भएको मौका पर्खिन्छ र आम किन्न जान्छ । ती आम पनि कीराले खाएको परेकोले पहिलेको जस्तो उसले गुलियोपनाको स्वाद लिन सक्दैन ।

गाउँमा जेठा काजीको घर पनि छ त्यही गाउँमा भन्ने कुरा उसले पहिल्यैदेखि सुनेको हो । त्यति मात्र होइन गाउँलेलाई अन्याय वा पीरमर्का परेको बखत जेठाकाजीले उचित न्याय दिन्छन् भन्ने पनि सुनेको हो । तसर्थ उपाय सुझ्छ अब उजुर नगरी भएन । अतः हारगुहार गर्दै जेठाकाजीको घरमै पुग्छ र भन्छ, ‘मलाई दया गर्नुस् प्रभू, न्याय चाहियो, मैले गुलियो आमको लागि पैँसा तिरे पनि माइलाकाजीका परिवारले अमराई नै दिएकोले मलाई अन्याय परेको छ ।
पहारे कान्छोका आमको इतिबृतान्त सुनेपछि जेठाकाजीले ‘भोलि बिहानै माइलाकाजीको घरमा आउनु र न्याय त्यहीँ दिलाइदिन्छु भन्छन्’ । ऊ खुशी हुँदै आफ्नो छाप्रोमा फर्किन्छ ।
घरमा पुगेपछि आफ्ना सबै परिवारलाई आफ्नो जीत हुने कुरा सुनाउँछ । त्यसको फैसला भोलि हुने बताउँदै आजसम्मको आफ्नो परिवारको आशा पक्का पनि पूरा हुने विश्वास दिलाउँछ ।

भोलिपल्ट बिहानै पहारे कान्छो माइलाकाजीको घरमा पुग्दछ । ऊ पुग्दा नपुग्दै जेठाकाजी पनि आइपुग्छन् उनको पछिपछि अरु गाउँलेहरु पनि एकेक गरी आउँछन् । जेठाकाजी आइपुग्ने बित्तिकै पहारे कान्छालाई आदेश दिन्छन्ः “आइस् ? जा आफै रुखमा चढ् । तँलाई जुन रुखको आम मन पर्छ, त्यही रुखको आम टिपेर लैजा । एउटा रुखमा एउटा आम मात्र चाख्न पाउनेछस् । जा, जा चढ् ।” जेठाकाजीले आफ्नो वृद्ध स्वर र लठ्ठी हल्लाउँदै आदेश दिन्छन् । यो हल्लाखल्ला सुनेर माइलाकाजीका परिवारहरु पनि बाहिर आउँछन् । अनि अन्यौलमा परेर तमाशा हेरिरहन्छन् । जेठाकाजी पनि त्यो समूहमा भएकोले केही प्रतिक्रिया व्यक्त गर्न सक्तैनन् ।
पहारे कान्छो शुरुमै पछिल्लो लहरका रुखहरुको नजिक पुग्छ र हेर्छ । ती चारवटा बोटहरुमा एउटा पनि फल हुँदैनन् । बीचका रुखमा चढ्छ । बीचका रुखमा आम त छन् तर पाकेर बिग्रिसकेका छन् । अघिल्ला रुखहरु उसको भाषामा ‘अमराई’ मात्र छन् ।
उचित न्याय पाउँदापाउँदै पनि उचित न्याय नपाएसरी भएकोले उसलाई भाउन्न भएर आउँछ । आफ्नो परिवारको आशा सम्झिन्छ र क्वाँ क्वाँ रुन थाल्छ ।

उसको रुवाइ सुनेपछि एउटी वृद्धा खोक्दै लौरो टेकेर बाहिर निस्किइन् र भनिन्, “नरो बाबु, नरो, यी आम न तेरा लागि थिए, न यिनीहरुका लागि थिए । यिनीहरुका बाबुको मृत्यू हुनुअघि छोराहरुलाई भन्नुभएको थियो कि, ‘यी आम तिमीहरुकी आमालाई मात्र दिनु । तिम्री आमाले नै समन्यायिक रुपले जो जसलाई दिनुपर्ने हो दिनेछिन् । यो गाउँका हरेक घरपरिवारलाई यी आँप चखाउनेछिन् ।’ तर उहाँ बितिसकेपछि यी आँपहरु मैले पनि चाख्न पाएकी छैन र अरुलाई पनि चखाउन पाएकी छैन । यिनीहरुकै स्वार्थले गर्दा यिनीहरुकै लोभ-पापले गर्दा । यी पाकेका आँप जो टिप्न रुखमा चढ्छ, उसैले आफ्नो थैली भरेर लान्छ । यिनीहरु सबैले त्यही गर्नेगरेका छन् । यो टाइमको कुरा हो अर्थात् आँप पाक्दै गर्दाको समयको कुरा । तैँले पाक्ने समय गुज्रिसकेपछि न्याय मागिस्, अब कुटाइममा के को पाउँथिस् ? मैले यी आम फुल्दादेखि फल्दासम्म पाइहाल्छु कि भनी आशा गरिरहन्छु, आशा लाग्छ यिनीहरुले एक न एक दिन आफ्नो बाबुको आज्ञा शिरोपर गर्नेछन्, तसर्थ यिनै बोटहरुलाई हेरिरहन्छु हरेक वसन्तदेखि शरद ऋतुसम्म । अँहँ मेरो आशा कहिले पनि पूरा भएन । तैँले पाकिसकेपछि मात्र आशा गरेर के को न्याय पाउँथिस् ? यिनीहरुले मेरो आँखामा छारो हाल्न घरको न्याय र प्रशासनको छुट्टै संयन्त्र र मापदण्ड नै खडा गरिसकेका छन् । तैंले आफ्नो गुमेको दामको मोलको आशा गरेको छस् तर मैले गुमेको अमूल्य वचनको कुरा गर्दैछु । तँलाई क्षतिपूर्ति दिलाउन सकिन्छ तर मेरो त त्यो आशा पनि छैन ।”

यो सुनेर उपस्थित सबै जिल्ल परे । ती वृद्धा हजुरआमाको दीर्घ आशाले सबैलाई स्तब्ध पारिदियो । यस जवाफले पहारे कान्छाको आशा र आँशु दुवैनै सुकाइदियो ।

808 total views, 2 views today

Leave a Reply

Your email address will not be published. Required fields are marked *