आइ मिस यु अ लट ! पार्वती !!

मलाई थाहा छ यो हरफ फेसबुक वालमा पोष्ट भएको देखेर आश्चर्यले जिब्रो टोक्ने धेरै हुनेछन् । हरफको तल कमेन्टमा “हा! हा! हा! हा! के हो ओलीसर, बुढेसकालमा ?” लेखेर गिज्याउने धेरै हुनेछन् । यो लेखे वापत् सबैभन्दा ठूलो सजाय त मैले मेरी आफ्नै पत्नीबाट पाउने छु । उनले मलाई स्पष्टीकरणको लागि कठघरामा उभ्याउनेछिन् र हप्ता दिनसम्म ठुस्केर मलाई सताउनेछिन् । (किनभने उनलाई यो हरफपछि पूरै कथा पढ्ने जाँगर चल्नेछैन ।) तर मलाई यी कुराहरुसंग कुनै परवाह छैन किनकि सत्य कुरा यही हो कि म पार्वतीलाई आफ्नो प्राणभन्दा बढी मन पराउँथेँ, अहिले पनि मन पराउँछु र भविष्यमा पनि मन पराइरहनेछु ।

हो पार्वती, म तिम्रा फोटोहरु हरेक दिन नेटमा उधिनीउधिनी हेर्ने गर्छु, तर आजसम्म तिम्रो रुप दिलमा उतार्न सकिरहेको छैन । तिम्रो फोटोको निराकार स्वरुपले मेरो मनमा एउटा मीठो तरङ्ग उठाइदिएको छ र त मेरो दिललाई स्थिर गर्न सकिरहेको छैन । म बेचैन छु । तिमीलाई कहाँ भेटुँ, कसरी भेटूँ भइरहेको छ । म घरि बाहिर निस्कने, घरि ट्वाइलेट छिर्ने, घरि मोबाइल खेलाउने गरिरहेको छु । जे गरे पनि मलाई शान्ति मिलेको छैन ।

यतिखेर अरु सहकर्मीहरु निकै रुचि साथ् तालिमको कक्षामा सहभागी भइरहेका छन् । उनीहरुले प्रशिक्षकलाई विभिन्न व्यावहारिक प्रश्नहरु तेर्स्याएर आत्थुआत्थु पारिरहेका छन् । उनीहरुले धेरै कुराहरु आफू पदस्थापन भएको महत्वपूर्ण कार्यालयबाट सिकिसकेका छन् । त्यस कारण पनि आफूले जानेको देखाउनु परेको छ । त्यति मात्र होइन जानेको देखाउन सकेमा भोलि यिनै प्रशिक्षकले अर्को महत्वपूर्ण कार्यालयमा सरुवा गराइदिने हैसियत पनि राख्दछन् । कसैलाई तालिममा प्रथम श्रेणी नआउला भन्ने पिरलोले पनि सिकाएका कुरा जसरी पनि जान्नुबुझ्नु छ र कक्षामा ध्यान लगाउनु छ । अझ गाँठी कुरा त जागिर कसरी पकाउने भन्ने उनीहरुले सिक्नुछ । (जागिर भन्ने कुरा पनि खिचडीजस्तै हुँदो रहेछ क्यारे) जागिर पकाउन कति पानी चाहिन्छ, कस्ताकस्ता मसलाहरु राख्नुपर्छ, कति दाउरा चाहिन्छ, आगो कति चाहिन्छ, कसरी आगो फुक्नुपर्छ, कतिसम्म पकाउनुपर्छ भन्ने नजानेमा पछि पाकेको स्वादिष्ट जागिर खानबाट बञ्चित होइन सक्छ ।

