Free songs
Home / लेख/आलेख / मध्यपश्चिमेली ठाडी भाका / अलङ्कारै अलङ्कारले झङ्कृत ठाडी भाका

अलङ्कारै अलङ्कारले झङ्कृत ठाडी भाका

शाब्दिक वा अर्थगत कलाकारिताबाट भाषागत प्रस्तुतिलाई सिँगार्ने तत्त्वलाई अलङ्कार भनिन्छ । संस्कृतको ‘अलम्’ धातुमा ‘कार’ प्रत्यय लागेर ‘अलङ्कार’ शब्दको व्यूत्पत्ति भएको हो । ‘अलम्’ धातुको अर्थ हुन्छ ‘आभुषण’  । सामान्य भनाइमा पनि अलङ्कारको प्रयोग गरियो भने साहित्य बन्दछ । अलङ्कारले भाषागत प्रस्तुतिलाई चमत्कारपूर्ण तुल्याइदिन्छ । स्रोतालाई सुनौँ सुनौँ लाग्ने बनाइदिन्छ ।

सृष्टिका प्राणीहरुमध्ये मानव समाज नै सर्वोत्तम सौन्दर्य उपासक हो । मान्छेलाई हरेक कुरामा सौन्दर्य चाहिन्छ, हेर्ने कुरामा, लगाउने कुरामा, बोल्ने कुरामा, हुँदा हुँदा खाने कुरामा र बस्ने कुरामा पनि । मान्छेको यही सौन्दर्य अभिलाषाले नै अलंकारको जन्म भएको हो । जसरी कुनै नारीले आफ्नो सौन्दर्य बढाउनको लागि विभिन्न गहना, आभुषण तथा सौन्दर्य प्रसाधनादिहरुको प्रयोग गर्छिन् त्यसरी नै भाषाको सौन्दर्यता बढाउन विभिन्न अलङ्कारहरुको प्रयोग गर्ने गरिन्छ । अर्थात् काव्यको शोभा बढाउने शब्द वा अर्थ वा भावलाई अलंकार भन्न सकिन्छ ।

ठाडी भाका पनि काव्यिक प्रस्तुति भएको हुँदा अलङ्कारको प्रचुर मात्रामा प्रयोग भएको पाइन्छ । मलाई त लाग्छ ठाडी भाका जत्तिको अलङ्कारले शोभायमान अर्को नेपाली साहित्य छैन । ठाडी भाकाप्रतिको आकर्षण तथा गहनता अलङ्कारकै कारणले भएको हो । जस्तो कि तलको यो गीतलाई दोहोर्‍याई तेहर्‍याई वाचन गरौँ र प्रस्तुतिमा निखारिएको मिठास र सौन्दर्यलाई अनुभूत गरौँ तः

लेख  फुल्यो लालीगुराँस औली फुल्यो काँस,

न लाउने वचन लाउँचन् काँ जाऊँ बर्खा मास ।

घोगी घोगी केलाई भन्चन् सिमले र घोगी,’

मै घरबारे, मै बैरागी, मै मायाको भोकी । (चिताराम खडका)

यो घरै हो त्यो घरै हो घर पनि घरै हो

घरबारेसितैको माया डर पनि डरै हो । (गीता ओली पुन)

 अब पहिलो गेरोको ठेलो राम्रोसँग हेरौँ । ‘लेख’, ‘फुल्यो’, ‘लाली’, ‘औली’, ‘फुल्यो’ आदि शब्दहरुमा ‘ल’ दोहोरिरहँदा जिब्रो नै लयालु बन्न पुग्दछ । जम्मा चौध अक्षरको एक पङ्तिमा पचास प्रतिशत त ‘ल’ वर्ण मात्र दोहोरिएको छ । त्यही ‘ल’ दोस्रो पङ्तिमा पनि दुईपटक दोहोरिएको छ । त्यस्को टुप्पोमा ‘न’ चारचोटी दोहोरिएको छ । त्यसरी नै चन्द्रबिन्दु (अँ) पनि पटकपटक दोहोरिएको छ । यी अक्षरहरुको दोहोरोपनले गर्दा गीत सुन्दा कति मीठो भएको छ ।

यस्तै दोस्रो गेरोको ठेलोमा ‘ग’ धेरैचोटी दोहोरिएको छ । ‘क’, ‘ख’, ‘ग’, ‘घ’ एउटै वर्ण समूहमा पर्दछन् । अतः ‘क’ वर्णको वर्गले दोस्रो गेरोलाई शोभायमान बनाएको छ । दुवै पङ्गतिमा गरी आठचोटि त ‘र’ नै दोहोरिएको छ । अतः ‘र’ को प्रयोगले प्रस्तुतिमा एकप्रकारको चमत्कार सिर्जना गरेको अनुभूत हुन्छ ।

