Free songs
Home / कथा / अंशियार

अंशियार

म रानीपोखरीको छेउमा पत्रिका हेर्दै थिएँ । जिल्लामा रहँदा संगै काम गरेका मेरा एकजना घनिष्ठ मित्र भोटाहिटीको आकाशे पुल तरेर ओर्लँदै गरेको देखेँ । पुल मान्छेहरुको घुइँचोले ढाकिएको थियो । ती मित्रलाई आफूतिरै आइरहेको देखेर म खुशी भएँ । उनको अघिपछि उनकी श्रीमती र सानी छोरी लागेका थिए । तीनैजनाले पिठ्यूँमा गरुँगा झोलहरुा बोकेका थिए । उनीहरुको अनुहार थकानले लस्त देखिन्थ्यो । सिँढी ओर्लिसकेपछि उनी फरक्क फर्किएर पुनः आकाशे पुल चढ्न थालेको देखेपछि मैले बोलाएँ, “हरि  सर !“

मेरो स्वर सुनेर हो या नसुनेर हो उनको हिडाइको गति तिब्र भयो । एक हातले आफ्नी बूढी र अर्को हातले छोरीलाई एकैसाथ बल लगाएर तानिरहेका देखिन्थे । धेरै वर्षपछि बातचित गर्न पाइने भयो भन्ने मेरो अपेक्षाविपरीत उनी टाढिन थाले । तसर्थ कोट्याएरै बोलाउने सोचले म उनलाई पछ्याउन थालेँ । उनी घुइँचोलाई ठेल्दै एकैसासमा पुलमा उक्लिए । उनले घोसे मुन्टो लगाउँदै पछिल्तिर बेलाबेलामा फर्की हेरेको देखिरहेको थिएँ । पुलबाट अर्कोपट्टि ओर्लिएपछि मेरो नजरबाट ओझेलमा परे र भिडभाडमै हराए । फोन लगाएँ स्विचअफ थियो । उनलाई भेट्न नपाउँदा मनमा औधि उच्चाट उत्पन्न भयो । राति पनि उनी मेरो सपनामा आए र उसरी नै हराए । सपनामा पनि भागिरहेका उनलाई केही गरी भेट्टाउन सकिनँ ।

एकहप्तापछि म अफिसियल कामले बर्दीबास पुगेर एउटा होटेलको कोठालाई मुकाम तुल्याएर काम गरिरहेको थिएँ । होटेल पूर्वपश्चिम लोकमार्गको छेउमै थियो । मेरो कोठा होटेलको दुईतल्ला माथि थियो र सडकपट्टि फर्किएको थियो । कोठाबाट सडकमा कानै खाने हर्न बजाउँदै सानाठूला गाडीहरु कुदिरहेका आँखैको डिलमा देखिन्थे । त्यो हल्लीखल्लीमा गाडीवालाहरु, यात्रीहरु, बजारमा किनमेल गर्न आउनेहरुको स्वर समेत मिसिएको थियो । यिनीहरुको कोलाहलले घरिघरि मेरो ध्यान र आँखा सडकतिरै तानिरहेका थिए ।

यस्तैमा झ्यालबाहिरको एउटा दृश्यले मलाई अच्चम्भित तुल्यायो । रत्नपार्कको दुरुस्तै दृश्य त्यहाँ पनि देखियो । त्यो दृश्यचित्रमा थिएः हरिजस्तै देखिने अर्धवैँसे व्यक्ति, ऊसँगसँगै हिँडिरहेकी आइमाइ, बाबुको हात समातेर लत्रिरहेकी छोरी । पिठमा गह्रौँ झोलाहरु । 

कतै हरि यहीँ त आइपुगेनन् ? एकछिनसम्म उनीहरुलाई हेरिरहेँ । हरिको परिवारको हुलियामा एक इन्च तलमाथि थिएन । उनीहरुले पहिनेको पोशाकको रङमा फरक परेको थियो होला, त्यो मैले रत्नपार्कमा पनि वास्ता गरेको थिइनँ ।

’उनीहरु सुदुर पश्चिमका मान्छे । झोलीतुम्बा बेरेर सुदुर पूर्व आउने सम्भावना नै छैन । यात्रा, पर्यटन वा तिर्थको लागि यहाँसम्म उनीहरु आइपुग्ने सम्भावना त हुँदो हो । त्यसो हो भने उनीहरुको साथमा रिजर्भ वा सार्वजनिक गाडी पनि हुनुपर्ने ।’ मनलाई थामथुम पारेँ । 

’गाडी बिग्रिएर पो यता झरेका हुन् कि ?’ मनले  एकतमाशले मेरा नजर तानिरहेका हरि होइनन् भन्ने मान्न तयार भएन । उठेर झ्यालबाट हेरेँ । उनीहरु सार्की पसलमा बसेर च्यातिएका जुत्ता चप्पल सिलाउँदै थिए । निज्याएर हेरेँ, हरिको परिवार होइन भनी मनलाई सन्त्याउने आधार थिएन । 

’हरि नै भैदिएको भए यत्रो समयसम्म बिरानो ठाउँमा अलमलिरहनु आवश्यकता नै छैन । होइनन् होला । ठाउँठाउँमा दुरुस्तै उस्तै मान्छेहरु देखिन्छन् । यो एउटा संयोग नै हुनुपर्छ ।’ मनलाई फकाउनु फकाउँदा पनि मान्दै मानेन । भेटेरै कुरा गरे के बिग्रियो र ? मनले भन्यो र जीउलाई उठ्न कर ग¥यो । खुट्टाहरु नजरलाई पछ्याउँदै उनीहरु भएतिर सोझिए । 

जुत्ता सिलाउने काम अझै बाँकी नै थियो उनीहरुको । सार्कीदाइले घरि खुइलिएका चप्पलतिर र घरि उनीहरुको खुइलिएको अनुहारको समदृश्यता दाँजिरहेका थिए ।

“हरि सर ??“ मैले उनीहरुको नजिकै पुगेपछि बोलाएँ । मेरो स्वरले उनी बरक्क बर्किए । तर नसुनेजस्तै गरी जुत्तातिरै ध्यान दिएझैँ नाटक पसारे । भाउजुले पछ्यौराले अनुहार छोप्ने कोशिस गरिन् । 

मैले उनीहरुलाई सोध्नुपहिल्यै उनकी छोरी दौडिँदै मेरो काखमा आई र सोधिहालीः “अङ्कल तपाईँ पनि आउनुभको ?“ उसले अनचिनारु ठाउँमा परिवारकै सदस्य भेटाएकोजस्तो गरी झ्वाम्मे अंगालो हाली मलाई । हरि होइनन् कि भन्ने मेरो झिनो आशंकालाई उसले सर्लक्कै मेटाइदिई । जुत्ताहरु सार्कीदाइको कब्जामा नहुँदा हुन् त त्यहाँबाट पनि हरिजी भाग्ने बेर लाउँदा रहेनछन् भन्ने अड्कल काटेँ ।मैले छोरीको केश सुमसुम्याउँदै सोधेँ, “हरि सर, तपाईँहरुको साइत कतातिरको हो ? किन झर्नुभएको यहाँ ?“ 

उनले मन नलागी नलागी मेरो अनुहारतिर हेरे । मेरो नजरको ऐनामा उनको अनुहार फुस्रो न फुस्रो चिन्ताले दग्ध देखियो । उनले मुख त बाए तर केही जवाफ दिन सकेनन् ।

मैले अड्कल गरेँ कि कुनै सानोतिनो संकटले नतर्साई यिनीहरु यहाँसम्म पक्कै आइपुगेको होइनन् । भाउजुले घोसेमुन्टो लगाएर खुट्टाको औँलाले भुइँ कोट्याइ रहेकी थिइन् । जिल्लामा छँदा मैले हरिजीको कोठाको सँगार नटेक्दै सन्चोबिसन्चोका दर्जनौँ प्रश्नले घेर्न मेरो अगाडि आइपुग्थिन् उनी । जहाँ भेटे पनि लम्बेतान गफमा चुर्लुम्मै डुबाउँथिन् । थकानले मात्र त यति परिवर्तित नहुनुपर्ने यी भाउजू !