मलाई यी कुराको पनि कुनै परवाह छैन किनकि मलाई त जागिर पकाउन होइन जस्तो अवस्थामा भए पनि खान पाए पुग्छ । यही उपेक्षाभावले पनि मेरो तालिममा सिकाइएका कुरा सिक्नतिर मन नगएको होला । साथीहरुले गरेको हल्लाखल्लाले यतिखेर म कक्षाकोठामा छु भन्ने भान हुन्छ, उनीहरु ‘अख्तियारले न्यायपूर्ण व्यवहार गरेन’ भन्दै विभिन्न प्रश्न तेर्स्याउँदैछन् क्यारे प्रशिक्षकलाई । सायद आज ‘भ्रष्टाचार’ सम्बन्धमा प्रशिक्षण भइरहेको जस्तो लाग्छ । मलाई यकिन छैन, किनकि म कक्षाकोठामा पस्दा प्रशिक्षण शुरु भैसकेको रहेछ । म भने मोबाइलबाट मेसेज गर्छु, “पार्वती, मलाई भ्रष्टाचार विषय जति पढे पनि बुझ्दैन, कृपया, सिकाइदिनू न ।” उताबाट केही प्रतिक्रिया आउँदैन । फेरि मेसेज पठाउँछु, अँहँ रिप्लाई आउँदैन । फेरि बाहिर निस्कन्छु र फोन डायल गर्छु फोन उठ्दैन । फेरि फोन गर्छु, ढिला फोन उठ्छ र उताबाट मसिनो स्वर आउँछ, “मलाई पनि यो विषयमा आउँदैन, तिमीलाई नै आउँछ होला नि बरु ।” यति भनेर उनले फोन काटिदिन्छिन् म निराश हुन्छु ।

पार्वतीले मलाई न त अब आफ्नो याद गर्न छाड् भन्न सक्छिन्, न उनलाई मेरा लहडी स्वभाव नै मन पर्छ । म आधुनिक संचारका सबै प्रकारका साधन प्रयोग गरेर उनलाई गिजोलिराख्छु । उनलाई मेरा गनथनले झ्याउ लगाउँदो हो, दिक्क तुल्याउँदो हो । तैपनि उनले मलाई एक follower  रुपमा स्विकारेकै छिन् ।

म कक्षाकोठामा भित्र पस्दा प्रशिक्षक बाहिर निस्किसक्छन् । उनको प्रशिक्षणको विषयमा अझै भित्र छलफल चलेकै छ ‘यी यी कुरा राम्रा’ र ‘यी यी कुराहरु नराम्रा’ भनेर । म केही कुरा बुझ्दैन । यसैबेला कक्षामा एकाकएक प्रसंग अर्कोतिर मोडिन्छ । तालिम केन्द्रको फिल्ड भिजिट कार्यक्रम सम्बन्धमा । साथीहरुको कसैको तातोपानी पुगेर रिल्याक्स गर्ने योजना छ, कसैको लुम्बिनी पुगेर भगवान गौतम् बुद्धको जन्मस्थल अवलोकन गर्ने ईच्छा छ, कसैको पोखरा पुगेर तालहरुमा सयर गर्ने लोभ छ । कोही चितवनको सौराहा पुगेर जंगली जन्तुसंग खेल्ने रहर छ । मत विभाजन हुन्छ । मलाई यी कुरामा कुनै शोख छैन । फिल्ड भिजिटमा जान नचाहने साथीहरु पनि थुप्रै छन्, तर त्यो मत यहाँ सुनाउन मिल्दैन । म ‘नेगेटिभ भोटिङ राइट’ प्रयोग गरेर यो अवसरलाई लत्याउन पनि चाहन्न ।

म फेरि बाहिर निस्कन्छु र पार्वतीलाई फोन गर्छु,

“मलाई चारपाँच दिन फुर्सद हुने सम्भावना बढ्दैछ । म तिमीलाई साक्षात् रुपमा भेट्न चाहन्छु । कृपया मलाई भेट्न देऊ । म कहाँ आउँ छिटो भन ।”

मेरो बारम्बारको अनुरोधपछि बल्ल उनले सुझाव दिन्छिन् “हो ? उसोभए तिमी घान्द्रुक आऊ । मेरो माइती पनि त्यतै हो । मेरो माइती घर पनि तिमीले देख्नेछौ ।”

म खुशीले आल्हादित हुन्छु र भित्र गएर मत दिन्छु, “घान्द्रुक” । ‘घान्द्रुक’ मत दिनेहरुको संख्या बढ्दै जान्छ । आखिर बहुमत नै प्राप्त गर्छ घान्द्रुक भिजिटले । घान्द्रुक मतका विपक्षीहरुले फेरि आफ्नो पण्डित्याइँ प्रस्तुत गर्छन् । ‘यी यी कारणहरुले घान्द्रुक जानु उपयुक्त छैन’ भनेर । उनको यो हारको तुष ओकलेको मात्र हो भन्ने कुरा बुझ्छु म ।