ठाडी भाकाको अर्को विशेषता भनेको प्रस्तुतिमा सहजता, सरलता हो । एउटै शब्दलाई पङ्तिमा पटकपटक दोहोर्‍याइदिएर श्रुतिमधुर तुल्याइन्छ । यसले भाषालाई शोभायमान मात्र तुल्याउँदैन नरमपना एवम्  निख्खारता पैदा गरिदिन्छ ।

जस्तो कि ‘घोगी घोगी केलाई भन्चन् ? सिमले र घोगी !’ भन्दिए पुग्यो । ठेलो तुथाइरहनुपर्ने वा जुराइरहनुपर्ने आवश्यक नै परेन । यसले तुरुन्तै जवाफ दिनुपर्‍यो भने अत्यन्तै सजिलो बनाइदिन्छ । ‘ओटा’ अन्त्यानुप्रास चाहिएको छ भने ‘रोटा रोटा केलाई भन्चन् ? गौँ घोगाका रोटा !’ भनिदिए पनि पुग्यो ।

अझै सजिलो त पहिल्यै प्रस्तुत भइसकेको गीतको ठेलोलाई अनुकुलताअनुसार दोहोर्‍याउन पाउनु हो । बौद्धिक सम्पदा अधिकार (कपिराइट) को आविष्कार सायद बीसौँ वा एक्काइसौँ शताब्दीका वरिपरि भएको हुनुपर्दछ । तर ठाडी भाकामा यसको प्रयोग चौधौँ शताब्दीकै वरपर भैसकेको देखिन्छ । जस्तो किः

नजान्नेले उइलाई भन्चु बेलाइँती पाइगचन् 

दच्छिना माग्गेल्चन् भनी घरमालिक भाइगचन् ! (तुल देवकोटा)

यहाँ अरु कसैले पहिल्यै ‘पाल्ला घर बोइका बारी, बेलौती पाइगचन्’ भनिसकेको ठेलोभित्रको ‘बेलौती पाइगचन्‘ भन्ने पद्यांशलाई मात्र जवाफदाताले दोहोर्‍याउने सुविधा पाएको छ । #Copied भनेजस्तै गरी ‘बेलौती पाइगचन्‘  भन्दा अगाडि ‘नजान्नेले उइलाई भन्चु’थपिदिए पुग्यो । यसले प्रस्तोतालाई ठेलो जुराउनुपर्ने समय र सिपको बचत मात्र गरेको छैन, आफूलाई नजान्ने जस्तो तुल्याएर क्षमायाचना गरेर हदैसम्मको नरमपना प्रस्तुत गरिदिएको छ । यो सुविधा र शोभा अर्को कुन साहित्यमा देख्नुभएको छ तपाईँले ?

अब लागौँ फेरि अलङ्कारतिरै ।

साहित्यमा अलङ्कार खास गरी तीन प्रकारका हुन्छन् । ती हुन् :

  •  शब्दालङ्कार
  • अर्थालङ्कार
  • उभयालङ्कार

शब्दहरुको माध्यमबाट भाषालाई शोभायमान तुल्याइन्छ भने त्यसलाई शब्दालङ्कार भनिन्छ । अर्थको हिसाबले भाषालाई चमत्कारिक तुल्याइन्छ भने अर्थालङ्कार भनिन्छ । शब्द र अर्थ दुवैबाट भाषालाई सौन्दर्य प्रदान गरिन्छ भने उभायलङ्कार हुन जान्छ । ठाडी भाकामा कहीँ न कहीँ यी सबै अलङ्कारहरुको प्रयोग भएको पाइन्छ ।

शब्दालङ्कारका पनि विभिन्न प्रकारहरु छन् । तीमध्ये अनुप्रास अलि महत्त्वपूर्ण छ ।

अनुप्रासः

एक समान ध्वनि अक्षर वा वर्णको पुनरावृत्ति नै अनुप्रास हो । पहिले प्रयोग भैसकेका शब्दजस्तै स्वर वा वर्णमा मिल्दोजुल्दो अर्को शब्द प्रयोग भयो भने अनुप्रास भनिन्छ । जस्तैः कुन्च/हुन्च, नल्को/झल्को, गन्छु/गम्छु, गाईका/कान, आदि । अनुप्रास पनि विभिन्न प्रकारका छन् । जस्तैः अन्त्यानुप्रास, आद्यानुप्रास, मध्यानुप्रास, छेकानुप्रास, वृत्यानुप्रास, श्रुत्यनुप्रास, लाटानुप्रास, आदि । ठाडी भाकामा यी अनुप्रासहरुको प्रयोग कसरी भएको छ भन्ने बारेमा यस भाग र आगामी भागहरुमा  बिस्तार गरिनेछ ।