“हरि सर ?“ फेरि बोलाएँ मैले । भाउजु र छोरी दुवैले मेरो सोधाइको जवाफ हरिसरसँगै मात्र छ भनेजसरी हरिकै मुखतिर क्वार्क्वार्ति हेर्न थाले । मैले बुझेँ कि उनीहरु यहाँसम्म किन आइपुगे भन्ने जवाफ हरि बाहेक अरुसँग छैन । हरिले सार्कीदाइको अनुहार छामे । सार्की दाइले पनि पुलुक्क हरिकै अनुहारबाट कुनै जवाफ खस्छ कि झैँ हेर्न थाले ।  हरि भने सार्की दाइकै उपस्थितिले कुनै गुह्य अप्ठ्यारोपनमा अड्किएझैँ थिए । उनलाई सप्ठ्यारोमा झार्न जुत्ता सिलाइसक्नुको विकल्प मैले देखिनँ । 

उनी आफूलाई केही सहज तुल्याउन खोकखाक गरेर घाँटी सफा गरेपछि बोले, “बरु तपाईँ कसरी यहाँसम्म आइपुग्नुभयो प्रेमजी ? कहाँसम्मको यात्रा हो ? आजको बसाइ कता हो ?“  उनले अनुहारमा नक्कली मुस्कानको रङ पोत्दै मलाई नै सोधे ।

“म त अफिसको कामले यहाँ आइपुगेको हो हरि सर, होटेलमा कोठा लिएको छु । भोलिसम्म यतै हुन्छु । पर्सि काठमाण्डौ फर्कन्छु । अस्ति तपाईँहरुलाई काठमाण्डौमै देखेको थिएँ । खोज्दाखोज्दै कता हराउनुभयो ? तपाईँहरुलाई कम्ता खोजेको थिइनँ मैले ।“  मैले हरिप्रतिको निकटता उस्तै ताजा रहेको अनुभूति गराउने असफल प्रयास गरेँ ।

“तपाईँ बसेको होटेलमा कोठा पाइन्छ कि ? आज यतै बस्नुपर्ला ? बाँकी कुरा कोठामै गरौँला हुन्न ?“ मैले सोझ्याउन खोजेको कुराको बाटो बदले ।

“किन नहुनु ? भैहाल्छ नि ! पख्नुस् है त म सोधिहाल्छु ।“ मैले होटेल मालिकलाई फोन लगाएर अर्को एउटा कोठा बुक गरिदिन भनेँ ।

“कोठा पाइयो हरि सर । जाऊँ उतै ।“ कोठा पाइयो भन्ने जानकारीले हरि र भाउजुलाई पटक्कै उत्साह थपिएको देखिएन । बरु छोरी नै फेरि अंगालोमा बेरिन आइपुगी, “हामी आज अङ्कलसितै बस्ने ! अङ्कलसितै बस्ने !!“ सार्कीदाइले जुत्ता सिलाइसकेर हरि र बच्चीको मुख पालैपालो नियाले । पहिल्यैदेखि धेरै प्रश्नहरु सोधेर पनि कुनै जवाफ नपाउँदा उनी आजित भैसकेछन् र प्रश्न सोध्नै छोडिदिएछन् । जुत्ता सिलाएको पैँसा भाउजुले थैलीमा खोजपत्ताल गरी तिरिदिइन् ।

“कोठा भाडा कति होला कुन्नि ?“ त्यताबाट उठ्ने जमर्को गरेपछि हरिले टाउको कन्याए ।

“छोडिदिनुस् भाडसाडाका कुरा । धेरै महङ्गो छैन । उतै कुरा गरौँला ।“ छोरीले पिठ्यूँमा बोकेको झोला मैले हातमा लिइदिएँ । झोला गह्रौँ थियो, “किन यति गह्रौँ भारी बोकाको यति सानी फुच्चीलाई ?“

“घरबाट निस्कँदा थोत्रा किताब र खेलौना समेत हाल्न मरिछे । जसको भागभोग नै छैन उसैलाई पढ्न मन लाग्नुपर्ने !“ भाउजूले छोरीलाई आँखा तरिन् । गाली गर्न पुगेको रहेनछ भन्ने बुझेँ ।

हामी होटेलमा पुग्यौँ । बुक गरिएको कोठा हे¥यौँ । मैले लिएकै कोठाको सामुन्नेमा रहेछ । दुइटा बेड भएको ठीक्कैको कोठा, एट्याच बाथरुम । एकथान कुर्सी । एउटा टिभी पनि । 

छोरीले बेड छामी, झ्यालतिर दगुरेर बाहिरतिर हेरी । झ्यालबाट उत्निखेरै फर्केर आई । आफ्ना मसिना औँलाहरुले कुर्सीका खुट्टादेखि शिरसम्मै छामी र कुर्सीमा थुचुक्क बसेर आफ्नो जिउले कुर्सी हल्लाउने अभ्यास गरी । उठी र ऐना हेरी । ऐनाबाट तर्सिएझैँ अर्कोतिर लागी । फेरि रिमोट खोजेर टिभि चलाउन खोजी । टिभीले टेरेन । अनि बाथरुमतिर छिरी । यस्तो लाग्यो कि उसले कुनै अव्यक्त पिडा भुलाउने चेष्टा गरिरहेकी थिई ।

भाउजुले झोला टेबुलमुनि कोचेर अर्को बेडमा थचक्क बसिन् । टाउको सलले फनफनी बेरेर कसिन् । टाउको दुखेको अनुमान गरेँ मैले । छोरी बाथरुमबाट खुर्र निस्किई र फेरि टिभि चलाउन थाली । उसले नजानेकोले मैले नै टिभि लगाइदिएँ । कार्टुन लगाउन उसैलाई आउँदोरहेछ । कार्टुनमा भुली । भाउजु बाथरुमभित्र छिरिन् । दाइले पनि झोला खाटको छेउमा राख्दै जुत्ता मोजा छराउन थाले । मोजाको तिखो दुर्गन्ध ह्वास्सै आयो । मैले नाक थुनेँ ।
“हामीलाई त एउटै बेड भएको साधारण कोठा भए भैहाल्थ्यो नि !“ कोठाको चुकुल लगाउँदै कुराको मेसो झिके हरिजीले ।

“यो जमानामा साधारण कोठा भनेकै यस्तै हुन् सर । राम्रा कोठा भनेका त एसि लगायत धेरै सुविधासम्पन्न हुन्छन् । अलिकति काम सकाउनु छ । बरु तपाईँहरुको गन्तव्य बताइदिएमा मेरो कौतुहुलता मेटिन्थ्यो ।“ मैले पनि कुरैले हरिजीको मन कोट्याएँ ।

उनले लामो सास तान्दै बोले, “म त ठूलो संकटमा फसेँ प्रेमजी । घरबार त्यागेर हिँडेको पो छु । यतै तराइतिर एउटा छाप्रो बनाउन मिल्ने जग्गा पाइए, यतै अनुहार लुकाउन हुन्थ्यो भनेर ।“ उनले तौलिया झिकेर दुवै हातले अनुहार पुछे । अनि थपे, “हुँदा हुँदा अब त पैँसो पनि सकियो । त्यो सम्भावना पनि टर्यो । अर्काकी छोरी र आफ्नी छोरी दुवै पछि लागेर आए । एक्लै कता छोड्नु ! यिनीहरुले गर्दा नै यो अवस्थामा पनि बाँच्नुपरेको छ । नत्र त ‘‘.. !“ उनले गलातिर हात लिएर संकेत गरे । मैले बुझिहालेँ ।