भोलि बिहानै पोखराको लागि टुरिष्ट बसमा सबै साथीहरु सवार हुन्छौँ । यस अघि हामीमध्ये कोही साथीहरु पनि घान्द्रुक पुगेका रहेनछौँ । बसमा पनि जागिरका रोचक प्रसंगहरु चल्छन् । आफूले जानेबुझेका कुरा शेयर गरिराखेका छन् साथीहरुले । यहाँ पनि को भन्दा को कमको प्रतिस्पर्धा चल्छ । अर्कोभन्दा आफूलाई बढी जान्ने देखाउनुछ साथीहरुलाई । अरुलाई होचो नदेखाई आफू अग्लो हुन सकिँदैन । अतः अरुलाई कुन प्वाइन्टले होच्याउन सकिन्छ युक्तिपूर्वक सोचेर कटाक्ष गर्छन् साथीहरुले ।

मेरो शारीरिक बनावट पनि त्यस्तै होचै छ । मलाई थाहा छ म कुनै जमघटमा पुग्दा मान्छेहरु गललल हाँस्ने गर्छन् । म बुझ्छु उनीहरु मेरो अस्वाभाविक उचाइ देखेर हाँसेका हुन् । मलाई यो हँसाइले कुनै लघुताभाष हुँदैन । म यस्ता गिज्याइबाट अभ्यस्त भइसकेको छु । म बुझ्छु उनीहरु मेरो होचाइसंग आफ्नो उचाइको तुलना गरेर आफू उँचो हुनुको सार्थकता देखाउन खुशी प्रकट गरेका हुन् । यो आत्मतुष्टि लिने उपाय पनि गजबको दिएका छन् ईश्वरले । केटीहरु जो नापनै लिने हो भने पनि मभन्दा होचै हुन सक्छन् उनीहरु झनै बढी हाँस्छन् । उनीहरुलाई पनि लाग्दो हो “कमसे कम यस व्यक्तिदेखि त उँचो छु ।”

मेरो सिटको पछाडि एकजना साथी बसेका छन् । उनले मैले बोलेको लवजको जानी नजानी नक्कल गरिरहेका छन् । उनलाई देखाउनुछ मेरो भाषा/लवजभन्दा उनको भाषा/लवज धेरै हदसम्म श्रेष्ठ छ । मेरो नक्कल नगरेमा मेरो भाषा कति होचो छ भन्ने कुरा  उनले अरुलाई बुझाउन सक्दैनन् । अहिले उनको भाषा कति अग्लो छ भन्ने अरुलाई बुझाउन पाएकोमा आनन्द लिइरहेका छन् । यस्तो कुरामा रमाउन जान्नेले उनको हाँसोमा हाँसो थपिरहेका छन् । मेरो काम भने सहनु हो । सायद यो सहनशिलता मलाई मेरी आस्थाकी धरोहर पार्वतीले प्रदान गरिरहेकी छिन् । उनले मेरो ध्यान यस्ता झिनामसिना कुरातिर तानिन दिइरहेकी छैनन् । मेरो ध्यान बारम्बार आफैतिर खिँचिरहेकी छिन् । मैले लगातार मेसेज पठाउँदैछु “अब यहाँ आइपुगियो” भनेर । उनले भन्दैछिन्, “मलाई पनि थाहा छ के !” अनि सुसेल्दै सडक तलको नदीमा, पारिको जङ्गलमा, पहाडका कुनाकन्दरामा, जलथल प्राणीको आवाजमा मिसिएर उनले आफ्नो गीतबाटै भनिरहेकी छिन् “तिमीहरु सबै समान हौ र समान उद्देश्यकै लागि लामो यात्रामा निस्केका छौ ।”

पाँच छ घण्टाको लामो यात्रापछि हाम्रो यात्राको गन्तव्य पोखरा पुगेर टुङ्गिन्छ । सबै साथीहरु लामो यात्राले लखतरान भएका छन् । सबैको मुखबाट एउटै सुस्केरा निस्किरहेको छ “अब घान्द्रुक सान्द्रुक कतै गइँदैन । मज्जाले पोखरा घुमिन्छ, अनि फर्किइन्छ ।” कसैले पनि ‘हाम्रो गन्तव्य पोखरा मात्र होइन है, घान्द्रुक पनि हो’ भन्न सकिरहेका छैनन् । मेरो मनमा भित्रभित्रै शंकाले डेरा जमाउन थाल्छ, ‘यसपटक पनि के अब मेरो पार्वतीसंग भेट हुँदैन ?’