अन्त्यानुप्रासः

भैसीले दमारै काट्यो गोठालो बबै छ, 
क्यार्न रुन्चै जल्ने मन तो जस्तो सबै छ ।

माथिको ठाडी भाकाको ठेलो र टुप्पोको अन्तिममा आउने शब्द एवम् स्वरहरुलाई ध्यान दिऔँ ।

पहिलो पङ्तिको अन्तिममा ‘बबै छ’ मा रहेको स्वर तथा वर्णको पुनरावृत्ति दोस्रो पङ्तिको अन्तिममा आएको ‘सबै छ’ मा भएको छ । यी दोहोरिएर आउने स्वर तथा वर्णले गीतलाई सुमधुर तुल्याइदिन्छन् स्रोतालाई सुनौँ सुनौँ तुल्याइदिन्छन् । पहिलो पङ्तिका अन्तिमतिर आउने स्वर र वर्णमा जति समानता हुन्छ उति नै अलङ्कार ससक्त हुने मानिन्छ ।

अरु उदाहरणहरु पनि हेरौँ :

गाई लाइदेउ घुरेनी पाखा भैँसीलाई बनबनै ।
तोला रुन्चेउ असन्धारा म रुन्चु मनमनै ।

न उम्ले कराइका दुध पर्लाई खरानीमा 
सय छ्न् बिलरी कुरा यौटै परानीमा ।

गाई गैया भिरैको बाटो भैँसी सियालै छन्
जोवान गैगो नभन् साइले गाली पियालै छन् ।

आद्यानुप्रासः

अन्तिममा आउने शब्दको स्वर र वर्णको मिल्दोजुल्दोपनलाई अन्त्यानुप्रास भनेजस्तै पङ्तिको शुरुमा आउने शब्दको स्वर र वर्णको समानतालाई आद्यानुप्रास भनिन्छ । ठाडी भाकाको सिँगारु गीत आद्यानुप्रासको नमूना हो । सिँगारु गीतमा कुनै एक मात्र शब्द होइन कि पद्यांशको पूरै भाग नै शुरुमा आएर दोहोरिन पुग्दछ । जस्तैः

घोरी बान्ने कैजा 
हात्ती बान्ने जोर साङ्लीए,घोरी बान्ने कैजा  

जाँ मन लाग्छ हुइजा 
मबाट छुटेको पिमा,जाँ मन लाग्छ हुइजा ।

काँसपोखरी मेला भई
डिग्रे पुनी मान्दा मान्दै काँसपोखरी मेला भई

गैजाने बेला भई
रसु नखाई माया नलाई गैजाने बेला भई ।

यहाँ पहिलो गेरोको ठेलोमा घोरी बान्ने कैजा  र टुप्पोको जाँ मन लाग्छ हुइजा  को अनुप्रास गीतको शुरुमै आएको छ । यसैगरी दोस्रो गेरोको ठेलोको काँसपोखरी मेला भई  र  टुप्पोकोगैजाने बेला भई  को अनुप्रास गीतको शुरुमै आएको छ ।

मध्यानुप्रासः

दुई पङ्तिका बिचका शब्दहरुका स्वर र वर्णमा समानता भयो भने मध्यानुप्रास भनिन्छ । जस्तैः

हाट जाने होइनौ तिमी  हटारु पठाउने
माया लाउने होइनौ तिमी  कलेजी कटाउने ।

यहाँ पहिलो पङ्तिको ‘जाने होइनौ तिमी’ र दोस्रो पङ्तिमा ‘लाउने होइनौ तिमी’ को अनुप्रास मिलेको छ । यसैगरी अर्को उदाहरण हेरौँ :

मैने डोरी केलाई बाट्चन्  भैसीलाई कर्साल,

मै पर्‍याँ कि सबै पर्चन्  मायाको तर्साल ।

उक्त गेरोमा ठेलोको बिचमा आएको ‘बाट्चन्’ र टुप्पोको बिचमा आएको ‘पर्चन्’ को स्वर र व्यञ्जनको अनुप्रास मिलेको छ । ठाडी भाकामा मध्यानुप्रास अलङ्कारको  प्रयोग कमै मात्र भएको पाइन्छ ।

क्रमशः

 46 total views,  2 views today

About Purna Oli

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top