“के भयो र त्यस्तो ? मान्छेलाई कस्ता कस्ता संकट परेर त बाँचेकै छन् । मर्दले त्यस्तो कुरा गर्न सुहाउँदैन हरि सर ।“ मैले सम्झाउने प्रयत्न गरेँ ।

भाउजु चिसो कपालको गुजेल्टो पार्दै बाथरुमबाट बाहिर निस्किइन् । उनका माथिदेखि तलैसम्मका कपडा भिजेका थिए । अनुहारतिर हेरेँ । आँखा राता थिए । परेली सुन्निएका थिए । गाला त पानीले भन्दा आँशुले नै भिजेजस्ता देखिन्थे ।

“बरु जागिर नै नखाएको भए यो परिवारलाई पाल्न सकिन्थ्यो । जागिरले खायो प्रेमजी, जागिरले ! लोकसेवामा नाम निक्लेको दिनमा संसारै जितेजत्तिकै हर्ष लागेको थियो । अहिले यही जागिर घाँडो भैदियो ।“  उनले टेबुलमा राखिएको बोत्तल खोलेर घटघटी  चिसो पानी पिउँदै कुराको पोयो बटारे,  “अख्तियारको आँखा लाग्यो प्रेमजी । त्यसको आँखा लाग्नुपर्ने ठाउँमा लाग्दोरहेनछ, नलाग्नुपर्ने ठाउँमा लाग्दोरहेछ । गाउँमा मुख देखाउन मुश्किल भयो ।

मुख त जसोतसो देखाइन्थ्यो होला । दुश्मनले हात धोएर पछि लागेको छ । गाउँमा बस्नै मुश्किल भयो ।“ उनी घरिघरि पानी पिउँदै आफ्नो बयान सके ।  लोग्नेमान्छे हुन् अनुहारमा विषादका रेखाहरु भए पनि आँशु उम्रन नदिएको प्रष्ट देखिन्थ्यो । हरिले एक वाक्य पूरा गर्दा हरिजीको साटो भाउजूले एक खेप आँशु पुछ्थिन् । छोरी पनि टिभिमा पूरै भुल्न सकेकी थिइनँ । घरिघरि शोकसन्तप्त बाबुआमातिर चियाएर आफ्नो अनुहार निन्याउरो पार्थी ।
“अनि काठमाण्डौमा पनि देखेको थिएँ अस्ति । तपाईँ त फुत्किनुभयो ?“ मैले कुरा फेर्न खोजेँ ।

“हो, मैले पनि तपाँईँलाई देखेको हुँ । अब परिचितहरु  तथा नाताकुटुम्बसँग भेटेर पनि के काम ? शरम लाग्छ । काठमाण्डौ मुद्दाको तारिख थाप्न गएको थिएँ । तारिख थाप्ने त निहुँ मात्रै हो । दुश्मन हात चुठेर पछि लागेको छ । पाखा लागिएला कि भन्यो फेरि मिनोमै धकेलिदिन्छ । के जितिएला र मुद्दा त ?“ उनले कोठामा बाँकी रहेका माकुराका जालहरु हल्लिने गरी श्वास फेरे ।
बाहिर अँध्यारो हुँदै गएको थियो । खाना तयार भएको सूचना आयो । हामी खाना खान तल ओर्लियौँ । छोरीले धेरै दिनको भोक मेटिएझैँ स्वाप्र्याक स्वाप्र्याक पार्न थाली । हरिले पनि भोक मेटाए । भाउजूले भने भात मुछिरहिन् मात्र । एकदुई गाँसभन्दा बढी भात उनको गलामा छिरेन ।

खाना खाइसकेपछि हामी चारैजना हरिकै कोठामा पुग्यौँ । छोरीले टिभि चलाई । कार्टुनका च्यानल फेरी । मन बसेजस्तो लागेन । ओछ्यानमा पल्टिई । पल्टिएको एकैछिनमा ऊ त घुर्न थाली हाली । हरिजत्तिकै हाइसुख्ख मलाई पनि भयो ।

छोरीलाई डिस्टव नहोस् भन्ने हेतुले मैले हरिलाई मेरै कोठामा बोलाएँ । 

“यतै बसेर कुरा गरे पनि भैहाल्यो नि !“ भाउजू अनकनाइन् । उनले भाउजूलाई मनाएजस्तो गरे र मेरो कोठामा खुरुक्क आए । ’अनचिनारु ठाउँमा भाउजू र छोरीलाई एक्लै छोडेर हरिलाई आफ्नो कोठामा बोलाउन नहुने !’ मेरो मन पछुतोले खिन्न भयो ।

म खाटमा बसेँ, उनी कुर्सी तानेर बसे । उनले सञ्जयले धृतराष्ट्रलाई महाभारत युद्ध अवस्थाको प्रत्यक्ष जानकारी गराएजस्तै मलाई आफ्नो महाभारी व्यथाको प्रत्यक्ष प्रसारण गर्न थाले । 
“ ‘‘ “
०००
“के हो तिम्रो नाम ?“
“गगग गनेस छेर्ती !“
“बाबुको नाम ?“
“देउबादुर छेर्ती !“
“बाजेको नाम ?“
“मादेउ छेर्ती !“
“ठेगाना ?“
“‘‘. “
मेरो अघि उभिएर मेरो सोधनीअनुसार जवाफ दिनेको जीउतिर मैले सर्सर्ति हेरेँ । बाउला र फेर लङ्गलङ्ग च्यातिएको भोटी । भोटीमाथि कलेटी परेको र ठाउँठाउँ टाला हालेको जाइकोट । धुजाधुजा परी कम्मर भित्रको पर्दन्नीतक देखिने एकसरो मैलो धरो । मयल र घाउले कोरी भ्यागुताको जीउजस्तै देखिने हात खुट्टाहरु । अनुहारतिर हेरेँ, उसले मेरो प्रश्नको जति जति जवाफ दिँदै जान्थ्यो, उतिउति निलोकालो हुँदै गएको थियो । हिउँदको सिस्ने नजिकैको गाउँमा मुटु ठिहि¥याउने ठण्डीमा पनि उसको अनुहारबाट पसिनाको खहरे उर्लिरहेको थियो । गोडा लुगलुग काँपिरहेका थिए । स्वर लर्बराइरहेको थियो । मैले हस्ताक्षर गर्नु अघिको नागरिकता कार्डमा उल्लिखित विवरण उसले हुबहु बताइदिएको थियो । 

विश्वस्त भएर मैले उचालेको कलम हस्ताक्षरहेतु कार्डमा के दगुर्न थालेको थियो, एउटा चेतावनीमूलक स्वरले मेरो कलम अड्किहाल्यो । मेरो ध्यान स्वरतिर खिचियोः “खबरदार ! त्यो कार्डमा सही गरेमा अख्तियारमा जाकिदिनेछु । जागिरबाट हात धुनुपर्ला सही गर्नुपहिला बिचार गर्नू !“

त्यो खबर्दारी स्वर पछ्याउँदै मेरा आँखा कोठाको मूलढोकासम्म पुगे । मेरो अगाडिको  नागरिकता अभिलेखको बडेमानको ढड्डा पन्छाएपछि मात्र पूरै ढोका देखियो । ढोकाबाहिर नागरिकता लिन आएका मान्छेहरुको ठूलो भिड उर्लिएको थियो । माथि वर्णित दीनहीन जङ्गलीजस्ता देखिने मान्छेहरुदेखि सुटपाइन्टमा सजिएकासम्मका मान्छेहरुको कोलाज थियो त्यहाँ । मैले ठम्याएँ कि मलाई एकजना सुकिलो मान्छेले आँखा र मुठ्ठी बटार्दै हप्काउँदै थियो ।