“तिमी आत्तिनु पर्दैन । भोलि सबैको पाइला यतैतिर तानिनेछ ।” उनले मेसेज गर्छिन् । म खुशीले रमाउँछु र एकैछिनमा सपनामा हराउँछु ।

भोलिपल्ट कसैले कसैलाई ‘तँ घान्द्रुक जानै पर्छ’ भनेर कर गरेको छैन तथापि सबैको पाइला उतै तानिन्छ । म आश्चर्यचकित हुन्छु । “यो मेरो ईच्छाशक्तिको परिणाम हो कि तिम्रो ईच्छाशक्तिको परिणाम, पार्वती ?”

मैले मेसेज पठाउँछु, “पार्वती, हाम्रो टोली बिहानै तिम्रो माइतीघरतिर हिँड्यो है । हाम्रो जे जसरी आतिथ्य गर्नुपर्छ, तयारी गर्दै गर ।”

उनले भनिन्, “हो र ? तिमीहरु पोखरा छाडेर यता आउला भन्ने त कल्पनै गरेकी थिइन मैले त । उसोभए त मैले अलि चाँडो गर्नुपर्ने भयो ।”

हामीलाई बोकेको बसले लुम्ले, नयाँपुल, बीरेठाँटी, सेउली बजार, क्लिउ पार गर्दै उकालो चढ्न थाल्यो । आकाशमा बादल थुप्रिँदै थियो । बसमा साथीहरुको गुनासो फेरि पोखिन थाल्यो “यस्ता पाखापखेरा त जिन्दगीमा कति घुमिएको छ कति ! घुम्नै पर्ने ठाउँ छाडेर यो केही न केहीको रुखो डाँडामा आएर दुख्ख पाइएला जस्तो छ है साथीहरु ! मति बिग्रेका साथीहरुको लहैलहैमा लागेर बेकारमा दुःख पाइने भइयो !”

मैले फेरि पार्वतीलाई मेसेज गरेँ, “साथीहरुको धेरै गुनासो छ है, पार्वती । यसरी आतिथ्य गर कि फर्केपछि कुनै साथीले पनि कुनै प्रकारको गुनासो गर्न नपाउन् ।”

“म सप्पैको गुनासोलाई नियन्त्रण त कहाँ गर्न सक्छु र ? तिमीहरु मेरो आतिथ्यलाई सकारात्मक भएर हेर, फर्कँदा तिमीहरुको कुनै गुनासो बाँकि रहनेछैन ।” उनले आश्वासन दिइन् ।

हामी बसबाट ओर्लेपछि ढुङ्गा बिच्छयाइएको पैदलमार्ग हुँदै शिखर चढ्न थाल्यौँ । पैदल यात्रीहरु सैयौँको संख्यामा उकालो चढिरहेका थिए र त्यति नै संख्यामा ओरालो पनि झरिरहेका थिए । झण्डै आधाजसो त विदेशी पर्यटक नै थिए । पारी लान्द्रुक गाउँको बाक्लो बस्ती र त्योभन्दा माथि जङ्गलै जङ्गल थियो । बादलले त्योभन्दा माथिको भागमा आफ्नो कब्जा जमाइसकेको थियो । वातावरण पुरै अँध्यारो भएर जाँदै थियो । सन्ध्याको बेला अलि परै भए पनि बाक्लो बादल र चीसो सिरेटो चलिरहेको कारणले गाउँलेहरु बाहिर निस्कन सकेका थिएनन् । हामी केही छिनमा घान्द्रुकको माथिल्लो भागमा उक्लियौँ ।

