Free songs
Home / संस्मरण / आफन्त

आफन्त

आज मेरो पारिवारिक निकट सम्बन्ध भएका महत्त्वपूर्ण व्यक्तिहरुको महत्त्वपूर्ण दिन रहेछ । एकजना, मेरो संगिनीआमाकी बुहारीः मेरो आदरणीय भाउजू मिठ्ठू मल्ल । अर्का, मामाका छोराः मेरो स्नेही भाइ अनिल शर्मा ।

दुवैजना आ-आफ्नो क्षेत्रमा महत्त्वपूर्ण जिम्मेवारी सम्हालिसकेका व्यक्तिहरु । अरुलाई चिनाउँदा गर्व लाग्नुपर्ने हो कि म फलानो मन्त्रीको देवर हुँ, म फलानो अध्यक्षको दाइ हुँ भनेर । तर मैले त्यस हिसाबले कहिल्यै गर्व गर्दिनँ । उहाँहरु आफ्नै मान्छे हुनुहुन्छ भन्दा अरुले केही भन्ला कि भन्ने कुनै संशय रहँदैन । किनकि उहाँहरुको ती जिम्मेवारीहरुले ढाक्नसक्ने छाँयलको परिधिबाट म सधैँ टाढै छु ।

यी व्यक्तित्वका गुणहरु मेरो नजरमा उस्तै उस्तै लाग्छन् । उहाँहरुसँग आफ्ना कुरा राख्दा सामान्य औपचारिकता पनि पूरा गर्नु आवश्यक रहँदैन । भेट्न पालो कुर्नुपर्दैन । अपेक्षित समस्या राखिसकेपछि रित्तो मन फर्कनु पर्दैन । फोनबाट कुरा गर्ने इच्छा भए फोन नउठ्ला कि भन्ने पीर मान्नुपर्दैन । ठूला मान्छेहरुको वरिपरि अक्सर रहने गरेका दृश्य/अदृश्य अनेकौँ घेराहरुबाट बाहिरै परिएला भन्ने डर पनि पटक्कै हुँदैन ।

उस्तै उस्तै । अत्यन्तै सहज । अत्यन्तै सरल । अत्यन्तै व्यावहारिक ।अरु राजनीतिक व्यक्तिहरुले गरे झैँ तँ हलानोको, तँ फलानोको भन्दै उहाँहरुले कित्ताकाट गर्दै हिँडेको कहिल्यै देखेको छैन । यसैले पनि जुनसुकै दल वा दलबिहीन बिचारलाई काखी च्यापेर बिनाहिचकिचाहट अनुहार उज्यालो पार्दै यी व्यक्तित्वहरुको समिप पुग्न सकिन्छ र त्यो उज्यालोपनमा एक अंश पनि नघटाई सकुशल फिर्ता आउन पनि सकिन्छ ।

आफ्नो पहुँच मात्र होइन उहाँहरुको सर्वसाधारणसँगको पहुँच झनै अनौठो छ । जहाँ बोलाउनुहोस्, उहाँ त्यहीँ निसंकोच उपस्थित भइदिनुहुन्छ । आफ्ना सानातिना कार्यक्रममा बोलाउनुपरेमा एक कल फोन गरे पुग्छ । बारम्बार सम्झाइरहनुपर्दैन । औपचारिक निमन्त्रणा कार्ड हातमा थमाइरहनु पर्दैन । सवारी चलाउनुपर्दैन । तपाईँले बोलाएकै ठाउँमा लुरुलुरु पैदल हिँड्दै निर्धारित समय अगावै आइपुगिहाल्नुहुन्छ । आइपुगेपछि बिचमै उठेर हिड्नुहोला भन्ने पटक्कै चिन्ता लिनुपर्दैन । कार्यक्रम अवधिभर बसिदिनुहुन्छ । अन्त्यमा कसैको पनि चित्त नबिझाउने गरी छानीछानी मीठा शब्दहरु प्रयोग गरेर शुभकामना दिन पनि कन्जुस्याइँ गर्नुहुन्न ।नेतृत्वका गुणहरु होउन् त यस्तो पो ।

मलाई यो यस्तै हो भन्नुहोला । छन पनि म त्यस्तै छु । मेरा लागि सुन दिने फलामका दिलवाला मान्छे कौडीका मूल्यतुल्य हुन् । कुरा सुन्दिने कपासका दिल भएका मान्छेहरु पो निकै ठूला लाग्छन् । जिम्मेवारी-बोझको हिसाबले यी व्यक्तित्वहरुलाई ठुल्याएको होइनँ मैले, जिम्मेवारीबोधको हिसाबले ठुल्याउन खोजेको हुँ ।

 29 total views,  2 views today

About Purna Oli

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top