मैले मेरो छेउमा उभिएका गाविस सचिवलाई प्रश्नसूचक आँखाले हेरेँ । उनले ओठ लेब्र्याउँदै भनेः “खै, यस्ता विवादास्पद केशहरु यो समयमा पेश नगर भन्दा साथीहरु टेरपुच्छर लाउँदैनन् । कुरो अप्ठ्यारै छ । साथीहरुले ठेगान् लाउलान् जस्तो छ ।“ उनले थपथाप पारेको शंकाले मेरो मुटु हल्लाइदियो । 

म जिल्ला प्रशासनको नागरिकता फाँटको कर्मचारी थिइनँ । म त सातदिने नागरिकता वितरण टोलीमा खटिएको हुलाकको शाखा अधिकृत पो थिएँ । खासमा नागरिकता वितरण मेरो लागि नितान्त नौलो अनुभव थियो । जिल्ला प्रशासन बाहेक अन्य कार्यालयहरुबाट घुम्ती शिविरको लागि खटिने जिल्ला प्रशासन इतरका अधिकृत साथीहरुले भनेको सम्झिएँ, “बडो होशियार हुनुपर्छ नागरिकतामा सही गर्दा । यस्तै शिविरमा खटिएका धेरै साथीहरुले निलम्वनमा परेर जिन्दगीभर मुद्दा खेपिरहेका छन् । कसैले त जागिरबाटै हात चुठिसके ।“

त्यो केश जटिल हो भन्ने मैले बुझिसकेको थिएँ । मैले सही गर्न के सक्थेँ ? मेरो अगाडि दुई हातजोडेर उभिइरहेको अजिवको प्राणीलाई मीठो गरी सम्झाउँदै भनेँ, “आज तिम्रो नागरिकता बन्दैन । घर जाऊ । म बुझेर सही गरुँला । यता मिलेन भने सदरमुकाममै आउनुपर्ने हुनसक्छ तिमी ।“
मेरो कुराले उसको आँखामा तरक्कै आँशु निक्लियो । उसको रङहिन आँशु गालामा झरेपछि कैलो खोलामा परिवर्तन भयो । उसले आँशुको त्यो भेललाई च्यातिएको बाहुलाले उभाउने निरर्थक प्रयास ग¥यो । मसँग अनुनय विनय गर्ने हिसाबले दुवै हातका औँलाहरु जोड्दै ओठ फर्फराउँदै थियो, मेरो सामुन्ने उभिएका सचिवले हप्काइहाले, “ हाकिमसाबले  खुरुक्क जाऊ भनेको सुनेनौ ? पुलिस लाउनुपर्ने ?“ सचिवले अलि बढी नै बोलेको जस्तो लाग्यो । पुलिसै लाउने खालको अटेरीपन भने उसले देखाइहालेको थिएन ।

ऊ मेरो मुकामको ढोकाबाट लर्बराउँदै बाहिर निस्कियो । बाहिर गवाहीको रुपमा आएका ऊ जस्तै देखिने मान्छेहरु पनि ठ्याम्मै उस्तै निन्याउरिँदै बाहिर निस्किए । मलाई खबरदारी गरिरहेको व्यक्ति विजयोन्मादको अनुहार लगाउँदै दुईहात प्याट्ट जोड्दै मलाई नमस्कार टक्र्यायो र उनीहरुको पछिपछि टकटक(टकटक बाहिर निस्कियो । 

नागरिकता बनाउन आउन मान्छेहरुको भीडभाड उल्लेख्य थियो । प्रत्येक फाइलका एकएक कुराहरु हेरेर साध्य पनि थिएन । धेरैजसो फाइलमा आफ्ना सहयोगीहरुले जे जसो भन्छन्, त्यही अनुसार सही गर्नुको विकल्प पनि थिएन । प्रकृया  पछ्याउँदा गाविसको सिफारिश, गाउँलेहरुको सर्जमिन मुचुल्का, प्रहरी रिपोर्ट, बाबुबाजेको नागरिकता आदि आधारहरुलाई भने राम्रोसँग हेर्नुपर्थ्यो । टाइप गर्दा नामथर, जन्ममिति, ठेगाना, बाबुबाजेको नाम आदि पनि गलत भएको हुनसक्थ्यो । 

जति होशियारीपूर्वक कानुनी प्रकृया वा सामान्य त्रुटीको ख्याल गर्न खोजिन्थ्यो, नागरिकता बनाउन आउनेको त्यति नै बढी भीडभाड बढ्दै जान्थ्यो । अलिकति भीड बढ्न थालेमा सेवाग्राहीहरुले पनि ढिलासुस्ती भयो भन्दै हल्लाखल्ला मच्चाउन थाल्थे । सहायक मित्रहरुले भिड बढेको दोष मैमाथि थोपर्दै भन्थेः “अन्यत्र खटिएको टोलीले दिनमा एकहजार नागरिकता वितरण गरिरहेको बखत यो टोलीले एकसय पनि पार लगाउन हम्मे हम्मे परिरहेको छ । हाम्रो टोली प्रमुखले अनावश्यक प्रक्रिया खोजिरहेका छन्, यसैले गर्दा ढिलासुस्ती भएको हो !“ सेवाग्राहीकै कानमा यस्तो कुरा परेमा स्थिति झनै तनावपूर्ण हुने कुरा निर्विवाद थियो । अतः स्याम्पलिङको रुपमा मात्र यो केशलाई राम्रोसँग हेरेको थिएँ । अरु फाइलको पनि मैले सकेसम्म प्रकृया हेरिरहेको त थिएँ, यति हुँदाहुँदै पनि प्रकृयामा कतै नचिप्लिएको हुँला भन्न सकिँदैनथ्यो । 

त्यो दिन नागरिकता वितरणको काम बेलुका झमक्क अँध्यारो होउन्जेल चल्यो । बिजुलीबत्तीले रुकुमकोटभन्दा यताउता पुग्न आनाकानी गरिरहेको जमानामा रुकुमकोटबाटै एक दिन लाग्ने नाइगारजस्तो विकट ठाउँमा टुकी वा मैनबत्ती बालेर काम फत्ते गर्नुको विकल्प थिएन ।

जब खाना पाकेको खबर आयो त्यसपछि बाँकी रहेको नागरिकता वितरण कामलाई थन्क्याउन लगाएँ । काम नसकिएका मान्छेहरु गासबासको लागि यताउता भौँतारिन थाले ।

हाम्रो खानपिन र बसोबासको व्यवस्थापन सम्बन्धित गाविसहरुले मिलाएका थिए । खाना खाँदा सबै कर्मचारीहरु सँगै खान बस्थ्यौँ र दिनभरको कामको समीक्षा गथ्र्याैँ । मुख्य समीक्षक त प्रदीप नै हुन्थ्यो । तर आज खाना खाँदा महत्त्वपूर्ण भूमिका खेलिरहेको प्रदीप खाना खान आएन । सोधखोज गर्दा बिरामी परेको भन्ने सुनेकोले पस्किएको खाना हतपत खाइवरी म प्रदीपको कोठातिर लागेँ । 

कोठा काजगपत्रहरुले भरिएको थियो । दुई बेन्चहरु जोडेर खाट तुल्याइएको थियो । तल धुलोको खात थियो त्यसमाथि कागजपत्रको खात थियो र त्यसैमाथि पातलो तन्ना लगाइएको थियो । ऊ यसप्रकारको बिछ्यौनामा उत्तानो पल्टिएको रहेछ । उसको निधार छामेँ, ज्वरो चढेको रहेछ । दिनभरको धपेडीले लखतरान हुँदा ज्वरो बढेको अनुमान गरेँ । 