हामीहरुले घिच्रो तानीतानी केही देखिन्छ कि भनी अलि परपरसम्म हेर्यौँ । हेर्न लायक  कुरा अँहँ केही पनि देखिएन । साथीहरु पेट मिचिमिचि रोषको हाँस्न थाले, “देख्यौ त घान्द्रुक ? केही न केही फुस्सा ! अब दुख्ख पाइने भइयो कि भइएन त ? अब सबैले आआफ्नो डायरीमा टिपेर राखे भयो कि मेरो यात्रामा थप एउटा अनावश्यक ठाउँमा आइपुगियो र अरु साथीले यो हेर्नको लागि फेरि कहिल्यै पनि दुख्ख नपाउन् भनेर ।”

मलाई मेरा मभित्र रहेका विभिन्न प्रकारका होचोपनलाई गिज्याउँदा पनि यति अपमानबोध कहिल्यै भएको थिएन, जति अहिले भयो । किनकि योभन्दा पारी मेरो सपनाकी पार्वतीको माइतीघर थियो र त्योभन्दा पर त सम्पूर्ण हिन्दूहरुकी माताको माइतीघर थियो । मान्छे सातसात समुन्द्र पार गरेर यहाँ हेर्न आउनुको पछाडि अवश्य केही रहस्य लुकेको होला । यति नै मात्रै होइन होला घान्द्रुकको विशेषता । तर यी कम्तीमा तीस बसन्तभन्दा बढी पचाइसकेका मेरा साथीहरुले किन आफ्नो स्वार्थी परिवेशभन्दा अलिकति परको कुरा पनि सोच्नसम्म सक्दैनन् ?

अब सन्ध्याले पनि प्रवेश गर्नै आँटेकीले हामीले बास बस्ने तरखर गर्न थाल्यौँ । त्यहाँ पनि आधुनिक सुविधासम्पन्न होटेलहरु खुलेका रहेछन् । केही साथीहरुले लजमै बसेर आनन्द लिने ईच्छा प्रकट गरे र आआफ्नो ईच्छाअनुसार हामी समूहीकृत हुनपुग्यौँ ।

पार्वतीले मेसेज गरिन्, “तिमी शहरको निस्सासिँदो वातावरणबाट मुक्ति पाउन थोरै दिनको लागि भए पनि यति टाढा आइपुगेका छौ । तिमीले फेरि लजको उस्तै वातावरणमा बस्दा मेरो माइतीघरको गुढ रहस्यको भेउपत्तै पाउनेछैनौ । तसर्थ तिमी लजको उचाइले नछेकिने होचै भएपनि खुल्ला घरमै बस । मसंग भएका परिकारहरु म त्यहीँ पुर्याइदिनेछु ।”

यसै कारणले हाम्रो समूहले उनले भनेबमोजिमकै घर खोज्यौँ र आँगनको बेन्चमा बसेर आराम गर्न थाल्यौँ । एकातर्फ थकाइले हामीलाई चूर तुल्याएको थियो अर्कोतर्फ घान्द्रुकको जुन सपना बोकेर आएका थियौँ, त्यसबाट बदलिँदो मौसमको कारणले निराश बन्न पुगेका थियौँ । तसर्थ हाम्रो अनुहारबाट बाह्य वातावरणको अवस्था परावर्तन भइरहेको थियो ।

मेरो पार्वतीसंग ठूलो गुनासो रहन गयो र फेरि मेसेज पठाएँ “पार्वती, तिमीले मलाई धोखा दियौ । यही दृश्य देखाउनलाई मात्र आफ्नो माइतीघर नबोलाएको भए पनि हुन्थ्यो नि !”

पार्वतीले भनिन् “ल, एक्कै छिनलाई मात्र पछाडि फर्केर हेर त ।” उनको भनाइअनुसार हामीले पारीतिर हेर्न थाल्यौँ । पारीको पहाडबाट बादलको घुम्टो बिस्तारै हट्न थाल्यो र त्योभन्दा पारी एउटा अद्भूत दृश्य उदाङ्गो हुनपुग्यो । पारी त हज्जारौँ चन्द्रमाहरुको एउटै माला उनिएझैँ हिराजडित् हिमश्रृङ्खलाको लामो लस्करै पो देखिन पुग्यो । पोखराबाट सिधा उत्तरपट्टि सबैभन्दा अग्लो देखिने माछापुच्छ्रे त दक्षिणपूर्वपट्टि होचो प्रतित भइरहेका थिए । त्योभन्दा धेरै अग्ला हिमशिखरहरु लहरै उत्तर र पूर्वपट्टि देखिन पुगे ।