“के भयो ? यस्तो चिसो ठाउँ । कामको चाप । खाना नै छोडे त मरिन्छ !“ मैले कर गरेर उसलाई खाना खान उठाएँ । केही बेरसम्म उसले खाना नै नखाने अड्डी कस्यो । तर मेरो करको अगाडि उसको अड्डी कमजोर सावित भयो र बिछ्यौनाबाट जुरुक्क उठेर नबोलेरै मेरो पछि लाग्यो । होटेलमा पुगेपछि आधा भात खायो र आधा मुछेर थाल लर्काइदियो । उठेर हात चुठेपछि लत्रिँदै आफ्नो कोठातिर लाग्यो ।

प्रदीप यस टोलीको सबैभन्दा हसिलो कर्मचारी थियो । पदको हिसाबले कम्प्युटर अपरेटर । भारी बोक्नेदेखि मान्छे ठोक्नेसम्म सबै जानेको । यस टोलीमा सबैभन्दा बढी खट्ने कर्मचारी उही । जस्तोसुकै असक्त अवस्थामा पनि हसिलोतसिलो भैरहने । इमान्दार पनि र नियमित सेवामा हाजिर हुने । विधि पु¥याएर मात्र काम सम्पादन गर्ने । हुलाककै कर्मचारी भएकोले र उसलाई मैले अति नै विश्वास गर्ने भएकोले यो टोलीमा प्रदिपलाई नै सेकेन हाकिम भन्थे अरु साथीहरु । उसले कुनै कुरा गर्नुपर्छ भन्ने अड्डी कस्यो भने न मैले अस्विकार गर्न सक्थेँ, न त टोलीका अरु साथीले नै इन्कार गर्न सक्थे ।

ऊ बिरामी परेको बहानाबाजी गर्दा आज खल्लो भैरहेको छ । कतै अरु कुनै कारण त छैन ऊ नबोल्नुमा ?

हात चुठिसकेपछि म उसको कोठामा पसेँ । ऊ मुख छोपेर पल्टिएको थियो ।

“तिमीलाई अझै ठीक भएन ?“

उसले इन्कारीको टाउको हल्लायो । कामको चाप यति धेरै छ ज्वरो चढ्नु र आङ दुख्नु त स्वाभाविकै हो । तर अरु साथीहरुले मन दुखाउने काम त गरेनन् ? मेरो आशंका घनीभूत भयो ।

“भन भन । तिमीले नै भोलि उठ्न सकेनौँ भने त मलाई भोलि झन् गाह्रो हुनसक्छ । त्यस्तो केही भए खुलस्त भन ।“

मैले फकाईफुलाई जोरबल गर्दा पनि उसले कुरा व्यक्त गर्न सकेन । बिरामी परेकै कारणले सुतेको भनेर भरपर्दो कारण पनि पेश गर्न सकेन ।

मैले फकाउनुसम्म फकाएपछि ऊ बल्ल उठ्यो र ओठ फरफरायो ।

“भन भन, केही अप्ठ्यारो मान्नुपर्दैन । तिमी त मेरो दाहिने हात हौ नि । तिम्रो कुरा मैले कहिले पो इन्कारेको छु र ?“ मैले उसको बोली फुटाउने ओखती गरेँ ।
“हाकिमसाबले दिउँसो गणेशको केशमा मलाई तथानाम गाली गर्नुभयो रे । जागिरको सवालमा प्रदीपले खेलाँची गरयो भन्नुभयो रे ।“ बल्ल उसको बोली के फुटेको थियो गला अवरुद्ध भैहाल्यो । ओठले पिलपिल गरे । आँखा रसाइहाले । 

“गाली ? मैले तिमीलाई कहिले गरेँ गाली ? त्यो केश तिमीले नै अगाडि बढाएका थियौ भन्ने थाहै थिएन मलाई त ।“

“मलाई सबै साथीहरुले त्यसै भने । हजुरले नभनेर बिचमै साथीहरुले जुराएका पो रहेछन् ।“ ऊ उज्यालियो र सजिलोसँग बस्यो । 

“तर तिमीले  नै त्यो विवादास्पद केश अगाडि बढाएको हो भने ठीक गरेनौ । त्यो अलि जोखिम खालको केश रहेछ ।“ मैले साँच्चिकै प्रदीपप्रति अविश्वासले राँकिएँ ।

ऊ फेरि बेसरी अँध्यारियो । ओछ्यानबाट उठेर नजिकको अम्खाराबाट कल्कल्ती पानी खायो ।

“त्यस्तो कच्चा काम किन गरेको त ? तिम्रो मेरो र यो टोलीका हरेक सदस्यको जागिरको सवाल हो नि ।“

ऊ केही बोलेन । दुई हातले टाउको अड्याउँदै पुनः सुत्ने बहाना झिक्यो ।

“भन न भन ? नभनी सुख पाउँदैनौ । उठिहाल ।“ म अब उसलाई यत्तिकै छोड्नेवाला थिएन ।

मेरो करकाप र चर्को आवाजले ऊ नउठी करै लाग्यो ।

“गणेशलाई नागरिकताबाट वञ्चित गर्न खोजिएको रहेछ । ऊ नै देवबहादुरको असली र एक मात्र छोरा रहेछ, कुमार होइनरैछ, वंशजको आधारमा नागरिकता असली छोराले नै पाउँछ ।“
“को कुमारको कुरा गरेको तिमीले ?“ अन्यमनस्क हुँदै सोधेँ मैले ।

“दिउँसो  हजुरले गणेशबहादुर क्षेत्रीको नागरिकता कार्डमा सही गर्न थाल्दा हजुरलाई रोक्ने व्यक्ति ।“ प्रदीपको स्वर दृढ थियो ।

“यति टाढाका मान्छेहरुमा को कसको छोरा हो ? कोसँग कसको नाता के पर्छ ? कसरी भन्नसक्छौ तिमी ?“ मैले पत्याइनँ ।

“तथ्यपरक कुरा सुनेर पनि तथ्यको नजिक पुग्न सकिन्छ नि हजुर !“

“बगम्फुसे कुराको पछि लागेर हुन्छ ? कुरो र कुलो जता लायो उतै लाग्छन् भन्ने थाहा छैन ?“ म च्याँठ्ठिएँ ।

“मलाई गणेशको बाबु देवबहादुरको साथीले भनेको । उसको नाम जङ्गबहादुर रहेछ । गणेश जन्मनुभन्दा पहिले देवबहादुर र जङ्गबहादुर सपरिवार संगै कालापार गएका रहेछन् । त्यसबेलादेखि अहिलेसम्मका देवबहादुरको जीवनकथा र गणेश र कुमारको जन्मकथाको बारेमा बेलिबिस्तार लगाएका थिए । जीउका पूरै रङ फुलाएका व्यक्तिले ढाँटेको होलान् भन्ने आशंका गरिनँ मैले ।“ प्रदीप अझै दृढ देखियो ।
“के सुनाएको थियो त तिमीलाई त्यो जङ्गबहादुर भन्ने व्यक्तिले ?“

जङ्गबहादुरले आफूलाई लगाएको बेलिबिस्तार प्रदीपले सबिस्तार मलाई सुनायो ।
०००
मैले प्रदीपको बेलिबिस्तार सुनेर जिल खाएँ । प्रदीपले त्यो गणेश नामको नागरिकता फाइल अघि बढाएर ठीकै गरेछ जस्तो लाग्यो।