साथीहरुले फोटो लिनको लागि चलमलाउन थाले । फोटोको लेन्स मिलाउँदामिलाउँदै फेरि त्यो दृश्य बादलको घुम्टोमा लुप्त हुनपुग्यो । हामी फेरि निराश हुन पुग्यौँ ।

केही छिनमा हाम्रो टेबुलमा खाना आइपुग्यो । हामीलाई असाध्यै भोक लागेको थियो । जब खानाको पहिलो गास मुखमा पर्यो, हामीमा अर्को आश्चर्यचकित पार्ने अनुभूति भयो । त्यो खानाको स्वाद नै अद्भूत थियो । त्यस्तो रसपूर्ण खानाको स्वादिष्टता सायदै हामीले चाख्न पाएका थियौँ होला । मैले पुनः मेसेज गरेँ “मानेँ, पार्वती मानेँ तिम्रो सिपलाई । बरु भन अब कहिले आफ्नो साक्षात् रुप प्रकट गराउँछ्यौ ?”

खाना खाइसकेपछि हामी आफ्नो बिछ्यौनामा पुग्यौँ । बाहिर लगलगी मुटु नै कँपाउने चीसो थियो, तर भित्र भने त्यो जाडो भुलाउने न्यानो थियो । निद्राले कुन बेला छोयो भन्ने समेत हेक्का भएन ।

राति कोठामा तेजोमय प्रकाशले कोठा ह्वात्तै प्रवेश गर्यो र नजिकैबाट एउटा सुमधुर बाणी निस्कियो, “हेर, मेरो रुप यही हो ।” पार्वतीको आवाज थियो यो । हामीले तस्बीरमा हेर्ने गरेको रुपभन्दा एकदमै भिन्न थियो त्यो रुप । “यी हेर, महादेव पनि मै हुँ ।” उनले अर्को रुप धारण गरिन्, जुन शब्द र आकारमा प्रस्तुत गर्नै सकिँदैनथ्यो । उनले भनिन् “तिमीले सुनेका र जानेका विभिन्न धर्मका जति शक्तिरुपी ईश्वरहरुको कल्पना गरेका छौ । त्यो सप्पै म नै हुँ ।”

मैले संशय प्रकट गरेँ, “सबै धर्मको आआफ्नो उत्पत्ति छ छुट्टै रुप छ छुट्टै इतिहास छ छुट्टाछुट्टै ग्रन्थ छ । यो कसरी सम्भव होला र ?”

“त्यो तिमीहरुजस्ता मान्छेपिच्छेले गरेको कल्पनाको परिणाम मात्र हो । न मेरो जन्म छ, न जीवनी छ, न मृत्यू छ, न आकार छ, न कुनै धर्म छ, न सन्देश छ । तिमी जस्तोसुकै ईच्छा गर, म त्यहाँ उपस्थित भइदिन्छु । तिम्रो ईच्छाले तिमीलाई हानी वा लाभ के पुर्याउँछ, तिमीले नै होश पुर्याउनुपर्छ । तिम्रो ईच्छाले तिम्रो उन्नति पनि गराउनसक्छ र नाश पनि गर्न सक्छ । म त्यो कुरा केही छुट्टयाइराख्दैन । तर समुचित धैर्य गर रहस्य खुल्दै जानेछ ।” यति भनेर उनी अलप भइन् ।

म बिहानै ब्यूँझिएँ । मैले साक्षात् पार्वतीको निराकार रुप देख्न पाएँ भनेको त सपना पो रहेछ । मैले देखेको सपना पनि अद्भूत नै थियो । बाहिर बाक्लै पानी परिरहेको थियो । एक त माघको चीसो, अर्को, शिखरमा बहने हिउँ बोकेको सिरेठो, अर्कोतिर मौसम परिवर्तनले गर्दा यात्राको जटिलता, अर्कोतिर अनिश्चितता, यी कुराहरुको परिणामस्वरुप सबै साथीहरुको अनुहार निन्याउरो भएको थियो ।

“अब फर्कने तरखर गर्नुपर्छ ।” सबै साथीहरुको यस्तै राय थियो ।

“जुन कुरा हेर्न आएका छौँ,  त्यो हेर्नै पाएका छैनौँ । हामी किन फर्किने ?” मैले साथीहरुसंग भिन्न मत राखेँ ।

अर्को समूहमा रहेका साथीहरु प्लास्टिकको घुम ओढेर फर्किसकेको खबर आयो । हाम्रो समूहमा रहेका साथीहरुले हतार गर्न थाले ।

मैले पार्वतीलाई मेसेज पठाएँ, “अब तिमीसंग भेटै नभएर म फर्किनुपर्ने भो । तिम्रो माइतीघरको सुन्दरता पनि देख्न पाइएन । के गरम् ?”

उनले रिसाउँदै भनिन्, “तिमीहरु एकछिन् पनि धैर्य गर्न सक्दैनौ । तिमीहरुकै लागि भनेर मैले बादल निम्त्याएकी छु, हावालाई शान्त रहन आदेश दिएकी छु । शिखर तथा वनस्पतिमा जम्न गएको धुलो पखाल्दैछु । त्यसपछि तिमी बसेको डाँडाकाँडा लगायत तिम्रो जीउभरि पनि हिउँको छिट्टा छर्किदिने बिचार गरिरहेकी छु । तिमीले आजसम्म कहिले पनि नदेखेको हिमप्रदेशको अनुपम् दृश्य त देख्न बाँकी नै छ । ताजा हिमपात पछिको स्निग्ध र स्वच्छ हिमश्रृङ्खला हेर्न पाउने त थोरै भाग्यमानी मात्र हुन्छन् । तिमी भने यो अवसरलाई लत्याएर भाग्ने कुरा गर्दैछौ !”

“अनि अलि छिटो गरेको भए पो हुन्थ्यो त ! मान्छेहरुलाई यहाँ कस्तो हतार भइसक्यो घर फर्कन !”

“तिमी मान्छेहरुलाई सँधै यस्तै हो । तिमीहरुको सँधैको हतारोले गर्दा जीवनको वास्तविक अनुभूति गर्न कहिल्यै पाउँदैनौ । म पनि प्रकृति हुँ । तिमीले चाहने बित्तिकै मैले जादू गरेर चाहेकै कुरा तिम्रो हातमा थमाउन सक्दिन । अनन्त समयदेखि मेरो नियम यथावत् छ । यो नियम बुझीबुझी पनि तिमीहरु किन तर्सन्छौ ? मैले प्रलय निम्त्याएर तिमीहरुको यहीँ अन्त्य त अवश्य गर्ने थिइन !”

साथीहरु वर्षामा भिज्दै बाटो लाग्न थाले । म असमञ्जसमा उभिइराखेँ । मेरो साथ दिन तयार कोही देखिएनन् ।

फेरि मेसेज आयो, “जाउ, जाउ । तिमीहरु एक्लै जन्मिएर एक्लै मर्नु पर्ने वास्तविकता भए तापनि बाँचुन्जेल समूहबाट छुट्टिन सक्दैनौ । तसर्थ तिमी एक्लै यतै बस भन्दिन म । तर तिमीले सँधै पछुताइरहनु पर्नेछ !”

म पनि साथीहरुलाई पछ्याउँदै ओरालो झर्न थालेँ । पानी अझै दर्किएर पर्न थाल्यो । साथीहरुलाई बिन्ती गरेँ, “यस्तो पानीमा नभिजौँ । बिरामी परिन्छ । एकछिन त हो । बेलुका हिँडे पनि पोखरा पुगिन्छ । वा बिहानै जाऔला । अहिले फर्कौँ ।”

कुनै साथीले मेरो बिन्तीलाई सुनिदिएनन् । मैले सकीनसकी मेरा गह्रौँ पाइला अगाडि घिसारिरहेको थिएँ ।

बसपार्कमा आइपुगेपछि बस भेटिएन । त्यसैबेला अर्को साथीले खबर गरे, “अरु साथीहरु बसलाई रोकेर पहाडको पुछारमा पर्खिरहेका छन् रे, छिटो गरौँ साथीहरु हो । त्यो पनि छुट्यो भने अलपत्र परिन्छ फेरि !” मैले केही बुझिरहेको थिएन । मान्छेको जातले यो मात्र ‘अलपत्रको’ अदृश्य भूतदेखि किन डराउँछ यति !