मलाई दिउँसै गणेशको अवस्था देखेर दया पलाइसकेको थियो । गणेशजस्तो दीनहिन देखिने व्यक्तिले ढाँट्न के जान्दो हो ! तर जङ्गबहादुरले  प्रदीपलाई भनेका कुरा कति साँचा हुन् कति झुठा हुन् म अन्धधुन्धमा परेँ । 
आफ्नो कोठामा पुगेर चिन्तन मनन गर्न थालेँ । यदि गणेश नै देवबहादुरको असली छोरा रहेछ भने कुमारको धम्कीदेखि डराएर गणेशलाई वंशजको आधारमा नागरिकता नदिनु घोर पाप हुन्थ्यो । नागरिकता नदिएर फर्कने हो भने त्यो व्यक्ति सदरमुकामसम्म आइपुग्ने हैसियत राख्दैनथ्यो । उसको घरआँगनमै टोली आएको बखत नागरिकता नपाए ऊ नागरिकताबाटै सधैँ बञ्चित रहने सम्भावना थियो । 

शिविरमा खटिएको बेला यस्तै व्यक्तिहरुको उद्वार गर्न सकिए हुन्थ्यो भन्ने भावना त उहिल्यै पलाएको थियो मलाई । श्रीमती र छोरीले शिविरमा नजान रोइकराई गर्दा पनि सिक्ने र आफ्नै जिल्ला दर्शन गर्ने अवसर गुमाउनुहुँदैन भन्दै म यस ठाउँमा आइपुगेको थिएँ । त्यसैले कुमारको चेतावनीले भन्दा पनि कानुनी प्रक्रिया नपुगेको आशंकाले नागरिकता दिन मलाई अप्ठ्यारो परेको थियो । 
यस्तै मनकुराले गर्दा मलाई त्यस रातभर निद्रा परेन । भोलिपल्ट बिहानै मैले टोलीमा खटिएका प्रहरीमध्ये दुईजनालाई सिस्नेतिर कुदाएँ ।

भोलिपल्ट बेलुकातिर जङ्गबहादुरलाई ल्याइपु¥याएर प्रहरीले मलाई बुझाए । दिनभरि नागरिकता वितरणको काम सकेर रातितिर जङ्गबहादुरलाई पनि आफैसँग खाना खुवाइ आफ्नै कोठामा राखेँ ।
रातभर जङ्गबहादुरले मलाई गणेशको घटना विवरण सुनाए ।
०००
’तीस वर्ष पहिले सिस्ने गाउँका बासिन्दाको हालत हिजोआजको भन्दा झनै गए गुज्रेको थियो । खेतीपातीको सम्भावना न्यून थियो । परिवार पाल्नै कठिन थियो । अतः साथीभाइहरुको लहैलहैमा लागी देवबहादुर र जङ्गबहादुर आआफ्नो परिवारसहित कालापार पुगे । कालापारमा स्याउ टिप्ने र स्याउका पेटी बोक्ने काम पाए । 

परिवार सहित सुखदुःखले काम गर्दै थिए । एक दिन देवबहादुरकी स्वास्नी अकस्मात हराई । देवबहादुर र जङ्गबहादुरका परिवारले गर्नुसम्म उसको सोधखोज गरे । दिन पर्खिए, हप्ता पर्खिए, महिना पर्खिए, तर देवबहादुरकी स्वास्नी हराएकी हरायै भई । त्यस दिनदेखि देवबहादुर एक्लै भए । न घर फर्किन सके, न मन फर्काउन सके । उनी मुर्झाउँदै जान थाले ।

डेढ वर्षपछि देवबहादुरकी स्वास्नी अकस्मात जसरी हराएकी थिई, उसरी नै टुपुल्किई । उसबाट थाहा भयो कि उसलाई मानिस दलालहरुले कोठीमा बेचिदिएका रहेछन् । उसकी स्वास्नीले पेटमा बच्चा समेत बोकेर आएकी थिई । देवबहादुरले हराएर कोठीमा बेचिएकी स्वास्नीलाई बच्चासहित स्वीकार्न आनाकानी ग¥यो । 

जङ्गबहादुरको परिवारले देवबहादुरलाई सम्झाईबुझाई ग¥यो । उसकी स्वास्नी रहरले बेचिएकी थिइनँ । देवबहादुरलाई एक्लो पार्नहुन्न भन्ने भावना र अटल विश्वासले बच्चैसित फर्केर देवबहादुरको शरणमा आई । उसलाई विश्वास थियो कि देवबहादुरले आफूलाई स्विकार्नेछ । संसारमा विश्वासभन्दा ठूलो थोक केही छैन । असली विश्वास नै प्रेम हो । असली प्रेम नै विश्वास हो । 

देवबहादुरले आफूलाई स्वीकार्न आनाकानी गरेको देखेपछि उसले एक्लै जीवन बिताउने निर्णय लिएकी थिई । जङ्गबहादुरको परिवारले फकाएपछि गाउँमा कुनै पनि हालतमा जानकारी नदिने शर्तमा देवबहादुरले स्वास्नी स्वीकार ग¥यो । केही वर्षपछि देवबहादुरलाई कालापार बस्न कठिन हुँदै गयो र गाउँमा पनि आर्थिक उपार्जनका विकल्पहरु सिर्जना भैरहेको सुन्यो । अतः उसको परिवार गाउँमा फर्कियो । गाउँमा पुगेपछि अर्को छोरा जन्मियो । दुवै छोराहरु हुर्कँदै गए । आफ्नै रगतको छोरा प्राप्त गरेपछि देवबहादुरले छोराहरुमा विभेद गर्न थाल्यो । स्वास्नीसँग पनि यस्ती उस्ती भन्ने निहुँ खोजेर झगडा गर्न थाल्यो । पारिवारिक कलह बढ्दै गयो । 
कालापार नै जन्मिएको पहिलो छोराको नाम कुमार राखिएको थियो । गाउँमा जन्मेको छोराको नाम गणेश । बाबुले कान्छो छोरालाई सेप्न थालेपछि आमाले जेठो छोरालाई उचाल्न थाली । परिणाम के भैदियो भने जेठो छोरा कुमार हरेक कुरामा बाठोटाठो हुँदै गयो भने कान्छो छोरा सिधासुधो हुँदै गयो । 

एकदिन लोग्ने स्वास्नीको झगडा भैरहेको बखत लोग्नेले ’कुमार आफ्नो वंशको छोरा नभएको र कोठीमा बसेकी स्वास्नी स्वीकार्न बाध्य भएकोले दुवैजना घरबाट निक्लन’ हाँक दियो । कुमार जान्नेबुझ्ने भैसकेको थियो । यसले कुमारमा बाबुआमासँगै वैमनस्यता साँध्न बाध्य तुल्यायो । अतः कुनै रात देवबहादुर गाउँबाटै अकस्मात हरायो । बाबुलाई बेपत्ता पारिसकेपछि आफ्नी आमालाई पनि उसले घरमा बस्न दिएन । ऊ राङ्सीतिर पोइल हिँडी ।
गणेश सानै थियो । कुमारले घरजम गरिसकेको थियो । उमेर नपुगुन्जेलसम्म कुमारकै भाँडा माझेर टुहुरो तथा असहाय गणेशले दिन कटायो । कान्छो छोरा हुर्कँदै गएपछि अंशबण्डाको कुरा उठ्न थाल्यो । गाउँमा कचहरी बस्न थाल्यो । तर कुमारले आफ्नो नोकरसरह काम गरिरहेको भाइ गणेशलाई आफू एक्लैले उपभोग गरिरहेको बाबुको सम्पत्ति दिन स्वीकार गरेन । 

कुमार यतिसम्म उद्दण्ड स्वभावको हुनथाल्यो कि गाउँमा जो गणेशको लागि बोलिदिन्थ्यो उसलाई सिध्याइदिने चलखेल गर्न थाल्यो । गणेशलाई सम्पत्ति आर्जन गर्नको लागि र गाउँले तोकिदिएको जग्गाजमिन बेचबिखन र भोगचलनको लागि नागरिकता बनाउनुपर्ने आवश्यकता खड्कियो । उनीहरुका बाबु देवबहादुरको नागरिकता थियो कि थिएन कसैलाई पनि थाहा थिएन । कुमारले भने गाउँलेको सर्जमिनको आधारमा पहिल्यै नागरिकता लिइसकेको थियो । 

कुमारले बाबुको सम्पत्ति एकलौटी पार्ने पाप सोच्यो । त्यसको लागि भाइलाई नागरिकताबाटै वञ्चित गरिदिने योजना बुन्यो ।  उसले गणेशको नाममा गाविसको नागरिकता सिफारिश हुन नै दिएन । गाविस सचिवहरु नयाँ आउँथे, गणेशको यथार्थता थाहा हुँदैनथ्यो । केही बेचिन तयार सचिवहरुलाई उसले किनिहाल्थ्यो । गाउँलेलाई पनि सरजमिन मुचुल्का गर्न दिएन । गाउँ कुमारको हैकमले त्रस्त थियो ।

जङ्गबहादुरलाई कुमारको यो अचाक्ली असह्य भैरहेको थियो । आफ्नै जीवनकालमा गणेशलाई नागरिकता तथा अंश दिलाइदिए कल्याण हुने सोचेको थियो जङ्गबहादुरले । अतः नागरिकता टोली गाउँ नजिकै आएको खबर सुन्नेबित्तिकै गणेशलाई साथमा लिएर जङ्गबहादुर नागरिकता शिविरमा आइपुगे । 

जङ्गबहादुरले प्रदीपलाई यही कुरा बताइदिएपछि प्रदीपले त्यहीँ उपस्थित गाउँलेहरुको सरजमिन बनाएर सचिवलाई सिफारिश गर्न बाध्य बनाएर फाइल अगाडि बढाएको रहेछ । गणेशको फाइल अघि बढेको देखेपछि प्रदीपलाई नै शिविरबाट कुनै हालतमा सदरमुकाम फर्कन नदिने चेतावनी दिएको रहेछ कुमारले ।’

जङ्गबहादुरको आफ्नो बयान सिध्याउँदा बिहान भैसकेको थियो । उनले सरकारी कर्मचारीहरुले हुनेखाने पहुँचवालाहरुको भन्दा यस्तै दीनहीन व्यक्तिहरुको कल्याण गरे धर्म लाग्ने उपदेश सुनाएर आफ्नो घरतिर हिँडे ।
०००
जङ्गबहादुरको बयानले गणेश र कुमारको चरित्रबारे अनुमान गर्न त सजिलो भयो । तर एकजनाको मात्र बयान सुनेर नागरिकता दिने निर्णय गर्न मनले खाएन । त्यही बिहान जङ्गबहादुरकै बयान अनुसार देवबहादुरकी स्वास्नीलाई राङ्सीबाट हाजिर गराउन मैले प्रहरी खटाएँ ।

जब मैले गणेशको बारेमा सत्यतथ्य पत्ता लगाउन अग्रसर हुन थालेँ, नागरिकता टोलीमा मप्रति एकप्रकारको अविश्वास सिर्जना भैदियो । तीनवटा गाविस सचिवहरुले मलाई सहयोग गर्न नसकिने भन्दै फर्किए । सिस्ने गाविसको सचिवले मात्र मलाई सहयोग गर्ने भए । शिविरको अवधि दुई दिन मात्र बाँकी थियो । गाविस सचिवहरुले आफूलाई असहयोग गरेर काम छोडेको बारेमा मैले सिडिओ र एलडिओलाई जानकारी गराएँ । माथिबाट तीनवटै गाविसको जिम्मेवारी सिस्ने गाविस सचिवलाई तोकियो । प्रदीप र सिस्ने गाविस सचिवले मलाई त्यस दिनभर सक्दो सहयोग गरे । दोस्रो दिनको बेलुका खटाइएका प्रहरीहरुले देवबहादुरकी श्रीमतीलाई मेरो अगाडि प्रस्तुत गरे । 
देवबहादुरकी स्वास्नीलाई केरकार गरेर बयान गर्न लगाएँ । जङ्गबहादुर र देवबहादुरकी स्वास्नीको बयानमा भिन्नता खासै देखिएन । 

उनले लोग्नेलाई विपरीत परिस्थितिमा पनि साथ दिएर कालापारमा दुखजिलो गर्न हिँडेको, दलालहरुले आफूलाई बिचेत तुल्याई बम्बैको कोठीमा पु¥याएको, सो दिनदेखिको कोठीको दर्दनाक कथाव्यथा बेहोर्नुपरेको, लगातारको जुक्तिपछि साथीहरुको सहयोगबाट डेढ वर्षपछि आफू कोठीबाट उम्कन सफल भएको, अरु साथीहरुसँग गाउँ फर्कनुभन्दा लोग्नेसँगै बस्न उपयुक्त हुँदै पुनः सोधखोज गर्दै कालापार नै फर्किएको, लोग्नेले आफूलाई स्वाकारेको खुशी र त्यसै दिनदेखिको मानसिक तनावयुक्त लोग्नेको बारम्बार घृणित व्यवहार, आफूले तनाव सहन नसकी गाउँमा एक्लै फर्कने निधो गरेकी, गाउँमा पुगे झनै बेइज्जत हुने डरले लोग्ने पनि साथ लागेर गाउँ फर्किएको र कलह झन् झन् बढ्दै गएकोले आफूले पहिलो घरबार त्यागेको आदि विवरणहरु खुलस्त बताई । 
गणेशकी आमाले आफ्नो इतिवृत्तान्त सुनाइसकेपछि राङ्सीमै फर्किई । 

यी दुईजनाको बयानले गणेशलाई नागरिकता दिने आँट आयो । त्यसै दिन गणेशलाई सिस्नेबाट झिकाएँ । गणेशलाई पुनः शिविरमा बोलाएको चालपाएर कुमारले गुण्डाहरु समेत ल्याएर नागरिकता शिविरमा दलबलसहित उपस्थित भयो । मेरो कार्यकक्षमा पसेर गणेशलाई नागरिकता दिलाए अपृय घटना घट्ने भन्दै धम्की दियो । 

मैले उसले देख्दा देख्दै गणेशको फाइल मगाएर नागरिकता गणेशको हातमा थमाइदिएँ । 

कुमार ममाथि नै जाइलाग्न थाल्यो । मैले प्रहरीहरुको मद्दत लिएर उसलाई नाइगार प्रहरी चौकीमा थुन्न लगाएँ र इन्चार्जलाई भनेँ कि आफ्नो भाइले कानुनअनुसार पाउनुपर्ने सम्पत्ति दिन र गाउँमा आइन्दा झगडा नमच्चाउन स्वीकार नगरेसम्म थुनिराख्नू । उसलाई थुनाउनेबित्तिकै उसँगै आएका गुण्डाहरुको भागाभाग प¥यो । भाग्न नसकेकाहरुलाई कुमारसँगै थुनाएँ ।

उनीहरुलाई थुनाएपछि प्रदीपको घर फर्किन नपाइएला कि भन्ने डर पनि हरायो । हामीहरु नागरिकता वितरणको काम सम्पन्न गरेर त्यसको भोलिपल्ट हाम्रो नागरिकता वितरण टोली आनन्दसाथ सदरमुकाम फर्कियो ।
पछि थाहा भयो कुमार कागज गरेर एकहप्तामै थुनाउमुक्त भएछ ।“
०००
हरिजी यति भनेर जुरुक्क उठेर आफ्नो कोठामा पुगी स्वास्नी र छोरी निदाए ननिदाएको चियाए । फर्केर आएर ध्याँच्च कुर्सीमा बसे । कुर्सीले करक्क ग¥यो ।
“अनि के भयो त ?“ मेरो त निद्रा नै बेपत्ता भैसकेको थियो ।