अलि तल पुगेपछि पानी पर्न रोकियो । आकाशमा बादल पनि फाट्दै गयो । हामी हिँडिसकेको बाटोमा समेत हिउँ परिसकेको थियो । पारीका डाँडाहरुको धेरै तलतलसम्म हिउँले ढाकिसकेको थियो । आकाशमा सूर्य पनि देखिए । सूर्यको प्रकाशमा थप उज्यालो थप्ने काम हिमाच्छ पर्वतले गरिरहेका थिए । अन्नपूर्णका एकदुई चुचुरा मात्र ज्वाज्वल्ल्यमान भएर पारी देखिए । अहिले भने मेरो समूहमा रहेका साथीहरुलाई एकछिन धैर्य गर्न नसकेकोमा पछुतो लागिरहेको थियो । उनीहरु अहिले खुलेको दृश्यलाई जति सकेको क्यामेरामा कैद गर्न हतारिए । हामी जतिजति तल झर्दै थियौँ त्यति त्यति माछापुच्छ्रे अग्लो र अन्नपूर्ण होचो देखिँदै जान थाल्यो । हामी तल झरिसकेपछि भने माछापुच्छ्रे पनि ओझेलमा पर्यो र सामुन्नेका डाँडाहरु नै सबैभन्दा अग्ला प्रतित भए ।

बस रोकिएको ठाउँमा बिहानै हिँडेका बाँकी साथीहरु अधैर्यसाथ हामीलाई पर्खिरहेका थिए । उनीहरु रिसले आगो भएका थिए । एकदुईजनाले त हामीलाई ल्वाप्पा ख्वाउन बाँकी राखेनन् ।

बस हिँडेपछि साथीहरुको गुनासो फेरि पोखिन थाल्यो ।

“यो ठाउँ हामीहरुको लागि के कामको थियो र हामी यहाँ आयौँ ? यो त सबै कुराले अघाइसकेका कुइरेहरुको लागि नौलो हुने भएकोले उनीहरुकै लागि मात्र उपयुक्त हो । हामीमध्येका मुर्ख भनाउँदाहरुले मात्र हेर्ने ठाउँ हो यो त । यहाँ आएर के हेर्न पायौ त छुट्टै ? ल भन साथीहरु हो ।”

हाम्रो समूहमा रहेका पछि परेका साथीहरुले बुझिसकेका थिए कि उनीहरुले तल पहाडको पुछारमा परेकोले वास्तविक दृश्य हेर्न नै पाएनन् भनेर । अतः उनीहरुले जे देख्न पाएका थिए त्यो शब्दको व्याख्याबाट अपूर्ण नै हुने भएकोले केही बताउन सकेनन्, चाहेनन् वा बताउन आवश्यकता नै महशुश गरेनन् ।

मेरो नजिकै बस्ने साथीले मेरो लवजलाई लिएर फेरि मलाई गिज्याउन थाले । उनले मलाई गिज्याएरै लुटेको आनन्द अनौठो प्रकारको थियो । उनलाई अझै थप आनन्द प्राप्त होस् भनेर म पनि उनलाई जिस्क्याउन सजिलो हुने रुपमा प्रस्तुत भइदिएँ ।

मलाई हिजो बेलुकाको दृश्यले तानिरहेको थियो र एकछिन धैर्य गर्न नसक्दा जुन चिजको खोजीमा त्यहाँ पुगिएको थियो, त्यो प्राप्त हुनुअघि नै अवसरलाई लत्याएर हिड्नु परेको पश्चाताप र पिडाबोध भइरहेको थियो । हामी लुम्ले उक्लिसकेपछि बेलुकाको घामको सुनौलो रंगले रंगिएको माछापुच्छ्रे फेरि नजिकै देखियो । परपर अन्नपूर्णको लहर पनि देखियो ।

केही साथीहरुले यो देखेर प्रश्न गरे “ए, साथीहरु हो ल भन त, अन्नपूर्ण र माछापुच्छ्रेको उचाइ कति कति हो ?”

मैले भने भारी पश्चातापको प्रायश्चित गर्दै पार्वतीलाई फेरि अर्को एउटा मेसेज पठाएँ, “आइ मिस यु अ लट ! पार्वती !!”

650 total views, 1 views today

Leave a Reply

Your email address will not be published. Required fields are marked *