उनले भनाइ जारी राखे ।

“ऊ थुनाउमुक्त भएको दुईमहिना नपुग्दै त्यही नागरिकताको मुद्दा चलाएर मलाई निलम्बन गरियो । 
यो अवधिमा जङ्गबहादुर र देवबहादुरकी श्रीमतीको पनि मृत्यू भैसकेछ । बाँचेकै भए पनि गवाहीको लागि काठमाण्डौसम्म ल्याइपु¥याउन सक्दैनथेँ मैले । मलाई त लाग्छ ती दुईजनाको हत्या पनि कुमारले नै गरिदिएको हुनुपर्दछ । गाउँलेहरु यो केशमा चुपचाप छन् । दुवैजनालाई सिध्याएपछि अब गाउँमा गणेशको हितमा यथार्थ बोलिदिने कोही पनि बाँकी छैन ।“

“भर्खर त मुद्दा चल्दै रहेछ । मुद्दाको जित तपाईँकै हातमा पर्न पनि त सक्छ । मर्नुभन्दा पहिल्यै खुट्टा तान्नु त भएन नि । तपाईँ त सहनुहोला, तपाईँकै साथ लागेर आएका यी निरिह प्राणीको हालत के होला ? फरक्क फर्केर घर गइहाल्नुस् ।“
“मुद्दा जिते पनि हारे पनि गाउँमा बस्न अब मलाई कठीन छ । जसले गाउँलेको मुख टाल्न सक्दैन, उसैलाई सबै मिलेर भ्रष्टाचारीको बिल्ला भिराइदिन्छन् ।  

“मैले बुझेँ तपाईँको मर्का । रात धेरै बितिसके अब सुतौँ ।“ मैले तपाईँको लागि गर्न सक्ने केही छैन भनेर भन्न सकिनँ ।

“म त नसुतेको पनि हप्तौँ भैसक्यो । भोलिको कुनै योजना नभएपछि सुत्न मन पनि लाग्दोरहेनछ । तपाईँको निद्रा डिष्टर्ब भैरहेको होला । म अरु कसलाई सुनाऊँ ? तपाईँ नै मेरो व्यथा सुनिदिने पहिलो र अन्तिम व्यक्ति हो । अब अलिकति सुन्नुहोस् ।“ 

“तर छोटो पार्नुहोस् । तपाईँको सिद्धिए पनि मेरो काम त धेरै छ । आज सुत्न सकिनँ भने काम गर्न सक्नेछैन ।“ मैले झिँजो मानेझैँ गरेँ । मेरो झिँजो उनले मनन गरेनन् र अनुमति पाएपछि अगाडि बढेः 

“गाउँमा भ्रष्टाचार गर्नेहरु को हुन् तपाईँलाई थाहा छँदैछ । गाउँमै महल ठड्याएका छन् । हरेक शहरमा छोरा, छोरी, बुहारी, सासु, सालीको नाममा स्थिर सम्पत्ति जोडेका छन् । हरेक स्कूल, अस्पत्ताल, वित्तीय संस्थाहरुमा उनीहरुकै शेयर छ र ढलीमली छ । सातपुस्ता पुग्ने कमाइसके । विदेशमा छोराछोरी पढाइरहेका छन् ।“
“भयो भयो, हरि सर, अब सुतौँ ।“ मलाई यस्ता कुरा सुन्न कुनै रस नभएको बताएँ ।

उनी रोकिएनन्, “गाउँमा जसलाई कुलीन परिवार भन्छौँ हामी, उनीहरु पनि पहिलेका भ्रष्टाचारी  नै थिए होलान् । उनीहरु सान मान इज्जतले बसेका छन् । कोही बाहिरिइसके । उनीहरुको कालो धन निर्मलीकरण भैसक्यो । जसले जनताको पसिना सोसेर ब्रह्मलुट गरे उनीहरुकै फलीफाप भयो । तर जसले जनताकै उद्वारको लागि पाइला चाल्यो उही गाउँमा अटेन । पैँसाले गाउँलेको मुख थुन्न सकेन । असली भ्रष्टाचारी उही कहलियो ।“ 
उनले आवेशमा आउँदै मुठ्ठी उठाएर कुर्सीमा बजारे । कुर्सीको हात त भाँचिएन तर ठूलै आवाजसहित कोठामा बुङ्ङ धुलो उड्यो । म तर्सिएँ, “ए के गरेको त्यस्तो ? पुलिसले यहीँ आएर लैजाला अनि ?“

“अब डर कसको मान्ने ? कुनै कुराको न त आशा छ, न त डर नै । सञ्चयकोष र उपचार खर्च निकालिसकेँ । जीवन निर्वाहको लागि थोरै भए पनि पेन्सन आउँछ भनी आशा गरिरहेको बखत यो हविगत भयो । गाउँको जग्गा बेचेर काठमाण्डौ ओहोरदोहोर गर्दा सकियो । अब पैँसा पनि धेरै बचेको छैन मसँग । एकदुई महिनामै खानपिनमै सकिन्छ होला ।“ अहिलेसम्म एक थोपा आँशु नदेखाउने हरिजीले आँशुको झरीमा नुहाउन थाले । मलाई के गरुँ कसो गरूँ भैरह्यो । उनको कुरा र व्यवहारले रुष्ट रहेँ मात्र । न चेतावनी दिनसकेँ न त केही सुझाव दिन नै । कुनै सुझाव सुझेको भए पो दिनू ?

उनले आँशु पुछे र जुरुक्क उठे । आफ्नो कोठामा जाने तर्खर गरेको देखी मलाई खुशी लाग्यो । उनी ठाउँको ठाउँ उभिइरहे र केही बेरपछि बोले, “सुन्नुहोस् त प्रेमजी ।“
“भन्नुहोस् सुन्दै छु ।“

“तपाईँको त अफिसियल काम यतै पर्दोरहेछ । यताको वस्तुस्थितिबारे थाहा होला । यता सुकुम्बासी बस्ती कता छ होला ?“

“किन चाहियो सुकुम्वासी बस्ती ? यी चिचिला परिवारको लागि भए पनि तपाईँ खुरुक्क गाउँ फर्कनुस् । अरु मलाई थाहा छैन ।“ मैले आवाज चर्को पारेँ ।

उनी मेरो कोठाबाट बाहिर निस्किए । मैले ढोका लगाउन नपाउँदै फर्किएर भने, “अनि सुन्नुहोस् त । स्वास्नीलाई सुकुम्बासी बस्तीको बारेमा केही पनि नभन्नुहोला है । छोरीले पढ्न रहर गरेकी थिई, उता पसेपछि त के पढ्न पाउली र ?“ उनले आफ्नो गतिलो निश्वासले पुनः मेरा कोठाका माकुराका जालहरु हल्लाए ।

मैले टाउको मात्र हल्लाएँ । उनी निस्किएपछि ढोका ढप्काएर चुकुल लगाएँ । खाटमा के पल्टिएको थिएँ ढोकाबाहिर ढकढक आवाज आयो । पानी आइपुग्योहोला भन्ठानी मैले अल्छी मान्दै ढोका खोलेँ । बाहिर हरि नै थिए । ढोका खुल्नेबित्तिकै भित्र पसेर मेरो कानमै खुसखुसाएः  “हाम्रो भेट यो ठाउँमा भएथ्यो भनी कसैलाई पनि मरिगए नभन्नुहोला है । भन्नुभो भने मेरो मासु खानुहोला ।“

म अवाक थिएँ । मेरा सजल नेत्रले त्यो कायर पुरुषको हरिविजोग रेकर्ड गरिरहेका थिए । हरि जँड्याहाजस्तै लडखडाउँदै आफ्नो कोठातिर लागेको दृश्य मेरो नजरले दोहो-याइरह्यो, जुन अत्यन्तै हृदयविदारक देखिन्थ्यो ।

 49 total views,  1 views today

About Purna Oli

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top